अद्भूत बंगालको खाडीमा नबसेको मायाः भाग १


काम बिशेष अनि घुम्ने चाखले गर्दा यस वर्षको दशैं मैले बंगलादेशमा बिताँए । १० दिने मेरो बसाई शुरुवाती केहि दिन ढाकामा बित्यो भनें त्यसपछि म तटिय क्षेत्र ‘कक्सेस बजार’ र ‘टेक्नाफ खोला’को किनार हुँदै म्यानमार र बंगलादेशको सिमा छिचोल्दै बगांलको खाडी छिचोलेर सेन्ट मार्टिन टापु सम्म पुगे ।

बंगलादेशमा काना अकंल, भाई र बहिनी बस्दछन्, काना अर्थात कान्छी सानिमा मैले बालापन मै सर्टकटमा राखेको नाम । मैले भन्दा पनि मेरो दादा हिरामणी ले काना भनी सम्वोधन पहिलोपल्ट गरेको होला त्यपछि मैले हिरादादाको शव्द पछ्याएँ । म अहिले पनि दादाको धेरै कुराहरु पछ्याँउछु, काना मेरो जिवनको सर्वाधिक नजिक मान्छे, म वहाँसंगै हुर्किएँ । काना आईए मा अध्यनरत हुँदा म कक्षा ४ मा अध्यन गर्दथें, उतिवेला हामी बिराटनगरमा बस्दथ्यौं । मैले कानाका अंग्रेजी पुस्तकका सबै कथाहरु पढेर भ्याएको थिँए, आजपनि याद छन् केहि कथाहरु अनि केहि नेपाली उपन्यास पनि पढें । उतिबेला मैले बसाँई उपन्यास पनि पढेँ, सानै भएकाले अक्षरस मात्र पढेँ धेरै कुराहरु बुझिन् । कानाको किताबले मलाई कथासँगको रस बसायो, म त्यहि कथाहरुको खोज गर्दै यसपटक कानालाई भेट्न ढाका पुगिदिए ।

suyog dhakal
लेखकः सुयोग ढकाल

अहिले मेरो काना सपरिवार ढाकामा बस्नुहुन्छ, म यसकारणले पनि त्यहाँ गएँ । एयरपोर्टमा सपरिवार सबैजना मलाई लिन आउनुभएको थियो, मलाई धेरै खुशी लाग्यो । कानासंग म केहि दिन बसें अनि मेरो ट्रेकिङ ब्यागमा केहि थान कपडा र केहि हजार टाका बोकेर म र सौगात समुन्द्रको खोजिमा ढाकाबाट निस्क्यौं । बंगलादेश भिसा आवेदन प्रक्रियामा जाँदा भेटेको भाई सौगात मेरो यात्रामा हर बखत मसँगै थियो ।

समुन्द्रले सबै कुरा बगाउँछ अनि सबै कुरा तान्दछ, शायद मलाई नेपालबाटै समुन्द्रले तानिरहेको थियो । मैले समुन्द्रमा केहि जोर भावना र कथाहरु बगाँए, केहि थान कथाहरु टिपें, ढुङ्गाहरु भेला पारें अनि फर्किएँ । हुन त यसअघि मैले मेरा अन्य बैदेशिक भ्रमणमा स्क्यान्डेनेभियन सागर, प्यासिफिकका अन्य कुना कन्दराहरु र गल्फ अफ थाइल्याण्ड छुने मौका पाएको छ तर बंगालको खाडी भन्ने बित्तिकै मलाई मेरो गाँउको छानो ठटाउने गरि बज्ने पानी र मनसुनको कारण त्यहिँ ठाँउ हो जस्तो लाग्दछ । म ति सकल बर्षाका पानीहरुको मुख्य बादल पठाउने केन्द्रबिन्दु पुगेर आँए, म नेपाल भिजाउने बादल हुँदै आँए ।

