नेपालमैं पहिलो पटक टासीलाप्चा पासमा ‘डेभिड लामा बिवाक’ स्थापना


नेपाल पर्यटकीय गन्तव्य र पदयात्राका लागि प्रखर रहेको कुरा त यहाँलाई विदितै छ । यस वि विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्र्याउन अथक प्रयास गरिरहेका छौं । प्रत्येक वर्ष हङकङ तथा बेलायतमा आयोजना गरिने ΄हाइक फर नेपाल’ र गत वर्षदेखि सम्पन्न हुँदै आएको ΄मेरो गाउँ, मेरो ठाउँ’ लघु वृत्तचित्र प्रतियोगिता नेपालको पर्यटन प्रवद्र्धनका निम्ति गरिएका केही प्रयासहरु हुन् ।

यसै सन्दर्भमा, यस वि विल राईज फाउण्डेशनका सदस्य श्री फुर्वा तेन्जिङ शेर्पा (हिमाल आरोही) र उनका केही विदेशी साथीहरु हिमाली पर्यटन क्षेत्रमा केही पृथक कार्य गर्न प्रयत्नरत छन् ।

समुद्री सतहबाट ४२०० मि. माथि रोल्वालिङ गाउँमा फुर्वा तेन्जिङ शेर्पाको जन्म भएसँगै हिमालसँग नजिकिएको र हिमाली क्षेत्रको अध्ययन तथा विकासमा उनी तल्लिन भएको हामीले पाएको छौं । विशेषतः जन्मस्थान भएकै कारण रोल्वालिङ गाउँ, गौरीशंकर गाउँपालिका प्रति उनको सेवा गर्ने प्रयत्न अग्रस्थानमा छ । हालसम्म यस क्षेत्रमा फुर्वा तेन्जिङ शेर्पाले व्यक्तिगत तवरले तथा आफूसँग संलग्न विदेशी नागरिकहरुको सहकार्यमा स्वास्थ्य चौकी भवन निर्माण, टासी लाप्चा पासमा स्टिल केबल वे/भिया फराटाको निर्माण, ग्रामीण बस्तीमा बसोबास गर्ने मानिसहरुलाई आर्थिक र भौतिक सहयोग जस्ता सामाजिक कार्य गर्दै आएका छन् । यसै क्रमलाई निरन्तरता दिँदै यसपटकको उनको कार्यथलो रोल्वालिङ गाउँपालिकाबाट हिमाली क्षेत्र पार गर्दै पासाङ्ग ल्हामु गाउँपालिका जोडिने ‘टासी लाप्चा पास’ रहेको छ ।

लामो समयबाट प्रयोग हुँदै आइरहेको यो उच्च पदयात्री मार्ग आफैमा अतुलनीय र मनमोहक भएतापनि समय अनुरुप यस मार्गको उचित तवरले विकास नभएको पाइएको छ । मुख्यतयाः यस पदयात्रामा न्यून सुरक्षा र सुविधा रहेको कुरा फुर्वा तेन्जिङ शेर्पा स्वयंले नै यस मार्ग पूर्णतयः गर्दा पटक पटक महशुस गरेका छन् । साथै यस पदयात्रा गर्ने अन्य व्यक्ति र गराउने संघसंस्थाहरुलाई पनि यो कुरा अवगत नै छ । दोलखा जिल्ला, ना गाउँ, छोरोल्पा, जाभो, टासी लाप्चा, थेङ्गबो, थामे हुँदै नाम्चे बजार पुगेर टुङ्गिने यो यात्रामा विशेषतः छोरोल्पा, जाभो र टासी लाप्चा गरी ३ स्थानमा क्याम्प निर्माण गर्नुपर्ने हुन्छ । हिउँको पत्रमाथि निर्मित क्याम्पमा दिनरात बिताई आफ्नो यात्रा अघि बढाउनु पर्ने हुँदा यस क्षेत्र बहुसंख्य हिसाबले जोखिमपूर्ण छ ।

हालसम्म धेरै पदयात्री, भरिया, पथ प्रदर्शक र केही पर्यटकहरुले यस क्षेत्रमा कहिले न्यून तापक्रम, कहिले भारी हिउँ वर्षा, हावाको उच्च वेग, सानो तथा ठूला चट्टानको निरन्तर खसाइ, मार्ग पत्ता लगाउन कठिनाइ र हाई एल्टिच्यूड जस्ता विविध कारणहरुले गर्दा मृत्युवरण गरिसकेका छन् भने सयौं यसै कारणबाट घाइते भएका छन् । करिब १४ दिन लाग्ने यस पदयात्रामा संलग्न रहने हरकोही माथि उल्लेखित जोखिमहरुबाट टाढा रहन सक्दैन ।

दशकौं अवधिबाट प्रयोग भएतापनि यस पदमार्गको विकासका लागि आंशिक काम पनि हुन सकेको छैन । प्रत्येक अनुकूल मौसममा यस क्षेत्रमा करिब पाँच सय जना भन्दा बढी र प्रति वर्ष पन्ध्र सय जना भन्दा बढीले रोल्वालिङ गाउँ हुँदै थामे वा थामे गाउँ हुँदै रोल्वालिङ दुवै तर्फबाट यो पदयात्रा पूरा गर्दछन् । यिनै उल्लेखित जोखिम तथा सुरक्षाका उपायलाई मध्यनजर गर्दै पर्यटकीय यात्रालाई सुलभ बनाउन यस वि विल राईज फाउण्डेशन तथा फाउण्डेशनका सदस्य श्री फुर्वा तेन्जिङ शेर्पाले जोसेफ आइनवालर, स्टेफन केक, राल्फ ओक्टमातजस्ता आफ्ना अस्ट्रिया तथा इटालीका साथीहरु एवम् देशकै सबैभन्दा पूरानो बैंक, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा यस क्षेत्रमा रहेको टासी लाप्चामा उच्चकोटीको प्राविधिक रुपमा सबल, बसोबास गर्न मिल्ने, स्टील र फलाम (Steel and Iron) द्वारा निर्मित गृह (Biwak) को स्थापना गरेका छौं ।

जर्मन भाषामा ‘बिवाक’ भनेको क्याम्प हो । पर्यटन क्षेत्रमा ट्रेकिङ वा पर्वतारोहण पूर्व बिवाकिङ भन्ने शब्द निकै प्रचलित थियो । त्यतिबेला खुल्ला आकाशमुनि हावा तथा पानी प्रतिरोधात्मक झोलाभित्र रात बिताउनुलाई बिवाकिङ भनिन्थ्यो । पछि विज्ञान तथा प्रविधिसँगै स्ल्पिङ्ग ब्याग, सानो टेन्ट, ठूलो टेन्ट हुँदै कोठा जत्रा टेन्टहरुको विकास भए । यसर्थमा बिवाक भनेको आश्रय स्थल हो । जसरी हामी घरको कोठामा आश्रय लिन्छौं, ठिक त्यसरी नै उच्च हिमाली भेगमा यात्रा गर्दा उपलब्ध आश्रय स्थल बिवाक हो ।

विशेषतः जर्मनी, अस्ट्रिया, फ्रान्स, इटालीजस्ता युरोपेली मुलुकहरुमा बिवाकको प्रयोग र खपत बढी भएको पाइन्छ भने इटाली–फ्रान्समा अवस्थित हिमाल, माउण्ट ब्लाङ्क/Mont. Blanc (४,८०७ मि.) मा रहेको बिवाक युरोपको सबैभन्दा उच्च स्थानमा स्थापित बिवाक हो ।

नेपालको हकमा भने यस किसिमको Biwak गृहको स्थापना इतिहासमै पहिलोपटक गरिएको हो । प्राविधिक रुपमा सबल तथा खण्ड खण्ड जडान गरी गरिने यस Biwak उच्च हुरी, तीव्र हिमपात, चट्टान–पहिरो तथा अन्य प्राकृतिक प्रतिकुलतामा पनि सुरक्षित रहने छ । करिब २.५ टनको सामग्री जडान गरेपछि पूर्णता पाएको यस Biwak लाई त्यस उच्च क्षेत्र जाबो, टासी लाप्चा (५,२०० मि.) सम्म लैजाने कार्य भने हाम्रा लागि चुनौती साबित भएको थियो ।

सर्वप्रथम अस्ट्रिया देशबाटै बिवाकको अवधारणा बुझेका हाम्रा सदस्य श्री फुर्वा तेन्जिङ शेर्पाले चिनजानको व्यक्तिहरुसँग सहकार्य गरी यस Biwak लाई नेपालसम्म ठूलो रकम र नगन्य प्रयत्नले आयात गरी दोलखा जिल्लास्थित ना गाउँ (४,१८० मि.), रोल्वालिङमा ढुवानी गरेका थियौं । तत्पश्चात् स्थानिय वडा अध्यक्ष, स्थानिय क्लब तथा व्यक्तित्वहरुसँगको छलफल तथा सल्लाहपछि गौरीशंकर गाउँपालिका र गौरीशंकर संरक्षण क्षेत्र परियोजनाबाट स्वीकृती लिई कामलाई अघि बढायौं ।

डेभिड लामा – 4 August 1990 – 16 April 2019

डेभिड लामाको जन्म 1990 मा भएको थियो । उनका बुबा नेपालका हिमाल गाईड हुनुहुन्छ र उनकी आमा इन्सब्रुकका अष्ट्रियाई हुन् । डेभिड पाँच बर्षको उमेरमा हिमालयका दिग्गज पीटर हेबलरले पहिलो पटक उनीद्वारा आयोजित चढाई शिविरमा चढेको देखे । पछि, हेबलरले तुरुन्तै उनका बाबुआमालाई बोलाएर सुनाए कि उनका छोरामा असामान्य प्रतिभा छ । लामा त्यसपछि रेइनहोल्ड स्केररद्वारा प्रशिक्षित प्रतियोगिता आरोहण टोलीको हिस्सा बन्नुभयो ।

ठूलो र बोक्नका लागि गाह्रो यसका भागहरु ना गाउँबाट त्यस उच्च क्षेत्र जाबो, टासी लाप्चा (५,२०० मि.) सम्म मानव प्रयत्न र शक्ति प्रयोग गरी थल मार्ग हुँदै पैदल लैजान करिब असम्भव नै थियो । ठूलो जनशक्ति प्रयोग गरिएतापनि यसका भागहरु बोकेर लैजाँदा कठिनाइका साथै मानव ज्यान नै जोखिममा पर्ने हुँदा सबैभन्दा उपयुक्त र एक मात्र ढुवानीको साधन नै हेलिकप्टरको प्रयोग गरी गएको नोभेम्बर ११ तारिख, सोमबार बिवाक निर्माण कार्य सम्पन्न गरेका हौं । यस कार्यको सफलताका निम्ति आवश्यक सर–सल्लाह, सद्भाव राखी सहकार्य गर्नुभएका स्थानिय व्यक्तित्व, निकाय, नेपाल बैंक तथा सिम्रिक एयर परिवार र क्याप्टेन सिद्धार्थ गुरुङप्रति आभार प्रकट गर्न चाहन्छौं ।

साथै, अस्ट्रिया तथा इटालीका मनकारी विदेशी मित्रहरु विशेषतः जोसेफ आइनवालर, स्टेफन केक र राल्फ ओक्टमातप्रति नेपाल आई नेपाललाई सहयोग गर्ने उत्साह र योगदान निकै प्रेरणादायी तथा प्रंशसायोग्य भएको मनन गर्दै धन्यवाद व्यक्त गर्दछौं । आगामी दिनमा स्थानिय निकायसँग स्थापित बिवाकको सञ्चालन तथा नियमनसम्बन्धी छलफल पश्चात् आउँदो बसन्त ऋतुमा बिवाकको समुद्घाटन गरी स्थानिय निकायलाई हस्तान्तरण गर्ने योजना रहेको कुरा पनि अवगत गराउन चाहन्छौं ।

अस्ट्रिया र युरोपमा मात्र होइन संसारले गर्व गरेको एउटा नाम हो, आरोही डेभिड लामा: Adventurer of the Year 2013’ announced by National Geography जसले सन् २०१८ मा नेपालको लुनाग–री पहिलोपटक आरोहण गरेका थिए । उनका बाबु रिन्जी शेर्पा सोलुखुम्बुका पथप्रदर्शक थिए भने आमा क्लाउडिया अस्ट्रियन नागरिक हुन् । मात्र २९ वर्षमा हिमपहिरो ज्यान गुमाएका उनै डेभिड लामालाई नेपाल र अस्ट्रियाबीचको मित्रवत् सम्बन्धको प्रतिक मानी उक्त बिवाकको नाम ‘डेभिड लामा बिवाक’ नामाकरण निधो गरेका छौं ।

यस बिवाकको स्थापनाले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा अनुकरणीय भूमिका खेल्नेछ । आवातजावत गर्ने सम्पूर्ण पदयात्रीका लागि यस गृहको प्रयोगले सुरक्षा र उचित बसोबासका लागि सहयोग मिल्नेछ । हिमाली क्षेत्रमा प्रयोग गरिने सामग्री भण्डारण, त्यसको समयोचित समुचित प्रयोग, त्यस क्षेत्रका मानिसहरुको रोजगारी र आम्दानी वृद्धि र टासी लाप्चालाई सगरमाथा क्षेत्र जाने वैकल्पिक पदमार्गका रुपमा प्रवद्र्धन गर्न यस द्यष्धबप को स्थापनाले प्रमुख भूमिका निर्वाह गर्नेछ ।

उच्च जोखिमयुक्त टासी लाप्चा क्षेत्रमा Biwak को स्थापनाले कैयौं पदयात्रीको अनाहकमा मृत्यु हुनबाट जोगाउन सकिने साथै यस कार्यले त्यस क्षेत्रका मानिस, पदयात्रीलाई मात्र नभई सिंगो नेपालको पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा नै फलदायी सावित हुने निश्चित छ ।

नेपाल भ्रमण वर्ष २०२० को संघारमा हामी उभिरहँदा नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको यस Biwak को स्थापनाले पर्यटनका लागि पूर्वाधारको विकासबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने हुँदा यसले रोल्वालिङ क्षेत्रको मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको गरिमा अझै बढ्ने र साना हिमालको प्रवद्र्धनमा पनि ठूलो टेवा मिल्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

…………………………………
निर्मल श्रेष्ठ
संस्थापक निर्देशक
वि विल राईज फाउण्डेशन


Loading comments...