Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

उषा शेरचनको ‘आधि’

२२ आश्विन २०७६, बुधबार २२:५०

उषा शेरचनले नेपाली साहित्यका नारीचुलीका रूपमा प्रतिष्ठा आर्जन गरेकी छिन् । शेरचन राजकवि केदारमान व्यथितद्वारा २०५० सालकै हाराहारीमा ´मुक्तक सम्राज्ञी`को उपाधिले विभूषित भइसकेकी थिइन् । उनै प्रातःस्मरणीय व्यथितले गरेको न्वारनलाई नरेन्द्रराज प्रसाईले कर्ममा रूपान्तर गरे, प्रचार गरे र विश्वव्यापक बनाए । अन्तत: उषा शेरचन मुक्तक सम्राज्ञीकै आसनमा विराजमान भइन् ।

मुक्तक साम्राज्ञी उषा शेरचन | तस्वीर वहाँको फेसबुकबाट

उषा शेरचनको काव्यिक क्षमतासँग म खुबै प्रभावित छु । शेरचन मेरै समकालीन पुस्ताकी कविता लेखनकी शिखर स्रष्टा हुन् भन्दा मलाई गौरवीबोध हुनेगर्छ । त्यसै कारणले पनि मैले उनको एउटै कविताबारे २०७२ सालमा ‘उषा शेरचनको शङ्खघोष’ नामक समीक्षात्मक कृति नै प्रस्तुत गरिसकेकी छु ।

लेखकः इन्दिरा प्रसाई

कवितामा आफ्नो विशिष्ठ पहिचान कायम गरिसकेकी उषा शेरचनको नाउँ एक दशकदेखि आख्यानका क्षेत्रमा समेत चर्चित हुँदै आएको छ । ‘तेस्रो रङ’ नामक कथासङ्ग्रह प्रस्तुत गरेर आख्यानका क्षेत्रमा पनि गतिलो उपस्थिति देखाएकी शेरचन अहिले ‘आधि’का कारण पनि नेपाली साहित्य संसारमा चर्चित बनेकी छन् ।

किताबबारेका कुरा
~
हिजोआज बजारमा किनेर म त्यति धेरै किताब पढ्दिन । पहिलेपहिले नयाँ किताब निस्कनासाथ किनेर पनि म पढ्ने गर्थेँ । अहिले मैले किताब किनेरै नपढ्नुका केही प्रमुख कारण पनि छन् ।

१. नइ पुस्तकालयमा अत्यधिक किताब हुनाले थप किताब राख्ने कोठाको अभाव हुनु ।
२. नइ प्रकाशनबाट प्रकाशित पुस्तकहरू निश्शुल्क प्रदान गरिनु ।
३. लेखकहरूबाट आफ्ना कृति नइलाई उपहार दिइनु ।
४. उपहारमा प्राप्त किताबहरू नै पढ्ने समय नपुगेर थन्किरहेको अवस्थामा थप पुस्तक किनेर ल्याउन अपराधवोध हुनु ।
५. सामाजिक सञ्जाल तथा अनलाइनमा कतिपय निश्शुल्क र सुलभ मूल्यमा समेत साहित्य पढ्ने सुविधाका कारण पनि बजारका कृतिप्रतिको आकर्षणमा कमी हुनु आदि ।

मेरै सिद्धान्तका कारणले पनि मैले उषा शेरचनकृत “आधि” किन्नु परेन । शेरचनबाट पूर्ववत पाउने गरेका अघिअघिका उपहारजस्तै यसपालि पनि ‘आधि’ मैले रश्मि रिमाल मार्फत् प्राप्त गरेकी थिएँ।

‘आधि’ र नइ परिवारको प्रसङ्ग
~
मैलेभन्दा पहिले हाम्री बुहारी विदुषीले नै ‘आधि’ पढिन् । उनले ‘आधि’बारे सामाजिक सञ्जालमार्फत् समीक्षात्मक विचार पनि प्रस्तुत गरिसकेकी छिन् । हाम्री छोरी अनुकृतिका पिएचडीका लागि काशी विश्वविद्यालय नपुगेकी हुँदिहुन् त उनले पनि ‘आधि’ पढेर यसबारे विमर्श गर्ने नै थिइन् ।

नरेन्द्रको रूचि प्रायः जसो गीति कविता, समाचार र गैरआख्यानात्मक आलेखतर्फ रहेको छ । अनि अर्को कुरा हामी नइबीच आफूले पढेर अति रूचाइएका कुनै पनि आलेख एकअर्कामाझ वैचारिक साटफेर पनि हुने गर्छ । जसअनुरूप उनी मलाई ताजा समाचार वा मुलुक र मुलुक बाहिरका वर्तमान घटनाक्रमबारे सुसूचित गराउने गर्छन् । म भने आफूले पढेका खास गरेर आख्यान साहित्य उनीसम्म पुर्याउने गर्छु । छोरा डा. कञ्चनजङ्घा आफ्नै वैज्ञानिक अनुसन्धानात्मक अध्ययन र लेखनमा मस्त रहने गर्छन् । उनलाई साहित्यमा रूचि भएर पनि उनको अध्ययनको विषयान्तर र समयको कमीले साहित्यतर्फ प्रवेश गर्न चाहाने आफ्नो मन बाँध्न विवश छन् ।

नइ प्रकाशनकी परिचारिका सुमी चौधरी साहित्यमा निकै चासो राख्छिन् । उनी निरक्षर थिइन् तर अहिले अक्षरको दुनियाँमा प्रवेशहेतु प्रयासरत छिन् । हेरौँ भविष्यमा उनको प्रयत्न कत्तिको सार्थक हुनेछ ।

यति नइ परिवारको अध्ययनतर्फको जानकारी पस्केपछि अब ‘आधि’ सन्दर्भका केही कुरा प्रस्तुत गर्ने छु ।
••
उषा शेरचनको ‘आधि’
~
उषा शेरचनको मातृभाषा नेपाली होइन तर उषा शेरचन नेपाली भाषासाहित्यकी गौरव हुन् । आहा ! उषा शेरचनका विषयमा यसो भनिरहँदा मलाई अपार आनन्द आएको छ । मातृभाषाको सम्मान गरेर राष्ट्रभाषाको गरिमा अभिवृद्धिमा लाग्ने शताब्दी पुरूष सत्यमोहन जोशी, राजकवि केदारमान व्यथित, भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, तेस्रो आयामका प्रवर्तक मध्ये एक वैरागी काइँला, नारायणमान विजुक्छे ‘रोहित’ आदिका लहरमा स्थापित नाउँ “उषा शेरचन” पनि हो ।

कुनै पनि राष्ट्रमा गैरमातृभाषीहरूले त्यस राष्ट्रको राष्ट्रभाषामा साहित्य लेखनद्वारा प्रस्तुत भइदिनाले उक्त राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमै प्रतिष्ठित बनाउने काम गर्छ । अनि यस्ता कार्यले उक्त राष्ट्रको राष्ट्रियता बलियो बनाउन पनि मद्धत गर्दछ । त्यसैले उषा प्रवृत्ति साहित्यकारहरूबाट हुन सकेको यस प्रकारको कृत्यप्रति समग्र राष्ट्रले गौरवको अनुभूति गर्नुपर्छ । अर्को कुरा यसरी विविध मातृभाषीलाई नेपाली भाषा सम्वृद्ध पार्नका लागि उत्प्रेरित बनाउने किसिमको एकात्मक वातावरण दिन समर्थ व्यवस्थाप्रति पनि हामी कृतज्ञ हुनै पर्ने देखिन्छ ।

उपन्यासमा चाहिने कुतुहलात्मकता, पठनीय एवम् सरल र सहज भाषाशैलीद्वारा उषा शेरचनको ‘आधि’ सुसज्जित छ । बालबालिकादेखि वृद्धासम्म वलत्कृत हुने वर्तमान क्रुर समयको डडेलो ‘आधि’ को विषयवस्तु हो । हुनत बलात्कार प्रवृत्ति मनोरोग हो । विकृतिजन्य पारिवारिक र सामाजिक सेरोफेरोको प्रभावसँग मनोविकृतिजन्य विकारका रूपमा पनि बलात्कारलाई बुझ्नु पर्ने हुन्छ । अर्को कुरा हाम्रो शिक्षा नीतिमा नैतिक शिक्षा नहुनु र भए पनि किताबीमात्र हुनुले पनि व्यक्तिमा असामाजिक र अमानवीय प्रवृत्तिको वाहुल्य भएको हुनुपर्छ । कतिपयले बलात्कारलाई ‘पाशविक’ पनि भनेको सुनिन्छ, देखिन्छ । तर मानवमात्रमा हुने चरम विकार पशुमा नदेखिने कारणले ‘पाशविक’ भनिँदा पशुको अपमान हुने देख्छु । सुललित यौन जीवन विताउने पशुभन्दा शिष्ट र सभ्यको दम्भमा बाँचेको मानव समूदायबाट घटित हुने यौन हिंसा पशुका तुलनामा अधोगामी छ । त्यसैले यस्ता मानवीय नीचकर्म सम्मानित पशुसँग तुलना गरेर पशुको अपमान गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । यसबारेको विमर्श फेरि कुनै बेला गरौँला नै !

फेरि ‘आधि’बारेकै कुरा गरौँ; कलात्मकरूपले समयको घिनलाग्दो स्वरूप पस्कन उषा शेरचनको कलम ‘आधि’मा सक्षम देखिएको छ । बाल यौन हिंसामा परेकी मूख्य पात्र चाँदनीले आस्थाको लहरो समातेकी हुन्छे । तर त्यो लहरो पनि पितृसत्ताको छली भएर चुँडिएपछि निराशाको गर्तमा डुबिसकेकी चाँदनीले आफूलाई पुनः आस्थावान तुल्याएकी छ । तर चाँदनीको पछिल्लो आस्था आफ्नो नीजि प्रयोजनका लागि नभएर आफूजस्तै हिंसामा परेका बालबालिका र महिलाका लागि सहयोग गर्नका लागि छ । यसरी अँध्यारोबाट हिँडेको उपन्यासको कथाबस्तु उज्यालोतर्फ लक्षित छ । त्यसैले ‘आधि’ प्रेरक समेत रहेको छ । झन्नै आधा शताब्दिको लेखन यात्रा पार गर्न लागेकी उषाको परिमार्जित लेखनीद्वारा प्रस्तुत गरिएको ‘आधि’ ले नेपाली भाषाका उपन्यासकारका लहरमा पनि उषा शेरचनलाई दरिलो रूपले उपस्थित गराएको छ ।

अबको समय भनेको नेपाली साहित्यको भण्डार भर्ने समय होइन । अब नेपाली भाषासाहित्यमा संख्यात्मक रूपले नभएर गुणात्मक रूपले कृतिहरू प्रस्तुत गर्ने समय रहेको छ । यस अर्थमा जथाभावी कृतिमात्र प्रकाशन गर्नुको रहरले खासै अर्थ पनि दिँदैन । ‘आधि’ यही महँगो अथवा भनौँ समय सापेक्ष कृतिको प्रमाणका रूपमा अघि सरेको मैले महसुस गरेकी छु ।

उपन्यासका क्षेत्रमा ‘आधि’ हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्षम भएको छ । उषा शेरचनले अझै थप उपन्यास नलेख्दा पनि एउटै ‘आधि’ ले उपन्यासकारका रूपमा पनि उनलाई यस क्षेत्रमा सुरक्षित पारिसकेको छ । यसो भनिरहँदा उषाले थप उपन्यासै नलेखेर पाठकीय खुराक उपर अन्याय गर्न पनि मिल्दैन। हुन त लेखनका लागि लेखक आफैँ स्वतन्त्र हुन्छ । के लेख्ने, किन लेख्ने, कति लेख्ने भन्ने कुराको टुङ्गो नितान्त लेखकको नीजि विचारमा निर्भर रहने कुरा हो ।

सारांशमा भन्नुपर्दा नवीनतम् उपन्यास लिएर आएकी नेपाली साहित्यकी प्रतिष्ठित साहित्यकार उषा शेरचनलाई ‘आधि’का लागि हार्दिक बधाई दिनु पर्छ र पाठकीय दृष्टिविन्दुबाट धन्यवाद समेत समर्पण गर्नु पर्दछ ।


लाईभमाण्डूका लागि © इन्दिरा प्रसाई

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो