नेपाल प्रहरीको सई हुँ भनी ठगी गर्ने पक्राउ


काठमाडौं, १७ माघ । नेपाल प्रहरीको सई हुँ भन्दै सोझा-साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने काठमाडौं महानगरपालिका-९ बसुन्धरा बस्ने रामेछाप मन्थली नगरपालिका-२ टेकनपुर घर भएका २६ वर्षीय राजु कार्कीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ कलङ्कीबाट पक्राउ गरेको हो ।

आफू प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु र आफूसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्न सक्छु भन्दै आफूसँग भएको ३० लाख रुपैयाँ दिने भनी कार्कीले सिन्धुपाल्चोक हेलम्बु घर भएका एक व्यक्तिबाट ३ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको हो । साथै कार्कीले ती व्यक्तिलाई आफूसँग भएको ३० लाख खातामा हालिदिन्छु भनी बैंक ट्रान्जेक्सन देखाउन ३ लाखको चेक काटिदिनुस्, पछि तुरुन्तै ३० लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिलस्थित नेपाल बैंक लिं.को शाखामा लगि अलपत्र छोडी नेपाल बैंक लिमिटेड, कालिमाटी शाखाबाट नगद ३ लाख रुपैयाँ निकालेका थिए ।

कार्कीको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ, बा.९१ प ७४४६ नम्बरको मोटरसाइकल, मोबाइल १ थान समेत बरामद गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


Loading comments...