Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

म्यान अफ स्टिल : पं. वासुदेव भट्टराई

३० कार्तिक २०७६, शनिबार १९:३०

पण्डित वासुदेव भट्टराई दुरदर्शी चेतमा प्रतीक थिए । उनी विगत र वर्तमानलाई केलाएर भविष्यको अडकल काट्थे । उनी स्वाभिमानले पनि खारिएका थिए । उनीभित्र न्याय पनि त्यतिकै प्रबल थियो । संयुक्त परिवारमा रहेका आफ्ना चारभाइ छोराबाट बराबरी पैसा असुलेर उनी घर खर्च गर्थे । उनी अनर्थमा आफ्नो पनि कसैलाई खुवाँउदैन थिए र अर्काको धनमा पनि आँखा पुर्याउँदैन थिए ।

मोहनदत्त भट्टराई र मेनका भट्टराईका तीनभाइ छोरामध्ये वासुदेव कान्छा थिए । यिनको जन्म १९४५ साल वैशाख २४ गते भारत, बनारसको पञ्चगड्गाघाट छेउको घरमा भएको थियो । उनले बनारसबाटै बीए पास गरेका थिए । साथै उनले संस्कृत, नेपाली र अड्ग्रेजीभाषाको विशेष शिक्षा ग्रहण गरेका थिए । उनी शिक्षा प्रेमी थिए । उनको शिक्षाप्रेमको हल्ला नेपालमा पनि आएको थियो । अनि उनलाई लिन काजी मरिचमान सिंह बनारस पुगेका थिए । सिंहका पछि लागेर २८ वर्षको उमेरमा उनी नेपाल आए ।

लेखकः नरेन्द्रराज प्रसाई

उनीसँग राणाका आसेपासेहरु भन्थे, ‘जग्गा जमीन, पद माग न, पण्डित बाजे !’ उनी जवाफ दिन्थे, ‘मैले आफ्नो पौरखलाई मात्र मान्छु । मेरा लागि पसीनाको कमाई नै सर्वोत्तम हुन्छ ।’ साथै उनले आफ्ना छोराछोरीलाई पनि त्यही बाटो नै सिकाएका थिए ।

भट्टराईले शिक्षामा नै आफ्नो काँध थापे, शिर थापे र जीवन थापे । यसबाट बाहिर जान उनले मन गरेनन् । उनलाई राणाले बडाहाकिमको पद पनि दिए । तर उनले त्यसलाई स्वीकारेनन् र भने, ‘म यो शिक्षण पेशाबाट चटपटाउने छैन ।’ त्यसैले श्री ३ मोहनशमशेरले उनको नाउँ ‘म्यान अफ स्टिल’ राखेका थिए ।

त्यसबेलासम्म नेपालमा प्रायः भारतीय बड्गाली शिक्षकहरुद्वारा पढाइने प्रचलन थियो । दरबार हाइस्कूलको स्थापनापछि नेपाली मूलका शिक्षकहरुको पनि क्रमशः खोजी हुन थाल्यो । श्री ३ चन्द्रशमशेरको प्रधानमन्त्रीत्वकालमा भट्टराईलाई नेपाल छिर्न मन थिएन, तर अनेक प्रपञ्च मिलाएर सिंहले उनलाई नेपाल ल्याएका थिए । उनलाई सुरुमै दरबार हाइस्कूलमा इतिहास र अड्ग्रेजी पढाउने गुरुका रुपमा प्रवेश गराइएको थियो । त्यसबेला यिनका चेलाहरुमा बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, यदुनाथ खनाल आदि थिए । उनले दरबारहाई स्कूल र पद्मकन्या विद्याश्रम गरेर जम्मा ४० वर्ष निरन्तर पढाएका थिए ।

