Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

रेडियो नेपालकी प्रथम गायिका : कोइलीदेवी

१६ भाद्र २०७६, सोमबार २२:१९


कोइलीदेवीको जन्म संवत् १९८७ भदौ १२ गते बिहीबार ऋषिपञ्चमीका दिन बिहानको सूर्योदयसँगै भएको थियो । रामबहादुर बस्नेत र नीलमकी यी प्रथम सन्तान थिइन् । तर नीलम रामबहादुरकी तेस्री पत्नी थिइन् । अनि यिनको जन्म चिसापानीगढी मकवानपुरमा भएको थियो । यिनको चिनाको नाउँचाहिँ राधा थियो । यिनलाई बुद्धलक्ष्मी पनि भनिन्थ्यो । तर आमाबुबाले भने यिनलाई पान्तरी भनेर बोलाउँथे । यिनी जन्मेको एक वर्षभित्रै यिनकी आमाको निधन भयो ।

कोइलीदेवीलाई शिशुकालदेखि नै उनकी बज्यैले पालेकी थिइन् । वास्तवमा उनकी आमाको शेषपछि पनि बाबुले अर्की ल्याएकाले उनको बेस्याहार हुन नदिन रामबहादुरकी आमा लागिपरेकी थिइन् । पाँच वर्षसम्म मरीतरी हुर्काएर रामबहादुरले आफ्नी छोरी पान्तरीलाई काठमाडौंमा भएकी आफ्नी बहिनी डिट्ठिनी मानप्रिया भट्टका काखमा छाडिदिए । त्यसपछि पान्तरीको भाग्यरेखामा क्रमशः साँध लाग्न थाल्यो । ठूली भइन्जेल पान्तरीले पनि आफ्नी फुपूलाई ‘मा’ भनिरहिन् ।

मानप्रियाले नै कोइलीदेवीको शिक्षादीक्षाको प्रबन्ध गरिदिइन् । यिनले मखनटोलको पाठशालामा शिशुदेखि पाँच कक्षासम्म पढिन् । त्यसै बेला आफ्नी फुपूको सितारवादनमा कोइलीदेवीको पनि रस भिज्न थाल्यो । उनकी फुपूचाहिँ जुद्धशमशेरकी पत्नीहरुलाई सितार सिकाउने गुरुआमा थिइन् ।

मानप्रिया डिट्ठिनीको करबलले १९९८ सालमा कोइलीदेवीको पनि राणादरबार प्रवेश भयो । तर जुद्धशमशेरलाई सानी, पातली र काली कोइलीदेवीपट्टि आँखा लागेन र केही दिनपछि उनी जुद्धशमशेरको हुकुम प्रमाङ्गीले त्यहाँबाट हटिन् । त्यसपछि जुद्धशमशेरका हजुरिया जर्नेल सिंहशमशेरका दरबारमा कोइलीदेवीको प्रवेश भयो ।

लेखकः नरेन्द्रराज प्रसाई

कोइलीदेवी रेडियो नेपालमा भएताकै उनको साकारभक्त माथेमासँग प्रेम भएको थियो । उनको प्रेम झाङ्गिएका कारण उनीहरूको माया, प्रेम र विश्वास बिहेमा परिणत भयो । त्यसैले पैंतीस वर्षीय कोइलीदेवीको एकाउन्न वर्षीय साकारभक्त माथेमासँग बिहे सम्पन्न भयो । यी दम्पतीबाट सन्तानचाहिँ भएनन् । तर पनि यिनीहरूको जीवन हराभरा थियो । त्यति मात्र होइन बिहेपछि पनि बाँचुन्जेल यिनीहरू एकै दिन पनि छुट्टिएनन् । अन्ततः २०५६ साल जेठ ८ गते साकारभक्त माथेमाले कोइलीदेवीलाई छाडे ।

सिंहशमशेरले कोइलीदेवीलाई मन पराए । त्यसैले त्यहाँ खानापिनादेखि लाउने सुत्नेसम्ममा कोइलीदेवीको हैसियतले फट्का मार्न थाल्यो । राणापरिवारकै खान्गीले कोइलीदेवीको शारीरिक बनोट पनि क्रमशः आकर्षक हुन थाल्यो । साथै उनको बोलीचालीदेखि अनुहारको रूपरङ्गसमेतमा परिवर्तन आउन थाल्यो । सिंहशमशेरले पान्तरीलाई अरू गायिका र नर्तकीमाझ राखेर भने— “मैले तिम्रो नाउँ आजदेखि कोइलीदेवी राखेँ ।” त्यतिमात्र होइन; सिंहशमशेरले उनलाई सुन्दर र महँगा पोसाकमा सजाउन थाले । सिंहशमशेरकै प्रेरणामा उनले फुटबल, टेनिस र रिङ खेल्न पनि थालिन् । हलुङ्गेको थालबाट उनी एक्कैचोटि चाँदीको थालमा भात खाने हैसियतमा अनुवाद भइन् । जनरल सिंहशमशेरको माया, सद्भावना र प्रेरणाले कोइलीदेवीको हृदयभित्रको सिर्जनाले पनि राम्ररी नै फक्रने मौका पाएको थियो । वास्तवमा सिंहशमशेरको कोइलीदेवीप्रतिको न्यानो मायाका कारण सिंहमहलमा कोइलीदेवीको हैसियत नै माथिल्लो कोटिको थियो । तर कोइलीदेवीको त्यो तुजुक, त्यो फूर्ति र त्यो हैसियत त्यस दरबारभित्र झन्नैझन्नै एक दशकजति मात्र कैदी भयो ।

फुपू मानप्रियाको राणादरबारबाट भोग सकिएपछि कोइलीदेवीको पनि सिंहमहलबाट बास उठेको थियो । त्यसपछि उनी पनि फुपूकै शरणमा लागिन् ।

कोइलीदेवीले सिंहमहलबाटै रेडियो नेपाल टेकेकी थिइन् । उनले २००७ चैत २६ गतेदेखि ४४ वर्षसम्म निरन्तर रेडियो नेपालमा बसेर आफ्नो गायनयात्राको इतिहास निर्माण गरिन् । उनका सङ्गीत र रचनामा गरी रेडियो नेपालमा २६० वटा गीत सुरक्षित छन् ।

कोइलीदेवीले औपचारिक रूपमा २००७ साल चैत २६ गते आफ्नो गीतिकवितालाई आफ्नै सङ्गीतको ताल र स्वरसँगै जनकानमा पु¥याएकी थिइन् । रेडियो नेपालकी प्रथम महिला गायक र सङ्गीतकार उनी नै थिइन् ।

कोइलीदेवीले प्रेमका गीत लेखिन् । उनका प्रकृति र प्रेम अनि जीवन र जगत्का शब्दरचनाले उनी चर्चित, प्रसिद्ध र अमर बनिन् । उनका राष्ट्रिय गीत र भजनले उनको अर्को लेखकीय परिचय गाँसियो । वास्तवमा उनी नेपाली भाषाकी भजनदेवीका नाउँले विख्यात भइन् । उनी आफै लेख्तै, सङ्गीत गर्दै भजन गाउने पहिलो नेपाली नारीस्रष्टा पनि थिइन् ।

कोइलीदेवीले तीनवटा कृतिको सिर्जना गरिन् । उनको पहिलो गीतिकवितासङ्ग्रह ‘सेवा पुस्तिका’ हो । उनले यस कृतिको शीर्षकलाई पुस्तिकासँगै जोडेर आफ्नो डम्फू पेटभित्रै लुकाइन् । २०१९ सालमा प्रकाशित ‘सेवा पुस्तिका’ प्रकाशनका लागि राजा महेन्द्रबाट कोइलीदेवीलाई आर्थिक सहयोग प्राप्त भएको थियो ।

कोइलीदेवीको दोस्रो गीतिकवितासङ्ग्रह ‘समर्पण’ २०२५ सालमा प्रकाशित भएको थियो । वास्तवमा कोइलीदेवीका शब्दशब्द नै आलङ्कारिक भएका कारण उनका गीतिरचनाहरूले नेपाली मनलाई छोइरहे:

चाँप फुल्यो बनैभरि बासनाले छायो
कसले मेरो मनमा पसी नयाँ माया लायो ?

कोइलीदेवीले २०६० सालमा ‘कोइलीभजन’ पनि जनसमक्ष ल्याइन् । भजनरानीका उपनाउँमा उनिएकी कोइलीदेवीले भजनको समष्टिगत कृति जनसमक्ष ल्याएपछि आफ्नो सिर्जना साङ्गोपाङ्ग भएको ठानिन् ।

कोइलीदेवीले आफ्नो एक्लो जीवनका हरेक घुम्तीमा गीत लेखिन्, कविता लेखिन्, निबन्ध लेखिन् र प्रबन्ध लेखिन् । उनी सिंहमहल बसेताकै गीतिकविता लेखनमा अग्रसर थिइन् । गीत गाउँदागाउँदै उनी रचनाकार भएकी थिइन् । अनि आफ्ना रचना खेलाउँदाखेलाउँदै उनी सङ्गीतकार पनि भएकी थिइन् । त्यसैले उनका गीतले नेपाली माटोमा लोकप्रियता स्थापित गरे । जसले गर्दा उनी स्रष्टाका रूपमा सुपरिचित भइरहिन्—

माया मेरी मेरी भन्दै उसै बोलाएर
हेर्छौ किन तिमी मलाई आँखा लोलाएर ।

कोइलीदेवी रेडियो नेपालमा भएताकै उनको साकारभक्त माथेमासँग प्रेम भएको थियो । उनको प्रेम झाङ्गिएका कारण उनीहरूको माया, प्रेम र विश्वास बिहेमा परिणत भयो । त्यसैले पैंतीस वर्षीय कोइलीदेवीको एकाउन्न वर्षीय साकारभक्त माथेमासँग बिहे सम्पन्न भयो । यी दम्पतीबाट सन्तानचाहिँ भएनन् । तर पनि यिनीहरूको जीवन हराभरा थियो । त्यति मात्र होइन बिहेपछि पनि बाँचुन्जेल यिनीहरू एकै दिन पनि छुट्टिएनन् । अन्ततः २०५६ साल जेठ ८ गते साकारभक्त माथेमाले कोइलीदेवीलाई छाडे ।

कोइलीदेवीले नेपालका विभिन्न जिल्लाको भ्रमण गरिन् । साथै उनी चीन पनि पुगिन् । त्यति बेला उनले चीनका राष्ट्रपतिलाई आफ्नो कवितासङ्ग्रह ‘सेवा’ दिएकी थिइन् । राष्ट्रपतिले प्रत्युत्तरमा कोइलीदेवीलाई “नेपाली महिला भई तपाईंले किताब लेखेर संसारभरिका महिलाका लागि गौरवको काम गर्नुभयो” भनेका थिए ।

कोइलीदेवीको जीवनको तीव्र इच्छा तीर्थाटन पनि एक थियो । त्यसैले उनले नेपाल तथा भारतका प्रमुख तीर्थहरूको दर्शन गरेकी छिन् । त्यसै क्रममा यिनले वृषोत्सर्ग पनि गरिन् । यसै परिप्रेक्ष्यमा उनले भनेकी थिइन् “अब म मरेपछि कसैले मेरो कुनै अन्त्यकर्म गर्नुपर्दैन; मलाई जलाइदिए मात्र पुग्छ ।”

कोइलीदेवीले जिन्दगीमा साहित्य र सङ्गीतलाई काँधमा बोकेर हिँड्दै जाँदा ‘गोरखादक्षिणबाहु’ पाइन् । उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार’ पुरस्कार पनि पाइन् । साथै छिन्नलता गीतपुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र महाशक्ति सम्मानले पनि उनी सम्मानित भइन् ।

कोइलीदेवीका सम्मानमा नइ प्रकाशनद्वारा २०५६ देखि निरन्तर नइ कोइलीदेवी पुरस्कार प्रदान हुँदै आएको छ । कोइलीदेवीलाई नइको मनभित्र पुर्याउने पहिलो व्यक्ति चाहिं केशव खनाल थिए । नइकै पहलमा २०५७ साल चैत १० गते कोइलीदेवीलाई मरणासन्न अवस्थामा महाराजगन्जको शिक्षण अस्पताल पुर्याइएको थियो, अनि उनको छातीमा प्रा.डा. अरुण सायमिले पेसमेकर राखिदिए । उनी बाँचुन्जेल उनको स्वास्थ्यसुरक्षाका लागि नइले नै यथोचित सेवा जुटाइरह्यो ।

कोइलीदेवीको भौतिक चोला २०६४ पुस ६ गते काठमाडौं घट्टेकुलोको डेरामा अस्तायो । त्यहाँदेखि सजाइएको मोटरमा उनको चोला आर्यघाट पुर्याइएको थियो । त्यसदिन उनको डेरादेखि आर्यघाटसम्म लागेको सबै खर्च मुक्तक सम्राज्ञी उषा शेरचनले बेहोरेकी थिइन् ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,