सुन् चटके सुन्: कवि इन्दिरा प्रसाई


कठपुतलीको नाच हेर्दाहेर्दा
कठपुतलीको तमासामा खेल्दाखेल्दा
युगौँ युगदेखि
तमासे हुनुको पीडाले आजित हामी
तमासे बनेर ताली बजाउँदा बजाउँदा
तमासे बनेर गाना बजाना गर्दागर्दा
ए चटके !
तैँले नै नचाएका
कठपुतलीका गलामा
माला पहिर्याउँदा पहिर्याउँदा
थाकेका हामी !

तमासे हुनुकै नियतिले
कैयौँ युगदेखि प्रताडित हामी
जुनीजुनीदेखि निस्सासिएका हामी !
यस बेला आफ्नै गानामा
यस बेला आफ्नै बाजामा
र यस बेला आफ्नै सुरतालमा
गौरवी शिर बोकेर
हामी जिन्दावाद घन्क्याइरहेछौँ, रमाइरहेछौँ
र आफ्नै कुवाको मीठो पानी पिउँदै हिंडिरहेछौँ ।

सुन् चटके सुन्
भो अब यस रङ्गमञ्चमा
हामीलाई चाहिँदैन कठपुतली !
कठपुतली नचाएर
हाम्रै रक्तकुण्डमा
डुबुल्की लगाएर
रमाउने, नाच्ने र नचाउने
ए रक्त पिपासु नरपिचास !

सुन् चटके सुन् !
एक एक कठपुतलीलाई
मुक्त गर्नेछौँ तेरा डोरीबाट
अथवा तिनका टुक्राटुक्री
र झुर्काझुर्की समेत
नामै निशान
मेटाउने छौँ हामी ।

भो अब कठपुतली नाचमा
नाच्ने छैनौँ हामी तमासे
कठपुतलीको विजय जुलुसमा
बजाउने छैनौँ ताली
अब बन्ने छैनौँ
हामी तमासे !

सुन् चटके सुन्
अब तेरो डोरी छिनालेर
अब तेरो भारी पर्दा उचालेर
हामी तँलाई नै
तमासा देखाउने छौँ
नाङ्गेझार पारेर तँलाई नै
हामी तमासा बनाउँदै छौँ
तेरा ती चटक देखाउने औँलाहरू
हाम्रा मानस औजारहरू चलाएर
छिया छिया पार्नेछौँ
तँलाई अवश्य पराजित गर्ने छौँ ।

सुन् चटके सुन्
तैँले देखाएको नाटक
तैँलै कैयौँ युगदेखि खेलाएको चटक
अब तेरै पिँडीमा पुगेर उफ्रिने छ
अथवा नाच्ने र नचाउने छ
युगौँदेखि तैँले नै
हाम्रो आँगनमा
रोपेको विषवृक्ष
अब तेरै करेसामा पुगेर झाँगिनेछ
अथवा विष फूल फुल्दै
र फल्नेछ विष फल ।

सुन् चटके सुन्
तैँले बिटुल्याएको
हाम्रो पवित्र रङ्गमञ्च
अब हाम्रा कञ्चन बाहुबलले
चोख्याउने छौँ
तेरा अस्थिपञ्जरहरू जगभित्र खामेर
हाम्रो आत्मसम्मानको मसला भरेर
उत्साह, उमङ्ग र आत्मसम्मानले सिँगारेपछि
जगमग जगमग चम्किरहेको
दीव्य मन्दिर उभिँदो छ ।

हाम्रो स्वाभिमानी झण्डा
हाम्रो मौलिक जुलुस
हाम्रो पौरखी पसिना
हेर् चटके हेर् !

© इन्दिरा प्रसाई


Loading comments...