भोलीका भगवानहरु


पैगम्बर मोहम्मद भन्दा अगाडि, जिसस क्राइस्ट अनि बुद्ध भन्दा अगाडिको समयको कुरा गरौं, उतिबेला जोरोएस्टर चलन थियो । यो लगभग ३५०० वर्ष अघि इरानको ब्रोन्ज यूगको कुरा गर्दछु जतिबेला एउटा सर्जक भगवानको अवधारणा अघि आयो । जोरोएस्टरनीज्म विश्वको पहिलो मोनोथिएस्टीक धर्म मानिन्छ, मानोथिएस्टीक अर्थात केवल एउटा देवता मान्ने धर्म । सनातन धर्मका श्रृंखला अनि कालहरु इतिहासपूर्वका कुराहरु हुन्, म आज आधूनिक यूगमा मोनोथिएस्टीक धर्मको अवधारणाको त्यान्द्रालाई तान्दै ल्याएर भोलीका भगवानको परिकल्पनासम्मको वर्णन गर्न चाहन्छु । पर्सियन साम्राज्यको यो जोरोएस्टरनीज्म पहिलो आधिकारिक धर्म थियो, मन्दिरको अवधारणा र साझा प्रार्थनास्थलको अवधारणा त्यसपछि आयो ।

हजारवर्षको यस चलनपछि क्रमशः जोरोएस्टर चलनलाई नयाँ इस्लामीक शासकहरुले हटाइदिए अनि इस्लामीक धर्मदर्शनको शुरुवात गराए । अझै पनि थोरै जोरोएस्टरनीज्म मान्नेहरु बाँकी रहेका बताइन्छ, जो आफ्नो धर्मको चलन मानिआएका छन् । धर्महरु हरेक यूगमा जन्मने, हुर्कने अनि मर्ने चलनहरु पहिल्यैदेखि चलिआएको हुन्छ, आज पनि सर्वाधिक मानिएका धर्महरु साँस्कृतिक रुपले कुनै जमानामा जन्म भएका धर्महरु हुन् ।

suyog dhakal
लेखकः सुयोग ढकाल

हरेक यूगमा परिवर्तन भइरहेको धर्महरु अनि सामाजिक परिवेशहरु हेर्दा शायद अब विश्वमा नयाँ धर्मको शुरुवात भइसकेको पो हो कि झै लाग्दछ ।

धर्महरुले आआफ्ना क्षेत्रहरु कायम गर्दै गयो, कतै बलले त कतै प्रवचनले । गौतम बुद्धको चर्चा भारतीयउपमहाद्वीप पारी अहिलेका थाइल्याण्ड पहिलेको सियाम, कम्वोडिया, म्यानमार, अफगानीस्तान लगायत सिल्करुटका धेरै देशहरुसम्म पर्यो । उता वलवान शासकहरुले इस्लामीकरणको एउटा ब्यापक लहर नै ल्याए । अहिलेपनि विश्वको कूल जनसंख्याको ८४ प्रतिशतले आफुलाई धार्मिक आधारमा चिनाउने गरेका छन्, यसका अलावा धर्मकेन्द्रित सरकार अनि राजनैतिक पार्टीहरुको वर्चस्वले गर्दा शासनपद्धति नै धर्मपरोक्ष भइरहेको उदहारण हामीले देखेकै छौं ।

सन् २०१५ को डाटा हेर्दा विश्वमा सर्वाधिक मानिने धर्म भने इसाई धर्म रहेको देखिन्छ, विश्वका कूल ३१.२ प्रतिशत जनसंख्या यो धर्म मान्दछन् भने इस्लाम धर्म २४ दशमलव १ प्रतिशत अनि हिन्दु १५.१ प्रतिशत र बौद्धमार्गिहरु ६ दशमलव ९ प्रतिशत छन् । अमेरिका र इज्रेलमा आधार बनाएर बसेका यहुदीहरु विश्व जनसंख्याको शून्य दशमलव २ प्रतिशत छन् ।

१६ प्रतिशत विश्वका जनसंख्याले भने आफुहरुले कुनै धर्मका आधारमा पहिचान पाएको मननपर्ने बताए । एसिया प्यासिफिक क्षेत्र चाँही ९९ प्रतिशत हिन्दु र बौद्धमार्गीको क्षेत्र रहेको पाइन्छ । इस्लाम धर्मचाँही बिश्व जनसख्याँ वृद्धि दर भन्दा पनि २ गुणाले बढिरहेको तथ्य छ, सन् २०१५ देखि २०३० सम्म विश्व जनसंख्या ३२ प्रतिशतले बढेनेछ भने इस्लाम जनसंख्या लगभग ७० गुणाले बढ्दैछ । हिन्दुहरु २७ प्रतिशतले बढ्ने र यहुदीहरु १५ प्रतिशतले बढ्ने पाइन्छ । चीनमा भने उदेक लाग्दो तवरले इसाई जनसंख्या बढिरहेको पाइन्छ । सन् १९७९ देखि नै हरेक वर्ष १० प्रतिशतले चीनमा इसाई धर्म अनुयायीहरुको जनसंख्या बढिरहेका छन् र यसो भइरहेमा सन् २०३० भित्रमा विश्वको सर्वाधिक धेरै इसाईहरु चीनमा भइसक्नेछन् । उता पश्चिम युरोप तथा आयरल्याण्ड क्षेत्रमा इसाईहरु घट्दो क्रममा छन्, त्यहाँ न्यून मात्रामा हिन्दु र धेरै जसो नास्तीकहरुको जनसंख्या बढ्दो पाइएको छ ।

क्राइस्टको जन्म भन्दा पनि ७००० वर्ष पूर्वको सनातन धर्मलाई बिश्वको सर्वाधिक पुरानो धर्म र दर्शन मानिन्छ, त्यसपछि जुडिज्मलाई पुरानो मानिन्छ जुन क्राइस्टको जन्मभन्दा २००० वर्ष पुरानो हो । हरेक यूगमा परिवर्तन भइरहेको धर्महरु अनि सामाजिक परिवेशहरु हेर्दा शायद अब विश्वमा नयाँ धर्मको शुरुवात भइसकेको पो हो कि झै लाग्दछ । ओशो, प्रभुपादा, विवेकानन्द, नयाँ बुद्ध, रुसका नयाँ क्राइस्ट लगायतका गुरुहरुको अनुयायीहरु बढिरहेको पाइन्छ, भोलीका देवताहरु भनेका आजका त्यस्ता गुरुहरु हुन सक्दछन जस्ले भइरहेको धर्मको दर्शनहरुमा भएको ग्यापलाई सम्वोधन गर्दै नयाँ आयाम र परिभाषा दिन सक्दछन् । विश्वमा धर्म परिवर्तन भएपनि धार्मिकहरुको आचरण र अनुनयमा परिवर्तन भएको पाइन्न । धर्मलाई पहिचानको मुख्य आधार मान्ने र शासनको बागडोरलाई धर्मका आधारमा निर्धारण गर्ने हो भने चाँही विश्वले ठूलै धार्मिक मतभेद र युद्ध देख्न बाँकी छ भन्दा अत्यूक्ति नहोला ।


Loading comments...