महिनाका ४ दिन


कता हराएको थिएउ ? देखिन त वरिपरि

” महिनाका ४ दिन म छाउ गोठ सरेको हुन्छु तिम्रा लागि पुजाका थाली सजाउने यी हातले छाउ गोठ श्रीङ्गारी रहेकी हुन्छु ”

किन र ?? म पनि तिमी जस्तै हु ,तिम्रा जस्तै हात छन, तिम्रा जस्तै आँखा छन तिम्रा जस्तै पाउ छन तिम्रा जस्तै कपाल अनि तिम्रो जस्तै शरीर छ, म यो पबित्र ठाउँ छोडेर कतै जादिन तर तिमी..?

” तर म अपबित्र हुन्छु रे, महिनाका चार दिन मेरो हात बाट केही चल्दैन
त्यो पानीको लोटा,
खाना पकाउने त्यो चुलो,
म बस्ने मजेरी
म सुत्ने कोठा सबै मैले छोई दिए भने अपबित्र हुन्छ रे, यी अपबित्र हात ले तपाईं को पाउ कसरी छोउ र ?”

भने पछि तिमी बस्ने छाउ गोठ धेरै सुन्दर हुन पर्छ, जहाँ तिमी बाहेक अरु कोहि लाई आउन अनुमती दिन्न्नौ हैन र ??

” आउछन…म बाहेक मेरि बहिनी आउछे, मेरि आमा आउनु हुन्छ मेरि भाउजू आउछिन, काकी आउछिन, जाडो मा छाना माथी बाट शितका थोपा आउछन, गर्मीमा धपधप बहेको तातो र राफिलो ज्वाला आउँछ,
कहिले काहीँ तर्साउन जङ्गली जनावर आउँछ, कहिले काहीँ यो एक्लो ज्यानलाई लिन काल आई पुग्छ ”

मलाई किन लैजादैनौ तिम्रो त्यो पबित्र ठाउँ जहाँ तिमी एक्लै काला रात हरु, शेरेटोले हानेका साझ हरु , खुल्ला आकाशमा देखिने तारा हरु हेर्न मलाई पनि मन छ,

“त्यहाँ म गएको बेला कोहि आउन पाउदैनन, मेरा साथी पनि आउन पाउदैनन,”

भनेपछि तिम्रा साथी हरु कोहि हुदैनन त्यहा ??
त्यत्रो चार दिन चार रात तिमी एक्लै बस्छौ ?

” नाइँ हुन्छन नि , यत्रतत्र छरिएका फरियाका टाला हुन्छन, रगत को आहाल हुन्छ, पेटमा सहन नसक्ने गरि सल्किएको आगो हुन्छ, मन भित्र सयौं डर हुन्छ, एक्लोपन को आभास हुन्छ, पिडालाई साथ दिने आँसु हुन्छ , म कहाँ एक्लै हुन्छु र ?”

तिमी त म भन्दा पनि बनवान रैछौ, तिमी यी सबै दर्द र पीडा एक्लै सहन सक्छौ, एक्लै डरलाग्दा रात कटाउन सक्छौ , एक्लै पिडा सहन सक्छौ, एक्लै जंगली जनावर सग भिड्न सक्छौ, मेरो एउटा मुर्ती त्यहा किन राख्दैनौ? म तिम्रो एक्लोपन को साथी बन्न्न सक्दिन र?

” समाजले कहाँ नै राख्न दिन्छ र ? अरु दिन मेरो पानी चल्छ, मेरो हात शुद्ध हुन्छ, पुजामा मेरै पालो अगाडी आउँछ, म त पर सरेको हुन्छु, मेरो शरिरि बाट अपबित्र रगत बगेको हुन्छ रे, त्यो अपबित्र रगतको आड लिइ मेरो बासस्थान मा तिम्रो बास कसरी सम्भाव बनाउन सक्छु र ?

१० हात
ठुला आँखा अनि लामो जिब्रो भएकी डरलाग्दी काली
समाजको डरलाग्दो नियम देखेर चुप रहि रहिन,
छाउ गोठ अर्को महिनाको ४ औं दिनको प्रतीक्षा मा बसि रह्यो,
रगतले लतपतिएका टाला धोएर बाहिर सुकि रहे
फेरि अर्को महिना आउने बाचाका साथ उनी छाउ गोठबाट पबित्र भै घर तिर लागिन !

सामाजिक सञ्जालबट


Loading comments...