
नरेन्द्रराज प्रसाईकृत भानुजीवनी र मोतीरामको चर्चा
२९ असार २०७६, आईतवार ०९:४५
म लेख्तैछु— नेपाली साहित्य जगत्का विशिष्ट जीवनीकारका रूपमा सुपरिचित नरेन्द्रराज प्रसाईद्वारा लेखिएको ‘भानुभक्त आचार्यको जीवनवृत्त’ शीर्षकको जीवनीकृतिका सम्बन्धमा । यसले मलाई एक प्रकारको परितोषकै अनुभव भयो । यहाँ एउटा उल्लेखनीय विशेष संयोग पनि परेको छ र त्यो हो— ‘कवि भानुभक्तको जीवनचरित्र’ (प्रकाशनः वि.सं. १९४८) का लेखक तथा कविवर भानुभक्त आचार्यका प्रथम जीवनीकार मोतीराम भट्ट (वि.सं. १९२३–५३) रहेकामा यतिखेर नेपाली साहित्यका गीत, निबन्ध, जीवनी आदि अनेक विधाका स्रष्टा र नेपाली साहित्यका विशेष संवर्द्धक मोतीराम भट्ट जस्तै किसिमले नेपाली भाषा र साहित्यको श्रीवृद्धि र संवर्द्धनका विभिन्न क्रियाकलापमा खास गरी विगत दुई–तीन दशकका बीच आफ्ना ढङ्गले अत्यधिक सक्रिय रही संस्थागत र व्यक्तिगत दुवै हैसियतमा अत्यन्त व्यापक परिमाणमा योगदान दिई समयुगीन मोतीरामका नामले समेत चिनिएका नरेन्द्रराज प्रसाईबाट भानुभक्तीय जीवनीग्रन्थ प्रकाशित हुनु ।

वि.सं. १९२५ मा भानुभक्त आचार्यको देहावसान भयो भने ‘मोतीराम भट्टको जीवनी’ भन्ने ग्रन्थ (प्रका. वि.सं. १९९५) लेख्ने नरदेव शर्माका अनुसार १९३७ सालतिरदेखि नै लोकमुखारविन्दबाट नै एक बिहेबटुलोको अवसरमा भानुभक्तका रमाइला श्लोक वाचन गरेको सुनी भानुभक्तीय कृतिका खोजतर्फ मोतीराम प्रवृत्त भएको र कोशिस गर्दा बल्लतल्ल ‘भानुरामायण’को ‘बालकाण्ड’को लेखोट भेटी १९३८ सालदेखि नै उनी त्यसका प्रकाशनमा संलग्न भई त्यो १९४१ सालमा प्रकाशित भयो । यसै मेसोबाट अगाडि बढी वि.सं. १९४८ सालसम्ममा मोतीरामले एकातर्फ भानुभक्तका सबै कृति प्रकाशित गर्ने सङ्कल्प पूरा गरे भने यसै वर्ष उनको ‘कवि भानुभक्तको जीवनचरित्र’ पनि प्रकाशित भयो अनि त्यहाँदेखि हालसम्मका सवा एक सय वर्षका बीच भानुभक्तका जीवनी, कृति र कवित्वबारे जे जति चर्चा भएका छन् ती मोतीरामकै उक्त जीवनीग्रन्थका सूचना र स्थापनासँग सम्बन्धित रहेका अनि भानुकविताका आडमा मोतीरामका भानुकृति र कृतित्वबारेका समीक्षात्मक मान्यता आदिसँग सम्बद्ध रहेका भेटिन्छन् र तीमध्ये कतिमा मोतीरामले दिएका भानुभक्तीय जानकारी र प्रस्तुत गरेका स्थापनाको आंशिक प्रतिवादसमेत गरिएको पाइन्छ ।
हो, भानुभक्तका जीवनीबारेका मोतीराम र उनका परवर्तीहरूका खोज र मननका पूर्वोक्त अनेकौं स्थापना र विविधखाले कतिपय तीव्र मतमतान्तरका सघन वीथी छिचल्दै प्रतिष्ठित नेपाली भाषासेवी–साहित्यसेवी जीवनीकार नरेन्द्रराज प्रसाईबाट ‘भानुभक्त आचार्यको जीवनवृत्त’ (२०७१) का प्रणयनमा आँटपूर्वक र परिश्रमपूर्वक स्वस्फूर्त आफ्ना सृजनशील सरसता र प्राञ्जल शैलीसौष्ठवसहित सक्दो साधना गर्न कम्मर कसी प्रस्तुत रूपमा यो कृति तयार गरेको मैले पाएँ ।
नेपाली भाषाका कविता र (विशेषतः) गीतका साथै निबन्ध, प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, अन्तर्वार्ता आदि आख्यानेतर गद्यविधामा पनि विगतका साढे चार दशकका बीच विशेष साधनाशील रहँदै आएका र समीक्षकीय प्रतिभालेसमेत उत्प्रेरित वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाई (वि.सं. २०१२, ताप्लेजुङ) ले हालसम्म स्वलिखित, सम्पादित र संयुक्त रूपमा लिखित– सम्पादितसमेत गरी ७८ ग्रन्थका साथै सात वटा श्रव्यकृति सार्वजनिक गरिसकेका छन् ।
कुनै पनि लेखकको आफ्नो मूलधन भनेको आफ्नै भावमण्डल (र विचारपरिमण्डल) का साथै आफ्नै शैलीगत मौलिक छविको अन्तर्विकास हुँदै रहनु हो । साहित्यकार नरेन्द्रराज प्रसाईका समष्टि–वैशिष्ट्यमध्ये दृढ देशभक्तिपूर्ण राष्ट्रवादी विचारधाराका साथै रोचक र खिरिलो भाषाशैलीगत र उक्तिगत प्राञ्जलता पनि उनका लेखकीय मूलधनका अंशका रूपमा रहने गर्दछन् भन्ने म ठान्दछु । उनको सार्वजनिक साहित्ययात्रा कवितामार्फत २०२८ सालतिर उनका जैविक वयःसन्धिकै वेला प्रस्फुटित भई पुस्तकलेखनका क्षेत्रमा २०४० सालतिर देखि सार्वजनिक रूपमा देखा पर्दै खास गरी गीत, निबन्ध र जीवनीविधामा उनी विशेष प्रतिष्ठित रहेको पाइन्छ ।
•••
नरेन्द्रराज प्रसाईको बहुमुखी साहित्यकारिताको एक विशेष पहिचान जीवनीकारिता पनि हो र उनी एक अग्रणी जीवनीकारका रूपमा चिनिइसकेका छन् । उनले नेपाली साहित्यकार तथा गीतसङ्गीतकारका साथै नेपाली समालोचक, समीक्षक, भाषासेवी, समाजसेवी र बहुल प्रकृतिका देशसेवक पाँच सयभन्दा बढी विशिष्ट साधकसाधिकाहरूको ससाना परिचयात्मक जीवनवृत्तका एक दर्जनभन्दा बढी कृतिसङ्ग्रहहरूका साथै थप एक दर्जनभन्दा बढी नै विशिष्ट नरनारी व्यक्तित्वको व्यक्तिविशेषमै केन्द्रित विस्तृत मर्मस्पर्शी जीवनीग्रन्थ पनि सार्वजनिक गरिसकेका छन् । उनका उत्कृष्ट जीवनीग्रन्थकै सरणीमा ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक ग्रन्थ (२०७१) उनको एक अर्को अभिनव रोचक जीवनीग्रन्थ हो ।
जीवनीकार नरेन्द्रराज प्रसाईको प्रस्तुत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक जीवनीग्रन्थका मूलपाठअन्तर्गत जम्मा बाह्र अध्याय या परिच्छेद छन् र त्यसपछि यहाँ परिशिष्ट रूपमा अनुष्ठानिक सूची भनी छ वटा विशेष सामग्री समेटिएका छन् । यहाँ भानुभक्तीय एक पत्रको लिखतको छायाचित्र र भानुविशेषसामग्री (भानु, मोतीराम, रमानाथ र विष्णुमायाका जम्मा पाँच तस्बिरका प्रतिकृति) यहाँ उक्त अनुष्ठानिक सूचीअन्तर्गत भनी राखिएका छन् । त्यसपछि यहाँ सन्दर्भस्रोतको लेखकीय वर्णानुक्रमी कृतिविवृति दिइएको छ । उसो त यस ग्रन्थको बाह्रौं अध्याय या परिच्छेदको भानुभक्तको वंशावली पनि मूलपाठको परिपूरक सामग्री नै रहेको छ ।
नरेन्द्रराज प्रसाईको ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नाउँ भएको ग्रन्थ नइ प्रकाशनको प्रकाशकीय र विषयसूचीपछि जीवनीग्रन्थकार नरेन्द्रकै ‘लेखकीय’ बाट सुरु भएको छ । कविशिरोमणि लेखनाथ पौड्यालबाट ‘भानुभक्त स्मारकग्रन्थ’ (वि.सं. १९९७) का निम्ति रचिई त्यसमा मूल ग्रन्थका पाठका सुरु पानामा श्री ३ जुद्धशम्शेरको सन्देशभन्दा पहिले (वि.सं. २०२६, पृ. १ का मध्यभागमा) ‘श्रद्धाञ्जलि’ शीर्षकको प्रकाशित एकश्लोके ऐतिहासिक महŒवयुक्त कविताको उद्धरण गरी यहाँ यो ‘लेखकीय’ सुरु भएको छ ।
