Lifestyle Portal
  •   २० मंसिर २०७८, सोमबार

माधव घिमिरे राष्ट्रकवि कसरी भए ?: नरेन्द्रराज प्रसाई (आर्काइभ)

७ आश्विन २०७६, मंगलवार १२:३८

लोकप्रिय

“अध्यावधिक” २०७७, भाद्र ३ गते, बिहान १०ः०० बजे

ढल्यो १०१ वर्षको इतिहास

नेपाली साहित्यका खम्बा, राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ भाद्र २ गते मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । ४ महिना अघिदेखि नै स्वासप्रश्वासमा समस्या बढ्दैगएपछि वहाँलाई घरमैं राखि अक्सिजन दिएर उपचार भइरहेको थियो । वहाँको १०१ वर्षको उमेरमा उनको निधन भएको हो ।

आर्काइभ
केदारमान व्यथित र माधव घिमिरे झन्नै एउटै समयका कविहरू थिए । केदारमान व्यथित चाहिँ सिद्धिचरण श्रेष्ठसँग जेल बसेपछि उनैको प्रभावले कवि भए । अनि माधव घिमिरे भने आदिकवि भानुभक्त आचार्यदेखि कविशिरोमणि लेखनाथ पौड्यालसम्मका अनुयायी भएर कवि भए । व्यथितले राजनीति र साहित्य दुवैतिर बराबरी हात हालेका थिए भने घिमिरे चाहिं साहित्यमा मात्र केन्द्रित थिए । २०१७ सालदेखि घिमिरेलाई राजनीतितिर कुनै सरोकारै भएन ।

राजनीतिमा पनि समर्पित भए वापत व्यथित मुलुकका सहायकमन्त्री, निर्माण, यातायात, विद्युत र सञ्चार मन्त्रीका साथै त्यसको १२ वर्षपछि अर्थात् २०३६ सालमा गृह मन्त्री समेत भए । त्यतिमात्र होइन उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा कुलपति हुने प्रथम जनता थिए । राजा महेन्द्रले कुलपतित्व छाडेर आफू बसिरहेको त्यस गद्दीमा पहिलोपल्ट व्यथितलाई २०२६ सालमा नै विराजमान गराएका थिए । व्यथित कुलपति भएपछि क्रमशः सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल र माधव घिमिरे प्रज्ञाप्रतिष्ठानका कुलपति भए । त्यसबेलासम्म पनि नेपाल प्रज्ञाप्रतिष्ठानको गरिमा सुन झैँ शुद्ध थियो । तर मुलुकमा बहुदलीय प्रणाली भित्रिएपछि कुलपति पद सरकारले नै कब्जा गर्यो र उपकुलपतिमात्र जनता हुने प्रावधान बस्यो । त्यहीक्रममा प्रा.डा.ईश्वर बराल, मदनमणि दीक्षित, मोहन कोइराला र प्रा.डा. वासुदेव त्रिपाठीको उपकुलपतित्वमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान गठन भएको थियो ।

नेपालमा गणतन्त्र भित्रिएपछि राजकीय शब्दलाई राजाको शब्द बुझेर उक्त शब्द नै फलियो । अनि बौद्धिकता, क्षमता र प्रायः प्राज्ञिक तत्व नै नभएका दलका कारिन्दा अथवा भनौं कार्यकर्तालाई प्राज्ञ बनाएर त्यस पवित्रस्थलमा प्रवेश गराइयो । जसले गर्दा असली प्राज्ञ भेट्न घरघरतिर जानु पर्ने भयो अनि दलका कार्यकर्ता भेट्नु परे प्रज्ञाप्रतिष्ठानतिर लाग्नु पर्ने भयो । यसरी नेपालको इतिहासमा नै सबैभन्दा दुर्भाग्य र लाजमर्दो प्रज्ञाप्रतिष्ठानको गठन भइरह्यो । यसयुगले त्यसयुगका केदारमान व्यथितदेखि माधव घिमिरेसम्म र ईश्वर बरालदेखि वासुदेव त्रिपाठीसम्मको नेतृत्व, प्राज्ञिक स्तर र बौद्धिक क्षमताको तिर्सना जगाइरह्यो । वास्तवमा त्यसयुगको प्रतिनिधित्व गर्ने कुलपतिदेखि उपकुलपतिसम्मको सृजनात्मक प्रतिभाको नापो नेपाल प्रज्ञाप्रतिष्ठानका गणतान्त्रिक कुनै पनि कुलपति र त्यसमुनिका पदहरूसँग नापिन नै सकिँदैनथ्यो ।

केदारमान व्यथित र माधव घिमिरे महत्वाकांक्षी पनि थिए । व्यथितचाहिँ आफूलाई प्रखर राजनीतिज्ञ ठान्थे भने घिमिरे भने आफूलाई कविशिरोमणि नै ठान्थे । यसरी उनीहरूको महत्वाकांक्षा चुलिनु पनि गलत थिएन । किनभने व्यथितमा साहित्यको भन्दा राजनीतिकै बोलबाला अधिक थियो । अनि माधव घिमिरे पनि आफ्ना गुरुहरूलाई माथ गर्ने नै भैसकेका थिए ।

केदारमान व्यथितकै सक्रियतामा नेपालमा साहित्य सम्मेलनको सुत्रपात भएको थियो र उनैले घरीघरी साहित्य सम्मेलनहरू पनि गरिरहे । व्यथितमा आफूभन्दा अनुजपुस्ताका सर्जकहरूप्रति पनि असीम प्रेमको भावना थियो । वृद्धावस्थामा पुगिसक्ता पनि व्यथितले आफ्नै निवास काठमाडौंको ज्याठामा साहित्यिक कार्यक्रम र स्रष्टाहरूका सम्मानमा बेलाबखत दिवाभोज र रात्रिभोजको आयोजना गरिरहन्थे । जीवनको अन्तिम समयसम्म पनि उनमा रहेको उर्जा उल्लेखनीय थियो । उनी साहित्यिक सङ्गठन गर्न धेरै सिपालु थिए । राजनीतिमा धेरै समय दिए तापनि उनी साहित्य भनेपछि मरिमेट्थे । त्यस बेला चित्त नबुझेको कुरामा पनि राजारानीबारेको दुखेसो पोख्न पाइदैन थियो । त्यसैले व्यथित आफन्तका कानकानमा र घरभित्र राजारानीको पनि कुरा काट्ने गर्थे । अर्कातिर माधव घिमिरे चाहिं राजारानीको पनि वकालत गरिदिन्थे । तर उनले सृजना बाहेक सङ्गठन चाहिं गरेनन् । भनौं उनीमा व्यथितको जस्तै साहित्यिक गतिविधि न्यून थियो ।

कविवर माधव घिमिरेको अभिनन्दन समारोहको समापन कार्यक्रमले हामी नइलाई धेरै चिन्तित बनाएको थियो । समारोहमा प्रधानमन्त्री आएर त एउटै शब्द उच्चारण नगरी खाली हात गए र समितिका कुनै पदाधिकारीले समेत राष्ट्रकविको ‘रा’ नै पनि उच्चारण गरेनन् भने अब कविवरलाई राष्ट्रकवि बनाउने काम पार लाग्दैन भन्ने हामीलाई लागेको थियो । यतिका वर्षसम्म हामी यसैलाई साकार पार्न एकोहोरो भएर लाग्दा पनि राष्ट्रकविको अर्थ कसैले चाल पाएनन् भनेर हामी दुबैलाई दुक्ख लागिरह्यो ।

माधव घिमिरेका सृजनामा राष्ट्रप्रेमको उज्यालो प्रशस्त मात्रामा थियो । ‘गाउँछ गीत नेपाली’ जस्ता कालजयी गीतका सर्जक र ‘राष्ट्रनिर्माता’ जस्तो खण्डकाव्यको सृजना गरेर घिमिरेले नेपालीधरामा आफूलाई सुप्रबल राष्ट्रवादी कविका रुपमा स्थापित पनि गराएका थिए । वास्तवमा आधुनिक नेपालको जनमानसमा राष्ट्रप्रेमको भावना जागरण गराउने प्रमुख भूमिका पनि घिमिरेले नै निर्वाह गरेका थिए ।

