चलचित्र समीक्षा: सानो मन


Lead Actors मध्येको कोहिलाई प्राणघातक रोग लागेको कथा ठुलो पर्दामा हेरेका दर्शकहरुलाई ओभरडोज भएन र ? “मेरो एउटा साथि छ” होस् या केहि समय अघि मात्र प्रदर्शनमा आएको “ए मेरो हजुर ३”, “कुसुमे रुमाल”को रिमेक होस् या “दर्पणछाया २”, या “नाइँ नभन्नु ल”को सिरिज पनि त छ। धेरै पर किन पुग्नु, “सानो मन”का नायक आयुष्मान देशराज जोशीकै पोहोर साल प्रदर्शनमा आएको “कथा काठमाडौँ” नै पनि त छ नि। यो प्रसङ्ग किन कोट्याएको भने चलचित्र “सानो मन”, अव्वल दर्जाको निर्देशन, कलाकारहरुको अव्वल प्रस्तुति, अव्वल छायांकन र ब्याकग्राउण्ड स्कोरको बावजुद पनि खल्लो लाग्छ। अस्पतालको शैयामा प्रमुख पात्र मृत्यु पर्खिरहदा पनि दर्शकहरुको आँखा सायद रसाउदैन। पक्का पनि यो ओभरडोजको असर हुनुपर्छ।

आयुष्मान देशराज जोशीको डेब्यु फिल्म “चपली हाइट २”मा उनले तारिफयोग्य काम गरेका थिए, “सानो मन”मा उनि झन् निखारिएर आएका छन्। अहिलेको युवा पुस्ताका कलाकार मध्ये आयुष्मान पक्कै पनि अभिनयको मामिलामा भने धेरै पाको लाग्दछन, तर सायद चलचित्रको छनौटमा उनले ध्यान अवश्य पुर्याउनु पर्छ। “कथा काठमाडौँ” प्रदर्शनमा आएको एक वर्ष नबित्दै लगभग उस्तै उस्तै कन्सेप्टको “सानो मन” उनले किन रोजे थाहा भएन। सायद मलाई जस्तै उनलाई पनि कथा काठमाडौँमा २०-२५ मिनेटमा प्रस्तुत गरिएको कथा निक्कै मन छोएको हुनुपर्छ। तर २ घण्टा २५ मिनेट पर्दामा चल्ने “सानो मन”ले त्यो मिठास पुर्याउन सकेको छ त। “अह” छैन।

“सानो मन”को पटकथा (समीर सुनुवार र सुयोग गुरुङ) फितलो छ। लेखकहरुले चलचित्रको पहिलो हाफ मा थोरै धेरै मनोरञ्जन दिन अवश्य सक्षम भएका छन् तर दोश्रो हाफ निक्कै फितलो छ, यति फितलो लेखन कि त्यसलाई स्वयम् निर्देशक सुयोग गुरुङको अव्वल निर्देशनले धेरै उचाइमा पुर्याउन सक्दैन। “सान्या” आफ्नो बुवालाई किन भेट्न जान्छे ? “सान्या” गायक बनेको कसलाई हेर्न छ ? दोश्रो हाफमा सान्या “शिल्पा मास्के”को पात्र एता मोडिएको छ, जबकी पहिलो हाफमा दर्शकको मनमा “सान्याको बिमारीले उसलाई कता डोहोर्याउछ” भन्ने प्रश्न उब्जाइञ्छ।
Anxiety को बिरामीलाई गर्ने Treatment यस्तै हुन्छ, तर दोश्रो हाफमा देखाइने यी दृश्यहरुले दर्शकहरुलाई कनेक्ट गराउन खासै सकेको छैन, जसले गर्दा पनि चलचित्रको दोश्रो भाग अलि मजा आउदैन। शिल्पा मास्केले भने आफ्नो काम मजाले गरेकी छिन्। गौरी मल्ल लगायत अरु कलाकारको काम पनि तारिफयोग्य छ।

सुयोग सोताङ्ग र रोमन बज्रचार्यका गीतहरुले चलचित्रलाई कुनै नयाँ उचाइ दिन सकेको छैन्। निर्देशक सुयोग गुरुङ्गले आफ्नो क्षमता मजाले प्रस्तुत गरेतापनि उनको चलचित्रले मन छुदैन। दर्शकसँग पात्रहरुलाई इनोसनल कनेक्सन दिन भने उनि चुकेका छन्। तर आफ्नो निर्देशनमा हैन, आफ्नो लेखनमा। उनको कथा/पटकथामा केहि पृथक भेटिदैन, सबै दृश्य यो भन्दा अगाडी नै धेरै पटक हेरिसकेको भान हुन्छ। अर्को चलचित्रको लागि शुभकामना। प्रशंसनीय कामको कारण निक्कै ठुलो मन बनाएर भन्नुपर्दा पनि “सानो मन” एकपटक हेर्न सकिने चलचित्र बनेको छ। तर, यो सप्ताह सायद झरी फिल्म हल बाहिर मात्र बर्सिन्छ, दर्शकको आँखाबाट बर्सिदैन।

रेटिंग : २.५ / ५

फिल्मी फूच्चे बाट साभार


Loading comments...