त्यसपछि यस लेखकीयमा विशेषतः २००३ सालदेखिको वार्षिक भानुजयन्तीको परम्परा थालिएकोबारे चर्चा गरिएको छ । यस भानुजयन्तीका सन्दर्भबारेमा चाहिँ अरू सान्दर्भिक जानकारीसहित चर्चा गरो । यहाँ भानुभक्तको जन्म भएको मिति र भानुभक्तको जन्मजयन्ती मनाउन लागिएको बारेमा नै प्रथमतः छानबिन अपेक्षित हुन आयो । जगत् छेत्री (दार्जिलिङ) बाट मैले सन् १९९७।१।४ मा पाएको लिखित जानकारी तथा शिव रेग्मी (भानुजयन्तीका परम्परा, रचना, पूर्णाङ्क ३१, २०७१ असार साउन, पृ.१०६–१०८) अनुसार भारतका दार्जिलिङतिरबाट वैशाख २९ गते भानुजयन्ती मनाउने कार्य प्रथमतः प्रचलित र त्यसपछि स्थापित भयो भनिन्छ । यसरी भानुजयन्ती मनाउने क्रममा सन् १९४६ र १९४७ सालका दुई वर्षका बीचमा भानुभक्तीय खास जन्ममितिलाई विक्रमाब्द र सौरमानको सन्दर्भमा अँगालिएको छ र त्यो हो वि.सं. १८७१ वैशाख २९ गते । भानुजयन्तीका सन्दर्भमा भानुभक्तकी नातिनी विष्णुमायाद्वारा प्रकाशित ‘भानुभक्त मणिमाला’ ग्रन्थ (वि.सं. १९९८ परिचय, पृ. १४–१६, कवि परिचयः पृ. १२) का सन्दर्भमा रङ्गनाथ शर्मा (र विष्णुमाया) बाट जानकारी प्राप्त हुन आएको अनि त्यहाँ भानुभक्तले प्राप्त गरेका ज्योतिषशिक्षाका खास प्रसङ्गको उपकथासहित दिइएको भानुभक्तको जन्मकुण्डली र उनै भानुभक्तले आफ्ना जन्मकुण्डलीबारे आफै रचेको भनिएको अढाई श्लोकको कविताका आधारमा यो असार २९ का भानुजयन्तीको दिन तोकियो । तर विभिन्न ठाउँमा प्रयुक्त सौरमानका र चान्द्रमानमा आधारित भानुभक्तका जन्मका तिथिमितिमध्ये सौरमान वि.सं. १८७१ वैशाख २९ लाई भानुजन्ममितिको आधाररेखा मानी र त्यसअनुरूप ग्रेगरी (इस्वी) संवत्को महिना तारेख पारी भारतका दार्जिलिङमा प्रथमतः त्यहाँका नेपाली भाषा र साहित्यका प्रेमी अगुवा संस्था र व्यक्तिले यो वार्षिकरूपमा भानुजयन्ती मनाउने परम्परा सुरु गरेको र चालू राखेको अनि प्रसार तथा प्रवद्र्धन गर्दै रहेको पाइन्छ । यसमा अरू संस्थासमेत संलग्न रहे पनि ‘नेपाली साहित्य सम्मेलन’ दार्जिलिङ र यसका अग्रणीत्रय— सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) को विशेष उत्प्रेरणा रह्यो । नेपालतर्फ पनि सौरमानअनुसार नै वैशाख २९ गते वार्षिक भानुजयन्ती मनाउन थालिएको हो । कतिअौं वार्षिक भानु जन्मजयन्ती भनी उल्लेख गर्दा भने कुनै असार २९ गते भारततर्फ भानुभक्तको जन्मदेखिको जति वर्षको अवधि पुग्ने हो सोअनुसार र नेपालतर्फ भने उक्त दिनमा भानुभक्त जन्मेको जतिअौं वर्ष सुरु हुने हो सोअनुसार यतिअौं जन्मजयन्ती भनी प्रायः गणना गर्ने गरेको पाइन्छ, त्यसैले यस गणनामा पनि प्रायः एक वर्षको फरक हुने गर्दछ ।
