Lifestyle Portal
  •   १ बैशाख २०७८, बुधबार

आधुनिक युगका मोतीराम : घटराज भट्टराई

१० मंसिर २०७६, मंगलवार ००:००

घटराज भट्टराई ओखलढुङ्गाको सेर्नामा १९९९ साल मङ्सिर १० गते जन्मेका थिए । जयप्रसाद भट्टराई र बालकुमारी भट्टराईबाट जेठा छोराका रूपमा उनको जन्म भएको हो ।

घटराज भट्टराईका बाबुबाजेले सङ्घर्षै गरेर आफ्नो जिन्दगानी परिचालित गरे । क्रमशः उनीहरू समाजमा प्रसिद्ध हुन थाले । उनीहरूको निष्ठा, त्याग र परिश्रमले गर्दा उनीहरू औँसीको रातको जीवनबाट सुस्तरी भुल्केघाममा परिणत हुन थाले ।

घटराज भट्टराईका बुबा केहीनकेही गरिरहूँ भन्ने धारणाका थिए । उनी पण्डित र कवि पनि थिए । पं. जयप्रसाद भट्टराईको प्रथम विवाह आयोध्याकुमारीसँग भएको थियो । अयोध्याकुमारीसँगको दाम्पत्य जीवन असफल भएपछि उनले बालकुमारीसँग विवाह गरेका थिए । यिनै जयबालबाट तीन भाइछोरा घटराज, प्रयागराज र केशवराज तथा छ बहिनी छोरी विन्दा, बदम, गोमा, मह, खड्ग र देवकी जन्मेका थिए ।

काठमाडौँ आएर यिनले आफै भात पकाए, भाँडा माझे, लुगा धोए र टयुसन पढाए । अनेक दुक्ख, कष्ट र पीडा खेपेर उनी यही शहरमा स्थापित भए । यी आफ्ना खुट्टामा आफै टेक्तै आफ्ना यात्रामा सफल हुँदै पनि गए । त्यही परिणामले गर्दा संस्कृत प्रधान पाठशालाबाट यी कुशल विद्यार्थीमा घोषित भए ।

घटराज भट्टराईले पाँच वर्षो उमेरमा क,ख,ग पढ्न थालेका थिए । यिनलाई यिनकै बुबाबाट अक्षरारम्भ गराइएको थियो । शैक्षिक अध्ययनका अतिरिक्त तेह्र वर्षको उमेरसम्म यिनले डोको बुने, घुम बुने, चित्रा बुने, टाट्नो. बनाए, नाम्लो बाटे, डोरी बाटे । त्यति मात्र होइन त्यस बेलासम्ममा यिनले. गाईभैँसी चराए, दाउरा खोजे, घाँस काटे, बाउसे गरे, गाई दोए र गोठ बसे । त्यसै बेला यिनले आफ्ना गाउँमा जजमानी पनि गरे ।

घटराज भट्टराईको व्यावहारिक जीवनलाई एउटा गतिलो साथ कायम गर्न यिनका बुबाआमाले यिनको विवाह गर्ने निर्णय गरे । परिणामस्वरूप तेह्र वर्षीय घटराज भट्टराईको नौ वर्षीय प्रभा निरौलासँग लगनगाँठो कस्सियो । त्यसपछि यी झन् पढ्न जाँगरिला भए । त्यसै बेला यिनले एकातिर स्कुले शिक्षामा आफूलाई सरिक गराए भने अर्कातिर जजमानी पनि गरे । अनि त्यही छेकामा उनले’अमरकोश’ लगायत पुराणका ठूलाठूला ग्रन्थहरू पनि वाचन गरे ।

झन्डै सत्र वर्षको हुँदा घटराज भट्टराई काठमाडौँ आए । काठमाडौँ आएर यिनले आफै भात पकाए, भाँडा माझे, लुगा धोए र टयुसन पढाए । अनेक दुक्ख, कष्ट र पीडा खेपेर उनी यही शहरमा स्थापित भए । यी आफ्ना खुट्टामा आफै टेक्तै आफ्ना यात्रामा सफल हुँदै पनि गए । त्यही परिणामले गर्दा संस्कृत प्रधान पाठशालाबाट यी कुशल विद्यार्थीमा घोषित भए । बनारस संस्कृत विश्वविद्यालय केन्द्रबाट यिनले पूर्वमध्यमा पनि गरे । यी शास्त्री भएपछि जागिरमा लागे र स्थानीय विकास अधिकृत भई रामेछाप र ओखलढुङ्गामा कार्यरत हुन थाले ।

जागिरे जीवनको प्रारम्भमा नै घटराज भट्टराईका दुईवटा कवितासङ्ग्रह छापिए- ‘कविता-कुसुम’ र ‘आजकी सित’ । त्यसै बेलादेखि यिनका लेखरचनाहरू ‘गोरखापत्र’मा छापिन थाले । जागिर खाँदाखाँदै, कविता र निबन्ध लेख्तालेख्तै यिनले २०२५ सालमा त्रिभुवन विश्वविद्यालयको प्राइभेट परीक्षामा सम्मिलित भई नेपाली एम्.ए. समुत्तीर्ण गरे । त्यसपछि जागिर सरुवा गराई ओखलढुङ्गाबाट उनी पुनः काठमाडौँमा नै आए ।

काठमाडौँमा आएर घटराज भट्टराई झन् मिहिनेतमा डुब्न थाले । त्यसपछि यिनले फुटकर लेखरचना पनि प्रशस्तै लेख्न थाले ।

घटराज भट्टराई २०३१ सालदेखि त्रिभुवन विश्वविद्यालयअर्न्तर्गतका क्याम्पसहरूमा प्राध्यापनमा लागे । साथै उनी पशुपति क्याम्पसका प्रमुख पनि भए ।

घटराज भट्टराई नरम व्यवहार, सार्थक सोचाइ र उत्कृष्ट परिश्रममा बाँधिएका भट्टराई नेपाली समाजमा एउटा उपकारी व्यक्तित्वका रूपमा स्थापित भए । कसैको इष्र्या, डाहा र रीस गर्न भनेपछि उनका लागि मृत्युतुल्य हुन्थ्यो । त्यसैले उनले परोपकारका दृष्टिकोणले थुप्रै लेखरचना र ग्रन्थहरूको सृजना गरे र उनी थुप्रै प्राज्ञिक तथा साहित्यिक संघसंस्थाहरूको निर्माणमा अग्रसर भए । उनी विभिन्न साहित्यिक र प्राज्ञिक संस्थाहरूमा क्रियाशील हुँदै गए । उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पनि सदस्यमा मनोनीत भए । करिब साडे दुई दर्जन संस्थामा उनी संस्थापक सदस्य र संस्थापक सचिवका रूपमा कार्यरत भए ।

नेपाली साहित्यमा एउटा पुस्तक लेख्नेदेखि नेपाली साहित्यका वरिष्ठ व्यक्तित्वहरूसम्मको चिना बनाएर उनीहरूको गाथाको वर्णन गर्ने उनी एउटा सिङ्गो संस्था थिए । विनाभेदभाव उनी सबै साहित्यकारको बराबरी लेखाजोखा राख्ने गर्थे ।

कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्मानमा स्थापित त्रिमूर्ति निकेतनका घटराज भट्टराई संस्थापक अध्यक्ष पनि भए । घटराज भट्टराई, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको संयुक्त नेतृत्वमा काठमाडौंको सञ्चारग्राममा त्रिमूर्तिको पूर्ण कदको सालिक बन्यो । विशेष गरेर भट्टराईको जीवनको सम्पूर्ण साहित्यिक लेखा जोखा गर्दै उनलाई सबैले आधुनिक युगका मोतीराम भट्ट पनि भने । वास्तवमा उनले पनि मोतीरामलाई विर्स्याउने काम नै गरे ।

घटराज भट्टराईबाट सम्पन्न भएका सृजनात्मक र सङ्गठनात्मक कार्यहरू अत्यन्तै उपयोगी, परिमार्जित र स्तरीय थिए । सरकारले करोडौँ लगानी लगाएर स्थापना गरेका साहित्यिक र प्राज्ञिक संस्थाहरूले पनि गर्न नसकेका कृत्यहरू घटराज भट्टराईको एक्लो प्रयासबाट हुन्यो ।

भट्टराई समालोचक, काव्यात्मक र निबन्धात्मक व्यक्तित्वका अतिरिक्त समीक्षात्मक र अनुसन्धानात्मक व्यक्तित्वमा पनि त्यत्तिकै सुपरिचित भए । जीवनी लेखनमा पनि उनको नाउँ अग्रपङ्क्तिमा आयो । उनले ‘महाकवि देवकोटाका आनीबानी’ लगायत महत्त्वपूर्ण ग्रन्थहरूको सम्पादन गरेका छन् । नेपाली लेखककोश समेत उनका झन्नै पचासवटा किताव प्रकाशनमा आए ।

नेपाली भाषासाहित्यमा घटराज भट्टराईको लगानीले ठूलो रिक्तताको पूर्ति भएको मानिन्छ । नेपाली साहित्यमा एउटा पुस्तक लेख्नेदेखि नेपाली साहित्यका वरिष्ठ व्यक्तित्वहरूसम्मको चिना बनाएर उनीहरूको गाथाको वर्णन गर्ने उनी एउटा सिङ्गो संस्था थिए । विनाभेदभाव उनी सबै साहित्यकारको बराबरी लेखाजोखा राख्ने गर्थे । त्यति मात्र होइन उनी नेपाली भाषासाहित्यमा एउटा आधिकारिक व्यक्तित्व मानिन्थे ।

घटराज र प्रभा भट्टराईका सन्तान साधना, कल्पना, रमा र अर्चना जन्मे । साथै उनीहरूले दिनेश र राजेश पनि जन्माए । यी दुबैभाइ मेडिकल डाक्टर बने र बैबाहिक जीवनमा बाँधिए । छोरीहरूले पनि रहरलाग्दो घरगृहस्थी समाए ।

भट्टराई नेपाली भाषासाहित्यमा समर्पित भएर नै थला परे । उनलाई उपचार्रार्थ थुप्रै चिकित्सककोमा पुर्याइयो । अन्ततः उनलाई सुप्रसिद्ध नसा विशेषज्ञ डा. वसन्त पन्तले परीक्षण गरे । अनि डा. पन्तले भट्टराईका मस्तिष्कामा चारौं ग्रेडको क्यान्सर भएको बेहोराको निक्र्यौल निकाले । अन्ततः रोग निको भएन र उनी २०६३ साल साउन २२ गते स्वर्गीय भए ।

घटराज भट्टराई नेपाली साहित्यभूमिमा एउटा अमूल्य निधि थिए । उनीबाट प्राप्त सेवा कृतज्ञताका साथ यस माटोमा सदैव परिचालित भइरहनेछ । उनको राष्ट्रप्रतिको यो गहन लगानी यसै राष्ट्रमा सदार्सवदा सुरक्षित भइरहनेछ ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् । आजै लकडाउन, भरे नै लकडाउन हुन्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश बनाउन फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्दै पहिले देश, अनि मात्र आफू भन्ने भावना

जापानले आणविक स्टेसनबाट उत्पादन भएको १० लाख टन प्रदूषित पानी समुद्रमा छाड्ने तयारी गरेको छ । फुकुसिमा आणविक स्टेसनबाट निस्किएको