भिष्म र युधिष्ठिरको अन्तिम कुराकानी


यो महाभारत कथा हो जब भर्खरै कुरुक्षेत्रको युद्ध सकिएको छ । इच्छामृत्युको वरदान पाएका भिष्म आफ्ना प्रिय अर्जुनको वाणहरु लागेर तिनै वाणहरुको शैयामा लडिरहेका छन् । आफ्नै प्राणप्रिय अर्जुनको प्रहारबाट उनी लडेका हुन्, ईच्छा मृत्युका वरदान पाएका उनी आफ्नै ईच्छाले मात्र देहत्याग गर्न सक्नेछन् । भिष्मपितामह उत्तरायण तिथीको प्रतिक्षामा जीवनत्याग गर्ने सोचमा छन्, युधिष्ठिरलाई कृष्णले भिष्मपितामहको आशिष लिन आग्रह गर्दछन् । कृष्णका अनुसार पनि अर्जुनका लागि मात्र नभई सम्पूर्ण पाण्डवहरुका पितासमानका सबैभन्दा ठूला र आदरणीय भिष्म पितामह नै हुन् । कृष्ण रथका सारथी थिए, अर्जुनले वाण भिष्म पितामहलाई नचलाउने भन्दा कृष्णले कर्म अनि सत्यताको परिभाषालाई दायित्वसंग जोडेर अर्जुनलाई वाण चलाउन मनाएका थिए ।

भिष्मले युधिष्ठिरलाई दिइएको दिव्य ज्ञान महाभारतको अनुस्सना पर्वमा रहेको छ, यस पर्वका सकल कुराहरु वाणको शैयामा रहेका भिष्म पितामहले अन्तमा दिएका ज्ञानहरु हुन् । निकै बेर जीवन ज्ञान र धर्मका विषयमा वाणको शैयामा रहेका भिष्म संग युधिष्ठिरको वार्ता हुन्छ । अनुस्सना पर्व पढ्दै गर्दा मैले भिष्म पितामहलाई धेरै गहन प्रश्नहरु सोधिएको पाँए तर यो एउटा प्रश्न सर्वाधिक महत्वपूर्ण पाँए । युधिष्ठिरले भिष्म पितामहलाई विश्वमा सर्वाधिक ठुलो पुण्य कमाउने धर्म हुन हो भनी प्रश्न गर्दछन् । आज भिष्म पितामहको उत्तर यहाँ प्रस्तुत गर्न चाह्यौं ।

भिष्म पितामहले भगवान कृष्ण नै सबैभन्दा ठुलो धर्म रहेको बताँउदछन् । बिष्णुसशस्त्रानामका बिष्णुका नामहरु उच्चारण गर्दै भिष्म पितामहले युधिष्ठिरलाई बिष्णुका अवतार कृष्णलाई नै सर्वाधिक ठूला धर्म, पुण्य, मोक्ष अनि भगवानतत्वका रुपमा ब्याख्या गर्दछन् । कृष्णलाई यहाँनेर नाम भन्दा पनि विशेषण र बिष्णुनिकट गुण र अवतारका रुपमा लिइन जरुरी रहन्छ । कृष्ण एउटा मान्छे या चरित्र मात्र नभएर गुणहरु हुन्, कृष्णका गुणहरु सर्वोच्च मानवताका दृष्टान्त हुन् ।
युधिष्ठिरले अर्को प्रश्न सोध्छन ।

उनी प्रश्न गर्दछन् कि के कुनै परिस्थितीका लागि राजा जिम्मेवार हुन्छन् या समयले राजालाई अवस्था अनुसार बनाँउदछ ?
महाभारतको युद्ध र नरसंहारको प्रतिउत्तरमा धर्मराज युधिष्ठिरले यस प्रश्न सोधेका हुन् । त्यसवखत यत्रतत्र मृतकहरु, लाशहरु, अगंभगं सैनिकहरु अनि शोक मा थियो । यस प्रश्न गर्दा कताकता युधिष्ठिर स्वयम पनि युद्धको यस तमासामा आफूलाई जिम्मेवार ठान्दथे भन्ने लाग्दछ । यहाँनेर भिष्म पितामहले निसंकोच महाभारतको सम्पूर्ण अवस्थाका लागि समयलाई नभई राजालाई दोष दिन्छन् । राजा र नेतृत्वको असमर्थताले नरसंहार र बिनाश निम्त्याउने संभवनाको दिशा भिष्मका अन्तिम शव्दहरुमा छन् । महाभारतको शान्ति पर्वको ६९ र ७० मा पढ्न सकिन्छ । महाभारतको युद्ध इतिहास आज आधूनिक यूगले पनि इतिहासका रुपमा स्वीकार गरिसकेको छ, महाभारत एउटा पुस्ता या श्रीपेचको युद्ध थिएन यो त वर्षौदेखि चलिआएको असमानता, लालच अनि कमजोर र कमजोर नेतृत्व शैलीको उपज थियो । नेपालमा पनि नेतृत्वका यथेष्ट कमजोरी र लालसाहरु छन्, के हामी समृद्ध हुनलाई नागरीक चेतनाका साथसाथै नेतृत्व चेतना पनि उतिकै आवश्यक छ भनी महाभारतले उदृत गर्दछ त ?

सहि नेतृत्व जीवनका हरेक पलमा आवश्यक रहन्छ । बिकास र बिनाश नेतृत्व र आत्मसाथ गरेको दर्शनको प्रतिफल हो । राजा मान्छे या पद हैन, राजा शाषन गर्ने संरचना र शक्तिको केन्द्र हो । अहिले नेपालमा संसद, मन्त्रीमण्डल अनि सम्पूर्ण ३ वटै निकायका कार्यपालिकाहरु राजाको रुपमा लिन सकिन्छ । जब जब असमानता, अनेकता अनि न्यायको कमी हुन्छ तबतब महाभारत भएको छ । नेतृत्वलाई भिष्म पितामहले युद्धको मुख्य कारण बताएका छन्, शाषनको बिधि सबैलाई समान हुनपर्ने र न्याय को समान बितरण नै श्रृष्टिको दीर्घकालिन संरचना हो, महाभारतले यहि भन्दछ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...