Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

मदन पुरस्कारबाट त्रिमूर्ति कसरी उछिट्टिए ?

२७ भाद्र २०७६, शुक्रबार १७:३३

श्री कमलमणि दीक्षितज्यू
अध्यक्ष, मदन पुरस्कार गुठी

आदरणीय कमल बाबू !
यहाँले मलाई हिजो पठाउनुभएको यहाँको नयाँ कृति ‘गुरुभेटी’ (महाकविमा) मैले राति नै पढिसकेँ । त्यस कृतिमा आबद्ध यहाँको भाषा, शैली र प्रस्तुतिको बखान आज म नगरूँ; किनभने यसबारे मैले लेखिसकेकै पनि हुँ । यत्ति हो, कमल बाबू लेखेर नथाक्ने अर्को महाकवि देवकोटा हो भने पनि पापै नलाग्ला जस्तोचाहिँ मलाई लाग्छ । तर कमल बाबू ! यस कृतिको कुनैकुनै पृष्ठमा पुगेपछि म रनभुल्लमा परेँ र फेरि दोहोर्‍याएर मैले पारायण गरेँ । अनि फेरि पनि मलाई ती सन्दर्भका बेहोराले दोधारमै पारिरह्यो । किनभने कमल बाबू जस्ता सिद्धहस्त स्रष्टाले लेखेको किताबमा कसरी त्रुटि हुन सक्ला र भन्ने मेरो यहाँप्रतिको समर्पित धाराबाट तपतपी पानी चुहिन पनि छाडेन । अनि मेरो केही सीप नलागेपछि मेरी पुरोधिका इन्दिरालाई मैले अन्डरलाइन गरेका पङ्क्तिहरू पढेर मलाई तिनको अर्थ बुझाउन आग्रह गरें । उनले पनि मैले झैँ एकपल्ट ती पाठ पढिन् र फेरि दोहोर्‍याएर पनि त्यही पढिन् । उनको निष्कर्ष पनि मेरो जस्तै निस्क्यो । अर्थात् यी सन्दर्भ उहाँजस्तो साहित्यिक महारथीबाट कसरी प्रस्तुत भए ? भन्ने हिसाबमा उनी पनि पुगिछिन् । कतै हाम्रो जोडीको बौद्धिक चेतको अल्पतामा यसको सही अर्थ पो हामीले लगाउन नसकेका हौँ कि भन्ने पनि मलाई लाग्यो । त्यसैले यहाँसमक्ष मैले केही जिज्ञासा राख्नैपर्ने भयो । मलाई आशा छ, यहाँको ‘गुरुभेटी’मा आबद्ध अभिलेखमध्ये मैले बुझन नसकेका निम्नलिखित प्रसङ्गका उत्तर पाउन सकूँला।

लेखकः नरेन्द्रराज प्रसाई

यहाँले चाहिँ पौड्याल, सम र देवकोटालाई ‘मदन पुरस्कार दिन पाइएन’, ‘मदन पुरस्कार दिन पाइएन’ भनेर गुनासो मात्रै गर्नुभएको छ । यहाँजस्ता मूर्धन्य व्यक्तिले यत्तिका वर्षपछि आएर यस्ता कुरा लेख्ता त्यसको उचित अर्थ रहन्छ होला र ! यहाँले भन्न खोजेको खास कुरा कविशिरोमणि, नाट्यसम्राट् र महाकविप्रति यहाँहरूले गरेको अन्यायको पछुतो हो या भक्तिभावना हो ? यो विषय पनि स्पष्ट भएन नि !

