राजा ज्ञानेन्द्र, वीपी कोइराला र कीर्तीनिधि विष्ट


२०४० सालतिर नेपालको राजनीतिमा उतारचढावका तरङ्गहरू देखापरिरहेका थिए । त्यसै फेरोले मेरो मनमा पनि चस्का लागिरहेको थियो । राजनीतिका नयाँ उपाय खोज्दै शान्तिपूर्ण बहुदलीय प्रणालीको आगमन होस भन्ने लागि मेरो पनि प्रबल कामना थियो । त्यही सिलसिलामा म कीर्तिनिधि विष्टलाई भेट्न उहाँको निवास ज्ञानेश्वर पुगेको थिएँ ।

लेखकः प्रकाश कोइराला

त्यस बेला पञ्चायत कालीन युग थियो । सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने राजवाणी वर्सिरहेका बेला पनि बहुदलीय प्रणाली विना मुलुकले राजनैतिक निकास नपाउने कुरामा म विश्वस्त थिएँ । त्यसैले पञ्चायत व्यवस्थाका अर्का एउटा बलियो खम्बा कीर्ति बाबु पनि हुनुहुन्छ भन्ठानेर म उहाँको सम्पर्कमा गइरहेँ । शुरूकै बेला मैले चाल पाएँ, ‘कीर्ति बाबु इमानदार पञ्च हुनुहुँदो रहेछ । साथै नेपालमा राजसंस्थाको अपरिहार्यताबारे उहाँ व्याख्याता नै हुनुहुँदो रहेछ । त्यसबखत मैले उहाँबाट धेरै सुनेँ र थोरै बोलेँ । ‘नेपालमा बहुदलीय प्रणाली त चाहिन्छ’ भन्ने मेरो स्वरमा कीर्ति बाबुले जवाफ दिनुभएको थियो, ‘राजा महेन्द्रले बहुदल दिन चाहिबक्सेको थियो । तर इच्छा पूरा नहुँदै मौसूफको स्वर्गारोहण भयो । त्यस बेला राजाले बहुदल बक्सेको भए राजा महेन्द्रको संरक्षकत्व र तपाईँका बुवा वीपी कोइरालाको नेतृत्वमा देश चल्थ्यो । तर सरकारको असमायिक स्वर्गारोहण नेपालकै दुर्भाग्य बन्यो ।’

मेरा प्रातःस्मरणीय बुवा वीपी कोइरालाले मलाई बराबर भन्ने गर्नुहुन्थ्यो, ‘नेपालमा बहुदलीय प्रणाली नै चाहिँन्छ । जनताको सरकार नभइन्जेल देश पूर्ण हुँदैन । तर यहाँ राजा सहितको बहुदलीय प्रणाली चाहिन्छ । ठूलाठूला देशको माझमा रहेको हाम्रो मुलुकका लागि राजा त अनिवार्य चाहिन्छ । राजा भएपछि मात्र नेपालको राष्ट्रियता बलियो हुन्छ तर बहुदलीयता चाहिँ अपरिहार्य आवश्यक्ता हो ।’ साथै सोही कुरा नै मेरा बुवाले कीर्तिनिधि विष्टलाई पनि भन्नु भएको थियो । गणतन्त्रको आगमनपछि कीर्ति बाबुसँग मैले राजनीतिक बहस गरेका बेला उहाँ प्रायः भन्ने गर्नुहुन्थ्यो—‘प्रकाशबाबु ! तपाईँका बुबाले नेपालमा राजसंस्थाकै अपरिहार्यता देख्नुहुन्थ्यो । उहाँका लागि राजाविनाको बहुदलको नेपालमा कामै थिएन ।

कति दूरदर्शी बीपी कोइराला ! हेर्नुहोस् त अहिले बहुदल छ तर जनता र देशलाई बाँच्न गाह्रो छ । बीपी कोइरालाजस्ताले त्यसै त भन्नु भएको थिएन । उहाँले जे भन्नु भयो आज नेपालको हालत त्यही छ । अब यी नेता भनाउँदाले देश सक्ने भए ।’

कीर्ति बाबु अत्यन्तै सरल राजनेता हुनुहुन्थ्यो । उहाँ सैद्धान्तिक रुपमा फलाम भए तापनि व्यक्तिगत रुपमा नौनी घ्यू झैँ नरम राजनीतिज्ञ हुनुहुन्थ्यो । पञ्चायतकालमा मैले सम्मान गर्ने राजनेतामा कीर्तिनिधि विष्ट एक जना हुनुहुन्थ्यो । मैले श्रद्धा र सम्मान गरिरहेका व्यक्तित्वसँगसँगै बसेर काम गर्ने मौका पनि मैले पाएको थिएँ ।

मुलुकको चिन्ताजनक अवस्थालाई ध्यानमा राखेर राजा ज्ञानेन्द्रबाट ‘तीन वर्षभित्र मुलुकलाई सम्पूर्ण सङ्कटवाट निकासा दिन्छु र त्यसपछि मुलुकको शासनभार जनतालाई नै फिर्ता गर्छु’ भनेरै शाही घोषणाका साथ कदम चालिएको थियो । त्यस बेला कीर्ति बाबु र डा. तुलसी गिरीले राजनीति परिचालन गर्न सक्नुहुन्छ भन्ने मलाई पनि आशा लागेको थियो, तर दलहरूले राजाको इच्छालाई कुल्चेर हिँड्न थाले ।

राजा ज्ञानेन्द्रले आफूले अधिकार लिएपछि कीर्ति बाबु मन्त्री परिषद्का उपाध्यक्षमा मनोनित हुनुभयो र मलाई मन्त्रीमा मनोनित गरियो । त्यसबेला राजासहित कीर्ति बाबुसँग मेरो साप्ताहिक अनिवार्य भेटघाट हुने गथ्र्यो । जुनसुकै समयमा पनि सादा जीवन उच्च विचारमा नै उहाँ रहनु हुन्थ्यो । उहाँजस्ता सरल, असल, भलाद्मी अरु पनि होलान् तर म उहाँको व्यक्तित्वबाट धेरै प्रभावित भएँ ।

कीर्ति बाबुमा राजाप्रति एकरत्ति पनि अहम (इगो) थिएन । त्यही कारणले राजाले सत्ता लिएपछि राजाकै अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा उहाँ उपाध्यक्ष रहनु भएको थियो । राष्ट्रनिर्माण गर्न सकिएला, जनताको हीत गर्न सकिएला भनेर राजाको नेतृत्वमा उपाध्यक्ष भएको कुरामा उहाँ गौरव मान्नु हुन्थ्यो । वास्तवमा कीति बाबुले झैँ ठीक त्यही विषय सोचेर राजाको मन्त्रिपरिषद्मा म पनि सम्मिलित भएको थिएँ ।

धेरैले राजाको शाही कदम गलत भयो पनि भनेका थिए । वास्तवमा त्यसबखत मुलुकको राजनैतिक निकासका लागि शाही कदम बाहेकको विकल्प पनि थिएन । त्यस बेला प्रधानमन्त्री शेरबहादुर देउवाले छ महिनामा चुनाउ गराउँछु भनेर संसद विघटन गरे तर संसद विघटन गरेपछि उनले चुनाव गराउन सक्तिन भन्न थाले । एकातिर देउवाले मनपरी शासन सञ्चालन गर्नु र अर्कातिर माओवादी युद्धका कारण मुलुक आक्रान्त हुँदै जानुले शाही कदमको आवश्यक्ता खट्किएको थियो । एकातिर मुलुकमा संवैधानिक सङ्कट परिरहेको थियो भने अर्कातिर माओवादीको आन्दोलनले मुलुक मुर्छा पर्ने अवस्थामा रहेको थियो । मुलुकको चिन्ताजनक अवस्थालाई ध्यानमा राखेर राजा ज्ञानेन्द्रबाट ‘तीन वर्षभित्र मुलुकलाई सम्पूर्ण सङ्कटवाट निकासा दिन्छु र त्यसपछि मुलुकको शासनभार जनतालाई नै फिर्ता गर्छु’ भनेरै शाही घोषणाका साथ कदम चालिएको थियो ।

नेपालको अस्तित्व राजतन्त्रसँगै गाँसिएर आएको थियो । त्यसैले राजाविहीन मुलुक डुब्दै, डुब्दै र डुब्दै जान थाल्यो र अहिले यस अवस्थामा आइपुगेको छ । यस बेहोरालाई ध्यानमा राखेर एकदिन कीति बाबुले मलाई भन्नु भयो— ‘देख्नु भयो अब गणतन्त्र आयो । तपाईँका बुबा (बीपी कोइराला) ले ‘राजाविहीन मुलुकको सार्वभौमसत्ता जोगाउन गाह्रोपर्छ र राष्ट्र स्वतन्त्र पनि हुँदैन’ भन्नु भएको थियो । हो, अब मुलुक त्यस्तै भयो ।’

त्यस बेला कीर्ति बाबु र डा. तुलसी गिरीले राजनीति परिचालन गर्न सक्नुहुन्छ भन्ने मलाई पनि आशा लागेको थियो, तर दलहरूले राजाको इच्छालाई कुल्चेर हिँड्न थाले । त्यस दुखद् स्थितिलाई हेरेर कीर्तिबाबुले धेरै मन दुखाउनु भएको मलाई थाहा छ । यतातिर राजाको राष्ट्र र जनताप्रतिको सदिच्छा लक्ष्यतिर लम्किरहेको थियो भने उतातिर राजाको कदमलाई असफल पार्न भारतको एकमात्र लक्ष्य अग्रसर थियो । त्यसैले हामीले काम गर्न सकेनौँ । कीर्ति बाबु पनि भन्नुहुन्थ्यो ‘अरू केही होइन भारतले नेपालका नेतालाई नचाउन थालिसक्यो ।’

राजाले शक्ति हात पारेपछिको घटनाले काङ्ग्रेश, माओवादी र एमाले आत्तिएका थिए । त्यसैले हतारोमा उनीहरू भारतको शरणमा नै गए । त्यसपछि उनीहरूले १२ वुँदे दस्तावेजमा हस्ताक्षर गरे । त्यही परिणतिले गर्दा राजाले हार खाएर संसद व्युँताउनु पर्‍यो । अन्ततः त्यही संसदबाट राजतन्त्र नै खारेजीमा पर्‍यो ।

गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेको नेतृत्वमा नेपालमा गणतन्त्र आयो । त्यसपछि भारतको परराष्ट्र मन्त्रालयका सचिव श्यामशरणले इण्डियन एक्सप्रेसमा एउटा लेख लेखेका थिए । त्यस लेखको मुख्य कुरा के थियो भने— ‘हामी (हिन्दूस्थान) लाई महेन्द्रले झैँ राजा ज्ञानेन्द्रले पनि ३० वर्षे शासन गर्छन् भन्ने डर थियो । त्यसैले हामीले राजालाई हटाउन मद्धत गर्‍यौँ ।’ पत्रिकामा यस्तो प्रकारको लेख आएपछि त्यसमाथि कीर्ति बाबु र मैले बहस गर्‍यौँ । अनि हामी दुवैले भनेका थियौँ ‘राजालाई नेपालीले हटाएका होइनन् । मित्रराष्ट्र भारतले नै राजालाई सिद्धायो ।’

हो, हाम्रो मुलुकको बागडोर नेतृत्वपङ्तिबाट फुस्केर भारत पुगिसकेको छ । यो कुरा पनि श्यामशरणबाटै पनि लेखिएको छ । कस्तो बिडम्बना ! हाम्रो सार्वभौम सत्तामा भारतले बुट बजार्यो ।

नेपालको अस्तित्व राजतन्त्रसँगै गाँसिएर आएको थियो । त्यसैले राजाविहीन मुलुक डुब्दै, डुब्दै र डुब्दै जान थाल्यो र अहिले यस अवस्थामा आइपुगेको छ । यस बेहोरालाई ध्यानमा राखेर एकदिन कीति बाबुले मलाई भन्नु भयो— ‘देख्नु भयो अब गणतन्त्र आयो । तपाईँका बुबा (बीपी कोइराला) ले ‘राजाविहीन मुलुकको सार्वभौमसत्ता जोगाउन गाह्रोपर्छ र राष्ट्र स्वतन्त्र पनि हुँदैन’ भन्नु भएको थियो । हो, अब मुलुक त्यस्तै भयो ।’

कीर्ति बाबुले पछिसम्म पनि दुखेसो गरेको मलाई थाहा छ । उहाँले के भन्नु भएको थियो भने— ‘राजाले तीन वर्षीय योजना प्रष्ट पारेर शासन आफ्ना हातमा लिएका थिए । अन्यौल र वाधाहरू सबै ठीक पारेर शासन दलहरूलाई फिर्ता गर्छु भनेका थिए । तर राजालाई काम गर्न नै दिएनन् ।’ त्यसपछि भारतले नेपालका नेताहरूलाई परिचालन गरेर राजाको वदनाम गराएको कुरामा पनि कीर्ति बाबु अनभिज्ञ हुनुहुन्थेन । त्यसैले एक दिन उहाँले मलाई भन्नुभयो— ‘ए प्रकाश बाबु ! २०१७ साल अघि झैँ भारतले नेपालको आन्तरिक मामलामा हात हाल्न थाल्यो ।’ त्यसदिन मैले कीर्ति बाबुलाई जवाफ फर्काएको थिएँ— ‘अब यस्तै रवैया हुने हो भने नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता सुरक्षित रहन नसक्ने सम्भावना छ ।’

मेरो कुरा सत्य हो, किनभने नेपाल भारत दुवै सार्वभौम र स्वतन्त्र देश हुन् । हामी पनि संयुक्त राष्ट्रसङ्घका सदस्य हौँ । हाम्रो सार्वभौमसत्ता सम्पन्न राष्ट्रमा घुसेर भारतले नेताहरूलाई आफ्नो रापमा राख्यो । १२ बुँदेमा नेताहरूलाई मात्र हस्ताक्षर गराउन एक राष्ट्रले अर्को राष्ट्र उपरको नैतिकता थियो र ? त्यहाँ हस्ताक्षर नै गराउनु पथ्र्यो भने प्रथमतः श्री ५ को सरकारको प्रतिनिधित्व पनि हुनुपथ्र्यो कि पर्दैनथ्यो ? सम्बन्धित मुलुकको सरकारलाई पर सारेर अर्को राष्ट्रले सरोकारवाला देशको राजनैतिक व्यवस्था उथलपुथल गर्न मिल्छ र ? दलहरूसँगको अवैधानिक सम्झौता गरेर नेपालबाट राजसत्ता असंवैधानिक रूपले उखेलिएको छ । तर कानुनी र संवैधानिक रूपमा यो ठाडै अस्वीकार्य छ । यस्तो राजनैतिक बेइमानीप्रति कीर्ति बाबु धेरै खिन्न हुनु भएको थियो । त्यसबेला मैले उहाँलाई भनेको थिएँ— ‘कीर्ति बाबु ! यो राजनैतिक बेइमानी होइन, गद्धारी हो !’ साथै मैले उहाँलाई भनेको थिएँ— ‘यी नेता आफूहरूलाई क्रान्तिकारी भन्छन् तर नेपालका लागि भारत पो क्रान्तिकारी देखियो । तर पछिल्ला दिनहरूमा भारतका बुद्धिजीवीहरू समेत नेपालमा गणतन्त्र लादिएको बेहोराले चिन्तित छन् । उनीहरूले भन्न थालेका छन्— ‘हामीले राजालाई हटाएर गल्ती गरेका छौँ । हाम्रो सम्पूर्ण साँस्कृतिक इतिहासले हामीलाई धिक्कार्दै जाने छ ।’

मुम्बईमा मेरी छोरी मनीषाको “हिल्ड“ लोकार्पण समारोहमा भारतका सुप्रसिद्ध फिल्म निर्देशक तथा बुद्धिजीवी महेश भट्टले पनि मलाई भनेका थिए— ‘प्रकाशजी ! हिन्दुस्थानले राजालाई हटाएर नेपाल बिगारिदियो । नेपालको अवस्था राम्रो छैन ।’

नेपाल राष्ट्रलाई मित्रराष्ट्र भारतले घरिघरि दुक्ख पनि दिदै आएको परिप्रेक्ष्यमा नेपालको शासन व्यवस्थालाई नै डामाडोल पारिदियो । नेपाल राष्ट्रभित्र कीर्तिनिधि विष्टहरूजस्ता राजनेताहरूलाई पनि थाहै नदिई आफ्ना आसेपासेलाई बोलाएर भारतले नेपालको राष्ट्रियता उपर ताण्डव नृत्य देखाइदियो ।

नेपालको राजनैतिक अवस्था र स्थिति जेजस्तो भए तापनि कीर्ति बाबुहरूले राष्ट्रियताको लागि कहिले आफ्नो धर्म छाडेको देखिएन । उहाँजस्तो स्वाभिमानी राजनेतालाई प्रायः कुनै नेता भनाउँदाले पनि चिन्न सकेनन् । उनीहरूको उहाँलाई खासै चिन्ने चाहना पनि देखिएन । किन भने मुण्डमुण्ड बुद्धि कुण्डकुण्ड पानी भन्ने उखान त हामीले सुन्दै आएकै हो ।

कीर्ति बाबु अत्यन्तै स्वभामानी हुनुहुन्थ्यो । उहाँको गुण अत्यन्तै विशिष्ट कोटिका थिए । उहाँले आफू शक्तिमा नभएका अवस्थामा राज्यबाट कुनै सम्मान र सहयोग लिन चाहनु भएन । उहाँले आफ्ना लागि कुनै राष्ट्रिय मान्यता पनि खोज्नु भएन । नेपालका कुनै पनि राजनेताको मृत्यु शान्त रुपमा हुनु, कुनै राजकीय समाचार र खबरी नहुनुको तात्पर्य कीति बाबुकै चाहना थियो । उहाँजस्ता विराट व्यक्तित्वको निधन र त्यसपछिको अत्यन्तै साधारण कृत्यले पनि नेपाली समाजमा एउटा प्रेरक पाठ चाहिं छोडेको छ ।

घर परिवारले हल्ला नगरे तापनि कीर्ति बाबुको स्वर्गारोहण भएको गाइँगुइँ सुनेका आधारमा म चाहिँ आर्यघाट पुगेँ र उहाँको पार्थिव शरीरमा माल्यार्पण गरेँ ।


LiveMandu का सामाग्रीहरु © Copyright अन्तर्गत संरक्षित छन् । अन्य कुनै पनि श्रोतमा राखिएमा प्रतिलिपी अधिकारमा नेपालको प्रचलित कानुन अनुसार कार्यवाही अगाडी बढाईने छ ।

सामाग्री सहयोगका लागि आदरणीय दाजू तथा गीतकार, निबन्धकार तथा जीवनीकार नरेन्द्रराज प्रसाईलाई विशेष धन्यवाद ! सर्वप्रिय लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक हुनुहुन्छ ।


Loading comments...