१७२ जना एसइई २०७५ र ४८ जना कक्षा १२ उतीर्ण मुसहर विधार्थीहरु सम्मानीत


२०७५ सालको एसइई उत्तीर्ण देश भरीका १७२ र कक्षा १२ उतिर्ण ४८ जना मुसहर विधार्थीहरुलाई आज जनकपुरधाममा सम्मान गरीएको छ । प्रदेश २ सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुसहर समुदायबाट पहिलो पिएचडी तथा भारत, बिहार राज्यको सांसद डा. सन्तोष माझी मुसहर र प्रदेश २ सरकारको नीति आयोगका उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाले संयुक्त रुपमा ती विधार्थीहरुलाई प्रोत्साहन पत्र, माला र अविर लगाएर सम्मान गरेका थिए । भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको नेतृत्वदायी पहलमा उक्त सम्मान समारोह आयोजना गरिएको थियो । भोरले विगत ९ वर्ष देखि देश भरीबाट एसएलसी उतिर्ण मुसहर विधार्थीहरुलाई संकलन गरी प्रत्येक वर्ष सम्मान गर्दै आई रहेको छ । विगतका ९ वर्षहरु देखि नै एसइई उतिर्ण मुसहर विधार्थीहरुलाई सम्मान संगै दीनाभद्र्री छात्रवृती कोष मार्फत देश विदेशका परोपकारी व्यक्ति र भोरका सदस्यहरुको योगदानबाट ती विधार्थीहरुलाई उच्च शिक्षा अध्य्यन गराउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आई रहेको छ ।

विगत ९ वर्षको एसएलसी र एसइई उतिर्ण मुसहर विधार्थीहरुको संख्या
२०६७ मा : ३ जना, २०६८ मा : ५ जना
२०६९ मा : ७ जना, २०७० मा : ९ जना
२०७१ मा : ६१ जना, २०७२ मा : ९२ जना
२०७३ मा : १४८ जना, २०७४ मा : १६६ जना
२०७५ मा : १७२ जना

२०७५ मा एसइई उतिर्ण : १७२ (महिला ४८ र पुरुष १२४)
कक्षा १२ मा उतिर्ण : ४८ (महिला १० र पुरुष ३८)

भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको अगुवाई र नेपाल राष्ट्रिय मुसहर संघको समन्वयमा एसइई २०७५, कक्षा १२, स्नातक, स्नातकोत्तर र पिएचडी उतिर्ण मुसहर विधार्थीहरुलाई सम्मान र उच्च शिक्षा अध्य्यन गर्न सहयोग घोषणा समारोह नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सदाको सभापतित्वमा संचालन भएको थियो । प्रदेश २ सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्य र मुसहर समुदायबाट पहिलो पिएचडी गर्ने भारत बिहार राज्यको सांसद डा. सन्तोष माझी मुसहर र प्रदेश २ सरकारका नीति आयोगका उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाको विशिष्ट आतिथ्यमा संचालन भएको सम्मान समारोहको उदघोषण भोरको कोषाध्यक्ष पचुलाल माझी मुसहरले गरेको थियो । साथै कार्यक्रममा प्रदेश २ को सांसद राम आषिस यादव र फुलिया देवी सदा अतिथीको रुपमा सहभागी भएको थियो । उक्त समारोहमा झापा देखि नवलपरासी सम्मका ३०० भन्दा बढी मुसहर विधार्थी, अभिभावक र अन्य सरोकारवालाहरु सहभागी थिए ।

आज भन्दा १० वर्ष पहिले सन् २००९ मा नेपालको सबै भन्दा गरिब, अशिक्षित, अभाव र विभेदमा रहेको मुसहर समुदायको जिवनलाई समृद्ध र सम्मानीत बनाउनको लागि शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान भोरले शुरु गरी स्थानीय देखि राष्ट्रिय स्तर सम्म मुसहर समुदायको बृहत मुद्धाहरुलाई सम्बोधन गर्न अनवरत रुपमा सृजनात्मक कार्यहरु गर्दै आएको भोरको अध्यक्ष राज कुमार महतोले जानकारी गराए । अभियानको औचित्य, हाल सम्म भएका उपलब्धी, चुनौती र सिकाईको बारेमा महतोले प्रस्तुत गरेको थियो । हाल सम्म भोरले आफनो अभियान मार्फत २५० भन्दा बढी मुसहर विधार्थीहरुलाई आर्थिक र प्राविधिक सहयोग गरी उच्च शिक्षा अध्य्यन गराउन सफल भएको तथ्य भोरका अध्यक्ष महतोले जानकारी गराउनु भयो ।

वर्ष २०७५ मा एसइई उतिर्ण गरेका विधार्थीहरुलाई उच्च शिक्षा अध्य्यन गराउन सहयोग गर्न विभिन्न मनकारी व्यक्ति तथा संस्थाहरु र शैक्षिक संस्थाहरुलाई विगतमा झै सहयोग गर्न भोरले अनुरोध पनि गरेको छ । विगतमा भोरको सहजीकरणमा दीनाभद्री छात्रवृति कोषबाट सहयोग लिएर उच्च शिक्षा अध्य्यन गरेर हाल जागिर गरी रहेका मुसहर समुदायका तिन जना व्यक्तिहरुले एसइई उतिर्ण मुसहर विधार्थीहरुलाई उच्च शिक्षा अध्य्यन गर्न सहयोग गर्ने घोषणा समेत गरेका छन् । सिरहा जिल्लाका दिपेन कुमार सदाले रु ८०००, रौतहट जिल्लाका जितेन्द्र माझिले रु ५००० र पर्सा जिल्लाका सुनिल माझीले रु ५००० रकम मुसहर समुदायको विधार्थीहरुलाई उच्च शिक्षा अध्य्यन गर्न सहयोग घोषणा गर्दै भोरको कोषाध्यक्ष पचुलाल माझीलाई हस्तान्तर गरेको थियो ।

नेपालमा संघीयता कार्यान्वयन भई सकेको सन्दर्भमा मुसहर लगायत डोम, चमार, हलखोर, धोबी, पासवान समुदायको बालबालिका तथा युवाहरुलाई शिक्षित बनाउन पुर्ण छात्रवृति सहित व्यवहारीक नीति तथा योजना ल्याउनु पर्ने जिम्मेवारी अब प्रदेश सरकार तथा स्थानीय सरकारको रहेको छ । भोरले विभिन्न व्यक्तिहरुको सहयोगमा मुसहर समुदायको बालबालिका तथा युवाहरुलाई शिक्षाको मुलधारमा ल्याउन विगत १० वर्ष देखि गरि रहेको उदाहरणीय कार्यको उपलब्धी र सिकाईलाई अंगालदै प्रदेश सरकार, स्थानीय सरकार तथा संघीय सरकारले आफनो जिम्मेवारी इमानदार भई व्यवहारीक तवरले अगाडी बढाए कम समयमा नै मुसहर लगायत अन्य दलित समुदायको शैक्षिक स्तरमा उल्लेखनिय प्रगती हुने निश्चित छ । भोरका अध्यक्ष राजकुमार महतोद्वारा प्रेसित विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...