अप्सरा पुडासैनीको ‘कुकुर बेचेर कोसेली’


‘हत्केलाले सूर्य छेक्न सकिँदैन्’ भन्ने प्रमाण रैछिन् कलैया-५, घुसुकपुर, बाराकी स्थायी वासिन्दा अप्सरा ! साथै प्रतिभा मौलाउनमा उत्प्रेरकको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ भन्ने कुराकी साक्ष्य पनि हुन् अप्सरा ! ती उत्प्रेरकका भूमिकामा खरो देखिएका छन् नेपाली निबन्ध विधाका वरिष्ठ निबन्धकार र अझ नियात्रा साहित्यका विशेषज्ञ डा.निर्मोही व्यास !

‘संस्मरणकार अप्सराको वर्णनशैली जति रसिलो, उन्मुक्त, आकर्षक र जीवन्त छ, उनको भाषाशैली पनि उत्तिकै सरल, शुद्ध र सललल बगेको छ ।’ पुस्तकमा व्यासको आशीर्वाद अप्सराले यसरी पाएकी छिन् ।

अग्रज पुस्ताले अनुज पुस्ताप्रति गर्नु पर्ने सकारात्मक मार्ग निर्देशनले एउटी होनहार निबन्धकारलाई नेपाली साहित्यको निबन्ध परिसरमा टेकाएको छ । यसका लागि नेपाली साहित्यिक जगतले निर्मोही व्यासप्रति अनुगृहित हुँदै उनको व्यासकृत व्यवहारको अनुशरण पनि गर्नुपर्ने देख्छु । ‘कुकुर बेचेर कोसेली’ पढ्दा मैले यस प्रकारको अनुभूति पनि सँगसँगै सँगालेकि छु । यस सन्दर्भमा प्रतिभा र प्रेरक दुवै स्तुत्य लागे मलाई ।

लेखकः इन्दिरा प्रसाई

‘अब अर्को किताब कहिले पढ्न पाइन्छ अप्सरा? ‘ कुनै भेटमा मैले उनलाई सोधेकी थिएँ । ‘घरबाट पचास हजार खर्च गरेर छापेको किताब बेचेर पाँच हजार पनि आएन, दिदी ! कसले छापिदेला र अब ?’ निरास हुँदै फर्केको उनको सत्य जवाफलाई आश्वासन दिने अर्को जवाफ मसँग पनि थिएन ।

अर्को कुरा कतै घर नहुने छोरी मानिसले बिहे गरिसकेपछि बाउका घरबाट लोग्नेका घरमा पुगेर लोग्नेको परिवार रिझाउँदै आफ्नो शौख पनि अघि बढाउनु भनेको सानो सानो हिमाल चढ्नु जत्तिकै कठिन कार्य हो । कैयन अरू नारी स्रष्टाले झैँ अप्सराले पनि यस जटिल परिस्थिति पार गरेकी छिन् । यसरी यस कठिन यात्रा पार गराउने कार्यका सहयात्री भएर साथ दिने अर्थात् यस पुस्तकका प्रकाशक समेत रहेका उनका पति गणेश मैनालीको भूमिका झनै प्रेरक लाग्यो मलाई । पतिपत्नी एक अर्काका सहयोगी हुन सकेको अवस्थामा नै दुवैले जिन्दगीको यात्रालाई उपलब्धिले पनि सिँगार्न सक्ने हो । अन्यथा पशुवत् मात्र भयो भने तथाकथित जीवन मात्र हुन जान्छ । यस अर्थमा अप्सरालाई भाग्यमानी नारी पनि भन्नै पर्छ ।

नयाँ फेसन झैँ अप्सराले लेख्न सिक्दासिक्दै पनि हतारहतार पुस्तक छापेकी छैनन् । नेपाली साहित्यका विख्यात स्रष्टा व्यासलाई गुरु थापेर बारा र पर्साको साहित्यिक परिसरमा प्रचलित भइसकेपछि र गद्य लेखनमा समूचित परिस्कार प्राप्त गरेपछि मात्र उनले सङ्ग्रह निकाल्ने रहर गरेकी छिन् । यस सङ्ग्रहमा सङ्ग्रहीत अधिकांश रचना फुटकर रूपमा प्रकाशित भैसकेका हुन् भन्ने अप्सराको स्विकारोक्ति पनि यसै पुस्तकमा छ । यो समग्र कुरा पनि मलाई अप्सराको उदाहरणीय र प्रेरक लाग्यो ।

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेथे ‘हाम्रा खेतहरूमा हाम्रा सेक्सपियरहरू हलो जोत्छन् ।’ तर हाम्रा देवकोटा पनि यसै धरामा अहिले सशरीर शताब्दी पुरूष हुन पाएका भए उनले उक्त लेखन् परिमार्जन गरेर लेख्ने थिए ।

‘अहिलेका नेपालका खेतहरू बाँझा छन् र हाम्रा सेक्सपियरहरू र हाम्रा जेके रोलिङहरू भोकको औषधी खोज्न सयपत्री फूलका माला पहिरिँदै बढो उत्साहका साथ खाडीतिर पुग्छन् । अनि केही समयपछि कतिपय सेक्सपियरहरू चाहिँ डिब्बामा बन्द सामान बनेर फर्किन्छन् । त्यस्तै कतिपय जेके रोलिङहरू हिंसामा पर्छन्, मर्छन् र मारिन्छन् पनि ।’ तर हाम्री अप्सराले घरको डाडूपन्यू चलाउँदा चलाउँदै पनि, जुठेल्नाको मस्को मस्काउँदा मस्काउँदै पनि आफ्नो अस्तित्व निर्माण गरेकी छिन् र ‘कुकुर बेचेर कोसेली’ नेपाली साहित्यका लागि ल्याएकी छिन् । नेपाली परिवेशमा गाउँघरमा गृहस्थ आश्रम चलाएर बस्ने एउटी महिलाले यति गर्न सक्नु भनेको महनीय कार्य हो । सहरीया जीवनको प्रचुर सुखसम्पन्न जीवनमा ऐस आराममा मात्र बितिरहेका नारी समूदायका अघिल्तिर यस्तो कार्य थप प्रशंसनीय हो । आफ्नो स्वत्व र अस्मिताको धज्जि उडिरहेको चालै नपाउने समूहका अघि अस्तित्व निर्माणकी गुरुआमाका रूपमा पनि मैले अप्सरालाई पाएँ ।

अप्सराको यस पुस्तकभित्र के छ भन्ने कुरा मेरो यस लेखोटको लक्ष्य नै होइन । ‘कुकुर बेचेर कोसेली’ कसरी लगियो ? जसरी मैले उत्सुकता राखेर पुस्तक पढेँ सबैले सोही उत्सुकताका साथ उनको पुस्तक खोजेर पढ्नु पर्छ भन्छु म ।

यति चाहिँ सत्य हो, अप्सराको यस पुस्तकले उनलाई नेपाली साहित्यिक परिसरमा हार्दिक स्वागत गरेको छ र नारी निबन्धकारका लहरमा स्थापित नै गरेको छ ।

यसै सन्दर्भमा अनुज पुस्ताका उम्दा स्रष्टा प्रोल्लास सिन्धुलीयले पनि शब्दघर छापाखानाबाट छापिएको डिमाइभन्दा सानो आकारको १२६ पृष्ठको यस पुस्तकको गाताको पछाडीपट्टि अप्सरा पुडासैनीको पारिचायिक प्रस्तुतिका क्रममा भनेका छन्, ‘यो पुस्तकले नेपाली संस्कार र परम्पराको दारुण तस्बिरको झलक त दिएकै छ, त्यसलाई चिर्दै एक भर्भराउँदो नारी प्रतिभा नेपाली साहित्यमा उदाउँदै गरेको अवसरको सङ्केत पनि सूचित गरेको छ।’

‘अब अर्को किताब कहिले पढ्न पाइन्छ अप्सरा? ‘ कुनै भेटमा मैले उनलाई सोधेकी थिएँ । ‘घरबाट पचास हजार खर्च गरेर छापेको किताब बेचेर पाँच हजार पनि आएन, दिदी ! कसले छापिदेला र अब ?’ निरास हुँदै फर्केको उनको सत्य जवाफलाई आश्वासन दिने अर्को जवाफ मसँग पनि थिएन ।

कति अप्सराहरू लेखेर पनि प्रकाशित हुन नसकेको पीडामा छन् । कति अप्सराहरू घरमा रोइकराई गरेर किताब छाप्न त छाप्छन् । तर अप्सराहरूले हौवा फैलाउन पनि सक्दैनन् । त्यसैले तिनका किताब पनि बिक्री हुँदैनन् । किताबका अधिकांश पसलले लेखकलाई किताब बेचेको पैसै पनि दिँदैनन् । यस पीडाबाट उन्मुक्ति कहिले र कसरी होला ?

© इन्दिरा प्रसाई


Loading comments...