आधुनिक युगका कर्ण : देवीप्रसाद उप्रेती


मेरा दाजु सीके प्रसाईले लेखेको एउटा डायरी मैले पढेको थिएँ ”बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा, पबहादुर मानव, ईश्वर बरालआदि जबजब दार्जीलिङ जान्थे उनीहरू देवीप्रसाद उप्रेतीकै घरमा बस्थे ।” किनभने उप्रेतीका घरमा सित्तैमा खानबस्न पाइन्थ्यो । यही प्रयोजनका लागि उप्रेतीले दार्जिलिङमा एउटा घर किनेका थिए । त्यही घरमा राखेर पनि यिनले धेरैलाई पढाए ।

उप्रेती सानैदेखि गरिवको हीत गर्थे । गाउँका गरिबलाई यी आफ्नो भात, तिहुन, तरकारी बाँडेर पनि दिन्थे । यसो गर्दा यिनले थुप्रैपल्ट आफ्ना आमा, बाबुको कुटाई पनि खाए । किनभने यी आफ्नो घरको धन बाँढेर गल्दैन थिए । वास्तवमा सानैदेखि यी दानी थिए । त्यसैले यी पूर्वाञ्चलमा आदरणीय व्यक्तिका रूपमा सम्मानित भए । तर जनरल भूपालमानसिंह कार्की बाहेक यिनका जिल्ला र अञ्चलका कुनै पनि प्रशासकले यिनको घर देखनन् । यिनले पनि कुनै सरकारी मान्छेको घरमा गएर पानी खाएनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि जनकवि गोकुल जोशीसम्मले यिनलाई चिने । जोशीलाई आर्थिक टेकोले अड्याउने पनि उप्रेती नै थिए ।

लेखकः नरेन्द्रराज प्रसाई

उप्रेती त्यति बेला स्कुल खोल्न तम्से जब शिक्षक पाइँदैनथे । उनले भारतबाट शिक्षक ल्याए । तर विद्यार्थी स्कुल आउन मान्दैनथे । विद्यार्थीलाई प्रतिदिन मिर्ठाई बाँडेर पल्काउँदै स्कुल पढाउने यीनै थिए । निश्शुल्क शिक्षा प्रदान गर्ने यी साँचो गुरुबाबु थिए । सम्पूर्ण शिक्षकको तलब यी आफैले २०२९ सालसम्म बाँडे । तर जब नयाँ शिक्षा लाग्यो तब स्कुलको सम्पूर्ण आयस्तामा कमिशनको खेल सुरु हुन थाल्यो । किनभने नयाँ शिक्षा योजनाले यिनका सबै स्कुलहरू सरकारी भए ।

उप्रेती आधुनिक युगका कर्ण थिए । त्यसैले यिनलाई मात्रृकाप्रसाद कोइरालादेखि सूर्यबहादुर थापासम्मले प्रेरक माने । अनि मोदनाथ प्रश्रितदेखि गोविन्द भट्टसम्मले यिनको आदर्शवाद लेखे । लेख्नेक्रममा यिनको उचाईको श्यामप्रसाद शर्मादेखि तारानाथ शर्मासम्मले पनि वर्णन गरे ।

उप्रेतीलाई जतिले सङ्गत गरे महान् मानेर नै यिनको पछि लागे । यति हुँदाहुँदै पनि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रानी ऐश्वर्यका जुनाफमा नरेन्द्रराज प्रसाईले उप्रेतीको योगदानबारे जति नै विन्ती जाहेर गरे तापनि रानीले उप्रेतीको कुनै मर्यादा नै गरिनन् । वास्तवमा रानीकै प्रकाशोकत्वमा प्रकाशित त्रैमासिक “उपकार” पत्रिकामा समेत उपकारका सम्पादक प्रसाईद्वारा उप्रेतीको गाथा लेखिएको थियो । उप्रेतीको वर्णन गरेर उक्त अङ्क पनि रानीकै हातमा चढाइएको थियो । तर त्यो बेहोरा पनि रानीका दिमागमा चढेन । राजा वीरेन्द्र र रानी ऐश्वर्य बौद्धिक सोचका गरिब भएका कारण उप्रेती जस्ता धेरै महान् व्यक्तिहरू पनि लाखापाखा नै भए । बरू उनी स्वर्गीय भएपछि नेपाल सरकारले उनका नाउँमा हुलाक टिकट प्रकाशन गरिदियो । उनी जति मान, मर्यादा र सम्मान गरे पनि हुने समाज उद्धारक थिए । अनि उनी जति व्याख्या गरे पनि हुने दानवीर थिए । उनको योगदानको प्रखर व्याख्याता गङ्गाप्रसाद उप्रेती पनि एक जना थिए ।

मेची र कोशी अञ्चलमा मात्र २९ वटा स्कुल बनाउने उप्रेती नै थिए । यिनको एक्लो मन, दान र त्यागले त्यो भेक नै शिक्षित ठाउँका रूपमा परिचित भयो । यिनले बनाएका कुनैकुनै स्कुल भवन काठमाडौंको त्रिचन्द्र कलेजदेखि पद्मकन्या कलेजसम्मकै हाराहरीका पनि थिए । वास्तवमा उप्रेतीको चित्त नै ठुलो थियो ।

शिक्षामा उप्रेतीको झुकाव थियो,तर यिनले धेरै पढेनन् । यिनले काठमाडौँको रानीपोखरी स्रेस्ता पाठशालाबाट निजामती प्रथम परीक्षा मात्र उत्तीर्ण गरे ।

२००७ सालको छेकामा नै चार लाख रुपियाँ यिनले त्यहाँका स्कुललाई चन्दा दिए । अनि फेरि यिनले आठ सय चौवन्न विघा झापाको जग्गा पनि स्कुललाई नै दान दिए । त्यस्तै तेह्रथुमको तीन सय उन्नाईस रोपनी जग्गा पनि स्कुललाई दान दिने यी त्यस ठाउँका कर्ण थिए । यिनले पढ्छु भन्नेलाई पैसा पनि नगदै दिन्थे । उनले दिएको नगद र जिन्सी फेरि फिर्ता लिँदैनथे ।

तेह्रथुममा जन्मेका देवीप्रसाद उप्रेतीले नेपाललाई नै धेरै दिए । उनले धन, मन र एउटा युग पनि नेपालीलाई नै दिए । दिदादिदै यी विरामी भए । अनि उपचारकै क्रममा काठमाडौंमा यी स्वर्गीय भए । उनी नेपाल र नेपालीको हीत गर्न ८० वर्षर ७० दिन बाँचे ।

धर्मकर्ममा उप्रेतीको सानैदेखिको रुचि थियो । यी चुरोटबिडी, जाँड, रक्सी र मासु पनि खाँदैन थिए । यी भन्थे ‘मरेको भूत खानुहुँदैन’ । धैर्यशाली व्यक्तित्वले कुँदिएका उप्रेती बोल्दा थोरै बोल्थे तर कानून जस्तै पक्का कुरा बोल्थे ।

शिक्षाविकासका लागि उप्रेती निरन्तर खटे । खास गरेर असहाय र निर्धाको सेवामा यिनले जीवन दिए । यी तन्नमसँग पनि मधुर स्वरमा बोल्थे र उनीहरूलाई लेख्न सिकाउँदा पनि राम्रा अक्षर कुँदेर लेख्तै सिकाउँथे । अक्षर यिनको छापा नै हुन्थ्यो । बाचुन्जेल यिनले बाँसको कलमले मात्र लेखे ।

१९९९ देखि २००७ सालसम्म उप्रेती निरन्तर शिक्षाविकासमा भूमिगत रूपमा लागे । पूर्णबहादुर मानव यिनका सक्रिय मित्र थिए । पछि महानन्द सापकोटाको रायले यिनले सात सालमा सर्वप्रथम झापा जिल्लामा दस गाउँ पञ्चायत खोले अनि यिनैले त्यहाँ प्राथमिक विद्यालयको सुरुवात गरे ।

सात सालको क्रान्तिमा झापामा विचल्लीमा परेका दस हजार व्यक्तिलाई १६५० विघा जग्गा बाँड्ने उप्रेती नै मात्र एक जना थिए । उनीहरूका लागि यिनैले ३३० घर पनि बनाइ दिएका थिए ।

तेह्रथुम जिल्लाको पोखरीमा उप्रेतीेले अर्को स्कुल बनाए । शिक्षा र प्रगतिविरोधी तत्त्वले त्यो स्कुल दुई पटक जलाइ दिए । तर यी निराश भएनन् । उनले फेरि त्यहीँ अर्को स्कुल बनाए । सायद पुर्वाञ्चलको पहाडी इलाकामा त्यति ठूलो विद्यालय भवन अन्त छैन । काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पस जत्रै पहाडमा स्कुल भवन बनाउने उप्रेती नै एक जना थिए ।

उप्रेती त्यति बेला स्कुल खोल्न तम्से जब शिक्षक पाइँदैनथे । उनले भारतबाट शिक्षक ल्याए । तर विद्यार्थी स्कुल आउन मान्दैनथे । विद्यार्थीलाई प्रतिदिन मिर्ठाई बाँडेर पल्काउँदै स्कुल पढाउने यीनै थिए । निश्शुल्क शिक्षा प्रदान गर्ने यी साँचो गुरुबाबु थिए । सम्पूर्ण शिक्षकको तलब यी आफैले २०२९ सालसम्म बाँडे । तर जब नयाँ शिक्षा लाग्यो तब स्कुलको सम्पूर्ण आयस्तामा कमिशनको खेल सुरु हुन थाल्यो । किनभने नयाँ शिक्षा योजनाले यिनका सबै स्कुलहरू सरकारी भए । यिनले थापेका २९ वटा स्कुलमा यिनैको नाउँ प्रशासनद्वारा कालो मसीले पोतियो । यसपछि यिनको शिरमा ओझेल मात्र पर्न थाल्यो ।

नेपालीहरू शतप्रतिशत साक्षर हुनुपर्छ भन्ने उप्रेतीको तीव्र इच्छा हुन्थ्यो । यिनले युवा पुस्तालाई रोजगारमूलक सीपको शिक्षा दिलाउने प्रयत्न गर्थे । तर पञ्चायती प्रशासनले यिनको गला निमोठ्थ्यो । तर यी हार्दैन थिए ।

त्रिभुवनले यिनलाई चिनेका थिए । अनि राजा महेन्द्रले पनि यिनको रहस्य बुझेका थिए । किनभने यी तीव्र दानी थिए । राज्यस्तरबाट यिनले केही पनि लिएनन् । किनभने यी दिन जन्मेका थिए । तर यिनलाई आफ्नै श्रीमती र छोराछोरीले पनि चिनेनन् । यी बाँचुन्जेल आफ्ना घरबाट ‘नजीकका तीर्थ हेला’ भए ।

उप्रेती नेपाली समाजका महान् चिन्तक थिए । यी हरेक पल अर्काको मात्र हित गर्थे । यी नेपाली समाजको चोखो र सत्य सेवा गर्थे । यी आफ्नो सर्वस्व दिएर पनि मान्छे रिझाउँथे । तर नेपालमा छक्कापञ्जा खेल्ने व्यक्ति धेरै निक्ले । प्रायः समाज माराहरूले नै ठूलाठूला नाउँका समाजसेवी संस्थाको आड पाए । यस्ता विडम्बनाबाट उप्रेती छक्क परे । तर उनी आफ्नो पवित्र काम गर्दै रहे । उनी समाजसेवामा नै दुधकोसी, सुनकोसी अथवा सप्तकोसी जस्तै अविरल बग्दैरहे ।

उप्रेतीको व्यक्तिगत जीवनचाहिं नदीको बालुवाझै अरट्ठ परेको थियो । यिनले चार जनासँग बिहे गरे । आठ छोरा र चार छोरी जन्माए । अनि यी जीवनको अन्त्यतिर प्रायः एक्लै बसे । यिनको जीवनमा ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ भन्ने लोकोक्तिले निक्कै साथ दियो ।

तेह्रथुममा जन्मेका देवीप्रसाद उप्रेतीले नेपाललाई नै धेरै दिए । उनले धन, मन र एउटा युग पनि नेपालीलाई नै दिए । दिदादिदै यी विरामी भए । अनि उपचारकै क्रममा काठमाडौंमा यी स्वर्गीय भए । उनी नेपाल र नेपालीको हीत गर्न ८० वर्षर ७० दिन बाँचे ।

उप्रेतीकै इच्छाले यिनलाई झापाको आफ्नै घर लगियो । यसैक्रममा २०४९ साल असार ११ गते साँझ यिनको भौतिकचोला रात्रिबसको छतमा राखियो । अनि यिनको चोला रूँगेर यिनका जेठा छोरा इन्जिनियर मित्र उप्रेती र भतिजा प्रा.डा. रामप्रसाद उप्रेतीले त्यस बसको छतमा नै एउटा रात कटाए । बिहानको सूर्योदयसँगै बस झापाको घैलाडुब्बा अर्थात् उप्रेती निवास पुग्यो । त्यति बेलासम्ममा त्यहाँ जनसागर उर्लिसकेको थियो।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !


Loading comments...