सशस्त्रका प्रहरी निरीक्षक र सशस्त्र प्रहरी जवान गरी दुईजना उपर आरोपपत्र दायर


सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान शशित नारायण विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज शशित नारायण विश्वासलाई सेवाग्राहीबाट रु. ५,५००।- (पाँच हजार पाँच सय) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङमा कार्यरत शशित नारायण विश्वासले सशस्त्र प्रहरी वल वि.ओ.पी. बखरी मोरङका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको आदेश र निर्देशानुसार सेवाग्राहीसँग भारतबाट नेपालमा ल्याइने प्याज ओसारपोसारको काम सहज गरिदिने भनी रकमको वार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक घुस/रिसवत दिन बाध्य पारी सोबापत सशस्त्र प्रहरी निरीक्षकसमेतको लागि घुस/रिसवत लिई साथै सशस्त्र प्रहरी निरीक्षक अमृत थापाले सोही प्रयोजनमा आफ्नो र शशित नारायण विश्वासको लागि रकम वार्गेनिङ गरी शशित नारायण विश्वासमार्फत उक्त रकम लिन मञ्जुर गरेको व्यहोरा पुष्टि हुन आई निजहरु अमृत थापा र शशित नारायण विश्वासले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा बिगो रु. ५,५००।–(पाँच हजार पाँच सय) कायम गरी निजहरु अमृत थापा र शशित नारायण विश्वासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आधिकारीक वेबसाइटमा ‘अदुअआ’का प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Loading comments...