Lifestyle Portal
  •   २१ श्रावण २०७८, बिहीबार

नेपाल विदेशी सहयोगविना बाँच्न सक्छ

२० कार्तिक २०७६, बुधबार १४:२५

नेपालको गरीबी नेपाली मानसिकतासँग छ । हामी मानसिकरूपले गरीब छौं । हामीमा आँट, व्यवस्थापन कुशलता र मेलमिलापको भावनाको अभाव छ । हामीले आर्थिक विकासका लागि अत्यावश्यक यदि यी तीनै कुराको विकास एवं उचित संयोजन गर्ने हो भने कुनैपनि देशका राष्ट्रपति, प्रधानमन्त्री वा उच्च अधिकारी नेपाल आउँदा यो (आर्थिक) सहयोग गरिदेऊ र हाम्रोलागि त्यो सहयोग गरिदेऊ भन्ने स्थिति आउने छैन । अब हामीसँग पर्याप्त पूँजी छ, पर्याप्त ज्ञान छ । अब हामीलाई पर्याप्त पूँजी र ज्ञान उपयोग गर्न सक्ने केवल आँट र व्यवस्थापन कुशलताको खाँचो छ । विग्रह होइन, मेलमिलापको खाँचो छ ।

लेखकः विश्वराज अधिकारी

सन्दर्भ चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा हालै भएको नेपालको दुई दिने (सन् २०१९ अक्टोबर १२–१३) भ्रमणको हो । नेपाली सञ्चारजगत्देखि सामान्य जनतामा पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको समयमा नेपाललाई के कस्ता आर्थिक सहयोग गरिदिने वाचा गरे भन्ने कुरा जान्न तीव्र उत्सुकता रहेको पाइयो । विकास एवं निर्माणसम्बन्धी नेपाल र चीनबीच (नेपाललाई आर्थिक सहयोग गर्ने) के के सम्झौता भएजस्ता कुरा जान्न उत्सुकता रहेको पाइयो ।

आफ्नो दुई दिवसीय भ्रमणको समयमा राष्ट्रपति सीले भनेका दुई महत्वपूर्ण कुराहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । उनले भनेका थिए– “नेपालसँग निकट सहकार्य र साझेदारी गर्न चीन तत्पर छ ।” यसैगरी, उनले भनेका थिए– “नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउन चीनले खुला ह्दयले सघाउनेछ ।” सीका यी भनाइहरूले चीन नेपाललाई हरेक किसिमले सघाउन तत्पर रहेको प्रस्ट हुन आउँछ ।

चिनियाँ राष्ट्रपति सीले आफनो भ्रमणको समयमा नेपालका लागि चीनले के कस्ता सहयोग गरिदिने वाचा गरे भन्ने चर्चा गर्नुको साटो हामीले चीनबाट के सहयोगको अपेक्षा गरेका छौं, अब त्यसबारे चर्चा वा उत्सुकता हामीमाझ हुनु आवश्यक छ । त्यस कुरालाई केन्द्रमा राख्न आवश्यक छ । आर्थिक सहयोग अब हामीले अस्वीकार गर्नुपर्छ ।

हामी गरीब छौं । अन्य धनी देशको सहयोगविना आर्थिक विकास गर्न सक्तैनौं । हामीसँग पैसाको अभाव छ । हामी यो गरीब मानसिकताबाट बाहिर आउन सकिरहेका छैनौं । यथार्थ त के हो भने राष्ट्रिय विकासका लागि आवश्यक पर्ने कोष र ज्ञान दुवै हामीसँग पर्याप्त छ । मात्र आर्थिक विकासका लागि आवश्यक कोष र ज्ञानको प्रयोग गर्न व्यवस्थापन कुशलताको विकास गर्नु आवश्यक छ । ठूलो आँट हुनु आवश्यक छ । हामी आँट गर्न सकिरहेका छैनौं । हामीसँग सम्बन्धित क्षेत्रका असङ्ख्य विज्ञहरू छन् तर व्यवस्थापन कुशलताको अभावले गर्दा हामीले ती विज्ञहरूको उच्च ज्ञानको उपयोग मुलुकको हितमा गर्न सकिरहेका छैनौं । यसैगरी, हामीमा मेलमिलाप भावनाको अभाव छ । हामी राजनीतिकरूपमा अति विभाजित रहेकाले विकास एवं निर्माणको कार्यमा एकमत हुन सकिरहेका छैनौं। एउटा दलले अर्को दलको खुट्टा तान्ने मनोविज्ञानबाट बाहिर आउन सकिरहेका छैनौं । यो कारणले पनि हामी ‘लुगा भएर नाङ्गो र अन्न भएर भोको’ रहने स्थितिमा छौं । गरीब र मगन्ते (अन्य राष्ट्रबाट सहयोगको लागि याचना गर्ने) हुन पुगेका छौं ।

विकासका लागि हामीलाई चाहिने आँट, मेलमिलाप र व्यवस्थापन कुशलता जस्ता तत्व हामीले आफूभित्र सजिलै विकास गर्न सक्छौं । यो यथार्थलाई ध्यानमा राखेर हेर्दा हामीले चीनबाट आर्थिक सहयोग (सडक, रेलसेवा निर्माण आदि) माग्न आवश्यक छैन । बरु के माग्न आवश्यक छ भने चीनसँग आर्थिक विकासका लागि एउटा बलियो साझेदारीको वाचा । चीनले हाम्रा उत्पादन एवं सेवा खरीद गरिदेओस् । चिनियाँहरू ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आऊन् । चीनका विभिन्न नाकाबाट नेपाली व्यापारीहरूले सामग्रीहरू चीनतर्फनिर्यात गर्न पाऊन् । नेपालीहरूले चीनको समुद्री तट प्रयोग गरेर विश्वका अनेक मुलुकमा विभिन्न सामग्रीहरू निर्यात गर्न पाऊन् । चीनतर्फको निर्माण (सडक, पुल, रेल आदि) चीनले गरोस् । नेपालतर्फको निर्माण नेपालले नै गर्नेछ । हामीले चीनसमक्ष केवल यी माग राख्न आवश्यक छ । हामीले चीनबाट आर्थिक सहयोग होइन, सडक सुविधा माग्न आवश्यक छ । पारवहन सुविधा माग्न आवश्यक छ । व्यापारका अवसरहरू माग्न आवश्यक छ ।

सडक मार्गद्वारा चीन पुग्न, सडक निर्माण गर्दा, नेपालतर्फको निर्माणका लागि आवश्यक पर्ने कोषको व्यवस्था गर्न नेपाल सरकारले सर्वसाधारण जनतामाझ ऋणपत्र (Treasury Bonds) जारी गर्न सक्छ । ऋणपत्र जारी (बिक्री) गरेर राम्रो कोष निर्माण गर्न सक्छ र त्यो कोषको उपयोग राष्ट्रमा गरिने विकास एवं निर्माणमा गर्न सक्छ । सरकारबाट ऋणपत्र जारी गरिएको र सरकारले नै ऋणपत्रको जमानी (Guaranty) दिने हुनाले लगानी सुनिश्चित हुने देखेर सर्वसाधारण जनताले ऋणपत्रहरू सजिलै खरीद गर्छ । क्रेता (जनता)लाई पनि त्यस्तो लगानीबाट फाइदा हुने भएकोले जनताले तत्परताका साथ ती ऋणपत्रहरू खरीद गर्नेछ भनी विश्वासका साथ भन्न सकिन्छ ।

चीनसँगको व्यापारले राम्रो गति लिने हो भने नेपालको उत्तरी पहाडी क्षेत्रको आर्थिक विकास तीव्र गतिमा हुनेछ । जसरी महेन्द्र राजमार्गले तराई क्षेत्रको गरीबी कम गर्नमा महत्वपूर्ण भूमिका खेल्यो, त्यसैगरी चीनलाई छुने उत्तरी राजमार्गहरूले नेपालका उत्तरी पहाडी क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

तर यसरी ऋणपत्र जारी गर्न हामी (सरकार)मा आँट हुनुपर्यो । आँट नभएमा हामीसँग स्रोत एवं साधनहरूको पर्याप्तता भए तापनि आर्थिक विकासका लागि हामी ती साधनहरूको उचित प्रयोग गर्न सक्तैनौं । नेपाल धनीहरू भएको गरीब राष्ट्र हो । यस्तो भन्ने स्थिति आउन थालेको छ किनभने नेपालको निजी क्षेत्र (केही धनाढ्यहरू)सँग अहिले निकै धेरै पैसा छ । हुनत नेपालका धेरै मध्यमवर्गीय परिवारहरू अहिले उच्चवर्गमा उक्लेका छन् । यी परिवारहरूसँग पनि लगानी गर्नका लागि राम्रो बचत छ । तर यति हुँदाहुँदै पनि व्यवस्थापन कुशलताको अभावले गर्दा हामीले हाम्रो जनतामा रहेको बचत (कोष)को राम्रो उपयोग गर्न सकेका छैनौं । नेपालका केही परिवारहरू अति नै धनी छन् तर तिनको धनको प्रयोग राष्ट्रनिमार्णमा हुन सकिरहेको छैन । यो दुर्भाग्य हो । व्यवस्थापन कुशलताको घोर कमी हो ।

करीब १ अरब ४० करोड जनसङ्ख्या भएको चीन आफैमा एक वृहत् एवं भरपर्दो बजार हो । धनी बजार हो । संसारको कुल जनसङ्ख्यामध्ये चीनको जनसङ्ख्या करीब १९ प्रतिशत छ । संयुक्त राज्य अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चिनियाँहरू आजभोलि विदेश भ्रमणमा निकै खर्च गर्नेहरूमध्ये पर्न थालेका छन् । चिनियाँहरूको जीवनशैली निकै बदलिएको छ । गरीबी कम भएर गएको छ । आजभोलि उनीहरूले उपभोक्ता वस्तुहरूमा निकै पैसा खर्च गरिरहेका छन् । यी तथ्यहरूको आधारमा विश्वासपूर्वक भन्न सकिन्छ चीन नेपालको लागि बलियो व्यापारिक साझेदार हुन सक्छ । चीनसँगको व्यापारले राम्रो गति लिने हो भने नेपालको उत्तरी पहाडी क्षेत्रको आर्थिक विकास तीव्र गतिमा हुनेछ । जसरी महेन्द्र राजमार्गले तराई क्षेत्रको गरीबी कम गर्नमा महत्वपूर्ण भूमिका खेल्यो, त्यसैगरी चीनलाई छुने उत्तरी राजमार्गहरूले नेपालका उत्तरी पहाडी क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

सडकमार्गहरूद्वारा सजिलै चीनसम्म पुग्ने स्थितिले व्यापारका लागि भारतप्रति रहेको हाम्रो अतिनिर्भरता पनि कम भएर जानेछ । अहिले हामी व्यापारका लागि भारतप्रति अति नै निर्भर छौं । यो स्थिति राम्रो होइन । हाम्रो व्यापारमा विविधीकरण हुन सकेको छैन । भारतसँगको हाम्रो व्यापारमा केवल भारतले एकपक्षीय फाइदा उठाइरहेको छ, हामीले उठाउन सकेका छैनौं । प्रत्येक वर्ष ठूलो व्यापार घाटा बेहोरिरहेका छौं । तर चीनसँगको व्यापार साझेदारी बलियो भएमा भारतसँगको व्यापारमा हुने व्यापार घाटा कम पार्न सकिनेछ ।

चीन हाम्रोलागि ठूलो र भरपर्दो व्यापारिक साझेदार बन्न सक्छ । आफ्नो दुई दिवसीय भ्रमणको समयमा राष्ट्रपति सीले भनेका दुई महत्वपूर्ण कुराहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । उनले भनेका थिए– “नेपालसँग निकट सहकार्य र साझेदारी गर्न चीन तत्पर छ ।” यसैगरी, उनले भनेका थिए– “नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउन चीनले खुला हृदयले सघाउनेछ ।” सीका यी भनाइहरूले चीन नेपाललाई हरेक किसिमले सघाउन तत्पर रहेको प्रस्ट हुन आउँछ । नेपाललाई चीनले हरेक किसिमले सहयोग गर्न तत्पर रहेको यो स्थितिलाई हामीले कुशलतापूर्वक उपयोग गर्न सक्नुपर्छ ।

चीनले नेपालप्रति देखाएको सदासयतालाई उपयोग गर्न हामीमा व्यवस्थापन कुशलता हुन आवश्यक छ । अबको यो समयमा, हामीमा कसरी व्यवस्थापन कुशलताको विकास गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन आवश्यक छ । तर सर्वप्रथम हामीले आर्थिक विकास गर्न वा मुलुकलाई आर्थिकरूपमा बलियो पार्न मेलमिलाप आवश्यक छ भन्ने मन्त्र बुझ्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र सेनाका प्रधान सेनापति महारथी जनरल पूर्णचन्द्र थापाबिच टेलीफोनमार्फत संवाद भएको छ ।

धार्मिक तथा आध्यात्मिक तिर्थाटन स्थलहरुको पुनर्स्थापना कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगी

राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन