Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

देशभक्त एस.एल. शर्माको जीवनकथा

२४ पुष २०७६, बिहीबार ०८:४७

एस.एल. शर्मा बोलिका नरम, विचारका स्वच्छ अनि सिद्धान्तका लखपति थिए । उनको सिद्धान्त राष्ट्रवादमा आबद्ध थियो तर उनी वसुधैव कुटुम्बकमका हिमायती थिए । इमान र जवान उनको जीवनको मुख्य विशेषता थियो । तर उनी कसैसँग झुक्तैन थिए र अरुलाई आफूसँग पनि झुकाउने इच्छा राख्तैन थिए । उनी तराई मुलका थिए तर बाँचुन्जेल उनले प्रायः दौरासुरुवाल, कोट र टोपी नै लाएर हिँडे ।

शर्मा छ फूट दुई इन्च उचाईका थिए । उनी आफ्नो शारीरिक उचाईको विचार राख्थे, मान्छेको आदर पनि त्यस्तै गर्थे र सकेको सेवा पनि त्यतिकै गर्थे । उनको व्यक्तित्वलाई एकमुष्ट भन्नु पर्दा उनी सादा जीवन र उच्च विचारका कुवेर थिए । उनी उखान नहाली कुरा गर्दैन थिए । उनी बोल्दा विभिन्न तुक हालेर तर्कका साथ बोल्थे । त्यसैले खासगरेर पूर्वाञ्चलीय भगौलिक शृङ्खलामा उनी निक्कै प्रचलित थिए, प्रिय थिए र मान्य थिए ।

शर्माको जन्म १९८३ सालको अक्षय तृतीयमा वीरगञ्जमा भएको थियो । उनका बुवा मेजर रामचन्द्र शर्मा पुरोहति र आमा रुक्मिणी उनी शिशु अवस्थामा हुँदै स्वर्गीय भए । त्यसैले शर्माको बाल्यजीवन कठाङ्ग्रिएर नै वितेको थियो ।

शर्मा चिया र चुरोटमा नै बाँचे । उनी दिनको पचास कपसम्म चिया खान्थे र एक बट्टा चुरोट खाएपछि उनको दिन फ्याँकिन्थ्यो । पाहुनापासालाई पनि उनी चिया र विडीबाट सत्कार गर्थे ।

शर्मा गतिलो साहित्यकार थिए । उनी संस्कृतिको लेखाजोखा पनि राख्थे । त्यतिमात्र होइन संस्कृति विषयक उनी एउटा राम्रो ज्ञाता थिए । उनी शोधकर्ताका स्रोत व्यक्ति थिए ।

शर्मा राजनीतिज्ञ पनि थिए । उनी टङ्कप्रसाद आचार्यलाई आदर गर्थे र आचार्यले पनि उनलाई मान्थे । तर राजनीतिमा शर्मा असफल भए । किनभने उनी कुप्रेर धुपौरेलाई धुप हाल्दैन थिए तर सत्य बोल्थे । एक पटक उनले राजा वीरेन्द्रका प्रमुख सचिव रञ्जनराज खनाललाई भनेका थिए, ‘ओठेभक्तहरुका कारण राजसंस्थामा अनास्था बढ्ने काम भैरहेको छ ।’ त्यसपछि शर्मा राजदरबारको दृष्टिबाट भूइँमा खसे । त्यस कालखण्डमा उनी नेपाल मजदूर सङ्गठनका केन्द्रीय उपसभापति थिए । त्यस बेला वर्गीय सङ्गठन भनेको पञ्चायतको मेरुदण्ड मानिन्थ्यो । त्यसैले उनी शक्तिशाली राजनीतिज्ञ मानिन्थे ।

शर्माको जन्म १९८३ सालको अक्षय तृतीयमा वीरगञ्जमा भएको थियो । उनका बुवा मेजर रामचन्द्र शर्मा पुरोहति र आमा रुक्मिणी उनी शिशु अवस्थामा हुँदै स्वर्गीय भए । त्यसैले शर्माको बाल्यजीवन कठाङ्ग्रिएर नै वितेको थियो ।

शर्माको बिहे १६ वर्षा उमेरमा १३ वर्षीय पार्वतीदेवीसँग भयो । यी दम्पतिबाट तीन छोरा र पाँच छोरी जन्मे । उनका जेठा छोरा राजेन्द्र शलभ पनि साहित्यकार र सञ्चारकर्मी भए । यस विधामा शलभ समकालीन पुस्ताको नेतृत्वपङ्तीमा नै पनि उभिए । शलभ पनि आफ्ना बुबालाई आदर्श मानेर सेवा, सद्भावना र शिष्टाचारका प्रखर नमुना भएर निस्के ।

२००७ सालपछि एस.एल. शर्माले झापाको भद्रपुरमा एउटा किराना पसल खोले । त्यस पसलको नाउँ ‘शर्मा मोहिनी स्टोर’ थियो । त्यस पसलबाट परिवार धान्न नसकेपछि उनले ‘साथी बिंडी फ्याक्ट्री’ पनि खोले । केही वर्ष चलेर त्यो पनि बन्द भयो । अनि उनले आफ्नै घरमा ‘शर्मा प्रिन्टिङ प्रेस’को सञ्चालन गरे ।

मेची नदीको किनारमा नै टाँस्सिएको भद्रपुर बजारमा शर्माले घर बनाए । शर्मा निवास भनेपछि त्यो घर प्रख्यात थियो । त्यही घरमा साहित्यकार, पत्रकार र राजनीतिज्ञको भीड लाग्थ्यो । वास्तवमा त्यही भद्रपुर बजार बसाउन पनि शर्माको समेत भूमिका गाँसिएको थियो ।

शर्माको राजनीतिका जीवन २००३ सालमा कोलकाता, भवानीपुरको कलेजको सम्मेलनबाट शुरु भयो । त्यसपछि अर्थात् २००६ सालमा आफ्नो घर गएताका राणा सरकारले उनलाई सर्वस्व हरणसहित ज्यूँदै समाउने आदेश दिएपछि उनी आफ्नो नाउँ बदलेर झापा पसे ।

राणाको विरोधमा लाग्ने क्रममा शर्माको झापा आन्दोलनका कमाण्डर भैरवप्रसाद आचार्यसँग भेट भयो । त्यही परिवेशमा झापा कब्जा गर्ने काममा उनको पनि अतुलनीय भूमिका जोडियो । अनि २००७ साल माघ १४ गते स्थापित नेपाल प्रजातान्त्रिक सामयिक सरकारका प्रमुख तथा फौजी गभर्नर भैरवप्रसाद आचार्यको सरकारमा शर्मा व्यवस्थापक थिए । त्यसबेला उनका अर्का सहयोगी दान खालिङ पनि थिए ।

शर्माको पहुँच पञ्चायत व्यवस्थाको जरामा थियो र उनको त्यो जरा झापामा नै केन्द्रित थियो । उनी झापाका कुनै स्कुलका सचिव, कुनै स्कुलका अध्यक्ष र क्याम्पस, अस्पताल र पुस्तकालयमा सक्रिय भैरहे । वडा सदस्यदेखि प्रधानपञ्चहुँदै जिल्ला पञ्चायत सदस्यसम्म कार्यरत शर्मा काम गरेर थाक्तैन थिए । उनी राजनैतिक सङ्गठनमा सक्रिय भैरहेका बखत २०२५ सालमा मेची अञ्चलाधीशको सिफारिसमा प्रधानमन्त्री सूर्यबहादुर थापाद्वारा उनको नागरिकता हरण गरियो । त्यसपछि उनलाई एक वर्ष काठमाडौंमा नजरबन्द गरियो । यो कुरा राजा महेन्द्रका कानमा जस्ताको तस्तै पुग्यो । अनि कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनेवित्तिकै उनलाई काठमाडौंबाट ससम्मान भद्रपुर पठाउने व्यवस्था गरियो र उनको गुमेको नागरिकताको प्रमाणपत्र पनि इज्जवतका साथ फिर्ता गरियो । त्यस बखत उनलाई प्रधानमन्त्री कीर्तिनिधि विष्टले भनेका थिए- ‘तपाईँजस्ता देशभक्तलाई अपमान गरेको सूचना पाएर म दुखित मात्र बनिन, लज्जित पनि भएँ ।’

उनैले डिल्लीराम निर्भीकदेखि नकुलकाजीसम्मलाई पत्रकारितामा प्रवेश गराउने बाटो बनाए । अन्ततः झापामा वैज्ञानिक पत्रकारिताको जग उनैबाट सुरु भएको थियो । त्यति बेला शर्माकै चिठी बोकेर स्थानीय पत्रकारहरु भारतमा पुगेर त्यसबारे थप ज्ञान लिन्थे । त्यतिबेला भारतको पटनाबाट प्रकाशित हुने ‘नेपाल सन्देश’ शर्माकै भावनात्मक छानो थियो ।