मैले बंगलादेश जाने भिसा भरेर फर्केपछि बंगलादेशकी राजदुत बिन्तो शाम्स मोस्फीको ईमेल आयो, वहाँसँगको मेरा केहि कार्यक्रमहरुमा भएका साक्षातकारहरुले मेरो परिचय र कामलाई सहज बनाइदियो । वहाँले मलाई भिसा लिन आँउदा जसरी पनि भेट भन्नुभयो, म जानु केवल दुई दिन अघि मात्र पासपोर्ट लिन पुगें । त्यहाँ राजदुत र काउन्सलर हेड अफ चान्सलरसंग मैले भेटें । वहाँहरुले मलाई घुम्न पर्ने ठाँउहरुको सूची दिनुभयो र म नेपालमा एमबीबीयस र ईन्जिनियरिङ अध्ययन अनलाईन तयारीको ब्यवसाय गर्ने भएकाले केहि विश्वविधालयका लिंकहरु पनि दिनुभयो । केहि विश्वविधालयमा म पुगें, हाम्रो धेरै नेपाली बिधार्थीहरु त्यहाँ अध्ययन गर्ने रहेछन् ।

बंगलादेश मलाई विदेश जस्तै लागेन, ढाका झर्दा भनें मलाई धेरै भोक लागेको थियो । हिमालयन एयरलाइन्सको टिकट लिएको हुँ, एयरपोर्ट टाइममा त्यहाँ पुगेर जाँच गरि जहाज चढेर ढाका ओर्लेर बिमानस्थल बाहिर निस्केर घर पुग्दा सम्म लगभग ६ घण्टा भइसकेको थियो तर जहाजमा केवल एउटा ‘हावा बढी माल कम’ भएको सानो प्याकेटमा पिनट र आधा ग्लास जुस मात्र बाँढियों । मैले मेरो देशको नाइट बस र बाटामा रोक्दा टन्न खान पाउने होटलका भात संझना गरें, पछि बगंलादेशमा पनि म ढाकाबाट कक्सेस बजार जाँदा दिवाबस र आँउदा रात्रिबसको चढाईले मैले यो तिर्सना मेटें अनि जहाजको भोक सम्झेर टन्न भात पनि खाँए बाटैमा पर्ने एउटा हाइवे होटलमा ।

बंगलादेशका मान्छे दुरुस्तै हामी जस्तै रहेछन्, अनुहार उस्तै लाग्ने । मैले अनुहारकै कारणले बिदेशीको पहिचान पाउन परेन्, बंगाली बोल्न भने मैले जानिन । कोशिष पनि गरिन ।

ढाका त हामी सपरिवार सहज रुपमा घुम्यौं तर कक्सेस बजार अनि आइल्याण्डको भ्रमण अत्यन्त जोखिमपूर्ण थियो । एकहिसाबले भन्ने हो भने म निकै जोखिम मोलेर घुम्न निस्किएँ, मानौं म जीवनका केहि हिसाबकिताबलाई ‘धमिलो समुन्द्रको पानी’मा पखाल्न निस्केको हुँ । कक्सेस बजारमा होटल खोजियो, हामी निकै राती पुगेका थियौं । मलाई समुन्द्र किनारको होटलमा बस्न मन थियो । सौगातले कहिलेपनि मेरा कुराहरु काटेन र दाजुभाई केहि होटल खोजेर अन्तमा एउटा होटलमा सुस्तायौं । होटल समुन्द्र किनारमा त थियो तर झ्यालबाट भनें समुन्द्रको नामोनिशान देखिन्थेन । रात छिप्पिन थालेकोले हामीले चित्त बुझायौं तर धेरै अबेरसम्म छेवैको समुन्द्र किनारमा बस्यौं । त्यहिँको रेसटुरेन्टमा ताजा ताजा माछा ग्रील गरेर, अक्टोपस अनि गंगटा मगाएर चाख्यौं, चाख्नु र खानुमा फरक हुन्छ, केहि कुरा त चखाई मात्र भयो अनि पराठा मगाएर खायौं । होटलका साहु अराफतले हामीलाई हरेक कुरामा सहयोग गरे, खाने ठाँउसम्म उनैले ल्याए, उनी सहयोगी थिए ।

त्यो रात सुतेपछि बिहानै समुन्द्र हेरेर हामी ८२ किमी पर टेक्नाफ खोलाको किनारमा जाने योजनामा थियौं तर पानी परिदियो । हामी नुनका ढिक्काजस्तो पानीमा नपग्लीएरै टेक्नाफसम्म टेम्पुमा पुग्यौं, बाटामा रोहिगिंयाहरुको क्याम्प थियो । यो बाटो विश्वकै सर्वाधिक लामो समुन्द्री किनारा हो, हरेक कुराहरु मैले मेरो गो प्रो क्यामरामा रेकर्ड गरें ।