मोतीराम भट्टले ‘कवि भानुभक्तको जीवनचरित्र’ १९४८ सालमा प्रकाशित गर्दा दिएको भानुभक्तको जन्मवर्ष वि.सं. १८६९ बारे केही उल्लेख नगरी रङ्गनाथ शर्मा (समेत) ले भानुभक्तको जन्मवर्ष भनी १८७१ सालका खासखास सौरचान्द्र महिना, गते, तिथि र बारसहित भानुजन्मको तिथिमिति उल्लेख गरेकोमा २००३ सालमा ‘पुराना कवि र कविता’ प्रकाशित गर्दा नेपालका इतिहासकार बाबुराम आचार्यले रङ्गनाथसमेतले दिएका वर्ष महिना (१९७१ असार) मात्र उल्लेख गरेर उक्त गते र पक्षतिथिका साथै बारका बारेमा अव्यक्त असहमति जनाएको हो कि जस्तो देखिन्छ । पछि भारतको दार्जिलिङमा त्यतिखेर कार्यरत, नेपालका इतिहासकार सूर्यविक्रमलगायत, नेपाली साहित्य सम्मेलन (र सर्वहितकारी समाज आदि) संस्था तथा तिनका अगुवाहरूले पनि १८७१ असार २९ लाई भानुजयन्तीको वर्षाधार मानेपछि यता नेपालतर्फ पनि यही वर्षाधार नै प्रायः संस्थागत र शैक्षिक–प्राज्ञिक स्तरमा ज्यादा चल्यो र विशेष सोधखोजका क्रममा र खास विद्वद्वर्गमा भने नेपाल भारत दुवैतिर मोतीराम भट्टले उल्लेख गरेको भानुभक्तीय जन्मवर्ष (वि.सं.१८६९) को उल्लेख गरी छलफल गर्ने र ठोस निर्क्योल हुन सके बेस हुन्थ्यो भन्ने प्रवृत्ति तथा भाव रहँदै रह्यो ।
नेपालमा, भारतमा र विश्वकै व्यापक नेपाली जगत्मा भानुभक्तको द्विशतवार्षिकीको कार्यक्रम पनि वि.सं. १८७१ लाई वर्षाधार मानी मनाइयो र नेपाल सरकार पनि संस्थागत रूपमा यसमा सम्मिलित भयो । यो विराट् आयोजन समष्टिगत परिप्रेक्ष्यमा २०० अौं वर्षको सुरुवात र समापनका दुई वर्षबीच स्वदेश तथा विदेशका नाना संस्थाहरूका आयोजनामा र सहभागितामा विविध ढङ्गले सम्पन्न भयो । यसका निम्ति खास गरी नेपालमा (र अन्यत्र पनि) द्विशतवार्षिकीको २–३ वर्ष अगि नै कार्यक्रमको परिकल्पना गर्दै कार्यक्रमिक स्वरूप र रूपरेखा तथा साधन, स्रोत र सहभागिता आदिबारे पनि सोच्न, छलफल गर्न, पूर्वतयारी गर्न र स्रोतपरिचालनको प्रयास गर्न थाले पनि यस विशेष सन्दर्भमा नेपाली शिक्षा परिषद्, भानु प्रतिष्ठान, त्रिमूर्ति निकेतन, नइ प्रकाशन आदि अग्रणी नेपाली साहित्यिक संस्थाहरूका पूर्वतयारीबारे र तिनले नेपाली विद्वत्समाज र नेपाल सरकारसम्म पुग्न गरेका प्रयासक्रमबारेसमेत धेरथोर म पनि परिचित छु । यस क्रममा नेपाली भाषासाहित्यका जल्दाबल्दा कर्मठ सेवी र समयुगीन नव मोतीराम नरेन्द्रराज प्रसाईका नइ प्रकाशनमार्फतको संस्थागत संलग्नतालाई पनि लिनुपर्ने हुन्छ । नेपाल सरकार (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) अन्तर्गत उक्त मन्त्रालयका सचिवको अध्यक्षतामा गठित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति (२०७१) को परिकल्पना र प्रबन्धनका क्रममा कार्यकारी सल्लाहकारकार रूपमा रही प्रस्तुत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ का लेखक नरेन्द्रराज प्रसाई खुबै खटेको मलाई थाहा छ । म पनि त्यस समारोह समितिका कार्यक्रमका कार्यान्वयनका उक्त अनेक सल्लाहकारहरूमध्ये एक सल्लाहकार रहेको हुँ । यस क्रममा, उक्त समितिको उक्त द्विशतवार्षिकी समारोहका कार्यक्रमलाई कार्यान्वयन स्तरमा सम्पन्न तुल्याउने क्रममा नरेन्द्रका संस्थागत र वैयक्तिक आफ्ना अनुभव र धारणा तथा स्वमूल्याङ्कन पनि प्रस्तुत जीवनवृत्त ग्रन्थका लेखक नरेन्द्रका ‘लेखकीय’ अन्तर्गत आउनु स्वाभाविकै हो भन्ने म ठान्दछु । उक्त समिति बृहत् स्तरमा गठन भएको थियो र मन्त्रालयका निकट सम्पर्कमा रही निर्धारित कार्यक्रम सम्पन्न गराउन औधी खट्नु नेपाली भाषासाहित्यका सेवी र प्रवर्द्धक नरेन्द्रको आफ्नो विशेष व्यक्तित्व, स्वभाव र प्रवृत्ति तथा रुचि र कर्मठताको पनि सूचक हुँदै हो । साथै उक्त समितिका कार्यक्रमहरू तय हुँदा निकै अंशमा नरेन्द्रका र नइ प्रकाशनका परिकल्पना र प्रस्ताव परेका थिए । नइ तथा नरेन्द्रराज प्रसाईसँग त्रिमूर्ति निकेतनको सञ्चालन (वि.सं. २०५२ देखि झन्डै दुई दशकको) लगायत ‘महाकवि देवकोटा शताब्दी’ (२०५६–६६), ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ (२०६६), ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ (२०७१) आदिका बृहत्तर राष्ट्रिय–अन्तर्राष्ट्रिय आयोजनाका सन्दर्भमा सम्पर्कित नेपाली भाषासाहित्यसेवीको विस्तृत संस्थागत सञ्जालको पर्याधारको पनि सहयोग लिइएको बुझिन्छ । यसैले पनि पूर्वोक्त भानुभक्तीय द्विशतवार्षिकी समारोह समितिमा नरेन्द्र सल्लाहकार (कार्यकारी) का रूपमा मन्त्रालय स्तरबाटै सञ्चालित हुने आयोजनामा विशेष सक्रिय रहे । नेपाल सरकारतर्फबाट भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायतका अनेक संस्था तथा कार्यक्रमहरूलाई पनि सहयोग भयो, उक्त समितिका भानुद्विशतवार्षिकीका निर्धारित कार्यक्रममा कार्यान्वयनमा आयोजक मातहत मन्त्रालय स्वयम् पनि सक्रिय रह्यो र तिनमा कार्यकारी सल्लाहकार प्रसाईको पनि विशेष भूमिका रहनु स्वाभाविकै हो ।
नइ अर्थात् नरेन्द्रराज प्रसाईको परिकल्पना र सक्रिय प्रबन्धनसमेतको विशेष सहयोग लिई बृहत् स्तरमा नेपाल सरकार (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) ले भानुभक्त द्विशतवार्षिकी समारोहको मूल परिचालन गरेको थियो । नेपाल राष्ट्रका १४ अञ्चल र विश्वका २५ राष्ट्रमासमेत सम्बन्धित समारोह समितिको गठन गरेर मनाइएको यस भानु द्विशतवार्षिकीका कार्यक्रम नेपाली साहित्यका सन्दर्भमा अहिलेसम्मको सबैभन्दा ठूलो संस्थागत सञ्जाल परिचालित भएको कार्यक्रम देखिन्छ । यस अघि नइको संयोजन र अग्रसरतामा त्रिमूर्ति निकेतनबाट भएको ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’मा ७१ जिल्ला र २० राष्ट्रका नारीले भाग लिएका थिए भन्ने पनि यहाँ उल्लेखनीय छ । जे होस्, आदिकवि भानुभक्त आचार्यका जन्मका द्विशतवार्षिक समारोहमा प्रत्यक्ष रूपमा नेपाल सरकार सक्रिय हुनु र अरू संस्थालाई पनि संस्थागत सहयोग गर्नु भने विशेष महत्त्वपूर्ण सन्दर्भ हुँदै हो । प्रस्तुत ‘भानुभक्तीय जीवनवृत्त’ ग्रन्थका ‘लेखकीय’ मा नरेन्द्रले आफ्नो ढङ्गले यी आफ्ना क्रियाशीलताको मूल्याङ्कन गरेको यहाँ मैले पाएँ ।
•