शर्माको राजनीतिक जीवनमा धेरै उतार चढाउ आए । तर उनी विचलित नभई देशभक्ति अभियानमा लागिरहे । २०४६ साले बहुदलीय प्रणली भित्रिएपछि उनी कम्युनिष्टको सिद्धान्तमा एकोहोरिए । जस अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी (वर्मा) समूहमा आबद्ध भए । त्यहाँ बसेर फेरि उनले दुईतीन वर्ष मुलुकको राजनैतिक अवस्था हेरे । त्यस घडी उनले चारैतिर अराजकता नै अराजकता देखे । नेताहरुले आफ्नो डम्फू बजाएको उनलाई ठ्याम्मै मन परेन । त्यसैले झापामा उनले एउटा घोषणा गरे ‘अब म कुनै पनि राजनीतिक दलमा सामेल रहने छैन । म स्वतन्त्र जीवन विताउने छु ।’ त्योभन्दाअघिदेखि नै उनी ‘राजनीति भनेको गनाउने नाली हो’ चाहिं भन्ने गर्थे ।

शर्माको लेखन बनारसी यात्रादेखि नै आरम्भ भएको थियो । तर उनको पहिलो पुस्तक २०१० सालमा प्रकाशित भएको थियो । उनले हिन्दी र नेपाली गरेर सात वटा पुस्तक प्रकाशित गरे भने यिनका विविध विषयमा आधारित पाँच सय जति फुटकर लेख रचना प्रकाशनमा आए । उनले तीन दर्जन जति पत्रपत्रिकामा आफ्ना लेखरचना प्रकाशित गरे । खास गरेर झापाको जनजाति सतार, बातर, धिमाल, मेचे र राजवंशीहरुको परिचय गराउने गुरुत्तर भूमिका शर्माको नै थियो । उनैले ती जातिको जीवनस्तर उकास्न पनि आफ्नो बुता लगाएका थिए । साथै नेपालका पचहत्तरै जिल्लाको सांस्कृतिक कुरा शर्मा प्रायः फररर भन्न सक्थे । उनी बौद्धिक संस्कृतिविद् थिए ।

शर्माले २००४ सालमै पत्रकारिता शुरु गरेका थिए । बनारसको विद्यार्थी जीवनकालमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले काखी चेपे । त्यसैले शर्मा युगवाणीमा घुसे । त्यही सीप ल्याएर उनले झापामा पत्रकारिताको बिउ रोपे । उनैले डिल्लीराम निर्भीकदेखि नकुलकाजीसम्मलाई पत्रकारितामा प्रवेश गराउने बाटो बनाए । अन्ततः झापामा वैज्ञानिक पत्रकारिताको जग उनैबाट सुरु भएको थियो । त्यति बेला शर्माकै चिठी बोकेर स्थानीय पत्रकारहरु भारतमा पुगेर त्यसबारे थप ज्ञान लिन्थे । त्यतिबेला भारतको पटनाबाट प्रकाशित हुने ‘नेपाल सन्देश’ शर्माकै भावनात्मक छानो थियो । शर्माकै कारण पटनाको नेपाल सन्देश र बनारसबाट प्रकाशित हुने ‘दैनिक आज’ले नेपालका पूर्वाञ्चलीय पत्रकारहरुलाई तालीम पनि दिने गर्थ्यो ।

शर्मा आयुर्वेदका चिकित्सक पनि थिए । त्यसबेला पूर्वाञ्चलमा उनको उपचार प्रणालीले मान्छेहरुलाई शुभलाभ हुन्थ्यो । उनले घरमै जडीबूटी रोप्थे र जनतालाई निश्शुल्कै औषधि गरिदिन्थे । त्यस ठाउँमा उनी समाजसेवाका पनि गुरु बाबु थिए ।

शर्माले राजदरबारदेखि सिंहदरबारसम्मका एउटै सम्मान र पदक पाएनन् । तर जनस्तरबाट उनले नेपाल प्रजातन्त्र सेनानी लगायतका साहित्य, सांस्कृतिक, विकास र राजनीति गरेर डेर्ड दर्जन पुरस्कार, सम्मान र अभिनन्दन पाए ।

नेपाली राष्ट्रियताका कट्टर हिमायती एस.एल. शर्मा नेपालको राष्ट्रिय परिवेशको चिन्तनमा समर्पित भैरहेका बेला २०६० साल साउन ६ गते झापामा स्वर्गीय भए ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडाैं। संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् !

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेपाली