दशैंका दश प्राथमिकताहरु “दशैं चेकलिष्ट”


सुनसरीका शुभकरण तफ्दार ओमनको मस्कट बिमानस्थलबाट गत २०७६ को भाद्र २७ मा दशैं अनि तिहारका लागि २ बर्षपछि काठमाडौंका लागि उडे । २ बर्षपछिको देशको भूमिमा टेक्दा अनि स्वदेशी स्पर्शले उनको दशैं अनि तिहारको मज्जा दुईगुणा भएको हो । भोलिपल्ट श्रम बिभाग गएर केही बुझेर उनि पर्सिपटकको बिहानै माईक्रो चढेर गाँउ लागेका छन् ।

त्यस्तै महोत्तरीका अमोद साह भने दुबईमा केही वर्ष अघिको खुशी साँच्दै अमिलो मन बनाएर बसेका छन् । सन् २०१९ मा उनि नेपाल आउने कुरो थियो, तीन महिनाका लागि । दशैंको समयमा देश फर्किएर गाँउमा सबैलाई प्रोजेक्टर मार्फत फिल्म देखाउने उनको रहर थियो ।

प्रस्तुतीः सुयोग ढकाल

चाहे खाडीको मरुभूमि होस् या यूरोपका हिँउहरु,
समथर मैदान हुन् या समुन्द्र तट हरु,
दशैंले छोएको छ, नेपाली हृदयहरु
हो हाम्लाई थाहा छ
विश्व आज स्वास्थ्य संकटको चपेटामा
तर दशैं त हो
जसको महशुस मात्रले पनि खुशी थपिदिन्छ

खुल्ला निलो आकाश, चिसिँदै गरेको बतास, केही जोड मुस्कानहरु अनि केही थान रहरहरु । दशैं त्यो हो जुन मुस्कानमा घुलेर आँउछ, पिढिँमा बसेर बर्षभरि कुरेर बसेकी आमाको मुस्कान अनि छोराछोरीका आगमन हो दशैं ।

वर्षभरिको बूवाको चियागफ अनि चियापसलका कुराहरुमा जोडिएका छोराछोरीको संभवत सबैभन्दा लामो बर्षेनी बसाई हो दशैं ।

कति बूवाआमाले यसपाला दशैंमा आफ्ना छोराछोरीका निधार रंगाउन पाउनेछन् भनें कतिले अर्को बर्ष या आगामी पटकलाई साँचेका छन् । किनकी यहाँ सु-स्वास्थ्य र दीर्घायूको सवाल छ । यो वर्ष कोरोनाले दशैं मनाओस् अर्को वर्ष स्वस्थ्य रहे, सुरक्षित रहे दशैं गुल्जार अवस्य हुनेछ ।

बैदेशिक रोजगारीमा गएका बूवाको आगमनमा हाँसेकी छोरीको मृगतृष्णा हो दशैं, रातो राम्रो अनि गुलियो मिठो हो दशैं । कति ठूलदाई , सानदाई अनि दिदीहरु यसपाला दशैंमा आउने सोचमा छन र कति छैनन ? कति घर यसपाला उज्यालो हुनेछ भने अधिकांशको दशैं चुपचाप हुनेछ ?

गाँउ गाँउमा उहिले लाग्ने दशैंका मेला अनि देवी भवानीको बास रहने मन्दिरको नौरथा अर्चनाहरु तपाँईको पखाईमा रहनेछन् ।

वैश्वीक स्वास्थ्य महामारीका कारण दशैं खल्लो छ तर हुनसक्छ अर्को वर्षका लागि दशैं दोहोरो खुशी, दोहोरो उपलब्धी तथा दोहोरो रमाइलोको नयाँ संसार लिई आउनेछ । प्रस्तुत छ, दशैंमा अति महत्व राख्ने र हतार हुने १० वटा कामहरु, आ-आफ्नो चेक लिस्टमा यि कामहरु भए या भएनन् कृपया बिचार गर्नुहोला है ।

१) दशैं पेश्की कति, हिसाब किताब र योजना?
अब यो अर्थ बिना त दशैंले स्वरुप नै लिदैंन नि । दशैंमा कर्मचरीहरु धेरैको केही न केही रमक कुनै स्वरुपमा बढि आँउदछ, घर जाँदा लिएर गएको झोलाको आकार र तौलमा पनि त दशैंले ल्याउने खुशियालीको तौल लुकेको हुन्छ ।

२) घर जाने फर्किने टिकट योजना
दशैंको एउटा रमाइलो भनौं या अफ्ठेरो तर हरेक बर्ष सरकारले टिकटको ब्यवस्था सहज पारिएको भन्छ तर हरेक बर्ष नै टिकटको जोहो अप्ठेरो हुन्छ हुन्छ र ज्यानको बाजी थापेर एक मुठ्ठी खुशीयालीको खोजीमा आफ्नै थातथलो फर्किने तयारी हुन्छ ।

३) खसी किन्ने या मासु किन्ने जोहो
दशैंमा सर्वत्र गरिने अर्को चाँसो हो खसीको मासु । कत्रो खसी खरिद गर्ने या कति मासु खरिद गर्सने यो सधैं एउटा चर्चाको बिषय रहने गर्दछ ।

४) लुगा, जुत्ता किन्ने, कसलाई के किनीदिने भन्ने जोहो
कमाउनेले नकमाउनेको ईच्छा साकार पार्नु नै त दशैंको प्रतिरुप हो । यसबेला आम्दानी हुनेहरुले आफ्नो भन्दा बढी आफ्ना साना सदस्य तथा जेठा-पाकाहरुका लागि खुशियाली थप्न नयाँ लुगा, जुत्ता, मोबाइल, ल्यापटप खरिद गर्ने योजना बुनेका हुन्छन् । केही त आफ्ना सपनाहरुपनि हुन्छन् जसको जोहोलाई कुनै पनि भैपरी आउने समस्याले छेक्न सक्दैन् ।

५) नयाँ नोट साट्ने काम
कोरोना कहरका कारण यो वर्ष नेपाल राष्ट्र बैंकले नयाँ कडक नोटहरु बाँडेन तर नयाँ कडक नोटहरुका लागि राष्ट्र बैंक या अन्य ठाँउवाट साट्ने लालसा धेरैको हुन्छ । टीकाटालो गर्दा नयाँ नोटको रौनक गज्जब हुन्छ ।

६) लिगें पिगं कहाँ हाल्ने र कसले हाल्ने ?
गाउँघरमा पुगेपछि लिंगे पिङ हाल्ने अर्को रौनक पनि व्यापक हुन्छ । बाँस कहाँबाट ल्याउने, पिङ कहाँ ठड्याउने, डोरी बाट्ने कि किन्ने? आदि जस्ता प्रश्नहरु पनि दशैंको रमाईलो तैयारी हो । हुन त शहरमा अब लिंगे पिङ त दूर्लभ प्रायः बनिसकेको छ ।

७) घर लिपपोत अनि सरसफाई
घर वरिपरिको उम्रेका घाँसहरु ताछ्ने, काटछाँट गर्ने, खाल्डाखुल्टी पुर्ने अनि सजाउने कार्य पनि दशैंको अर्को तयारीको क्रम हो । गाउँघरमा त झन सामूहीक टोल सरसरफाई गर्ने, घरलाई सेतो कमेरो माटो या रातामाटाले लिपेर चाडबाडको यस उल्लासमय समयको स्वागत गर्ने गरिन्छ । आँगनलाई पनि सिनित्त लिप्ने अनि सफा गर्ने चलन हुन्छ ।

८) टिका कुन कोठामा लाउने
कुन कोठा या कुन ठाँउमा टिका लगाउने भन्ने तर्क, बितर्क अनि पुराना बर्षहरुको रित अनुरुप यो ठाँउमा भन्ने तय गरिनुपनि दशैं तयारीको एउटा पाटो हो ।

९) कसलाई कत्ति दक्षिणा दिने, खाम सहितको योजना
सामान्यतया छोरीचेली र कुटुम्बलाई टीका लगाएर दक्षिणा दिइन्छ । को को आउछन् र कति दक्षिणा दिने भनेर पूर्व तयारी पनि दशैंको एउटा महत्वपूर्ण कार्य हो ।

१०) टीको थाप्न कता कता र कसरी जाने ?
सबैभन्दा ठूलो कुरो आफ्नो ज्यान, “ज्यान रहोस् त लाखौं पाएँ” भन्ने उक्ति यस वर्षको दशैंलाई ठ्याक्क सुहाउँछ । बाहिर स्वास्थ्य संकटको रुपमा कोरोनाभाइरसको महामारी कुरी बसेको छ । घुमघाम तथा मामाघर जाने कि नजाने वा ससुराली जाने कि नजाने अथवा कता कता जाने अनि क कस्कोमा जाने वा नजाने भन्ने कुराले पनि दशैंमा ठूलै महत्व राख्दछ ।

ल है के के काम भयो र के बाँकी छ, बिचार गरौं ।
बडादशैंको शुभकामना ! सुरक्षित बसौं, भिडियो कल गरी आफ्ना आफन्त, प्रियजनहरुसँग दशैंको न्यास्रो पुरा गरौं । अर्को वर्ष खुब मज्जाले दशैं सम्पन्न गरौंला । यो वर्ष दशैं कोरोनाले मनाओस् ।


Loading comments...