अवश्य नै प्रस्तुत नरेन्द्रकृत यस कृतिमा भानुभक्तीय जीवनी, कृतित्व र अन्य सन्दर्भसँग जोडिएका कतिपय न्यायदृष्टिपरकभन्दा पक्षदृष्टिपरक विवादग्रस्तता, अनुकल्पना र आग्रह तथा विषमप्रायः विवादग्रस्तताका अन्तर्बौद्धिक चाप र तापका अप्ठ्याराले सृजनात्मक, मनोहारी तथा मानकनिकट जीवनीविधागत सृजनात्मक कृतिमा अपेक्षित जीवनवृत्तको रोचक एवम् सौष्ठवपूर्ण सिर्जनामा जीवनीकार नरेन्द्रलाई केही सकस परिरहेको छ । तर यी चुनौतीलाई एक सृजनशील जीवनीकारका रूपमा यिनले सकेसम्म समाधान खोज्दै वस्तुगत सन्तुलिततातर्फ र कहिलेकता यो वा त्यो पक्षमा पनि रहेर अनि जटिल अन्तर्विवादका सन्दर्भलाई पादटिप्पणी दिई राखेर पनि आफ्ना सृजनात्मक जीवनीलेखनका शैलीलाई सक्दो उकास्न सृजनात्मक प्रयास गरेको पाइन्छ ।
•
अनुष्ठानिक सूची भनी अनुशिष्ट सामग्रीका रूपमा भानुभक्तको हस्तलिपि र भानुभक्त आचार्यको प्रथम प्रकाशित तस्बिरलगायत मोतीराम भट्ट, पं.रमानाथ आचार्य र विष्णुमायाका तस्बिर पनि स्रोतसहित दिइएको पाइन्छ र यो प्रयास बेसै ठहर्छ । मोतीराम भट्टले आफ्ना उपर्युक्त जीवनचरित्रग्रन्थमा दिएको भानुभक्तको रेखाचित्रात्मक फोटो (छविचित्र) भने भानुभक्तका आकृति आदिबारे अरूका बयान सुनेर मोतीरामद्वारा तयार गराइएको हो भन्ने अभिमतकै पक्षमा नरेन्द्र रहेका छन् । नरनाथ आचार्य आदिले मोतीरामद्वारा प्रस्तुत फोटो भानुभक्तको फोटो नै हो भनी व्यक्त गरेका धारणासँग भने नरेन्द्र असहमत छन् । त्यसपछि यहाँ अपेक्षाकृत अलि सजिलो ढङ्गले तर लेखक वर्णानुक्रमिक अलि सरल स्वढाँचामा नरेन्द्रद्वारा आफ्नो कृतिगत सन्दर्भस्रोत दिइएको पाइन्छ जसले नरेन्द्रको प्रस्तुत ग्रन्थ तयार पार्दाको अध्ययनको परिधितर्फ सङ्केत गर्दछ ।
समुच्चा रूपमा भन्दा नरेन्द्रको ‘भानुभक्त आचार्यको जीवनवृत्त’ कृति आदिकवि भानुभक्तप्रतिको र भानुभक्तका कृति र कवित्वप्रतिको नरेन्द्रको उच्च श्रद्धाभाव र आफूले पढेका सन्दर्भसामग्री र मोटामोटीमा बनाइएका धारणाका योगबाट जन्मेको भानुद्विशतवार्षिकीको पुण्य अवसरको मुख्यतः जीवनीपरक श्रद्धापुष्पोपहार नै हो । भानुभक्तका जीवनीगत र कृतिगत तथा अरू विभिन्न विषयको शास्त्रार्थस्थलभन्दा सक्दो सन्तुलित ढङ्गले भानुभक्तीय सरल र सरस जीवनवृत्तको सिर्जना गर्ने प्रयास नै यो नरेन्द्रकृति मुख्य रूपमा हो र यो रुचिशील सुधी नेपाली पाठकहरूका निमित्त अति नै मिहिनेतपूर्वक उनीद्वारा सिर्जना गरिएको मैले पाएँ । भानुभक्तका जीवनी, कृति र कवित्वशक्ति आदिबारे सूचना, जानकारी र ज्ञानको सरल बोधपक्षसँगै सरस जीवनीसृजनको बीचमा मैले यो नरेन्द्रकृति पाएँ । यस कृतिका अनेक स्थलमा नरेन्द्रका अध्ययनशीलताका र पर्याप्त संयमित प्रस्तुतिगत प्रयासका साथै मुख्यतः उनका जीवनीलेखनका पाठकोन्मुख सिर्जनात्मक धार र भावरचना तथा शैलीगत प्रस्तुतिका भङ्गिमा र बान्कीबाट यहाँ बढी म पुलकित भएको छु । धेरैले नेपालका शैक्षिक, साहित्यिक र शोधात्मक तथा बौद्धिक र समीक्षात्मक कोणबाट भानुभक्तका जीवनवृत्तबारे थुप्रै लेख, शोधलेख, शोधप्रबन्ध र विचारोत्तेजक तथा पाण्डित्यपूर्ण पनि ठूलासाना अनेकाð महत्त्वपूर्ण कृति प्रस्तुत गरेका छन् र तिनका आआफ्ना महिमा र शक्ति तथा स्वाभाविक सीमा एवम् न्यायदृष्टि र पक्षदृष्टि