सामाजिक सञ्जालले जोडेको सम्बन्धदेखि हत्यासम्म – किन सामाजिक सञ्जाल गम्भीर अपराधको कारण बन्दैछ?


काठमाडौं, २७ साउन, २०७७ । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पा रुन्टीगढी गाउँपालिका-७ घर भएका ४५ वर्षीय कृष्ण बहादुर बोहोराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका-७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसर टेकुमा मङ्गलबार आयोजित पत्रकार सम्मेलन मार्फत् आज सार्वजनिक गरेसँगै यौन उत्पीडनले जन्माएको डरलाग्लो हत्यासम्मको घटनाको पर्दाफास भएको छ ।

टोखा नगरपालिका-१० गोंगबु नवज्योती मार्गमा आइतबार बिहान सुटकेशभित्र टाउको बिनाको शव फेला परेको थियो । तालिम प्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजी गर्ने क्रममा सोही ठाउँस्थित ३ सय मिटर टाढा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उक्त घटनामा संलग्न कल्पनालाई चितवन कालिका नगरपालिका-९ शक्तिखोरस्थित माइतिघरबाट पक्राउ गरेको हो ।

घटनास्थलबाट धारिलो हतियार, ह्रयामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडाहरु, स्लिपीङ ट्याब्लेटको खोल र मोबाइल सेटहरु प्रहरीले बरामद गरेको छ ।

प्रहरीको बयानमा के भनिन् कल्पनाले?
अनुसन्धानको क्रममा मृतक बोहोरा विगत ८ महिनादेखि गोंगबुस्थित उक्त होटलमा बस्दै आएका थिए । मृतक र अभियुक्त कल्पनाबीच करिब ४ वर्षदेखि फेसबुक मार्फत चिनचान भई आफ्नो सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफू अनुकूल चलाउनको लागि दबाब दिने गरेको, मृतक घटनाको दिन होटेलबाट बा.७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा आएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकोमा दहीमा ५ वटा निन्द्राको औषधि समेत मिसाई दिएको उक्त खानेकुरा खाएपछि कृष्ण बहादुर लठ्ठ परी सुतेको मौकामा फलामको ह्रयामरले प्रहार गरेको, सलले घाँटी कसेको र मरेको यकीन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई झोलामा राखेर उक्त स्थानहरुमा आँफैले फालेको बयान दिएसँगै सामाजिक सञ्जालसँग जुटेको अपराधको अर्को घटना पनि छताछुल्ल भएको छ ।

तत्पश्चात् बिरामी लिएर काठमाडौं आई चितवनतर्फ फर्कन लागेको एम्बुलेन्समा आइतबार बेलुका कल्पना चितवनतर्फ गएको खुल्न आएको छ । साथै कृष्ण बहादुरको शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएपछि उनकै १५ वर्षीया छोरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

शारिरिक तथा मानसिक यातनाका कारण बोहोराको हत्या भएको स्पष्ट पारिएको छ । सामाजिक सञ्जालको दूरुपयोगका कारण सामाजिक तथा आपराधिक घटनाहरु पछिल्लो समयमा बढ्न थालेका छन् । गोंगबुको यो घटना पनि सामाजिक सञ्जालमार्फतको चिनजान, भेटघाट तथा शारिरिक नज्दिकी पछि जन्मिने भयानक आपराधिक घटनाको एउटा पात्र घटना बन्न पुगेको छ ।

सामाजिक सञ्जाल अपरिचतसँग भेटघाट गर्ने, समिप हुने माध्ययम बन्नु हुन्न
यसकारण पनि सामाजिक सञ्जालहरुको प्रयोग र यसका संवेदनशिलतालाई नजरअन्दाज गर्नु हुन्न । अपरिचत मानिसलाई डिजिटल माध्ययमबाटै विश्वास गर्नु, आफ्ना सबै गोप्य कुराहरु साझा गर्नु, सामाजिक सञ्जालहरुमा भएका चिनाजानीकै भरमा भेटघाट बढाउनु, सामिप्यता बढाउनु भनेको दूर्घटनालाई अङ्गालो हाल्नु हो भन्ने यस घटनाले पनि स्पष्ट पारेको छ ।

किन सामाजिक सञ्जाल गम्भीर अपराधको कारण बन्दैछ?
रोजगारी, शिक्षाका कारण घरपरिवारदेखि टाढा रहनु, एक्लोपनाका क्रममा यौन तथा मोजमस्तीका विषयमा बढी खोजीनीति गर्नु, नयाँ नयाँ साथीसङ्गीहरुसँग जोडिनु अहिलेको डिजिटल समाजको एउटा ठूलो समस्या बन्दै गएको छ । हाम्रो शिक्षाले यौनिकतालाई सामूदायमा खुलेर कुराकानी गर्न तथा यस सम्बन्धमा जानकारी आदानप्रदान गर्ने वातावरण नहुनु पनि यसबारे अझै जिज्ञासा, आकांक्षा बढ्दैजादा जुन हदसम्मपनि पुग्ने र सम्भावित दूर्घटनालाई निम्तो दिएजस्तो देखिन थालेका छन् ।

बालबालिकामा सामाजिक सञ्जालको कुलत
यस्तै BBC को ‘सामाजिक सञ्जालको कुलत’ विषयमा जारी सामाग्रीमा ‘सामाजिक सञ्जालको कुलतबारे प्रयोगकर्तासम्बन्धी तथ्याङ्क सामाजिक सञ्जाल कम्पनीहरुले दिनुपर्ने डाक्टरहरूको माग उठान गरेको थियो ।

उक्त सामाग्रीमा ब्रिटेनका अग्रणी मनोचिकित्सकहरूको भनाई उद्धृत गर्दै लेखिएको छ, “इन्टरनेटमा सजिलै र सहजै उपलब्ध विभिन्न सामाजिक सञ्जालका कम्पनीहरूले अनुसन्धानकर्ताहरूलाई उनीहरुको प्रयोगकर्ताहरुको तथ्याङ्क उपलब्ध नगराउने हो भने बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पुर्र्याउने फाइदा र जोखिमका बारेमा कहिल्यै पत्ता लगाउन सकिने छैन ।

सामाजिक सञ्जाल कम्पनीहरूलाई उनीहरूका प्रयोगकर्तासम्बन्धी तथ्याङ्क महत्वपूर्ण अनुसन्धानमा संलग्नहरुलाई उपलब्ध गराउन र महत्त्वपूर्ण अनुसन्धानहरूका लागि खर्च जुटाउनका लागि कर तिर्नुपर्ने प्रावधान ल्याउन आवश्यक भइसकेको कुरा मनोचिकित्सकलाई उद्धृत गर्दै BBC ले लेखेको छ ।

साथै त्यसरी प्राप्त हुने कुनैपनि तथ्याङ्क बेनामे वा प्रयोगकर्ताहरुको परिचय नखुल्ने प्रकृतीको हुनुपर्छ समेत भनिएको छ ।

के गर्ने त?
सिम्पल छ! अनावश्यक र अपरिचितसँगको सामाजिक सञ्जाल सम्बन्ध राख्दै नराख्ने । एक त इन्टरनेटको अनियन्त्रित प्रयोग तथा सामाजिक सञ्जालको दूरुपयोगले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याउने गरेको प्रमाण बढ्दो रूपमा देखिँदै आएको छ । सामाजिक सञ्जालमा उपलब्ध सहजताको बाटो नै कसैको लागि अपराधको बाटो पनि बन्न सक्छ अथवा आफै अपराधमा संलग्न हुनसक्ने साधारण कारण बन्न सक्छ । त्यसैले सामाजिक सञ्जालको सहजतालाई कसैको अपराधिक मानसिकताको कारण बन्न नदिऔं । सचेत बनौं ।


Loading comments...