हेर्दा केही पुड्का भए पनि भट्टराई खाइलाग्दा देखिन्थे । उनी राजर्षी ठाँटमा जुँगा मठारेर हिंड्थे । उनका जुत्तामा सँधै पालिस टल्केको हुन्थ्यो । पोशाकका रुपमा बनारसदेखि नै उनी दौरा, सुरुवाल, कोट र टोपीमा ठाँटिने गर्थे । उनको खाईलाई अनि निर्भीक व्यक्तित्व, ओजनदार शैली र स्पष्ट धारणाको सन्देश राणा दरबारसम्म पनि पुगेको थियो । श्री ३ जुद्धशमशेर राणाले प्रधानमन्त्रीत्व ग्रहण गरेपछि भट्टराइलाई बोलाएर भनेका थिए, ‘ए हेड मास्टर !’ त्यतिखेर उनले ‘म हेड मास्टर होइन सरकार ! मास्टर मात्रै हुँ’ भन्ने जवाफ फालेका थिए । अनि राणाको प्रत्युत्तर थियो, ‘मैले तिमीलाई हेड मास्टर भनी हालें । अब आजदेखि तिम्रो तलब हेडमास्टर सरह भयो । मैले तिमीलाई मासिक २०० रुपियाँ थप गरिदिएँ । साथै भारतवर्षको इतिहास लेखेवापत यिनै राणाले यिनलाई २५० रुपियाँ बक्सिस पनि दिएका थिए ।

स्कूलमा पढाउन जाँदा भट्टराई एउटा हातमा पानको बट्टा र अर्को हातमा लौरो हुन्थ्यो । उनका मुखमा प्रायः पान च्यापिएको हुन्थ्यो । स्कूलमा पढाए ताका टिफिनको समयमा यी पनि अरु मास्टरसँगै स्कुलको बुइंँगलमा गएर गुडगुडे तमाखु तान्थे ।

भट्टराईले शिक्षामा नै आफ्नो काँध थापे, शिर थापे र जीवन थापे । यसबाट बाहिर जान उनले मन गरेनन् । उनलाई राणाले बडाहाकिमको पद पनि दिए । तर उनले त्यसलाई स्वीकारेनन् र भने, ‘म यो शिक्षण पेशाबाट चटपटाउने छैन ।’ त्यसैले श्री ३ मोहनशमशेरले उनको नाउँ ‘म्यान अफ स्टिल’ राखेका थिए ।

तत्कालीन नेपालको शक्तिकेन्द्रसँग सम्बन्ध भएकाले भट्टराई शक्तिशाली मानिन्थे । यी राणा दरबार श्री ३ चन्द्रशमशेरका नाति पढाउने गुरुबाबु पनि थिए । तर यति हुँदाहुँदै पनि उनी कहिल्यै आफ्नो निष्ठादेखि तल ओर्लेर कुनै लोभमा डुबेनन् । उनीसँग राणाका आसेपासेहरु भन्थे, ‘जग्गा जमीन, पद माग न, पण्डित बाजे !’ उनी जवाफ दिन्थे, ‘मैले आफ्नो पौरखलाई मात्र मान्छु । मेरा लागि पसीनाको कमाई नै सर्वोत्तम हुन्छ ।’ साथै उनले आफ्ना छोराछोरीलाई पनि त्यही बाटो नै सिकाएका थिए ।

भट्टराईको जीवनको सबैभन्दा ठूलो विशेषता नै उनको स्पष्ट नीति थियो । उनी छलछाम, छक्कापञ्जा, लोभलालच, झुठो काम र आडम्बरमा कहिल्यै लागेनन् । अनि त्यस्ता प्रवृत्तिका मान्छेको उनका सामु सातो जान्थ्यो । आफ्नो कमाइमा बाँच्नु र मर्नु उनको जीवनको भीष्म प्रतिज्ञा थियो ।

भट्टराईको जीवनशैली धार्मिक भावनामा ओतप्रोत थियो । देखावटी पूजापाठबाट भने उनी टाडै बस्थे । समाजमा विकृतिका रुपमा मौलाएको गरुडपुराणलाई पनि उनले बहिष्कार गरे । उनले आफ्ना सन्ततीलाई आफ्नो मृत्युपश्चात गरुडपुराण छुँदै नछुँनु भन्ने निर्देशन दिएका थिए । अन्ततः उनीहरुका परिवारमा गरुडपुराण वहिष्कृत भयोे । यसका साथै उनले आफ्नो मृत्युपश्चातको ब्राहृमणदानमा पनि सरसामाग्री नदिएर नगद दिने निर्देशन दिएका थिए । आफ्नो मृत्युपछि आवश्यक किरिया खर्चको पनि व्यवस्था गरेर सन्तानका हातमा उनले नगद र जिन्सी हाल्दिएका थिए ।

भट्टराई नेपाली भाषाका मर्मज्ञ पनि थिए । वनारसमा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र यिनले एउटै ज्यान भएर नेपाली साहित्यको सेवा गरेका थिए । यी नेपाल आएपछि यिनका पछि लागेर धरणीधर पनि नेपालै आएका थिए । दुबैले वनारस छाडेपछि वासूधको सङ्गठन पनि भाँच्चियो । नेपालमा भनेजस्तो काम नपाएपछि धरणीधर दार्जीलिङतिर हान्निए । अनि दार्जीलिङमा सूर्यविक्रम र धरणीधरको पुनः भेट भयो । त्यसपछि सूधले पारसमणि प्रधान पनि जोडे । अनि यो दल नेपाली साहित्यको त्रिरत्न सूधपमा नै स्थापित भयो ।

नेपाली भाषामा भट्टराईको निकै बलियो पकड थियो । भारतको इतिहास दुइवटा, श्रीमद्वाल्मीकिय रामायण, श्रीमद्भागवत् महापुराण भाग १ र २ समेत गरी उनका जम्मा सातवटा ग्रन्थहरु प्रकाशित भए ।

बालकृष्ण समले भट्टराई लाई खुबै माने र उनको लेखन उच्चस्तरको भनेर व्याख्या पनि गरे । यसै सन्दर्भमा समले भने ‘चक्रपाणि चालिसे र वासुदेव भट्टराईको गद्य साहित्यले नेपालीभाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनी ऋषिकल्प, निष्काम, कर्तव्यनिष्ठ र स्वावलम्बी’ भएको बेहोरा यदुनाथ खनालले पनि लेखे । साथै घटराज भट्टराईले यिनलाई नेपाली गद्य महाकाव्यका प्रवर्तक भने ।

भट्टराई बाहिरी आवरणमा कठोर देखिन्थे तर यिनको मन भने सारै कमलो थियो । उनी कति संवेदनशील थिए भने भक्ति गीत र भजन सुनेर पनि रुने गर्थे । अनि उनी हिन्दी सिनेमा पनि हेर्थे । उनलाई मनमर्ने नायिका मधुबाला थिइन् । उनी रसिक पनि थिए । त्यसैले उनी बराबर भन्थे ‘सौन्दर्यसँग अघाएपछि धर्तिसँग पनि अघाइन्छ ।’

भट्टराईको २० वर्षको उमेरमा वनारसमा नै भुवनेश्वरीसँग बिहे भएको थियो । यी दम्पतिले ४ छोरा र ३ छोरी जन्माए । यिनका कान्छा छोरा गुणदेव भट्टराईले पनि आफ्नै बुबाले पढाएको दरबार हाईस्कुलमा ६ दशकभन्दा बढी समय पढाएका थिए ।

भट्टराई नेपाली समाजमा उदाहरणीय थिए । बाँचुन्जेल यिनले जनसम्मानमा मात्रै आफ्नो बुता रोपिरहे । यी २०२९ साल कात्तिक १६ गते ८४ वर्षको उमेरमा काठमाडौंमा स्वर्गीय भए । त्यसबेलासम्म यस धरामा उनका २०० सन्तान नाघिसकेका थिए ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच