नेपालगञ्जमा विधि विज्ञान प्रयोगशाला तथा नि:शुल्क परामर्श केन्द्रको उद्‍घाटन


बाँके, २२ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालगञ्जस्थित नवनिर्मित प्रहरी विधि विज्ञान प्रयोगशाला कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।

साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले नेपाल प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि संचालित कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्रको संयुक्त रुपमा उद्‍घाटन गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागूऔषध कारोबार नियन्त्रण गर्नका लागि स्थानीयको सहयोग अत्यन्त्तै जरुरी रहेको उल्लेख गर्दै लागूऔषधको कुलतबाट जोगाउनका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक सडक नाटक, अन्तरक्रिया जस्ता कार्यक्रम संचालन गरिएको बताउनुभयो । स्कुल, कलेज र अस्पताल क्षेत्रको १ सय मिटर वरपर जथाभावी मदिराजन्य पदार्थ विक्री वितरण नियन्त्रण गर्नका लागि नागरिक समाजसँग मिलेर विभिन्न कार्यक्रम संचालन गरी यस्ता पदार्थ सेवन गर्न निरुत्साहित गरिने उहाँले उल्लेख गर्नुभयो ।

लागूऔषध कारोबारी विरुद्ध कानुनी कठोरता र विवेकपूर्ण निर्ममता सहित प्रहरी कर्मचारी प्रस्तुत हुनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले स्थानीय तहको सहकार्य समन्वय र सहयोग मार्फत नेपाल प्रहरी विगत १५ वर्षको तुलनामा यस वर्ष सबैभन्दा धेरै लागूऔषध बरामद तथा संलग्न व्यक्तिहरु पक्राउ गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा कार्यक्रमका सभाध्यक्ष नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित सवै स्थानीय तह मिलेर सेवा केन्द्रलाई सफल बनाउदै अझै सुदृढीकरण गर्दै लैजान पहल गर्ने बताउनुभयो । नेपाल प्रहरी र स्थानीय तह मिलेर समाजमा विकृति, विसंगति नियन्त्रण गर्न आगामी दिनमा रचनात्मक काम गर्दै जाने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर ओलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा टेक्निकल सपोर्ट टिमका प्रमुख प्रहरी निरीक्षक ई. दिपक केसीले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपाल उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष नन्द लाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु र परामर्श कर्ता दिपेन्द्र कुमार जोशीले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारको नियमित बजेटबाट कूल २ करोड ८२ लाख ३१ हजार ६ सय ७० रुपैयाँ ४७ पैसाको लागतमा उक्त विधि विज्ञान प्रयोगशाला कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको हो । साथै पुरानो अन्चल प्रहरी कार्यालयको स्वामित्वमा रहेको भवनलाई पूर्ण रुपमा मर्मत सम्भार गरी एक हप्ताभित्रै करिब १० लाख रुपैयाँको लागतमा साधन सम्पन्न रुपमा उक्त परामर्श केन्द्र तयार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त कार्यक्रममा लागूऔषध परामर्श केन्द्र सम्बन्धि कार्यविधि बमोजिम जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकावीच सहमतिपत्रमा हस्ताक्षर भई उक्त सहमतिपत्र आदान प्रदान समेत गरियो । ‘लागूऔषधमुक्त गाउँ शहर जनता र प्रहरीको रहर, बस्तुनिष्ठ अपराध अनुसन्धान मानव अधिकारको सम्मान’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षकहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, बाँकेस्थित लागूऔषध रोकथामका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

तस्वीर तथा समाचार स्रोतः नेपाल प्रहरी


Loading comments...