पनि छन् भने यो नरेन्द्रकृति चाहिँ मोतीराम भट्टपछि नेपाली साहित्यका रसिक भावकगणका रुचिशील सरस, रोचक र घतलाग्दो साहित्यिक सृजनात्मक चेतसमेत भएको अनि खास शास्त्रार्थीय र अन्तर्बौद्धिक परिचय कम रहेको एकअर्को भानुजीवनवृत्त पाउने विलम्बित सिर्जनात्मक आकाङ्क्षालाई निकै अंशमा परिपूर्ति दिन सक्ने किसिमको अर्को नयाँ साहित्यिक भानुजीवनी ग्रन्थ हो । यहाँ नरेन्द्रले भानुभक्तका जीवनी, कृति आदिसँग सम्बन्धित विशेष छलफल र उद्धरणलाई सकभर पृष्ठगत पादटिप्पणीमा दिई भानुभक्तीय सरल जीवनी पढ्न चाहने पाठकलाई पनि ध्यानमा राखेको म ठान्दछु । यहाँ नरेन्द्रको मूल सोचकेन्द्रमा प्रथम भानुजीवनीकार मोतीराम भट्ट नै हुन् र प्रायः मोतीरामेली भानुजीवनलाई नरेन्द्रले मानक ठानेजस्तो पनि देखिन्छ ।
नेपाली भाषा र साहित्यका प्रवर्द्धनका यात्रामा २०४० साल यताको समयसन्दर्भमा ‘समयुगीन मोतीराम’ भन्ने चिनारीसमेत बनाएका नरेन्द्रराज प्रसाईले भानुजीवनका अनेक मोतीरामेली र अरू स्थापनाका मर्मलाई पनि मनोयोगपूर्वक चिन्ने र खोतल्ने अनि परिमित समीक्षा गर्ने प्रयास यहाँ गरेको पाइन्छ । निश्चय नै भानुजीवनीका अध्ययन र मननका यात्रामा नरेन्द्रराज प्रसाईका कृतिले आफ्नो अलग सोच र सान्दर्भिकतासमेत स्थापित गर्न सकेको छ र यो अर्को अध्येय र मननीय अभिनव भानुजीवनी कृति हुन पुगेको छ । रुक्खा तर्कवितर्कभन्दा सरस प्राञ्जल र सुरुचिपूर्ण गद्यशैलीमा जीवनी लेख्ने विशिष्ट शैलीकारिताका निम्ति पनि प्रसिद्ध रहेका नरेन्द्रराज प्रसाईले भानुजीवनका तथ्यपरक अनेक नव ऊहापोह र चिरफारप्रति पनि धैर्यपूर्ण रुचि राख्दै परिमित खोजीपरक प्रवृत्तिसमेत यहाँ आत्मसात् गरेको पाइन्छ र त्यो भानुजीवनीका अद्यावधिक सन्दर्भमा एक नव सृजनात्मक प्रतिमान हुनाका साथै आगामी अध्ययनका निम्ति पनि पर्याप्त उत्प्रेरक हुन सक्ने बलियो सम्भावना छँदै छ । म भानुद्विशतवार्षिकीका पुण्यसन्दर्भमा प्रकाशित नरेन्द्रराज प्रसाईकृत भानुजीवनीलाई द्विशताब्दीक भानुसम्झना महापर्वको एक अवसरोचित विशिष्ट साधनापूर्ण प्रदान पनि मान्दछु ।
नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक जीवनीकृतिका अनेक वैशिष्ट्यमध्येको एक मुख्य वैशिष्ट्य मोतीराम भट्टले १९४८ सालमा प्रकाशित गरेको ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’को झन्डै सवा सय वर्षको समयपछि प्रस्तुत हुन आएको अर्को सृजनात्मक भानुजीवनी कृति हुनाको गौरवी पहिचान पनि हुँदै हो । जहाँ मोतीरामकृत भानुजीवनी भानुबारेको प्रथम जीवनी कृति थियो त्यहीँ नरेन्द्रराज प्रसाईकृत यो भानुजीवनी अद्यावधिक मानक भानुजीवनी हुन पुगेको छ । यसको मानकताको मियो चाहिँ मोतीरामको शोध तथा अनुकल्पना र समीक्षणतासँगै अन्तःप्रवाहित सरस रोचक जीवनीसृजनका प्राप्तिमध्ये खास गरी सरस अन्तर्भाव र रोचक शैली तथा प्रस्तुतिको मोती— मतनिकट उत्तराधिकारप्राप्ति नै हो भन्ने म ठान्दछु । साथै भानुजीवनीको इतिवृत्तका सन्दर्भमा मोतीरामका स्थापना र परिमितिप्रति विशेष आस्थाभाव राख्ने र अनेक परवर्ती मतान्तर प्रति प्रायः असहमति रहेर पनि प्रचलित मान्यतालाई व्यवहारतः प्रायः मान्ने तर तिनमा आन्तरिक कमजोरीतर्फ इङ्गित गरिरहने एक प्रकारको आत्मदृढता पनि यहाँ नरेन्द्रराजले देखाएको पाइन्छ । यस तात्पर्यमा पनि उनको भानुजीवनी लेखन मोतीरामका मानकका नजिक देखा पर्छ ।