यो क्यामरा मलाई मेरो निकटतम दाजु सन्तोषले किनिदिनुभएको हो, हुन त म आफै पनि किन्न सक्दथें तर दाजूले उपहार स्वरुप मलाई भाई तिमीले रहर गरेको कुरा म किनिदिन्छु भनेर किनिदिनुभयो । मेरो भ्लगमा म दाइलाई धन्यवाद दिनेछु । अहिलेपनि दाजू सन्तोषलाई धेरै धेरै धन्यवाद !

टेक्नाफमा जाँदासम्म पानी परिरह्यो, म पुरै भिजिसकेको थिँए किनभनें म टेयाम्पुमा चालकको छेउमा थिएँ । टेक्नाफमा मार्टिन आइल्याण्ड जान ठूला जहाज थिएनन किनभनें अहिले त्यहाँ मध्यवर्षाको समय छ । हामी जोखिम मोलेरै सानो माछा मार्ने बोटमा बस्यौं, ४ घण्टालामो यात्राभरि पानी पर्यो, धन्न टेक्नाफमा किनेको प्लास्टीकको झोलाले मेरो र सौगातको ब्यागलाई जोगायो । हामी सबैजना पुरै भिज्यौं, जहाजमा धेरै सामानहरु थिए । घरिघरि पानीको वहावले त्यो जहाज वहावसँगै अली वेसी नै ढल्क्न्थ्यिो अनि झसङ्ग बनाइदिन्थ्यो । स्थानीय बंगालीहरु पनि डराइरहेका थिए । हुन त म पौडी खेल्न राम्रै जान्दछु तर समुन्द्रको जुन भागमा म चढेको जहाज थियो त्यहाँबाट आँखाले भ्याउञ्जेल कहिँकतै जमिनको नामोनिशान थिएन । जहाज पल्टेको भए भगवानको मुर्ति पानीमा भसाएको या सेलाएको झैं हामी सबै सेलउथ्यौं होला… तर त्यसो भएन ।

जहाजमा एकजना राम्री तर बुर्का लगाएकी केटि थिइन, कलेजका केहि केटाकेटीहरु पनि हामी झैं जोखिम मालेर मार्टिन टापु जाँदै थिए । उनीहरुसँग चिनजान भयो, रमाइला मान्छे रहेछन् अनि अंग्रेजी पनि राम्रो बोल्ने । उनीहरु गीत गाउँथे, फोटो खिच्दथे अनि म घरि घरि ताली बजाइदिन्थें । ति राम्री केटि आफ्नी ब्वाइफ्रेण्डसँग र साथीहरुसँग घुम्न निस्केकी रहिछिन्, उनीहरु टाइटनिक पोजमा फोटो खिच्न चाहन्थे जहाजको छेउमा बसेर । जहाज धेरै सानो र सकसपूर्ण थियो, मैले टाइटनिक पोज र अझ फोटो रोमान्टीक बनाउन केहि अन्य पोजहरु ईशाराले बताएँ, उनी हाँस्दथिन । उसित पनि मेरो चिनजान अप्रत्यक्ष रुपमा परैबाट अरु साथीहरुले गराए, मैले हेल्लो भने, शायद उनी हाई भनेर हाँसिन जस्तो लाग्यो किनकी उन्को बुर्काबाट देखिएका एकजोडी आँखा अत्यन्त हँसिलो देखिन्थे ।

उन्को केटासाथीले उति अन्य साथी झैं मलाई कुराहरु सोधन, नत्र अरु साथीहरु केहिबेरमै मेरा हितेषी झैं भए । सौगात चाँही एउटा बुढो मान्छेको छाताभित्र बसेको थियो, पछिसम्म त्यसले त्यो बुढो मान्छेको तारिफ गरिरह्यो र धेरैवटा फोटो पनि त्यस मान्छेको खिच्यो ।

ति महिलाका केटासाथी शायद म ईशाराले भएपनि तिनका साथी र मुख्यतया केटिसाथीसँग बोलेको मनपराएन होला, पछि चाँही म अलिक बोलें की जस्तो लाग्यो । मेरो मनसाय तिनलाई सहयोग गर्नु थियो, अहिलेपनि जहाजका धेरै साथीहरुले मलाई फेसबुकमा एड गरे तर ति केटाले मलाई एड गरेनन् । भोलीपल्ट बिहान मैले समुन्द्र किनारमा तिनलाई देखेर मुस्कुराँए तर तिनीले केहि प्रत्यूत्तर दिएनन । तर त्यो एकजोडी आँखा त्यतिखेर पनि हँसिलै थियो । मसँग नबोल्ने केटो चैं भाग्यमानी रछ, त्यत्ति राम्रि प्रेमीका, र उनको बुर्काबाट देखिएका दुई आँखाले मात्रै पनि धेरै भाव, भाका र कथाहरु अभिव्यक्त गर्दथे । साँच्चै उनी अत्याधिक राम्री र शालिन थिइन, म यहाँ तिनलाई अन्य कुनै हिसाबले भन्दा पनि एउटी सुन्दर र शालिन नारीका रुपमा सम्झन चाहन्छु । उन्का आँखाहरु बुर्काभित्र थिए तर चाहनाहरु र आकांक्षाहरु बुर्का बाहिर छिचोलिन थालेका थिए । मैले यो ‘छोटो अफसाना’लाई ओपन इन्डेड बनाइदिए, अब शायद उनीसंग भेट हुने छैन तर फेरि बंगलादेश गएँ भनें म उनीजस्तै कसैलाई टाइटनिक पोज भनें सिकाउन पछि पर्दिन ।

मैले Go-Pro तेरस्याएर यतायता खिच्ने बहानामा तिनलाई पनि कैद गरेको छु जुन म भ्लगमा राख्ने छैन । पछि म झोला बोकेर हिँड्दा घरिघरि उनीले मलाई छड्के आँखाले हेरिरहेकी थिइन्, कड्के आँखाले भन्दा छड्के आँखाले नै हेरेको जाती भन्ने मलाई लाग्दछ । उन्का पुरुषले बलियो गरी एउटा हातमा झोला र अर्को हातमा उनको हात समाए ।

म जानी जानी उनीहरु गएको बाटो भन्दा भिन्न अर्को रिसोर्ट तर्फ लागें, रिसोर्ट त फरक पर्यो तर समुन्द्र र किनारा एउटै थियो । सेन्ट मार्टिन पुग्दा मेरा गोडाहरु नचल्ने गरि थला परेका थिए, आइल्याण्ड भनेको गज्जब हुने रहेछ त्यहाँ जहाजका ताँती, नरिवलका रुख र समुन्द्रको पोर्ट देखेर म मख्ख परें । प्लाष्टिकको झोलाभित्रको ब्यागहरु बोकेर हामी बल्ल धर्तिमा खुट्टा टेकेका थियौं, केहि बेर त जमिनपनि तैरिरहेको झैं भयो । मेरो हातमा स्टीलको प्लेट छ तसर्थ म धेरै भारी उचाल्न सक्दिन, घरि घरि मैले उचाँले र आवश्यक्ता पर्दा सौगातलाई बोक्न लगाँए । यस वर्षको दशैंको टीकामा ढाकास्थित नेपाली दुतावासमा मेरा भाइबहिनी अप्पु र अपिलसंगै मैले सौगातलाई पनि टिका लगाँइदिएँ, उ मेरो पक्का भाई भइसकेको थियो, यो भ्रमण सकिएपछि ढाकामा ‘उबर’मा सौगात मलाई छाड्न आयो, त्यसबेला त्यो जाँदा मलाई केहि न्यास्रो लाग्यो ।

मार्टिन आइल्याण्ड अद्भूत थियो, बिल्कुललै अद्भूत । म त्यो रात समुन्द्रको लहरहरुसंगै निकै बेर बसें । ति जहाजकी केटी पनि एक छेउमा आफ्नो केटासाथीसँग उभिरहेकी थिइन्, अध्याँरोमा पनि मैले ठम्याए । राती स्थानीय केटाहरुले गीत गाउने कार्यक्रम राखे, मैले समुन्द्र किनारमा नेपाली लोकगीतहरु गाएँ उनीहरु रेकर्ड गरे । उनीहरुको गीत मैले रेकर्ड गरें, मेरा नेपाली भाकाहरु गाएपछि मैले अंग्रेजीमा तिनको उल्था पनि गरें ।

साँझमा त्यहाँ चिनजान भएका साथी अदनानले मलाई र सौगातलाई नरिवलको पानी खान र गाँउ घुम्न लग्यो । ६ किमी स्क्वारको एरियाको त्यस टापु नेपालको गाँउ झैं थियो तर समुन्द्र बिचको गाउँ । राती म एक्लै दुईवटा नरिवल बिचमा झुण्ड्याइएको झुल्ने ओछ्यानमा सुतेर मोबाइल चलाइरहँदा एकहुल मान्छे आए, मलाई ‘याबा’ भन्ने नशालु कुरा किन्ने भनी सोधे ?

मैले यसअघि नै यस म्यानमारको जमिनमा पाइने नशालु कुराका बारेमा हेरेको थिँए, रातो रातो ढिक्का भएको यस कुरालाई बाँसको कप्टेरोमा आगो बालेर धुँवा सेवन गर्ने खालको थियो । ति ब्यक्तिहरु समुन्द्र किनारमा एउटा सानो जहाजबाट आएका थिए, मैले ‘नो’ भने अनी उनीहरु अन्यत्र गए । केहिबेर मनमा चिसो पस्यो पछि ति रोहिगिँयाहरु भएको थाहा पाँए । शरणार्थी भएर बसेपछि मान्छे सिमीत भएर केवल क्याम्पमा मात्र त बस्दैन, केहि न केहि उधम त गर्छ नै तर नशालु कुराहरुको उधम चाँही नगरेको भए हुने झैं लाग्यो । तर फेरि इलिगल काम गर्दा बिदेशीहरुले अर्काको देशमा राम्रो नगद कमाउने भएकाले पनि रोहीगिँयाहरु यस्तो गर्न थालेको हुन सक्दछ । पछि त्यहाँका केहि केटाहरुले त्यो कुरा किने क्यारे, ति मान्छेहरु मैले भेटिन ।

मैले सौगातलाई पनि यो कुरा भनिन, राती केहिबेर घनघोर पानी पर्यो । अबेरसम्म हामी सुतेनौं, समुन्द्रका छालहरु राती बढ्दै गए । दुई दिन अघि ढाकामा पानीजहाज माथि शानका साथ खाएको मिष्टी पानले काटेको गालाका कारणले नूनिलो कुरा खान मलाई गाह्रो भएको थियो, अहिले पनि चुनाले मुखभित्रका केहि खाटाहरु चहर्याँउछन्, घरि घरि । म यहाँनेर नरिवल पानीलाई संझन चाहन्छु, थरिथरिका नरिवल र तिनीभित्रका पानी पिएपछि मैले चम्चाले खोस्रेर भित्रका गुदीहरु पनि खाँए ।

भोलीपल्ट जहाज नफर्किएमा मेरो र्पिर्सपल्टको फ्लाइट छुट्ने पक्का थियो । जहाजको टिकट काट्ने ठाँउमा गएर सोद्धा पनि उनीहरु भोलीमात्रै थाहा हुने बताँउदथे, मलाई तनाव थियो । समुन्द्र किनारमा सुर्य अस्ताँउदा म समुन्द्र किनारमा रोकिरहेको एउटा जहाजमाथि बसेको थिँए । त्यसदिन म ३ पटक आकाशे पानिमा भिजें, समुन्द्र किनारमा भिज्ने र सुक्ने क्रम चलिरहने रहेछ । पछि समुन्द्रको नूनिलो पानीमा डुबुल्की मार्न थालेपछि मैले भिज्ने र सुक्ने गन्ती गर्ने छाडिदिँए ।

त्यहाँ भिजेका कपडा, जुत्ता झोला लगायतमा भएका बालुवाका कणहरु अहिले काठमाडौंमा सफा गर्दै छु, समुन्द्रमा जाँदा बाँउढिएको बुढि औंला म यहाँ हरेक दिन मनतातो नुन पानीले सेकिरहेको छु । आखिर जीवन नुनपानी देखि नुनपानी सम्म त रहेछ ।

…बाँकी अर्को भागमा
सुयोग ढकाल
तस्बिरहरुः लाइभमाण्डू

Posted by Saugat Raj Baral on Thursday, 10 October 2019


Loading comments...