भय ,डर र त्रासबाट कसरी जोगिने : गीताबाट ज्ञानसागर


भागवत गीतालाई मानव जिवनको प्रयोग निर्देशनका रुपमा संसारले मान्दछ, यस्मा धर्म भन्दा पनि कर्म र जिवनका बास्तविक मुल्यहरु प्रवाहित भएको पाइन्छ । अल्वर्ट आइन्सटाइन, म्याक्स मुलर लगायत अन्य धेरै बिद्धान हरुले पनि गीताको प्रशंसा मुक्तकण्ठले गरेका छन् । मानव जिवनमा धेरै भय, डर र त्रासहरु हरकदममा पाइन्छ ।

जागिर नपाउनुको डर, हाकीमको डर, झुठको डर, सत्यताको डर आदि धेरै तर गीताले यी सबै डरहरुको मुक्तिका अपायहरु बताएको छ । आउनुहोस आज म सुयोग ढकाल यहाँहरुलाई भयबाट कसरी मुक्त हुने भन्ने बिषयमा गीताको ज्ञान सागर प्रवाहित गर्ने जर्मको गर्दछु ।
एउटा बाख्रा जगंलमा साँझसम्म पनि घर जाने बाटो पहिल्याउन नसकी आफ्ना पाठापाठीहरुको साथमा हराँउदछ । जगंलमा राती बाघको शिकार गर्ने समय भइसकेको अवस्थामा बाख्री आफ्ना पाठापाठीहरुको लागि र आफ्नो विनरक्षार्थ पनि निकै चिन्तामा छिन् । बाख्रिले एउटा उपाय निकाल्दछे र पाठापाठीहरुलाई भन्दछे । अब उनीहरु नडराई बाघको गुफामै छिर्दछन् किनभनें बाघ अध्याँरो भएपछि शिकारका लागि जंलगमा गइसक्यो । यो कुरा रुखमा बसेको बाँदरले देखिरहेको हुन्छ ।

बाघ निकै बेरसम्म शिकार नभेटेर गुफामा आँउदै गर्दा बाँदरले बाघलाई बाख्राका परिवार बाघको गुफामै भएको बताँउदछ । बाघले पत्याँउदैन तर जब बाँदरले आफ्नै आँखाले देखेको बताँउदछ तब बाघ मनमा केहि भयका साथ अनि शंकाको साथ गुफा तर्फ जान्छ ।
गुफाभित्रबाट अब बाख्रीले बाघ आउन आँटेको चलपाएर आफ्ना पाठाहरुलाई कराई कराई आफूलाई भोक लागेको र बाघ कतिबेला आँउदछ र बाघलाई टुक्रा टुक्रा पारेर खाने भन्न लगाँउदछे । बाघ यो सुनेर छक्क पर्दछ र डराँउदछ पनि । यसपछि बाघ बाँदरलाई पनि लिएर गुफातर्फ लाग्दछ ।

पाठापाठीहरुले अब चाँही आमा ल हेर्नुस बाँदर मामाले अब बाघलाई लिएर आउनुभयो, हाम्रो प्यारो बाँदर मामा भन्दै कराउन र खुशी हुन थालेको अभिनय आवाजमार्फत गर्दछन् । बाघ अब त झन डराउन थाल्दछ, यस्तो परिस्थिती बाघको जिवनमा कहिल्यै आएकै हुँदैन । गीतामा पनि महाभारतको युद्धका दौरान अर्जुनलाई यस्तै अवस्था आएको हुन्छ जब अर्जुनका गुरु र भाई दुबै उनका बिरुद्ध रणभूमिमा उत्रिएका हुन्छन् । अर्जुनका लागि पनि यो नयाँ परिस्थिती थियो, आफ्नो कम्फर्ट जोन भन्दा बाहिरको अवस्था ।

यहाँ बाघले पछाडि फर्केर हेर्दैन र डरका कारण बाँदरलाई छाडेर भाग्दछ । उस्ले पछाडि फर्केर हेरेको भए शायद बाख्रा र पाठाहरुलाई निशस्त्र र दुर्बल अवस्थामा देख्नेथियो र डर बाट उम्कन र भोजन पनि सहज रुपमा आफ्नै गुफामा पाउनेथियो तर बाघले त्यो आँट गर्दैन । अर्जुनले भनें महाभारतमा डरलाई थाती राख्दै युद्ध लड्ने निर्णय लिन्छन् ।

गीताको ५ औं अध्यायको १५ औं श्लोकमा भगवान कृष्णले ज्ञानलाई अज्ञानले ढाकेको हुन्छ र साधारण मान्छे त्यसै अज्ञानमा मोहित हुन्छन् भन्नुभएको छ, यता बाख्रा निहत्था र कमजोर छिन तर के हुन्छ भनी परिणाम र फलको चिन्ता नगरि उनी गुफाभित्र आफ्ना प्राणप्यारा बच्चाहरु सहित छिर्दछिन् । आफू त्यस समयमा आफ्नो सर्वोत्कृष्ट उपाय लगाएर यदि बाघ डराएन र भित्र छिरेर हामीलाई खायो भनें के हुन्छ भनी नसोची बस्दछे । बाख्राले आफ्नो कर्म फलको आश नगरि निभाएको हुन्छिन्, हैन र ?

आफ्नो मनमा नियन्त्रण राखि कर्म गरेकी बाख्राले फलको लागि भगवानको निर्णयमा भर परेकी हुन्छे । गीताको ७ अध्यायको ४७ औं श्लोकमा कृष्णले कर्म गर र फलको चिन्ता नगर भन्नुभएको छ, हैन त ?

हामी पनि असल जिवनमा बाघ हौं तर अज्ञानले गर्दा हामीलाई आफ्नो सामथ्र्यको ज्ञान नै हुँदैन । बाघले आफ्नो सार्मथ्य नबुझ्नु नै उस्को सर्वाधिक ठूलो भूल हो, अर्जुनले आफ्नो सामथ्र्य बुझेर युद्ध मैदानमा कर्मका लागि आउनु नै उन्को जीत थियो । बाघ आफ्नो मनमा भएको शंकाका कारणले भाग्नुपर्दछ ।

अज्ञानताले भय पैदा गर्दछ र ज्ञानले मात्र भयलाई पर लैजान्छ । डरसंग सामना गरेर मात्र डरबाट मुक्ति पाइन्छ, आफ्नो कम्फर्ट जोनबाट बाहिर आएर डरको सामना गर्दै डरलाई भगाउन सकिन्छ । फलको चिन्ता धेरै गर्नाले र गल्तीको भय अनि अरुले के भन्लान भन्ने डरले हामीले धेरै संभावनाहरु गुमाइरहेका हुन्छौं । सबैजनाको मार्गमा अर्जुनका लागि कृष्णको झैं मार्गदर्शन कायम रहोस, सबैसंग कृष्णसाथ रहोस् ।

सुयोग ढकाल
लाइभमाण्डु

यो पनि पढ्नुहोस्

श्रीमद्भगवत गीता।।

भगवान श्री कृष्ण र भागवत गीता

भगवान श्री कृष्ण र भागवत गीता

गीताको श्लोक १ः१

श्रीकृष्ण वचन, भागवत गीताबाट


Loading comments...