सेल्फी किङ्गको गीतमा केकी माग्छिन जाली रुमाल


अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किङ्ग उर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाइज फिचर्ड छन् ।

कथाअनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ’जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् ।


‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन , बिनोद पौडेलको स्टील फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

दिनेश राउत, निर्माता, “फिल्ममा हामीले गीतलाई पनि कथा अनुसार नै बगाएका छौ । अर्थात् गीतकै लागि भनेर छुटै तडकभडक गरिएको छैन । गीत आउँदा फिल्म हेरिरहेका दर्शकलाई कथा र परिवेश भन्दा बाहिर नलगोस भनेर नै हामीले यसलाई गाउँमा हुने कार्यक्रमकै शैलीमा खिचेका हौँ । सोलुको सल्लेरीमा सांस्कृतिक कार्यक्रम हुँदा कसरी गरिन्छ र कास्तो हुन्छ भन्ने जस्ताको त्यस्तै गीतमा छ । आफु निर्देशक भएपनि मलाइ विशालको आइडिया मन परेर यसमा निर्माताको रुपमा रहेको छु । एक हाँस्यकलाकारको जीवनीमा आउने उतारचढावलाई यसमा देखाएका छौ । हामीले आफ्नो माटो सुहाउँदो कथामा फिल्म बनाएका छौ, जसको आभाष यसको ट्रेलर पनि दिनेछ ।”

केकी अधिकारी भन्नुहुन्छ, “सङ्गीत आफैलाई मन परेर नृत्य गर्न राजी भएकी हुँ । गीत झट्टै मन पर्ने किसिमको छ । साथै यो गीतमा म केकी अधिकारी नै बनेर प्रस्तुत भएकी छु । कथा अनुसार नै गीत फिल्ममा आउने भएकोले पनि गीत गर्न राजी भएकी हुँ । साथै गीतको कोरियोग्राफी र यसलाई खिच्ने शैली पनि मन पर्यो । टिम राम्रो र छ गीतलाई लिएर आइडिया राम्रो लाग्यो त्यसैले गीतमा देखिएकी हुँ ।”

भिडियो हेर्नुहोस्ः


Loading comments...