१. कमल बाबूले बनारसमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई एक रुपियाँ चन्दा दिनुभएको बेहोरा साठी वर्षसम्म पनि सम्झिरहनुभएको रहेछ र त्यही हिसाबलाई शीर्षक बनाएर ‘गुरुभेटी’ (२०६६) पनि लेख्नुभयो । त्यसपछि देवकोटालाई आर्थिक हाहाकार हुँदा यहाँले कहिले सम्झनुभो ? जबकि दानवीरमा नाउँ कमाएकी रानी जगदम्बाका यहाँ सेक्रेटरी र हर्ताकर्ता पनि हुनुहुन्थ्यो । त्यसै बेला कुनै एक दिन रानी जगदम्बासँग चन्दा माग्न जाँदा महाकवि देवकोटाले ‘’रानी साहेब दानी हुनुहुन्छ, दयालु हुनुहुन्छ’’ भनेर कमल बाबूसमक्ष आधा घन्टाजति प्रशंसा गरेर घाँटी सुकाउँदा पनि जगदम्बा रानीसँग देवकोटाको भेट गराइदिनका निम्ति यहाँको कविहृदय किन पग्लेन ? देवकोटाले तिनको त्यत्रो स्तुति गर्दा तिनी देवकोटालाई फुटेको कौडी दान दिनबाट कसरी वञ्चित भइन् ? पछिपछि देवकोटा गरिबीले गर्दा औषधी गर्न नसक्ने असहाय अवस्थामा पनि पुगेका थिए । अनि त्यति बेला जगदम्बाले चारैतिर नगद र जिन्सी र्छर्दै गरेका प्रसङ्ग देवकोटालाई पनि थाहा थियो । तर पनि महाकविले उनीबाट सुकोपैसो सुँघ्न पाएनन् । शताब्दीकै महान् प्रतिभा देवकोटाबारे दानी जगदम्बा रानीका कानमा जानकारी नै पुगेको थिएन कि ! अथवा देवकोटाबारे उनलाई विपरीत पारिएको पो थियो कि ! यहाँलाई यस विषयमा थप जानकारी छ कि ?

२. मदन पुरस्कार गुठीले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मदन पुरस्कार दिन चाहन्थ्यो भन्ने कुरा कमल बाबूले ‘गुरुभेटी’मा लेख्नुभएको रहेछ । त्यति मात्रै होइन, यहाँले त्यसबारे फेरि प्रस्ट रूपमा खिप हाल्नुभएको छ- ‘’मदन पुरस्कारका लागि उहाँहरूका पुस्तक गुठीमा आउनैपर्थ्यो । आउने पनि थिए, तर त्यसमा तगारो लाग्यो नेपाल एकेडेमीको । नेपाल एकेडेमी भनेर पुग्दैन, मान्छेको नामै किट्नु पर्छ । तत्कालीन भाइस चान्सलर बालचन्द्र शर्माले रोकिदिनुभएछ । आफ्ना मातहतका एकेडेमिसियनहरूलाई भन्नुभएछ ‘तपाईहरूले गुठीमा पुस्तक पेस गर्नु एकेडेमीको इज्जतको विपरीत हुन्छ, नपठाउनुहोला ।’’ कमल बाबूले मदन पुरस्कार प्राप्त गर्नका लागि पुस्तक चाहिन्थ्यो भन्ने आशय उल्लेख गर्नुभएको छ । के त्यति बेला गुठीले पाण्डुलिपिलाई नै पुरस्कार दिने चलन थिएन र ? देवकोटालाई मदन पुरस्कार जुर्ने भए उनका घरमा पाण्डुलिपि खाँदेका बोराहरूको मुख पनि त खोल्न सकिन्थ्यो ! यहाँको ‘गुरुभेटी’ पढ्दा ‘’यदि दाताको मन नै औंसी छ भने भोक्ताले पूर्णिमा हुनुको के अर्थ रहँदो रहेछ र !’’ भन्ने सोचाइमा फेरि म अड्किन पुगेँ ।

३. नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माले भाँजो हालेका कारण ती तीन भाइका किताब मदन पुरस्कार गुठीमा आएनन् र पुरस्कार दिन पाइएन भन्ने दुखेसो कमल बाबूले प्रस्तुत गर्नुभएको छ । शर्माले भाँजो हालेको बारे यहाँसँग झिनोमसिनो कुनै प्रमाण पनि छ होला ?

४. बालचन्द्र शर्मा कहिलेसम्म नेपाल एकेडेमीका भाइस चान्सलर थिए ? उनले एकेडेमी छाडेपछि कविशिरोमणि र नाट्यसम्राट्लाई मदन पुरस्कार दिन कुन बाधाले छेकेको थियो ? यसबारे पनि म प्रष्ट हुन सकिनँ । अर्को कुरा, गुठीलाई नेपाली भाषासाहित्यका यी तीन जना विभूतिलाई पुरस्कार दिन मन लागेको नै थियो भने गुठीको नियम मिलाएर मरणोपरान्त उनीहरूका नवकृतिलाई पुरस्कार दिन सकिँदैनथ्यो र ? जब कि मदन पुरस्कार व्यक्तिलाई नभएर कृतिलाई नै मात्र दिइन्छ । यसबारे पनि यहाँले ‘’गुठी उहाँहरूको सम्मान गर्न चाहन्थ्यो, मदन पुरस्कार अर्पण गरेर । “जगदम्बाश्री त्यस बेला जन्मेको थिएन, व्यक्तिलाई मदन पुरस्कार दिन नमिल्ने’’ भनेर ‘गुरुभेटी’मा दोहोर्‍याएर लेख्नुभएको नै छ । देवकोटा स्वर्गीय भएपछि नै उनका चालीसवटाभन्दा बढी कृति प्रकाशित भएका छन् र यो लहरो अझै तानिदै पनि छ । साझा प्रकाशनले पनि उनको ‘पृथ्वीराज चौहान’ नामक महाकाव्यका लागि २०४९ सालको ‘साझा पुरस्कार’ समर्पण गरेको थियो त !

५. २०२२ सालमा कविशिरोमणि पौड्याल र २०३८ सालमा नाट्यसम्राट् समले इहलीला त्यागेका थिए । मदन पुरस्कार गुठीको स्थापना भएको २५ वर्षको अवधिमा समले त्यतिबिधि ओजस्वी कृतिहरू लेखे । उनले चाहिँ मदन पुरस्कार किन नपाएका हुन् ? त्यस समयमा उनका कुनै गतिला कृति पो प्रकाशित थिएनन् कि ! ‘पुरस्कार पाऊँ हजुर !’ भनेर उनले गुठीमा आफ्ना किताब बुझाएर होचिन पो चाहेनन् कि ! तर यहाँले चाहिँ पौड्याल, सम र देवकोटालाई ‘मदन पुरस्कार दिन पाइएन’, ‘मदन पुरस्कार दिन पाइएन’ भनेर गुनासो मात्रै गर्नुभएको छ । यहाँजस्ता मूर्धन्य व्यक्तिले यत्तिका वर्षपछि आएर यस्ता कुरा लेख्ता त्यसको उचित अर्थ रहन्छ होला र ! यहाँले भन्न खोजेको खास कुरा कविशिरोमणि, नाट्यसम्राट् र महाकविप्रति यहाँहरूले गरेको अन्यायको पछुतो हो या भक्तिभावना हो ? यो विषय पनि स्पष्ट भएन नि ! कमल बाबूको जीवनकालमा नै यस्ता कुरालाई स्पष्ट नपार्ने हो भने अमृतवृक्ष भएर झाँगिनुपर्ने मदन पुरस्कार विषवृक्षका रूपमा स्थापित हुन पनि बेर लाग्दैन।

कमल बाबू ! म नेपाली भाषासाहित्यमा यहाँकै अनुयायी भएर अनाटकीय ढङ्गबाट उपस्थित भइरहेको छु । मलाई मञ्चमा बस्न, माला लगाउन र पुरस्कार थाप्न सङ्कोच लाग्छ भनेर मैले एक दशकको छेउछाउदेखि लेख्तै आएको बेहोरा पनि हो । तर पनि विशेषगरी जगदीशशमशेर राणालाई मैले मदन पुरस्कार पाएको हेर्ने इच्छा थियो । अनि त्यही परिवेशमा मैले राणालाई मदन पुरस्कारको चटकबारे पनि एउटा लामो चिठी लेखेर भारतको सिमला पठाएको थिएँ । वास्तवमा ईश्वरवल्लभदेखि जगदीशशमशेर राणासम्मले जति नै जोड गरे तापनि मैले मेरा कुनै कृति मदन पुरस्कारको चिट्ठामा सामेल गराइनँ । बिन्तीपत्र हालेर आफ्नो योग्यता एकल तजबीजको तुलोमा जोखीपाउँ भन्नु र आत्महत्या गर्नु मेरा लागि बराबर हो।

कमल बाबू ! हाल, म खासगरेर महाकवि लक्ष्मीप्रसाद देवकोटाकै अध्ययन, खोज र अनुसन्धानमा पनि लागेको हुनाले प्रदत्त प्रश्नहरू मेरा लागि निक्कै महत्त्वपूर्ण हुन गएका हुन् । त्यसैले मेरो अन्वेषणकार्यमा यहाँबाट सहयोग पुग्नेछ भन्ने मैले आशा राखेको छु।

यहाँको स्नेही भाइ
(नरेन्द्रराज प्रसाई)
मिति : २०६६ असोज ३१ गते
(महाकवि देवकोटा जन्मेको आज १०० वर्षपुगेको दिन)
~
यो लेख कमल दीक्षितको सम्पादनमा प्रकाशित मदन पुरस्कार गुठीको मुखपत्र ‘नेपाली’ त्रैमासिकको अङ्क २०१ (२०६६ कात्तिक, मङ्सिर र पुस) बाट साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ

काठमाडौँ– पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस