बेलायतमा हाइक फर नेपाल


नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइज फाउन्डेसनको पहलमा सुरु भएको हाइकिङ (लामो दूरीको पदयात्रा) ‘हाइक फर नेपाल’ तेस्रोपटक बेलायतको वेल्समा आयोजना हुने भएको छ । पोखरेली मञ्च युकेले विगतमा झै यस वर्ष पनि अगस्ट २ देखि ४ सम्म यसको आयोजना गर्न लागेको हो ।

‘नेपालका लागि सँगसँगै पाईला चालौं’, भन्ने नारा दिइएको हाइकिङमा बेलायतमा रहनुहुने नेपालीहरुको बाक्लो सहभागिता रहँदै आएको छ । त्यहाँ रहेका नेपाली र विदेशीहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रमका मुख्य संयोजक मेजर खुशीमान गुरुङ ‘एमभिओ’ ले जानकारी दिएका छन् । यसले नेपाल भ्रमण वर्ष २०२० प्रर्वद्धनका लागि समेत सहयोगी भूमिका खेल्ने आयोजकको अपेक्षा छ । बेलायत भरी छरिएर रहेका नेपालीहरुमा आपसी भातृत्व, मायाप्रेम, सद्भाव र मातृभूमिप्रति जिम्मेवार बनाउन समेत यस्ता कार्यक्रमले सघाउ पुर्याउने पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङको भनाई थियो ।

वि विल राइजले महाभूकम्पपछि नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्धेश्यले पहिलोपटक सन् २०१६ मा यस कार्यक्रमको आयोजना गरेको फाउण्डेसनका संस्थापक तुलसी गुरुङले बताए । ‘नेपालको पर्यटन प्रवर्द्धन निम्ति यहाँ बसोबास गरिरहेका धेरै नेपालीले आफ्नो यथाशक्य समय दिनुभएको छ,’ फाउन्डर गुरुङले भने, ‘नेपाल चिनाउन र पर्यटक बोलाउन हामी निरन्तर पहल गरिरहने छौं ।’ कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ बेलायत, लन्डनस्थित नेपाली दूतावास, सहारा युके, ब्रेकन नेप्लिज सोसाइटी र हङकङ नेपाली मन्च युकेलगायत सहयोग रहेको छ । हाइकिङमा जान इच्छुकले मुख्य संयोजक मेजर खुशीमान गुरुङ (एमभिओ) र पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङसँग सम्पर्क राख्न सकिने जानकारी गराइएको छ । अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउदै दूतावासले २०२० मा यो संख्या एकलाख पुर्याउने लक्ष्य रहेको बताएका छन् ।

आयोजना स्थल वेल्स जर्ज एभरेष्टको जन्मभूमि पनि हो । सन् १८५७ मा यिनैको टोलीको सगरमाथाको सर्वेक्षण गरेको थियो । पछि सगरमाथाको नाम नै एभरेष्ट नामाकरण गरियो । वि विल राइज फाउण्डेसनका संस्थापक निर्देशक निर्देशक श्रेष्ठले विदेशमा रहेका नेपालीहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न यस्तो कार्यक्रम अत्यन्तै सहयोगी हुने भन्दै हङकङ र बेलायत बाहेक अन्य देशहरुमा रहेका व्यक्ति वा संघसंस्थाले पनि पनि कार्यक्रमका लागि पहल गर्न अपिल गरेका छन् ।

हाईक फर नेपालमा यसअघि अभिनेत्री तथा सगरमाथा आरोही निशा अधिकारी, गिनिज वल्र्ड रेर्कडिष्ट थानेश्वर गुरागाई, खेल पत्रकार संजिव शिल्पकार सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा, अभिनेत्री छुल्ठिम गुरुङलगायतका समेत सहभागी भइसकेका छन् । गत वर्ष वेल्समा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्व मेयर लगायतको उपस्थिती थियो ।


Loading comments...