यिनै अन्तर्निहित परिवृत्तका परिधिमा मोतीराम भट्टको ‘कवि भानुभक्तको जीवनचरित्र’मा अन्तर्निहित रहेका दुई थरी मूल प्रवृत्तिगत अन्तरपाटाहरू यी हुन्— (क) आधारभूत खोजकारी र कहिलेकहीँ श्रव्यमूलक भानुकविताको लेख्य अङ्कनमा कतैकतै चुकेर र तनहुँको र त्यहाँको चुँदीरम्घालगायतको स्थानीय र समयुगीन सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशको वृत्तसँग प्रायः कम परिचित रहेर चुक्नसमेत सक्ने अवस्था ठाउँठाउँमा रहनु तर भानुभक्तीय कृतिका समीक्षकीय पारखमा नचुक्नु र (ख) त्यस्तो स्थिति कहीँकतै रहे पनि प्रायः सरस, रुचिकर र रोचक प्रस्तुति तथा शैलीले युक्त गद्यमूलक सिर्जनात्मक जीवनीलेखन गर्नु । मोतीरामका भानुजीवनीगत यी दुई अन्तरपाटामध्ये पहिलोचाहिँ खोजकारी र अनुकल्पनाकारी अनि कृतित्वको पारखी अन्तरपाटोभन्दा मुख्यतः सिर्जनशील, सरस र रोचक तथा मीठो प्रस्तुति तथा शैलीकारिताले युक्त गद्यसृजनाको दोस्रो चाहिँ पाटाको विशेष अनुसरणशील जीवनीकारका रूपमा यहाँ मैले नरेन्द्रलाई विशेष मन पराएको छु ।
भानुजीवनवृत्तपरक यो नरेन्द्रकृत ग्रन्थ यिनै पूर्वोक्त शक्ति र परिसीमाका बीच नेपाली वाग्देवीका चरणमा र आदिकवि भानुभक्तलाई उनका द्विशतवार्षिक सम्झनाका महापर्व, २०७१ सालमा प्रसिद्ध नेपाली जीवनीकार नरेन्द्रले चढाएको एक उच्च पुष्पोपहार कृतिका रूपमा आएको छ भन्ने म ठान्दछु । नरेन्द्रकृत यस ‘भानुभक्त आचार्यको जीवनवृत्त’ लाई उपर्युक्त मोतीरामेली शोधखोजकारी र समीक्षाकारी अन्तरपाटोभन्दा सिर्जनात्मक रम्य रुचिकर शैली र प्रस्तुतिको अन्तरपाटाका निकटमानकमा आएको अद्यावधिक निकै रुचिकरजस्तो लेखन भएको पठनीय र सङ्ग्रहणीय किसिमको अर्को भानुजीवनीपरक कृतिका रूपमा म बढी मान प्रदान गर्दछु । अब हामीले एकातर्फ भानुभक्तीय कृतित्व र कवित्वका सघन अध्ययन र समीक्षणमा उत्तरोत्तर प्रगतिमय तथा प्राप्तिमय गुणवत्तायुक्त अनेक ग्रन्थ रचना गर्दै जानु छ भने सँगसँगै अर्कातर्फ ज्यादा विवाद र शास्त्रार्थभन्दा स्वस्थ सन्तुलित खासखास जीवनीगत मानकधारणाका प्रतिमानमा टेकी साहित्यिक र साहित्यप्रेमी नेपाली बृहत् भावक तथा पाठकसमाजप्रति विशेष उन्मुख र मैत्रीशील अत्यन्त रोचक र रुचिकर भानुजीवनीपरक ग्रन्थहरूको पनि उत्तरोत्तर स्तरीय नव सिर्जन र प्रकाशन गर्दै भानुसाहित्यप्रतिका नेपाली लोकरुचिको पोषण र प्रवर्द्धनसमेत गर्दै जानु छ ।
•
(महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीद्वारा लिखित “भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : समीक्षात्मक अभिमत” – २०७२ बाट सारसङ्क्षेप ।)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत