हो! उसको मुटु रैछ र मैले भर्खरै उसको मुटु भित्रका भल्भहरू मिलाएँ


नेपालका सुविख्यात हृदयरोग विशेषज्ञ डा. रामेश कोइलारा नेपालको बरिष्ठ कार्डियो थोरासिक र भास्कुलर सर्जन हुनुहुन्छ । यिनको नाम र नेतृत्व मेडिकलपरीधि बाहिर नागरिकको स्वास्थ सेवा पहुँचमा वृद्धि अनि जनस्वास्थका यूगान्तकारी परिवर्तनका कुराहरुका विषयमा बुलन्द आवाजका लागि परिचित छ । नेपालमा हृदयरोग समबन्धी सेवाको पहुँच बिस्तार अनि नेपालभित्रै अन्तराष्ट्रियस्तरको शल्यक्रिया सञ्चालन गरि डाक्टर कोइरालाले हजारौं नेपालीहरुको ज्यान जोगाएका छन् । शहिद गंगालाल हृदयरोग प्रतिष्ठानको सेवा बिस्तार अनि पहुँच अभिवृद्धिमा डाक्टर कोइरालाको योगदान नेपालीहरुले यूगौंसम्म सम्झना गरिरहने छन् । यिनै डाक्टरले चार्ल्स शोभराजको विषयमा लेखेका पुस्तक (Inside the Heart of the Bikini Killer) का केहि कुरा आज लाइभमाण्डुमा हामी गर्दैछौं ।

शोभराजको मुटुको सफल अप्रेशन पछि Jun 12, 2017 मा डा. रामेशले एउटा भावनात्मक ट्वीट गरेका थिएः

“हो! उसको मुटु रैछ र मैले भर्खरै उसको मुटु भित्रका भल्भहरू मिलाएँ। सामान्यरुपमा निको हुँदैछ ।”
— रामेश (@RaameshKoirala)

बिकिनी किलरका नामले विश्वविख्यात अपराधी चार्ल्स शोभराज आफ्नो जिवनको अन्तिम दिनहरु नेपाली कारावासमा बिताइरहेका छन् । नेपाली प्रहरीले उनलाई समात्नुको बहादुरी एकातिर छ भने नेपाली कानुनको सुपुर्दगी सन्धी सम्बन्धी प्रावधानको प्रयोग गर्दे आजिवन कारावासमा बस्ने यिनको रणनिति अनि मृत्यूदण्ड छल्ने यिनको नियती अर्कोतर्फ । बरिष्ठ हृदयरोग सर्जन रामेश कोइरालाले बिरामी चार्ल्सको हृदयको शल्यक्रिया गरेका हुन् । उनकै बिरामी मुटुको उपचार गरेका डा. रामेशले त्यस उपचारक्रमका अनुभूती समेटी लेखेको पुस्तकको नाम ‘इनसाइड द हार्ट अफ बिकिनी किलर’ हो । पुस्तकको कपीराइटमा यस पुस्तकलाई एउटा फिक्शन पुस्तक भनिएको छ । पुस्तकमा डाक्टरले चार्ल्ससँगको भेटलाई ब्याख्या गर्दै आफूले चार्ल्सलाई भेट्दा एउटा चतुर अपराधी नभइकन हतास मनोभाव सहितको कमजोर, तालु खुइलेको मान्छे भेटेको भनी अक्षरस उतारेका छन् । यिनको मुटुको शल्यक्रियाको सफलताको रेट निकै कम भएको सुनेपछि चार्ल्सले आँखाभरि आँशु पारेर केहि दिनलाई शल्यक्रिया पछाडि सार्न गरेका अनुनय पनि पुस्तकमा छ । धेरैजनालाई हत्या गरेर बिख्यात यि हत्यारा आफ्नो बुढ्यौलीमा पनि जीवन र जिजिबिसाप्रति यति मोह राख्ने तवरमा उत्रिएको चार्ल्सको चरित्र अनि अपराधको तुलना फरक पाठकले आ-आफ्नो नजरले गर्न सक्दछन् ।

एउटा भारतीय च्यानलले डाक्टर कोइरालासँग पुस्तकका बारेमा फोन अन्तरवार्ता लिएको पाइन्छ । कोइरालाले हिन्दी भाषामा दिएको अन्तरवार्तामा उनीसँगको पहिलो भेटको प्रशङ्गमा भनेका छन्, “चार्ल्स ७० वर्षका अनि श्वाँस लिन समस्या भएको अवस्थामा रहेका अनि तनावका कारणले जुत्ता पनि चप्पल झैं तुना नलगाई गोडा मात्र छिराएर अफ्ठेरो गरि अस्पताल आएका थिए ।” सन् २०१७ मा “गंगालाल हृदयरोग प्रतिष्ठान”मा यिनको शल्यक्रिया भएको थियो ।

पुस्तकमा चार्ल्सलाई दुतावासबाट फूल अनि उपहारहरु आएको कुरा उल्लेख भएको छ । चार्ल्सले आफ्नो अपरेशन गरेकाले अब डाक्टर कोइराला पनि विश्वमा धेरै चर्चित हुने र विश्वभरिबाट मान्छेहरु यिनीसँग अपरेशन गर्न आउने भनी गफ पनि दिएको डाक्टरले बताएका छन् ।

सन् १९४६ मा भियतनाम मा जन्म भएका चार्ल्सलाई भारतमा सन् १९७१ मा प्रथम पटक गिरफ्तार गरिएको थियो । दिल्लीमा पेट दुखेको भनेर यिनलाई अस्पतालमा भर्ना गरियो तर अस्पतालमा आफ्नी श्रीमती चेण्डललाई प्रहरीहरुसँग तास खेल्न भनेर चार्ल्सले सिपाहीलाई कोठाको बिजुली बन्द गर्न आग्रह गरे र केहि बेरमा फरार भए । चार्ल्सको कुरा गर्ने शैलीको हरेक यूवतीहरु कायल हुन्थे । चार्ल्सको बारेमा एउटा कथन के छ भने जोसँग यिनी बोल्दथे ति यूवतीलाई यिनी सहजै मायाजालमा पार्न सक्ने क्षमता राख्दथे । चतुर अपराधी चार्ल्सले विश्वका अनेकन कारागारका बन्द कोठाबाट भाग्न सफल भएको इतिहास बोकेका छन् । कतिपय कारागार यिनले कसरी तोडेर भाग्न सफल भए भन्ने कुरा अझै रहस्यमयी नै छ । शोभराजको जीवनी समेटिएको एउटा चलचित्र बलिउडमा निर्माण गरियो “मैं और चार्ल्स” जसको मुख्य पात्र थिए रणद्दिप हुड्डा ।

कोइरालाका पुस्तकलाई फिक्शन करार दिइनु अनि शल्यक्रिया अगाडिको यिनको नैतिक दुविधाको चित्रण पढ्दा चाँही पुस्तकको बिवरणहरु घरिघरि पत्यारिला अनि अपत्यारिला पनि लाग्नु स्वभाविक नै हो । के चार्ल्सले आफ्नो बाँकी कारावासमै बित्ने समयलाई त्यति धेरै महत्वकासाथ लिए अनि कोइरालाले पुस्तक लेख्दा चार्ल्सको सहमती लिए या लिएनन आदि जस्ता प्रश्नहरु चाँही पुस्तक पढ्दा दिमागमा आइनै रह्यो । हुन त पुस्तकमा डाक्टरले चार्ल्स मेरो देशमा प्रमाणित हत्यारा भएकाले उस्को बिवरणहरु लेख्न मैले यिनको सहमती लिन जरुरी हुन्न भन्ने आशय पनि अभिव्यक्त गरेका छन् ।

भारतको सर्वाधिक सुरक्षित तिहाड जेलमा चार्ल्स बस्दा जेलर पनि यिनलाई चार्ल्स साहब भन्ने र आदर गर्ने गरेको तथ्य पछि चार्ल्स फरार हुनु पछाडिको कारणहरु खुलाइएको प्रतिवेदनमा पाइन्छ ।

चार्ल्सलाई लागुऔषध ब्यवसाही डेभिड हलले यिनलाई धेरै सहयोग गरेको पाइयो । डेघिड हल तिहाड जेलमा १० वर्षको सजाय काट्दै थिए तर चार्ल्सले यिनलाई जमानतमा छुटाएका थिए र बाहिर आएर डेघिडले चार्ल्सलाई जेल बाहिर भाग्ने योजना बनाए । ‘लार्पोस’ नामको लठ्याउने ट्याव्लेट दहिमा मिसाएर एउटा भोज जेलमा आयोजना गरि सबैलाई बेहाश गराएर चार्ल्सलाई भगाइयो, यसको योजना र व्यवस्थापन डेघिड हलले गरे । त्यसपछि चार्ल्स गोवा गए जहाँ उनेलाई भारतीय प्रहरीले फेरि पक्राउ गर्यो । चार्ल्स कानुनमा विशेष दखल राख्ने मान्छे थिए जो दुई पटक भारतमैं पक्राउ परे, भारतीय प्रहरी सिन्देले बताएका छन् । जेलबाट भागेका कारणले भारतले यिनको सजाय बढायो, थाइल्याण्डले शोभराजलाई मृत्यूदण्ड सुनाइसकेको थियो । फेरि तिहाड जेलमा सजाय काटेर चार्ल्स फ्रान्स गए जहाँ यिनले त्यहाँ धेरै पटक मिडियामा अन्तरवार्ता दिए ।

फ्रान्सबाट चार्ल्स नेपाल आए जुन सन् २००३ को कुरा हो, नेपाल प्रहरीले यिनलाई आएकै वर्ष पक्राउ गर्न सफल भयो । १२ जुन सन् २०१७ मा यिनको बाइपास सर्जरी गरे, ५ घण्टा लामो यस सर्जरी सफल पनि भयो । सर्जरी पछि चार्ल्सले डाक्टरलाई आइसीयूमा कतिवटा शैया छ भने, उत्तरमा डाक्टरले ३६ शैया भनेपछि चार्ल्सले फ्रान्सको दूतावासलाई भनेर थप ३६ शैया थप्न लगाउने बताए । पुस्तकमा चार्ल्सलाई दुतावासबाट फूल अनि उपहारहरु आएको कुरा उल्लेख भएको छ । चार्ल्सले आफ्नो अपरेशन गरेकाले अब डाक्टर कोइराला पनि विश्वमा धेरै चर्चित हुने र विश्वभरिबाट मान्छेहरु यिनीसँग अपरेशन गर्न आउने भनी गफ पनि दिएको डाक्टरले बताएका छन् ।

जसरी पेशेवर सैनिकलाई आफ्नो दायित्व पुरा गर्दा मारेका मान्छेहरुको पछुतावा हुँदैन, जसरी अमेरिकी पाइलटहरुलाई मेरो मातृभूमि भियतनाममा बम खसाएर मारेको सैयौं निहत्था मान्छेहरुको मृत्यू प्रति पछुतावा छैन त्यस्तै मलाई पनि मैले गरेका अपराधहरुको पछुतावा छैन भनी चार्ल्सले एक अन्तरवार्ताका क्रममा बताएका छन् । यिनलाई नार्सिसिस्ट अर्थात आफू केन्द्रित भाव बढि भएको रहस्यमयी मान्छे मानिन्छ, यिनी आफूलाई मान्छे मार्ने अधिकार भएको झुठो विश्वास भएको पाइयो भनी विभिन्न अध्ययन र डकुमेन्ट्रीमा पाइएको छ ।

नेपालमा पनि निहिता बिश्वास नामकी एकजना महिलासँग यिनले विवाह गरे । यही प्रशङ्गले चर्चामा रहेकी निहितालाई भारतको चर्चित टिभी शो बिग वोसमा पनि देखियो ।

सत्य त के हो भने चार्ल्स एक अपराधी हुन्, चतुर चार्ल्सले अपराधको साटो अन्यत्र दिमाग लगाएको भए यिनी शायद आज विश्वमा कुनै बिषयका सिद्धहस्त मान्छे हुनेथिए तर नियतीले यिनलाई हत्या अनि अपराधप्रति मात्र तान्यो । चार्ल्ससँग पहिले झैं फूर्ति छैन, आजभोली भियतनामका चार्ल्सको अन्तिम् दिनहरु सनातन सभ्यताको केन्द्रविन्दु नेपालको अध्यात्मिक शहर काठमाण्डौमा बित्दैछ । चार्ल्स अहिले ७४ वर्षको उमेरमा नेपाली कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरीरहेका छन् ।

Photo Source: Twitter/@RaameshKoirala


Loading comments...