सुरज मल्लको निर्देशनमा “शकुन्तलाको औँठी” मञ्चन हुँदै


मंसिर ७, काठमाण्डौ । एक्टर्स स्टुडियोको नविनतम प्रस्तुति नाटक ‘शकुन्तलाको औँठी’को नियमित मञ्चन यहि शुक्रबार, मंसिर ७, गते बाट हुनेभएको हो । एक्टर्स स्टुडियोले विगत डेढ दशकदेखि लगातार स्वदेशी तथा विदेशी नाटकहरु मञ्चन गर्दै आईरहेको छ । जसमा भर्चुयल रियालिटी, टलक जंग भर्सेस टुल्के, बाँकी उज्यालो, मलामी, काफ्का, ओ स्टार दुनियाँ, कथादेश २, कोर्ट मार्शल, थर्टि डेज् इन सेप्टेम्बर, तीन एकान्त, थाङ्ला, चराहरुको सम्मेलन आदि हुन् । आगामि शुक्रबारदेखि शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन गरिने नाटक ‘शकुन्तलाको औँठी’को पहिलो मञ्चनबारे जानकारी प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

भारतिय प्रसिद्ध नाटककार सुरेन्द्र वर्माद्बारा लिखित नाटकलाई पहिलो पटक युवा रङ्गकर्मी सुरज मल्लले अनुवाद तथा निर्देशन गर्नुभएको हो भने नृत्यंगना एवम् कलाकार दिया मास्के लगायत एक्टर्स स्टुडियोका अन्य कलाकारहरुको अभिनय रहेको छ ।

नाटक यहि २०७५ मंसिर ७ गते देखि २०७५ पौष ७ गते सम्म शिल्पी थिएटरको गोठाले नाटकघरमा मंगलबार बाहेक दैनिक साँझ ५ बजे र शनिबार अतिरक्त १ बजे मञ्चन गरिने छ ।

नाटकको बारेमा
‘शकुन्तलाको औँठी’ साधारण मानिसका अति साधारण जीवनशैलीसँग सम्बन्धित अस्तित्ववादी नाटक हो । नाटकको शुरुवात संस्कृत नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सलबाट हुन्छ । लगभग जिन्दगीका सामान्य स्थिति र चरित्रहरूका बीचमा निर्देशक कुमारले यो नाटक निर्देशन गर्दैछ । नाटकमा एक अभिनेत्रीको खोजी हुन्छ । यसै बेला अभिनेत्री कनक आइ पुग्छिन् । अनायासै उनीहरु एक अर्कासँग नजिकिन पुग्छन् । कनकले शकुन्तलाको र कुमारले दुश्यन्तको भूमिका निर्बाह गर्छन् । उनीहरूको प्रेम कथा शकुन्तला र दुश्यन्तको कथा झैँ अगाडि बढ्छ । नाटकमा शकुन्तला गर्भवती हुँदा कनक पनि गर्भवती हुन्छिन् । नाटकमा दुष्यन्तले हराएको औंठी भेटाउँछ । तर के कुमारले पनि हराएको औंठी भेटाउलान् ? यही आशा र विश्वासको पराकाष्ठा हो ‘शकुन्तलाको औँठी’ ।

निर्देशकको भनाई
जब शुरुमा मैले ‘शकुन्तलाकी अंगुठी’ पढेँ, यसलाई मञ्चमा ल्याउने तीब्र इच्छा जाग्यो । इच्छा उसै जागेको हैन, रङ्गकर्मीको जीवन यात्रा र भोगाईलाई बोकेको यो नाटकलाई कहीँ न कहीँ म आफुसँग जोडिएको पाएँ । यद्यपि इच्छा जाग्नु र त्यसमा कोरिएको शैलीलाई ढंग पुर्‍याएर मञ्चमा उतार्नु, यी दुवै फरक कुरा हुन् । त्यसमाथि यो नाटकले महिला र पुरूषको सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । जसलाई प्रस्तुतिमा मिहिन तरिकाले ल्याउनु ठुलो चुनौति हो । अनुप सरले हरेक प्रस्तुति अगाडि भन्ने गर्नुहुन्छ ‘हामी सबै अदृष्य धागोमा बाँधिएका छौँ । त्यो अदृश्य धागोलाई आफ्नो अन्तरमा महशुस गर्नुस् ।’

अहिले यो प्रस्तुति बन्दै गर्दा दिया दिदी, देव सर, उत्सव लगायत नाटकमा आवद्ध साथीहरु बीच त्यही अदृश्य धागोले हामीलाई बाँधेको महशुस गरेको छु । सायद हामीलाई जोड्ने यो सुत्र नभएको भए यो प्रस्तुति पनि हुन्थेन ।

एक्टर्स स्टुडियो मेरालागि एउटा स्कूल मात्र हैन जीवन दर्शन पनि हो । म भर्खर बामे सर्दै गरेको व्यक्तिलाई यस्तो गहन नाटक पहिलो पटक निर्देशन गर्ने जिम्मेवारी दिनुभएकोमा म आभारी छु ।

के–कस्तो भयो, प्रतिक्रियाको अपेक्षा गर्दछु । जसले गर्दा आगामी दिनहरुमा अझ राम्रो काम गर्ने प्रयास गर्न सकुँ ।

एक्टर्स स्टुडियोको भनाई
कन्सेप्चुअल स्तरमा ‘शकुन्तलाको औँठी’ एउटा मेटा थिएटर हो । जहाँ एउटा रङ्गमञ्च भित्र अर्को, अनि अर्को भित्र फेरि अर्को रङ्गमञ्च छ । यसमा एउटा क्लासिकल टेक्स्ट छ जसलाई वर्तमान समयको परिवेशसँग जोडेर स्त्री र पुरुषको सम्बन्धको अनेक तानाबुना प्रस्तुत गरिएको छ । नाटककार सुरेन्द्र वर्मा स्त्री र पुरुषको सम्बन्ध माथि लगातार लेखिरहने भारतका एक शक्तिशाली नाटककार हुन् । र उनको यो नाटकलाई नेपालीमा मञ्चन गर्ने साहस गरेका छन् सुरज मल्लले । सुरज नेपाली रङ्गमञ्चका एक सक्रिय र उम्दा रङ्गकर्मी हुन् । उनीद्वारा निर्देशित यो पहिलो ठुलो नाटक हो । विद्यार्थीहरुलाई हामी केवल प्रशिक्षित मात्र गर्दैनौँ, उनीहरुको कामलाई व्यवहारिक रुपमा उपयोग गर्न पनि लगाउँछौँ । ‘शकुन्तलाको औँठी’ त्यसकै एउटा निरन्तरता हो
– अनुप बराल

नाटकको बारेमा तथा अन्य जानकारीको लागि 9851223023 सम्पर्क गर्नसक्नुहुन्छ । धन्याबाद ।


देव न्यौपाने
एक्टर्स स्टुडियो


Loading comments...