स्वप्नील प्रेम


ओहो कति सुन्दर ठाउँ १ पोखरा पुग्नेवित्तिकै रुचीको पहिलो प्रतिकृया थियो। नराम्रो ठाउँमा म कहाँ ल्याउँछु त तिमीलाई‚दंग पर्दै मैंले भनें । यो रमणीय ठाउँमा रुचीलाई लिएर आउन पाउँदा म जति हर्षित थिएँ त्यो भन्दा बढि खुशि रुची थिई । मेरो दिदी भिनाजुको घर भएकोले पोखरा मेरो लागि नौलो हुने कुरै भएन। रुचीको लागि भने बिलकुलै नयाँठाउँ । पोखरा पहिलो पटक पाइला टेकेकीले जता हेर्यो उतै अडिई रहन्थी उ, ल अब हिंड दिदीको घर आइपुग्न लाग्यो‚भोली पर्सि मज्जाले घुमौंला नि पोखरा‚ भन्दै मैले उनलाई दिदी भिनाजुको घर तर्फ लिएर गएँ ।

रुची र म काठमाण्डौमा एउटै कलेजमा बि. बि. ए. तेस्रो बर्षमा अध्ययनरत थियौं । पढ्नमा उ निकै तेज र मिलनसार भएकीले सबैकी प्रिय थिई । अझ मेरो लागि त उ मनको ढुकढुकी नै सुन्दर ब्यक्तित्व र असल बानी ब्यबहारले म उ प्रति नजानिंदो रुपले आकर्षित भएको थिएँ । उ भने मलाई अरुलाई झैं साथिकै ब्यवहार गर्थी। म उसको एकदम मिल्ने साथिमध्येकै एक भने पक्कै थिएँ । कलेजको परीक्षाको समय नजिकिदै जाँदा हामि पाँच जना भेला भएर छलफल गर्ने गर्थ्यौं । परीक्षा सकिएपछि कता घुम्न जाने भनेर हाम्रो पहिले नै योजना बन्थ्यो। यसपाली कता जाने त हामी परीक्षा सकिएपछि ? जिज्ञासु भावले मैले प्रश्न गरें । पोखरा म गएकै छैन त्यहिं जाउँ न यसपाली‚ उत्सुक हुँदै रुचीले भनी। सरोज‚ अभि‚ झरना र कविताले एकै स्वरमा कराएः नाईं पोखरा त कती जानु‚बरु अन्तै जाउँ न रुचीसंग नजिक हुने यो सुवर्ण अबसर थियो त्यसैले म त तयार छु पोखरा जान भनें । तिम्रो दिदीको घर नै पोखरा झन कतिचोटी गएको छौ त तिमी‚ कविता जान्ने भएर बोली : त्यहि भएर त जान खोजेको नि भान्जाभान्जीलाई कस्तो भेट्न मन लागिरहेको छ , म पनि के कम‚ गतिलै जबाफ दिइहाले। त्यसो भए मलाई पनि लैजाउ न त‚जोशिंदै रुचीले भनी, मलाई के खोज्छस् कानो आँखा भैहाल्यो, साँच्चै जाने हो भने म भरे भिनाजुलाई फोन गरिहाल्छु है त, तर तिमीहरु कोहि पनि नजाने भन्छौ म एक्लै कसरी जानु‚साथिहरुतिर हेर्दै रुची हिचकिचाई ।अनुजको दिदी भिनाजु भएपछि त तिमिले अप्ठेरो मान्नै पर्दैन‚ फेरीअनुज अनि हामि तएक आपसमा राम्रो मिल्ने साथि हौं भन्ने कुरा हामि सबैको परिवारलाई थाहा छँदैछ नि‚झरनाले रुचीलाइ सम्झाई । त्यस्तो गाह्रो हुन्छ भने म कर गर्दिनं‚म चैं जानु नै छ‚मैले अर्को पासा फ्याँकें । एकछिनको मौनतापछि ल म पनि तिमिसंग जान्छु‚ रुचीले मुख फोरी भित्रभित्रै म खुशिले गद्गद् भएँ । तिमीलाई त्यस्तो केहि अप्ठेरो हुँदैन‚ दिदी भिनाजुको घरमा ढुक्क परे हुन्छ‚ मैंले ढाढस दिंदै भनें । उ मसँग पोखरा जान राजी भएपछि मलाई के चाहियो। मलाई के ल्याइदिन्छ्यौ रुची ? सरोजले जिस्कने पाराले भन्यो। केहि न केहि‚हामिसँग जान नमान्नेलाई‚ फन्केर जवाफ दिई रुचीले।

परीक्षा सकिएको भोलिपल्टै रुची र म पोखरा हान्नियौं । काठमाण्डौबाट टुरिष्ट बसमा पोखरा यात्रा गर्न पाउँदा एकदम रमाइलो लाग्यो‚ त्यो पनि रुचीसँग । यात्राको हरेक पललाई मुठ्ठिमा बाँधेर राखिराख्नु जस्तो।बेलुका पाँच बजेतिर हामि पोखरा पुग्यौं । दिदी भिनाजु घरमा हाम्रो आगमनको प्रतिक्षामा बसिरहनुभएको थियो। अनुज मामा आउनु भयो‚ हामिलाइ चकलेट ल्याउनु भयो‚भनेर उफ्रँदै भान्जाभान्जी मेरो नजिक आए। लौ जा यसपाली त मैंले हतारमा चकलेट किन्नै बिर्सेंछु। पख‚ तिमीहरुलाई भोलि म बजारमा किन्दिन्छु ल भन्दैथिए‚ रुचीले आफ्नो ब्यागबाट चकलेट निकालेर मैंले ल्याएकी छु भन्दै केटाकेटीलाई दिई। दिदीको घरमा को को हुनुहुन्छ भनेर रुचिले केहिदिन अगाडी मलाई सोधेको कुरा मैंले बल्ल पो बुझें । दिदीभिनाजु भान्जाभान्जी सबैसँग रुचीको परिचय गराएँ । हेर्नु न भिनाजु साथिहरु सबैजना आउने भनेको मिलेन‚ त्यहि भएर रुची र म मात्र आयौं । रुचीलाई सहज होस् भनेर मैंले यो बहाना बनाएँ । भान्जाभान्जी र दिदी भिनाजुसँग घुलमिल हुन रुचीलाइ समय लागेन। सबैजना बसेर बेलुकासम्म गफगाफ गरियो।

भोलिपल्ट बिहान भिनाजुले ड्राइभरलाई बोलाएर हामीलाई घुम्न पठाउन लाग्नु भयो । हामिमात्र कहाँ जानु‚सबैजना जाउँ न‚आज शनिबार त हो नि‚ रुचीले ढिपी गरी। दिदी भिनाजु सपरिवार हामिसँग जान राजी हुनु भयो। रुची खुशि भई‚ तर म भने अलिकति खिन्न भएँ । मलाइ रुचीसँगमात्र जान पाए कति मज्जा हुन्थ्यो भन्ने लागेको थियो। विचरा रुचीलाई त पोखरा मात्र घुम्नु थियो‚ यी कुराहरुले उसलाई कुनै असर परेको थिएन। परोस् पनि कसरी‚उ मलाइ साथिमात्र मान्थी । मैंले मेरो अन्तरकुनामा उसलाई स्थान दिएको केही पत्तो थिएन। म भने झन् झन् नजिकिँदै थिएँ । रुचीका हरेक कुरा मलाइ मन पर्न थालेको थियो। यात्रा मन्दिरबाट शुरु गर्नुपर्छ भनेर दिदीले बिन्ध्यवासिनी पुर्याउनु भयो।बिन्ध्यवासिनी पोखराको पुरानो एवं प्रख्यात मन्दिर हो‚ भिनाजुले रुचीलाई बताउनु भयो। भिनाजुका हरेक कुरा उ एकदम चाख मानेर सुन्थी‚ मानौं यी सब पछि परिक्षामा आउँछन् झैं गरी।

काठमाण्डौमा जन्मिएर हुर्किएकी उ थानकोट काटेर पहिलो चोटि बाहिर निस्केकी थिई । जे देख्दा पनि दंग पर्थी । काठमाण्डौ‚ ललितपुर र भक्तपुरको भने उ पूर्ण जानकार थिई । साथिहरुमाझ जिस्कँदा उसलाइ हामी काठमाण्डौकी डन भन्ने गर्थ्यौं । हाम्रो ग्रुपमा उ मात्र काठमाण्डौबासी थिई‚ अरु सबै बिभिन्न जिल्लाबाट आएर पढ्न बसेका। जुजु धौ‚ पुष्टकारि अनि गुँदपाक जस्ता खानेकुरा खान रुचीबाटै सिकेका हामीले।असन‚ इन्द्रचोक र ठमेलका गल्ली गल्ली पनि उसैले हो घुमाएकी।

बिन्ध्यवासिनी मन्दिरको दर्शनपछि हामी महेन्द्रगुफा अनी फेवाताल गयौं । फेवातालमा पुगेपछि त रुची कति धेरै रमाई । उ यसरी रमाएको देखेर म पनि पहिलोचोटी आएझैं रमाएँ । फेवातालमा डुंगा सयर गर्दाको क्षणको बयान कसरी पो गर्नु‚ शब्दै भेटिन मैंले । रुची त सबथोक बिर्सेर मग्न देखिन्थी । रुची दिदी‚ क्या रमाइलो भयो हगी‚ भान्जा भान्जी भन्दै थिए। थानकोट नकटेकी मैयाँलाई रमाइलो त भैहाल्छ नि‚ जिस्कँदो पाराले भनेको त चुप लाग तिमी भनेर रिसाई । उ रिसाएको हेर्न मलाई खुब मज्जा भयो। हेर न आफु चैं खुब संसार सबै घुमिसकेको जस्तो‚ भनी दिदीले मलाई छेड हान्दा रुची मख्ख पर्दै हाँसी । यो बेलाको उसको हाँसोले मलाई भुतुक्कै पार्यो। पोखरा हाम्रो देशको रमणीय पर्यटकीय स्थल भएको अनुमान गर्न रुचीलाई गाह्रो भएन। विदेशी र स्वदेशी अनुहारहरु टन्नै देखियो । विच विचमा भिनाजुले पुराण भट्याएझैं ती ठाउँहरुको बखान गर्दै पनि हुनुहुन्थ्यो । त्यहाँको मनोरम दृश्यलाई रुची धमाधम आफ्नो क्यामेरामा उतार्न व्यस्त थिई । दिनभरिको घुमाइले थकाई तथा भोक पनि लागेकोले चिया चमेनाको लागि हामी पस्यौं रेस्टुरेन्टतिर। मुख्य मुख्य ठाउँहरु आज घुमिसकियो‚ अब भोलि तिमीहरु सारङ्कोट जानु‚ हामी भ्याउँदैनौं‚ चिया सुरुप्प पार्दै भिनाजुले भन्नुभयो। मेरो त चिया झण्डै सर्केको खुशीले। घर फर्कंदै गर्दा मनभरी भोलिको कल्पनाले ठाउँ ओगट्यो ।भोली कहिले होला भनेर रातभरी सुत्नै सकिन।

विहान छिट्टै उठेर दिदीले हाम्रो लागि खाना तयार पार्नु भयो। खाना खाएपछि हामीलाई भिनाजुको ड्राइभरले लिएर गए सारङ्कोटतिर। पोखरा कस्तो लाग्यो त रुची तिमीलाई ? बाटोमा जाँदै गर्दा मैले सोधें। मलाई त यहाँको वरिपरिका हिमाल तथा डांडाकांडाले ढाकेको पोखरा शहर असाध्यै राम्रो लागिरहेको छ‚ अनि ढुंगाले बनाएका कलात्मक घरहरु पनि कति राम्रा छन् है भनी । फेवाताल झन कति राम्रो उसले यसै गरी एक एक ठाँउको बखान गरी। मिठा मिठा गफ गर्दै सारङ्कोट आइपुगिएछ। रुचि र म मात्र माथि डाँडोतिर लाग्यौं‚ ड्राइभर चाहिं तलै मोटर रुंघेर बस्यो । उ संग भएर होला आज यो ठाउँ मलाई बिछट्टै राम्रो लाग्यो‚ रुचीजस्तै। डाँडाबाट पोखरा शहर हेर्दा ज्यादै मनमोहक देखिएको थियो। वाह वाह कस्तो राम्रो हगि अनुज‚ भन्दै थिइ उ।धित मरुन्जेल त्यहांको दृश्यलाईनियाल्दै थिई रुची।फोटो त उसले कति खिची खिची। मेरो मन आज जस्तो फुरुँग त कहिले पनि भएको थिएन जस्तो लाग्यो मलाई । एक हँसिलो जोडी आइपुगे । भर्खरै विवाह गरेर हनिमुन मनाउन आएको हुनुपर्छ‚ मैले अनुमान लगाएँ । पोखरा नवविवाहितको लागि हनिमुन मनाउने थलोकै रुपमा परिचित पनि छ। हेर्दा हेर्दै त्यो जोडीलाई रुची र म पो देख्न थालेंछु। अनुज मेरो एउटा फोटो खिचिदेउ न रुचीले भनेपछी म झस्किएँ । थकाई लाग्यो होला‚ आउ अब एकछिन बसौं‚ मैले भनें । एउटा ठुलो ढुंगामाथि हामि बस्यौं ।

आज कुन दिन हो थाह छ तिमीलाईरु यताउति हेर्दै मैले भनें । आज त आइतवार उसले सोझो जवाफ दिई । धत् लाटी‚भ्यालेन्टाइन डे हो के आज। ल तिमीलाईभ्यालेन्टाइन डे को शुभकामना भन्दै गोजिबाट गुलाबको फूल निकालेर दिएँ । हिजो घुम्नजाँदा सुटुक्क फूल किन्न भ्याएको थिएँ । ल‚हो ररु मैंले त सम्झेकै थिइनँ‚ तिमीले सम्झेछौ धन्यबाद‚ हाम्रो मित्रता अमर रहोस् भन्दै उसले फूल समाती।मित्रता मात्र हैन‚ हाम्रो प्रेम भन न‚ आइ लभ यु रुची‚ भन्न मात्र भ्याएको थिएँ । अनुज उठ छिटो‚ आज कलेज जानु पर्दैनरु दाजुको आवाजले म झल्याँस्स बिउँझिएँ । कति मिठो सपना दाजुले बोलाएर झुर गर्दिनु भयो। सपना सम्झेर आनन्द मानी एकछिन त म ओछ्यानमै पल्टिरहें ।

अप्सरा आचार्य


Loading comments...