छाउपडी प्रथा विरुद्ध प्रहरीको सचेतना, पूर्वमिस नेपाल श्रृंखलाको साथ


सुर्खेत, ८ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिका-७ पैसारास्थित मालिका माविको प्राङ्गणमा छाउपडी प्रथा सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

छाउपडी प्रथा सम्बन्धी सो सचेतनामूलक कार्यक्रममा पञ्चपुरी नगरपालिका-७ का वडा अध्यक्ष, वडा सदस्य, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थीहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा सो विद्यालयका विद्यार्थी लगायत स्थानीय महिलाहरुलाई रजस्वला हुँदा प्रयोग गर्ने विभिन्न सामाग्रीहरु राखिएको १७० थान Dignity Kit Bag समेत प्रदान गरिएको थियो ।

सो अवसरमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत स्थानीय तहको समन्वय र प्रहरी तथा स्थानीय बासिन्दाको सहभागितामा पञ्चपुरी नगरपालिका-७ पैसारास्थित चार घरले प्रयोग गर्ने गरी बनाइएको छाउगोठ समेत भत्काइएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्ली राज पन्त, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक शेखर खनाल, पूर्वमिस नेपाल श्रृंखला खतिवडा लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीले स्थानीय तहको समन्वयमा हालसम्म प्रदेश नम्बर ६ मा १ हजार ४ सय ७२ वटा र प्रदेश नम्बर ७ मा ३ हजार ५ सय ९३ गरी जम्मा ५ हजार ६५ वटा छाउगोठ तथा टहराहरु भत्काइएको छ । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेपाल प्रहरीले छाउपडी प्रथा नियन्त्रणका लागि बिशेष अभियान संचालन गरिरहेको छ ।

सबै तस्वीर तथा सामाग्रीः नेपाल प्रहरी

Loading comments...