नामसरी भइन् प्रेरणाको स्रोत


sanju
सञ्जु पौडेल

लगनशील भई कडा परिश्रम गरे अवश्य सफलता प्राप्त गर्न सकिन्छ भन्ने भनाईलाई चरितार्थ गराएकी छिन्, अछाम पञ्चदेवल नगरपालिका घर भई हाल मंगलसेन अछाममा सिलाई कटाई (टेलरिंग) व्यवसाय सञ्चालन गर्दै आएकी नामसरी धामीले ।

सधै घाँस, दाउरा , मेलापातका काम गर्नु पर्ने, जति काम गरे पनि न त जस पाउने, न त उपलब्धी नै देखिने हुनाले उनी सधै दुःखी हुन्थिन् । यसैक्रममा ७ वर्ष अगाडी उनले श्रीमान् मार्फत साँफे, अछाममा छ महिने सिलाई कटाई तालीम शुरु हुन लागेको थाहा पाए पछि श्रीमान्कै सहयोगमा उनी पनि तालीम लिने भइन् । तर त्यसरी तालीम लिन जान सजिलो भने थिएन । उनले घरमा गर्दै आएको काम परिवारकै सदस्यले जिम्मा लिन चाहेका थिएनन्, न त उनको साँफे जाने निर्णयमा परिवारका सदस्यहरुले समर्थन नै गरेका थिए । जे जस्ता चुनौतीहरुको सामना गर्नु परे पनि सिलाईकटाई सिकेर नै छाड्ने दृढ विश्वास राखेकी उनले नावालक छोराहरुलाई ओच्छ्यानमै छोडेर १२ वर्षको जेठो छोरालाई साथी लिएर विहान ५ वजे उठेर हिडिन् । गाँउ भरिमै कसैकी छोरी बुहारीले नगरेको काम गर्न तम्सिएकी नामसरी एक दिन भरीको घना जंगलको बाटो हिडेर सदरमुकाम पुगिन् । सदरमुकाममा श्रीमान्लाई छोरो साथ लगाएर भोलि पल्ट त्ँयहाबाट गाडी चढेर साँफे पुगेकी थिइन् । त्यस बेलाको क्षण सम्झिदा उनका आँखामा अहिले पनि आशु आउछ ।

परिवारमा श्रीमान् मात्रको सहयोगले सिलाइकटाइ सिक्नको लागि साँफे जाने क्रममा फलानाकी बुहारी घरको काम छोडेर खुबै सिलाइकटाइ सिक्ने भएकी भन्दै गाउलेहरु सबै एक मुख लागेर कुरा काटिरहदा उनी भने दत्तचित्त भएर सिलाइकटाइ सिकिरहेकी थिइन् । परिवारका सदस्यको कटु वचन , तालीमका बीचमा भएका बाधाहरु, छर छिमेक सहित गाउलेहरुले काट्ने कुरा आदिलाई वेवास्ता गर्दै उनी अगाडी बढी रहेकी थिइन् ।

तालिम सकिएपछि आफ्नै टेलर्स खोल्ने सपना देख्दै नामसरी घर फर्किन् । तर घरमा उनको टेलर्स खोल्ने सपनामा बज्रपात प¥यो । विगतमा गर्दै आइरहेको घरायसी कामलाई नै सम्हाल्नु पर्ने भयो । एक वर्ष सम्म घरमा त्यसरी घाँस, दाउरा, मेलापात गरेपछि उनले जसरी पनि आफ्नै टेलर्स खोलेर आयआर्जन गर्ने निर्णय गरिन् । जहा इच्छा, त्यहि उपाय भने झै सदरमुकाम मंगलसेनमा वरिपरि जस्ताले बेरेको सानो पसलमा आफ्नो टेलरिंग व्यवसाय शुरु गर्न पाउदा उनको खुशीको सिमा नै थिएन । जिन्दगीको सबै भन्दा खुशीको क्षण त्यसैलाई मान्ने उनी दिन रात नभनी मेहनत गरेर कपडा सिलाउन थालिन् ।

केहि वर्ष अघि सम्म आफ्नो नाम समेत अर्कैले भनीदिनु पर्ने उनी अहिले अन्य महिला दिदी बहिनीहरुलाई पनि सिलाईकटाईको तालीम दिने भएकी छिन् । अहिले सम्म करिब सय भन्दा बढीलाई तालीम दिई सकेकी छिन् । तीन सन्तानकी आमा धामीले आफू एक्लैको कमाईले छोराहरुलाई पढाउदै छिन् । आफूले स्कुलको मुखै देख्न नपाएकाले जति चुनौती भएपनि छोराहरुलाई राम्रोसँग पढाउने उनी बताउछिन् । तीन छोराहरुमा जेठा छोरा काठमाण्डौमा विज्ञान विषय, माइला छोरा चितवनमा कृषि विषय लिएर पढ्दै छन् भने कान्छा छोरा भने मंगलसेनमा नै स्थानीय विद्यालयमा सात कक्षामा अध्ययन गरिरहेका छन् ।

नामसरीको पसलमा एक पटक आएको ग्राहक उनको छिटो छरितो काम गरिदिने, हसिलो मुहार तथा सहयोगी, मिलनसार स्वभागका कारण अर्को पसलमा जादैनन् । उनी त्यसैलाई आफ्नो ठूलो सम्पत्ती ठान्ने गर्छिन् ।

जस्तो सुकै कठिन परिस्थितीमा पनि धैर्य गरि लगनशील भई निरन्तर आफ्नो काम गरेमा एक दिन अवश्य सफलता प्राप्त गर्न सकिन्छ भन्ने त नामसरीको सफलताको कथाबाट पनि थाहा पाउन सकिन्छ । भविस्यमा अझ ठूलो टेलरिंग व्यवसाय सञ्चालन गरि अन्य व्यक्तिहरुलाई पनि रोजगार दिने लक्ष्य राखेकी नामसरीको लक्ष्य चाडैं पूरा भएको देख्न पाइयोस्, हाम्रो पनि शुभकामना छ ।

काठमाण्डौं,
हाल, पञ्चदेवल विनायक नगरपालिका, अछाम
इमेलः [email protected]


Loading comments...