
सावधान सी
२६ आश्विन २०७६, आईतवार ०८:३२
‘सी’ नभएको हाम्रा माझ
तिमी आयौ सी
तिमीलाई स्वागतम् सी !
हामी ‘सी’
अथवा
समुद्रले नछोएका नेपाली
‘सी’ विनाका भनेर
‘सी’वालाबाट पनि
हेप्नसम्म हेपिएका
हामी नेपाली !
दक्षिणतिरबाट सधैँसधैँ
चेपिँदै र चेपिँदै
साँघुरिँदै र साँगुरिँदै
खुम्चिन विवश
हामी नेपाली !
आज तिम्रो आगमनले
‘सी’ अथवा
समुद्र विनाका हामीलाई
हाम्रै देशमा पनि
‘सी’ आउँछ कि भन्ने भ्रम भएको छ
युगौँदेखि बन्धक बनेको हाम्रो खुसीले
अब उन्मुक्तिको सपना देख्ने भएको छ ।
हामीबाटै निर्मित
हाम्रा अभिभावकहरू
ग्रेटवालका निर्माता तिमीलाई
फ्लेक्सोवाल बनाएर देखाइरहेछन्
यिनीहरू तिम्रा अघि सुकिलो बन्न
फोहोर छोपिरहेछन्
हुँदै नभएको रूख र विरूवा
केही दिनका लागि रोपिरहेछन् ।
धुलो, धुवाँ र फोहोरले छोपिएको शहरलाई
एकदम सुकिलो पारेर
तिमीलाई झुक्याउन खोजिरहेछन् ।

सावधान सी !
हाम्रा हजारौँ दाजुभाइ र दिदी बहिनीको
रक्त पोखरीमा नुहाएका रैथाने साथीहरू
अहिले बढो सुकिलो मुकिलो पोशाकमा
शाकाहारी बनेर
तिम्रा अघि झुकिरहेछन्
चाहिँदो नचाहिँदो चाकरीका
नाना भाँती गीतगजल भुकिरहेछन् ।
सी ! तिमीलाई थाहा छ ?
यी तिम्रा दौँतरी हुन खोज्नेहरू
उनीहरूकै सिँहाशनका लागि
गोली थाप्नेको भाग समेत खोसेर
आफ्नैमात्र सुक्ख सयलमा लागेका छन्
मर्ने त मरिगए कति अधमरा बाँचेका छन्
मुटु छेउमा छर्रा र मुटुबाहिर
अभावको ज्वाला बोकेर
कैयन बबुराहरू
जिउँदै मरिरहेछन् ।
तिमीलाई साथी ठान्नेहरू
जे नि पचाई दिन्छन् सी
तिनीहरूले
जे नि देखाई दिन्छन् सी
तिमीसँग साथीको खेती गर्नेहरू
नहुने काम पनि गरिदिन्छन्
हुने काम पनि बिगारिदिन्छन् सी !
विश्वको अर्थतन्त्रको हिसाब
तिम्रा साथीहरूको जोड र घटाउमा
बेरूजु निस्किन्छ
कतै नभएको जात्रा पनि
तिम्रा साथी हुँ भन्नेहरूले
तिमीलाई देखाउन सक्छन् सी
यी आफू बेस्सरी नाच्न सक्छन्
अनि वेफ्वाँक नृत्यमा तिमीलाई पनि
नाचुँ भन्न सक्छन् सी !
त्यसैले झुक्किएर पनि
यिनको पासोमा नपर्नु है सी
यिनका कुरा नपत्याउनु है सी
हो पटक्कै नपत्याउनु है सी !
हेर न सी !
हामीसँग भएका
प्रकृतिका सुन्दर उपहार
सखापै पारेर पनि
तिम्रा मित्र हुँ भन्नेहरू
निसङ्कोच रमाउन सक्छन्
हाम्रा युवा पाखुरी जति
पराईको खेत जोत्न लखेटेर
तिम्रा हितैषी हुँ भन्नेहरू
आलिसान महलमा बसेर
अमन चैनको महाभोज
खान सक्छन् सी !
हाम्रा विवेकहीन ठालुहरूले
तिमीलाई यसबेला
कृत्रिम नगर देखाइरहेछन्
दुङदुङती गन्हाउने सडक र पेटीहरूमा
अत्तर छर्केरै भए पनि तिमीलाई
अल्मल्याइरहेछन् ।
यिनले त तिमीलाई सी !
यी नक्कली सजावट झैँ
झुठा कुरा सुनाउँदा हुन्
नपत्याउनु यिनका कुरा सी
यिनीहरूका मुखमा रामराम
र बगलीमा छुरा छ है; सी !
बेपत्तै ढाँट्छन् तिम्रा साथी हुँ भन्नेहरू
उल्लु विल्लु बनाउँछन् यिनले
भर नपर्नु
तिम्रा यहाँका साथीहरूको
यी त बेस्सरी कुरा पनि फेर्छन् है, सी !
तिमीलाई के थाहा र सी
यी साथीहरू
एकातिरको मानो खान्छन्
अर्कोतिर मानो पचाउँछन्
नून र गुन पनि भुसुक्कै विर्सिदिन्छन्
अलिकति पहेँलो भेटे भने
आमा र दिदी बहिनी पनि
परचक्रीलाई बेचिदिन्छन् ।
सङ्गत त गर्नु यहाँ भएका तिम्रा साथीहरूको
तर कहिल्यै भर नपर्नु है, सी !
यी अविवेकी साथीहरूको
विश्वास कहिल्यै नगर्नु है, सी !
कानुन विचाराधीन भएको अदालत हो यो देश
विश्वासको संकट मौलाएको मौसम हो यो देश !
त्यसैले सावधान हुनु है सी !
सावधान हुनु !
आफ्नो घर सिँगारेर सी
अरूका घर पनि सजाउने
तिम्रो सबल यात्रा सी
विश्वको निरीह वस्तीलाई
सुन्दर नगरी बनाउने तिम्रो चाहना सी
आफ्नोमात्र नभएर
आफ्नैमात्र सात पुस्ताका लागि
सुक्खसयल बटुल्ने
तिम्रा रैथाने साथीले
तिम्रो भाका बुझ्लान् के सी ?
परेवाको भाग मात्रै होइन
परेवै लुछेर खान पल्केका
तिम्रा साथीहरूले
तिम्रो बाटो पछ्याउलान के सी ?
आफन्तको भेषमा आएका
लुटेराले लुट्नु लुटिएका हामी नेपाली
युगौँदेखि विश्वासको हत्याले
आजित हामी नेपाली
अहँ, विश्वास जगाउन सकेका छैनौँ
हामी त ढुक्क हुन सकेका छैनौँ सी !
© इन्दिरा प्रसाई
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन