हाम्रो त दशैँ आयो


कवि: इन्दिरा प्रसाई

रोक्नसम्म रोकेर के गर्छौ
छेक्नसम्म छेकेर पनि के पो गर्छौ
हेर न मालश्री गुन्गुनायो
किश्तिमा मुछेको दही, चामल र अवीरको वासना निधारमा मग्मगायो
पहेँलो जमराको रङ शिरैमा झल्मलायो
हाम्रो त दशैँ आयो
हाम्रो त दशैँ आयो ।

 

पचाउन पनि खोज्यौ हाम्रो दशैँ
क्वाप्ल्याक्कै निल्न पनि खोज्यौ
हाम्रो दशैँ
कहिले हाम्रो दशैँको सिँग भाँच्यौ
कहिले हाम्रो दशैँको पुच्छर काट्यौ
रातो दशैँ कसैलाई
सेता अक्षतामा मुछायौ
कसैलाई सामान्ति संस्कार भन्दै बराल्यौ
ठूटो मुटो पारेर हाम्रो दशैँ
देश निकालै गर्न खोज्यौ हाम्रो दशैँ
चारपाटा मुडिएको अपराधी झैँ भएर पनि हेर त
हामीलाई नै हेरेर मुसुक्क मुस्कुराउँदै छ हाम्रो दशैँ ।

तिमीलाई थाहा छ के
सधैँ मौलाइरहने हरियो दुबो हो हाम्रो दशैँ
कहिल्यै नमासिने
परम्पराको नासो हो हाम्रो दशैँ
वर्षैभरी थाकेका कर्मवीरका लागि
केही बेर विश्रामको
नरम सिरानी हो हाम्रो दशैँ
पौरखी पाखुरीमा
नयाँ उर्जाको विहानी हो हाम्रो दशैँ
विरानो गाउँमा टाढा टाढाबाट
आउँदै गरेका आफन्तको मायाको
मीठो कोशेली हो हाम्रो दशैँ
लिङ्गे पिङको हुईँ हुईँ मच्चाई
र आकाशै छुने मीठो बतास हो हाम्रो दशैँ
सेलरोटीको हर्हरी वासनामा
धुवाँउँदै गरेको छानो हो हाम्रो दशैँ
चिटिक्क पारेर
रातो माटो र कमेरोले पोतेको
हाम्रै गाँउ घरको
प्यारो आँगनी हो हाम्रो दशैँ
हाम्रै करेसामा कोपिल्याउँदै गरेको
सयपत्री र मखमली हो हाम्रो दशैँ
नपत्याए हेर त
दशैँ त आयो
आयो हाम्रो त दशैँ आयो ।

तिमीले जति नै कान फुके पनि
तिमीले जति नै मास्न खोजे पनि
कानकानमा हाम्रो दशैँ आयो
सुटुक्कै सही मनमनमै सही
हाम्रो त दशैँ आयो
हाम्रो त दशैँ आयो ।

पाखण्डको कुनै सीमै हुन्न
परम्परा र संस्कृति मासेर
देशै अर्काका हातमा सुम्पिने
नरपिसाचहरूको के कुरा गर्नु
उनलाई न त धर्मै चाहिएको छ
न त तिनलाई माटै चाहिएको छ
संस्कार मास्ने अभियन्ता तिनीहरू
फिरङ्गीको डलरमा
हाम्रो दशैँ साटिदिने तिनीहरू
दशैँसँग दशा साटेर रमाउने तिनीहरू
फगत् आफू र आफ्नो सातपुस्ता
बाँच र बँचाऊमा लागेका द्रव्यपिचासको
कुरै के गर्नु र ?
भैगो जसले जे गरून्
भैगो भन्नेले जे सुकै भनिरहुन्
हाम्रो त दशैँ आयो
हाम्रो त दशैँ आयो ।

© इन्दिरा प्रसाई


Loading comments...