माधव घिमिरेको राष्ट्रवादी पृष्ठभूमिका विषयलाई लिएर एकदिन इन्दिरा प्रसाईले मसँग एउटा प्रस्ताव राखेकी थिइन्— ‘घिमिरे हाम्रा राष्ट्रकवि हुन्, उनलाई हामीले राष्ट्रकवि नै मान्नुपर्छ र भन्नुपर्छ । अनि मैले पनि उनका कुरामा बूढी औँला थिचिदिँए । त्यसपछि केदारमान व्यथितलाई उपाधि के दिने भन्ने हामी माझ सल्लाह भयो । उनी राजनीतिज्ञ पनि भएको हुँदा उनलाई ‘राजकवि’ भन्नु उपयुक्त हुन्छ भन्ने हामी दुबैले ठहर गर्यौँ । त्यही अनुसार उनीहरूलाई हामीले ‘राजकवि’ र ‘राष्ट्रकवि’ भन्न पनि थाल्यौं र लेख्न पनि थाल्यौँ । हाम्रो अभियान सुनेर दुबै कविहरू पनि खुसी देखिन्थे ।

२०५२ साल माघ १५ गते नइ प्रकाशनको उद्घाटन माधव घिमिरेले गरे । त्यस बेला इन्दिरा र मैले उनलाई राष्ट्रकवि भनेर पहिलोपल्ट औपचारिक सम्बोधन ग¥यौँ । त्यसपछि पनि हामी त्यही लहरमा लहरिँदै हिँड्न थाल्यौँ । त्यही क्रममा मैले व्यथित र घिमिरेलाई भनेको थिएँ ‘हामी राजालाई जाहेर गरेर पनि राजकीय स्तरबाट तपाईहरूलाई राजकवि र राष्ट्रकवि घोषणा गराउछाैं ।’ त्यसपछि घिमिरेले चाहिं हामीमाझ आफ्नो मन खोलेका थिए— ‘मेरा लागि चाहिँ कविशिरोमणि या राष्ट्रकविमध्ये एउटा उपाधि जाहेर गरिदिनु पर्छ । मलाई मन परेको उपाधि चाहिं कविशिरोमणि नै हो । ‘न’काे साथमा ‘इ’ छ । ‘न’ले जाहेर गरेपछि फेल खाँदैन । तपाईं भनेको चमत्कारी पुरुष हो ।’

रानी ऐश्वर्यसँग मेरो राम्रै सम्पर्क थियो । त्यसैले मैले रानी ऐश्वर्यलाई यसबारेको विन्तीपत्र चढाएँ । त्यसबेला रानीबाट हुकुम भएको थियो, ‘२०४६ सालपछि राजदरबारबाट उपाधि दिन नपाइने भएको छ । अब मन्त्री मण्डलले नै यस्तोे काम गर्छ ।’ रानीका कुरा सुनेर त्यस बेला पहिलो पल्ट मैले फेल खाएको दुखद् अनुभूति सँगालें । रानीका वाक्य सुनेर त्यस घडी मेरो मुख सुक्न थालिसकेको थियो ।

हामी नइ हाम्रो योजनामा सफल भैरहेका थिएनौं तापनि व्यथित र घिमिरेलाई हामीले राजकवि र राष्ट्रकवि भन्न र लेख्न छाडेका पनि थिएनौं ।

सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला २०५४ सालमा यसबारे मैले थापाका भाइ नगेन्द्र थापालाई गुहारेँ र माघ ७ गते यही प्रस्ताव बोकेर म प्रधानमन्त्रीसमक्ष पुगेँ । प्रधानमन्त्री थापालाई मेरो कुरा चित्त बुझेछ । अनि उनले ‘लेखेर दिनुहोस् न !’ भनेपछि हामीले नइ प्रकाशनबाटै लेखेरै निवेदन दियौं । इन्दिरा र मेरा वीच सल्लाह भए अनुसार लेखनाथ पौड्यालको उपाधि नै किन फेरि प्रयोग गर्ने ! ‘कविशिरोमणि’को उपाधि लेखनाथ पौड्यालकै नाउँमा रहोस् । त्यसैले हामीले व्यथित र घिमिरेलाई ‘राजकवि’ र ‘राष्ट्रकवि’को उपाधिका लागि अनुरोध गरेका थियौँ । तर हामीले दिएको निवेदन कार्यान्वयन नहुँदै सूर्यबहादुर थापाको प्रधानमन्त्रित्व समाप्त भयो । अनि केही महिनापछि भनौं २०५५ साल भदौ २६ गते व्यथितको पनि स्वर्गारोहण भयो ।

२०६० सालमा सूर्यबहादुर थापा पुनः प्रधानमन्त्री भए । त्यसैबेला मदनमणि दीक्षितको संयोजकत्वमा ‘माधव घिमिरे राष्ट्रिय अभिनन्दन समारोह समिति’को गठन पनि भयो । त्यस समारोहमा इन्दिरा सदस्य र म सल्लाहाकारमा राखिएका थियौँ । त्यसैले उक्त समारोह समितिमा पनि हामीले माधव घिमिरेलाई ‘राष्ट्रकवि’ सम्बोधन गरिनुपर्छ भन्ने बारेको प्रस्ताव लगेका थियौँ । त्यस बेला समितिको बैठकमा हामीले भनेका थियौंं—‘६ वर्षअघि हामीले प्रधानमन्त्री सूर्यबहादुर थापासमक्ष माधव घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधिका लागि प्रस्ताव लगेका थियौँ । उहाँलाई हाम्रो प्रस्ताव पनि मन परेको थियो । अहिले फेरि उहाँ नै प्रधानमन्त्री हुनु भएको समय छ । समारोह समितिबाटै पनि हामीले यो प्रस्ताव लग्यौँ भने यसले साकार रूप लिन सक्छ ।’ तर समितिले हाम्रो मागलाई टेरपुच्छर नै लगाएन । कतिसम्म भने ‘माधव घिमिरे राष्ट्रिय अभिनन्दन समारोह समिति’को आयोजनामा असोज ६ गते प्रधानमन्त्री सूर्यबहादुर थापाबाट घिमिरेलाई अभिनन्दन पत्र दिइँदाको समारोहमा भने न कुनै पदाधिकारीले घिमिरेलाई राष्ट्रकवि भनेका थिए न त प्रधानमन्त्रीबाटै उक्त शब्दको उच्चारण भएको थियो । त्यस समारोहका सञ्चालक (उद्घोषक) इन्दिरा प्रसाईले भने पुरै समारोह अविधिभर पटकपटक राष्ट्रकवि, राष्ट्रकवि र राष्ट्रकवि भनिरहेकी थिइन् । समारोहको भिडियो हेरेपछि दङ्गपर्दै घिमिरेले इन्दिरासँग भनेका थिए— ‘ओहो ! मेरो अभिनन्दनका बेलामा तपाईले त सुरूदेखि अन्तिमसम्म मलाई राष्ट्रकवि नै राष्ट्रकवि भन्नु भएको रहेछ । सोही शब्द समेत वायुमा गुञ्जायमान हुँदैहुँदै ब्रह्माण्डकै जागृतीले समेत मलाई राज्यले ‘राष्ट्रकवि’को उपाधि दिनै परेजस्तो लाग्यो ।’

कविवर माधव घिमिरेको अभिनन्दन समारोहको समापन कार्यक्रमले हामी नइलाई धेरै चिन्तित बनाएको थियो । समारोहमा प्रधानमन्त्री आएर त एउटै शब्द उच्चारण नगरी खाली हात गए र समितिका कुनै पदाधिकारीले समेत राष्ट्रकविको ‘रा’ नै पनि उच्चारण गरेनन् भने अब कविवरलाई राष्ट्रकवि बनाउने काम पार लाग्दैन भन्ने हामीलाई लागेको थियो । यतिका वर्षसम्म हामी यसैलाई साकार पार्न एकोहोरो भएर लाग्दा पनि राष्ट्रकविको अर्थ कसैले चाल पाएनन् भनेर हामी दुबैलाई दुक्ख लागिरह्यो । वास्तवमा त्यो रात मलाई निन्द्रा पनि लागेन । त्यसैले भोलिपल्ट बिहानै सात बजे यसै कामलाई सार्थक बनाउने प्रयासका लागि सूर्यबहादुर थापाका कान्छा भाइ साहित्यकार नगेन्द्र थापालाई भेट्न हामी बालुवाटारतिर लाग्यौं । नगेन्द्र दाइलाई फेरि सबै कुरा भनेपछि उहाँले ‘म दाइसँग भेट्टाई दिन्छु; अनि भाइबैनीले नै उहाँलाई सबै कुरा भन्नु’ भन्नुभयो ।

प्रधानमन्त्री सूर्यबहादुर थापा समक्ष राष्ट्रकविबारेको हामीले २०५४ सालको कुरा पनि स्मरण गरायौं र उहाँबारेका सबै कुरा खोल्दै गयौं । ‘माधवजीका नाउँमा त्यत्रो समारोह समिति गठन भएको थियो । उनीहरू किन यस भावनामा देखा परेनन् ?’ हाम्रो निवेदनमाथि त्यस बेला प्रधानमन्त्री थापाको हामी नइलाई पहिलो प्रश्न थियो । ‘हजुरले कुनै हालतमा पनि राष्ट्रकविका लागि निर्णय गरिदिनु पर्यो ।’ त्यस बेला अरू केही नभनी मैले प्रधानमन्त्रीसँग त्यही मात्र एकोहोरो निवेदन गरिरहें । ‘नइको माग अत्यन्तै जायज छ । यस कार्यले साहित्यिक क्षेत्रको गरिमामा वृद्धि हुनेछ’ हामीसँगै भएका नगेन्द्र थापाले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्दै भनेका थिए । नगेन्द्र दाइका अनुसार ‘माधव घिमिरेलाई राष्ट्रकविको उपाधिका लागि सूचना तथा सञ्चार मन्त्री कमल थापाले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेका थिए ।’ हामीले प्रधानमन्त्रीलाई भेटेको भोलिपल्टै अर्थात् असोज ८ गते मन्त्रिपरिषद्बाट ‘राष्ट्रकवि’को उपाधि प्रदान गर्ने निर्णय भयो । अनि सो निर्णयमा त्यसैदिन तत्कालीन श्री ५ ज्ञानेन्द्रबाट लालमोहर पनि लागेको थियो । (२०७५ साल असोज ६ गतेको ‘गोरखापत्र शनिवार’मा राष्ट्रकविकाे तुलसीहरि काेइराला (Koirala) सँँगकाे वार्ता हेर्नुहोला ।)

माधव घिमिरे राष्ट्रकवि हुनु भएको बेहोराको सबै सञ्चार माध्यममा समाचार आयो । अनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा. तुलसी भट्टराई (Bhattarai) को मोटर चढेर उनीसहित इन्दिरा र म माधव घिमिरेलाई बधाई ज्ञापन गर्न असोज ९ गते विहान आठ बजे उनको निवास लैनचौर पुगेका थियौँ । त्यसबेला मेरा हातमा एउटा भव्य माला थियो । मैले गौरवान्वित हुँदै सोही माला घिमिरेका गलामा पहिर्याई दिएँ । इन्दिराले चाहिं उनलाई अविर लगाई दिइन् अनि तुलसी भट्टराईले अविर र फूलले घिमिरेलाई पर्सी दिए । हामीले माल्यार्पण गरिरहँदा माधव घिमिरेका आँखामा खुसीका आँसु छमछमाउदै थिए । ‘नइ भनेका चमत्कार हुन् । यो चमत्कारको फल मैले नै पाएँ । नइ बसेकै संस्थाबाट आजभन्दा ५ वर्षअघि मैले पाँच लाख रुपियाँ राशि सहित सार्क स्तरीय भूपालमानसिंह कार्की पुरस्कार (Sunita Singh Karki) पनि पाएको थिएँ । त्यस बेला मैले पाएको ताम्रपत्रमा नै ‘राष्ट्रकवि’ लेखिएको थियो । साथै मेरो जीवनमा पाँच लाख रुपियाँ मैले एक मुष्ठ गनेको पनि त्यही प्रथम पटक थियो ।’ उनका कृतज्ञताका शब्दले त्यतिखेर हामी पनि भावुक बनेका थियौँ ।

राष्ट्रकवि भएपछि माधव घिमिरेले राष्ट्रकविका लागि पहल गर्ने नगेन्द्र थापा तथा उहाँकी श्रीमती मञ्जु थापा, कृष्णभक्त श्रेष्ठ र हामी नइलाई रात्रिभोजनका लागि उनका घरमा बोलाएका थिए । शान्त रात्रिभोज चलिरहेका बेला उनले हामीमाझ भनेका थिए— ‘नइ नलागेका भए म कसरी राष्ट्रकवि हुन्थें र ?’

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन्। विश्व

काठमाण्डौ । रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका-९ शिवालय चोक बस्ने मुस्ताङ