Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

भूगोल सरको थोत्रो खुइलिएको साइकल

४ मंसिर २०७६, बुधबार १६:५७

यो एकादेशको किस्सा हो जुन आज भन्न जरुरी छ
भूगोल सरको रङ खुइलेको थोत्रो साइकल झै
मेरो देशको अवस्था पनि जिर्ण रहेछ
हामीलाई भने सरले नेपालको नक्शा बनाउन सिकाइरहे
बनाएको नक्शाको सिमानालाई जोगाउने कसरी कसैले सिकाएनन
स्कुलमा राष्ट्रगान गाउँदा
शिर ठाडो पार्न सिकाए
तर बास्तविक जीवनमा सबैजना मिलेर
मेरो शिरको उँचाई धरौटी राखिसकेका रहेछन्

suyog dhakal
कविः सुयोग ढकाल

मैले देशलाई माया गर्न के गरिन ?
राजाको जन्मदिनमा बिहानै उठेर
नुहाएर भगवानलाई झैं फुल टिपिन कि?
माओवादीले स्कुलबाटै लाँदा
बाटामा बन्दुक बोकिन कि, लाल सलाम भनिन कि?
अरु त अरु ६२-६३ को आन्दोलनमा टियर ग्याँसलाई रुमालले छोप्दै
ड्रममाथि बसेर कविता भनिन कि ?
मैले श्रिमान गम्भीर पनि गाएँ
गाउँछ गीत नेपाली पनि गाएँ
त्यसपछि सयौं थुङ्गा फूलका आयो, मैले स्कुल छाडिसकेको थिए

देश बनाउने सपना देखाएर मलाई शासन गर्नेहरु
मैले र मेरा साथीहरुले आन्दोलनमा
बाटामा छाडेर, हराएर हिँडेका लाखौं चप्पलका फेरिहिस्त छ तिमीहरुसँग ?
महलमा बस्नेलाई साना कुराहरु सम्झना हुन्न रे तर सुन
आन्दोलनमा चप्पल छाडेका साथीहरु भने त्यसपछि विदेश गए
पसिनासँग पैसो साट्दै
आँशु पुछ्दै नुन चाट्दै
नेपालमा पसिनाको भाउ नपाएपछि उनीहरु हिँडे
ति चप्पल तिनिहरुले यहाँ छाडेका सपनाहरु थिए
हरियो पासपोर्टमा म्यानपावरको स्टीकर टाँसिएझैं
उनीहरुको जीवन र जिवीकोपार्जन अब विदेशमा टाँसिएको छ
चैते दशैंमा गाँउमा काटिएको खसीको मासु भाग लगाए झै
तिमीहरुले आफन्तका लागि पद र पावर भाग लगाउँदै गर्दा
मेरा साथीहरु पसिना बगाउँदै विदेशमा
हरेक महिना रेमिट्यान्समा गएर घरखर्च गन्दछन्
अनि भाग लगाउँदछन् अर्को महिना कति छाक काटेर
कति बढि पठाउने अनि नपठाउने

संसारमा धेरै पीडाहरु छन्
आमा बन्दाको पीडा, आमा बुवा नबन्दाको पीडा
घाउ लाग्दाको पीडा, ओखती नपाउँदाको पीडा
खोला नहुँदाको पीडा, बाढी आउँदाको पीडा
उनले छाडेर जाँदाको पीडा, उनी साथ हुँदाको पीडा
चुरोट नपाउँदाको पीडा अनि खोकी लाग्दाको पीडा
यी सबै पीडाहरु एकतर्फ एउटा बोरामा कसेर राख
अनि अर्को बोरामा देशको सिमाना मिचिँदाको पीडा राख
देशको सिमाना मिचिँदाको उकुसमुकुस कैयौं गुणा बढि हुनेरहेछ
भोली तिम्रा सन्ततीले लिपुलेक, कालापानी र लिपियाधुराको बारेमा सोद्धान
के तिमी ठूलो स्वरले बन्दे मातरम भन्ने हौ र ?
म त सक्दिन हेर साथी
जब आउने पुस्ताले मसँग सीमाको बारेमा सोध्नेछ
मलाई त बिस्मात र ग्लानी दुबै हुनेवाला छ
साथमा केहि किलोग्राम लज्जा पनि
कि मैले माटो जोगाउन सकिन
आमालाई दाइजोमा दिएको दराज भित्रको
मेरो बालपनको नाङ्गो फोटो
एकदिन सङ्गीताले देखिछ
त्यसपछि यस्तो लाज लाग्यो कि
फोटो च्यातेर बारीमा बालेर
सङ्गीतासँग आजसम्म एकशब्द बोल्न सकेको छैन
अब सीमा बुच्चिएको देश आउने पुस्तालाई दिँदा
त्यस्तै त्यस्तै केहि हुनेछ
त्यो लज्जाले मलाई पगाल्दिन्छ
नौनी पग्लेर घ्यू भए झै
नौनीको अस्तित्व केवल बिलौनीका केहि तरहरुमा मात्र बाँकी हुनेछ
अनि म लाजले बिलौनी झै शायद बिलाउने छु

देश सानो भएर कोहि कमजोर हुँदैन
देश गरिब भएर कोही कमजोर हुँदैन
आवाज रहुञ्जेल, शब्द कोरिउञ्जेल
अनि सगरमाथाको छाँया रहुञ्जेल
तिमीहामी सबै बलियो छौ, आफुमा बिश्वास गरेमा
तर अझै पनि तिमी आफूलाई कमजोर ठान्दछौ भने
हो तिमी कमजोर हौ किनभने
किनभने तिमीमा अलिनो खाने साहस छैन
तिमीसँग साइकल चढ्ने साहस छैन
किनभने तिम्रा लागि देशभन्दा भेष ठूलो कुरा हो
किनभने तिमीले भूगोल र ईतिहास पढेनौ
या त पढेर पनि भूलिदियौ
तिमी मूला! भुल्न खप्पीस छौ नि
तिमीले के भुलेनौ ?
टिस्टा, काँगडा सर्लक्क भुलेका हैनौ ?
अरु त अरु तिमीले ठड्याएका फितला घरहरु देख्दा
तिमीले त भुकम्प पनि भुलेछौ
नाकाबन्दी भुलेर तिमीले स्वाभिमानलाई कोशीको पानीमा
यसरी बगायौ कि मानौ कागजको ढुङ्गालाई केटकेटीमा मैले बगाँए
भूगोल सरको साइकल पुरानो थियो
घन्टी बाहेक सबै कुरा बज्थ्यो
तर सरको शिरको टोपी चटक्क सर्लक्क हिमाल झै
मैले हावाजहाज, पानीजहाज, गाडी, भटभटे धेरै चढेँ
विदेश स्वदेश बेफ्वाँकले डुलेँ
आधा विश्व डुलिसक्दा पनि
मैले भूगोल सरजस्तो मान्छे भट्न सकिन
उनको साइकलजस्तो खुइलिएर पनि राम्रो
अनि स्वाभिमानी सवारी कहिँ देखिन
सरले सिकाएको नक्शामा म थोरै थप्ने अनुमति माग्छु
त्यसमा कालापानी, लिपुलेक र लम्पीधुरा पनि थप्नेछु
सरले धर्ती छाडेको दिन
मैले अलिनो खाएको थिँए
सरको साइकल खोज्दै म गाँउ जाँदैछु
यदि भुजियावालासँग साटिएको छैन भने
म त्यो साइकललाई राजधानीको खाल्डोमा ल्याउने छु
अनि माइतिघरमा ठूलो बाँसको खम्बा गाडेर
त्यस साइकललाई अनन्तकालसम्म हुने गरि
झुण्ड्याइदिनेछु
दुनियाँले थाहा पाओस्
सबै जिर्ण र कमजोर कुराहरु
महत्वहिन हुन्नन


सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच