राजा महेन्द्र एक दूरदर्शी राजनेता


काठमाण्डौ, ७ भाद्र २०७६ । आधुनिक नेपालको जग बसाल्ने काम गरे पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणबाट । त्यसपछिको लामो कालखण्ड नेपाल विश्व राजनीतिक वृत्तमा कता कता हरायो तर २००७ सालको परिवर्तनपछि महेन्द्र राजा बनेपछि नेपालको विश्व रंगमञ्चमा दह्रो उपस्थिति भयो । २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उनले सुरु गरेका विकास र सुधारका कामबाट महान क्रान्तिबाट उदाएका चिनीया नेता माओ यति प्रभावित थिए कि उनले राजा महेन्द्र नै सबभन्दा ठूला कम्युनिष्ट भएको उद्घोष गरिदिए । नेपालका एकजना कम्युनिष्ट नेता चीन जाँदा माओसंग नेपालमा पनि कम्युनिज्म ल्याउन मद्दत गर्नुपर्यो भन्ने आग्रहको प्रतिउत्तरमा माओले तिम्रो देशका राजा नै सबभन्दा ठूला कम्युनिष्ट छन्, अब कस्तो कम्युनिज्म चाहियो भनेर पठाइदिएको चर्चा छ ।

चिनसंग जोड्ने कोदारी राजमार्ग सुरुभएपछि भारत लगायत पश्चिमा देशहरुले नेपालमा कम्यूनिष्ट भित्रिन्छ, राजतन्त्र खतरामा पर्छ भनेर बाटो नबनाउन कथित परामर्श दिए । राजा महेन्द्रले त्यतिखेर अन्तर्राष्ट्रिय समूदायलाई कम्यूनिज्म मोटर चढेर आउँदैन भनेर आफ्नो विचार राखेका थिए । नेपालको स्वाभिमान उच्च राख्ने अनि नेपालको भूभागलाई हिमाल, पहाड र तराईसँग जोडी राष्ट्रिय एकता मजबुत बनाउन योगदान दिएका स्वर्गीय राजा महेन्द्र र उनले गरेका कामहरु युगौं युग सम्म नेपालीहरुले विर्षिनेछैनन ।

राजा महेन्द्रले यस्तो बेलामा राजगद्दी सम्हाले जतिखेर देशभित्र विकासको न्यूनतम पूर्वाधारसम्म पनि थिएन । राजनीतिक, आर्थिक, प्रशासनीक सबै ढङ्गबाट नेपाल भारतसंग निर्भर थियो । विक्रम सम्वत् २००७ साल देखि २०११ सम्मको बिचमा भारतसँगको आर्थिक निर्भरता ९५% थियो ।

मुलूक राजतन्त्र ढलेर गणतन्त्रमा आईसकेको अहिलेको सन्दर्भमा पनि विगत केही दशकदेखि नेपालको स्थिति पनि झण्डै त्यस्तै नै छ । त्यस बखत राजा महेन्द्र त्यो परनिर्भरताको गाँठो फुकाउँदै ६०% भन्दा तल झार्न सफल भएका थिए । उनले नेपाललाई स्वनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराए । राजा हुने वित्तिकै महेन्द्र आर्थिक तथा प्रशासनिक क्षेत्रको व्यवस्था निर्माणमा आफूलाई होमेका थिए । उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे । विदेशी राष्ट्रहरुको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेका राजा महेन्द्रले अर्थतन्त्रको जग बसाल्ने कार्यको थालनी गरे । स्वदेशी उद्योग कलकारखानाको स्थापना गरेर भारतीय परनिर्भरतालाई न्यूनिकरण गरे ।

वीरगञ्जस्थित चिनी कारखाना, कृषि औजार कारखाना, धनुषा जनकपुरधामस्थित जनकपुर चिनी कारखाना, बाँसबारी छालाजुत्ता कारखाना लगायत सिमेन्ट उद्योग तथा कपडा उद्योगहरु सबै उनकै पालाका उपलब्धिहरु हुन् । तर दूर्भाग्य प्रजातन्त्र स्थापना पछि २०४६ सालमा तात्कालिन सत्ताले निजिकरणको नाममा तथा उदारीकरणको नाममा कौडीको दाममा बेचिदियो । वर्तमान अवस्थामा माथि उल्लेखित ति तमाम उद्योगहरुका अर्बौंका सम्पत्तिमा धमिरा लागेका छन् भने

महेन्द्रले गरेको विकास, तयार गरेको पूर्वाधार अनि खडा गरेको राष्ट्रिय स्वाभिमान सबैका लागि गर्वको विषय हो । राजा महेन्द्रमा रहेको विकास चेत, देश प्रेम अनि राष्ट्रिय स्वाभिमानप्रतिको सजगताले उनलाई राष्ट्रवादी नेताका रुपमा स्थापित गरिदिएको छ । यद्यीप २०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर आफ्नो प्रत्यक्ष शासन चलाएपछि राजनीतिक रुपमा आलोचना गरिए पनि देश विकासको खुडकिलो त्यही समयबाट सुरु भएको पाइन्छ ।

स्व. श्री ५ महेन्द्रले गरेका कामहरुको संक्षिप्त चिनारीका लागि यो भिडियो हेर्नुहोस्:


Loading comments...