इक्यानको नयाँ कार्य समितिलाई क्याम्ब्रिजको स्वागत सम्मान, आफ्नै भवन बनाउन सुझाव


नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का नवनिर्वाचित कार्य समितिलाई क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले बधाई तथा स्वागत गरेको छ । हिजो सोमबार क्याम्ब्रिजको केन्द्रीय कार्यालय बागबजारमा क्याम्ब्रीजका संस्थापक निर्देशक शिशिर सिंखडाले इक्यानको नवनिर्वाचित टीमलाई स्वागत सम्मान गरेको हो । कार्यक्रममा बोल्दै इक्यानका नवनिर्वाचत अध्यक्ष प्रकाश पाण्डेले इक्यानको कोड अफ कन्डक्ट भित्र रहेर ब्यवसाय गर्ने शैक्षिक परामर्श ब्यवसायीलाई मोटिभेट गर्न आफु सदैब लागि पर्ने बताए । पाण्डेले शैक्षिक परामर्श क्षेत्रका लागि सरकारले ल्याएको नियमावलीका केहि बुँदाहरु असहज भएकोले ती बुँदाहरु संसोधन गराउन आफ्नो विशेष पहल रहने बताए । ” हामीले आफ्नो मर्यादामा रहेर विद्यार्थी अभिभावकलाई शैक्षिक परामर्श दिइरहँदा सरकारले ल्याएका कतिपय बुँदाहरु हाम्रो पक्षमा सकारात्मक छैनन् तिनलाई सच्याउन मेरो प्रमुख पहलकदमी रहनेछ ।” पाण्डेले भने ।

उनले आफुलाई सर्वसम्मत इक्यानको अध्यक्षमा निर्वाचित गर्ने इक्यानीयनहरुलाई निराश नपार्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । स्वागत सम्मानमा बोल्दै क्याम्ब्रिजका संस्थापकनिर्देशक शिशिर सिंखडाले इक्यानले अब आफ्नै भौतिक पूर्वाधार सम्पन्न भवन बनाउनु पर्ने बताए ।

दुई दशक बढि भएको संस्थालाई स्थायीत्व दिन तथा बर्षेनी महंगो भाडा तिरेर बस्नुभन्दा ब्यापारीक भवन बनाउन लगानी गरेर आम्दानीका स्रोत समेत बढाउन सक्ने सिंखडाको भनाई थियो । ‘अब इक्यानले आफ्नै भवन बनाउनु पर्छ, यसकालागि इक्यान सक्षम पनि छ, ब्यवसायीक भवन बनाएर गए यसको आम्दानीको स्रोतपनि बढ्छ ।’ सिंखडाले भने । उनले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न भनेर सरकारले भर्खरै ल्याएको नियमावलीका कतिपय बुँदाहरु परामर्शमैत्री नभएको अवस्थामा इक्यानले त्यसलाई संसोधन गर्न पहलकदमी गर्नुपर्ने बताए । उनले विगतमा भएका कमीकमजोरीलाई सुधारेर अगाडी बढ्न र ब्यवसायका हक अधिकार संस्थागत गर्न इक्यानले कुशल नेतृत्व पाएकोले अब द्रुतगतिमा काम गर्ने बेला आएको समेत बताए । साथै इक्यानलाई सबैको साझा इक्यान बनाउन सल्लाह समेत दिए । स्वागत तथा सम्मान कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डेसँगै उपाध्यक्ष देवीदास भट्टराई, शेषराज भट्टराई, कृष्ण केसी, महासचिब दीपकराज भुषाल, सचिव बासुदेव दाहाल, द्वितिय सचिब बालकृष्ण श्रेष्ठ, सदस्य भवनाथ हुमागाई र सुबास गौतमको उपस्थिति रहेको थियो ।


Loading comments...