Lifestyle Portal
  •   २२ मंसिर २०७८, बुधबार

नहारेका लेखकः लीलासिंह कर्मा

१५ फाल्गुन २०७६, बिहीबार २३:०१

लीलासिंह कर्मा भन्थे, ‘जातलाई होइन विचारलाई सम्मान गर ।’ यही आदर्शमा बाँच्न चाँहदा उनी जीवनभरि शक्ति, पैसा र अवसरका पछि लागेनन् । त्यसैले त्यस बेला यिनको त्याग, योग्यता र निष्ठाको कदर भएको पनि थिएन । उनका साथीहरू कोही मन्त्री, कोही माननीय र कोही प्राज्ञ बनेका थिए । तर उनी हात जोड्दै कहीँ गएर कुप्रो परेनन् । भोकले पेट दोब्रिदा पनि उनी भन्थे ‘अपमानित भएर बाँच्न हुँदैन ।’

नेपाली परिवेशमा कर्माले आफ्नो कर्तव्यलाई साक्षी राखेर एकोहोरो काम गरेका थिए । बहुआयामिक भए तापनि उनले म यो र म त्यो भनेर कहिले आफ्नो डम्फू बजाएनन् । जीवनमा जस्तै दुक्ख पर्दा पनि बरु उनी अँध्यारोमा नै बसे तर कसैसँग झोला थाप्न पुगेनन् ।

लेखकः नरेन्द्रराज प्रसाई

बाल्यकालदेखि नै कर्माले शारीरिक परिश्रम पनि गरे । त्यति बेला यिनले आफ्नो र पर्राईको मेलापातको काम गरे, दाउराघाँस बोक्ने काम गरे र गाईबस्तु चराउने पनि काम गरे । वास्तवमा मिहेनत उनको जीवनको सग्लो प्रमाणपत्र थियो ।

२००७ सालदेखि कर्मा नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए । राजनीतिमा उनको आफ्नो गच्छेनुसारकै वर्चस्व थियो, साहित्यमा पनि उनको आफ्नो विशिष्ट योगदान थियो र पत्रकारितामा पनि उनी अब्बलदर्जामा स्थापित भए । उनले फोहोरी राजनीति खेलबाट युवावस्थामा नै खुट्टा झकिेका थिए । अनि त्यति बेलादेखि उनी बाँचुन्जेल नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि मात्र समर्पित भइरहे । साथै उनले आफ्नो निष्ठाको पेसा पत्रकारितालाई पनि पछिपछि र निक्कै पछिसम्म पनि समातिरहेका थिए । वास्तवमा २०१७ सालदेखि उनले राजनीति सिद्धान्तको भारी फुत्त फालेर उनी स्वतन्त्र रूपले हिंडेका थिए

कर्माको जन्म १९९३ साल जेठ १७ गते सिन्धुलीगढीमा भएको थियो । यिनका बुबा भीमबहादुर कर्माचार्य र आमा महालक्ष्मी कर्माचार्यका आठ जना छोराछोरीमध्ये यी माइला थिए । त्यो घन्चमन्च परिवारभित्र यिनको पनि व्यक्तित्व विकास गर्ने ठाउँ थियो तर सानैमा रोगाएर हरेक मौकाबाट यी बन्चित हुँदै गएका थिए ।

कर्मा जन्मँदै रोगी थिए । त्यसैले जिन्दगानीको आरम्भदेखि नै उनलाई उच्च रक्तचापले समाएको थियो । साथै २०१७ सालदेखि उनलाई पक्षघात पनि भएको थियो । त्यो घातले उनको देब्रे खुट्टोमा जरा गाडेको थियो । त्यसैले जीवनमा उनले दुक्खैदुक्खको यात्रा गरेका थिए ।

वास्तवमा उनी हिँड्दैजाँदा जेजस्तो चमत्कार देख्थे त्यस्तैत्यस्तै बिम्ब समाएर निबन्ध, गीत र प्रबन्ध लेख्थे । कसैले माया गरेको छ भने उसका बारे पनि कनिकुथी केही न केही लेखिदिन्थे । वास्तवमा उनी कसैको कुनै प्रकारको ऋण थाप्लोमा बोक्न नै चाहँदैन थिए ।

बाल्यकालदेखि नै कर्माले शारीरिक परिश्रम पनि गरे । त्यति बेला यिनले आफ्नो र पर्राईको मेलापातको काम गरे, दाउराघाँस बोक्ने काम गरे र गाईबस्तु चराउने पनि काम गरे । वास्तवमा मिहेनत उनको जीवनको सग्लो प्रमाणपत्र थियो । त्यही प्रमाणपत्र बोकेर उनले आफ्नो पूरै भौतिक जुनी तुरेका थिए ।

कर्मा प्रौढ विचारले खारिएका थिए । त्यही कारणले उनले कसैप्रति पूर्वाग्रह पनि राखेनन्, कसैसँग आशा पनि गरेनन् र कसैलाई दुक्ख दिने प्रयास पनि गरेनन् । तर उनले चाहिं पीडैपीडामा भौतारिनु परेको थियो, अभावैअभावमा रन्थनिनु परेको थियो र समस्यैसमस्यामा लुकामारी खेल्नु परेको थियो । उनका छातीमा जति हुरी चले पनि, जति आँधी आए पनि र जति असिना बर्से पनि उनले त्यो बेहोरा कसैसामु पोखेका थिएनन् ।

कर्माको जीवनको मूल सिद्धान्त मानवतावाद थियो । त्यसैले उनले जीवनमा सकेको अर्काको उपकार गरिरहे । उनी कसैको खोइरो खन्ने र जरा काट्ने प्रवृत्तिको विरोधी थिए । त्यसैले उनी नेपाली साहित्य र पत्रकारितामा मात्र एकनिष्ठ भएर लागिरहे ।

कर्माले दुक्ख सुक्खले पढेका थिए । सकेसम्म उनी आफ्नै खुट्टामा उभिन पनि खोजे र आफूलाई पार लगाउन पनि सफल भए । त्यही रीतमा डुब्दाडुब्दै उनले बनारसबाट स्नातक पनि उत्तीर्ण गरेका थिए ।

आफ्नै खुट्टामा टेक्ने हिसावमा कर्माले सिन्धुलीको खनिया खर्कको प्राथमिक स्कुलमा शिक्षण गरे । त्यसपछि २०१८ सालमा उनी राष्ट्रिय समाचार समितिमा प्रवेश भए । उनले निरन्तर त्यही संस्थामा रहेर काम गरे । अनि २०५३ सालदेखि उनले रासस छाडेका थिए ।

कर्माले लोकबहादुर बोगटीकी छोरी शारदासँग प्रेम गरेका थिए । अनि २०१८ सालमा उनीहरूले एकअर्काको घरको मञ्जुरीविनै विवाह गरे । त्यसपछि झन् यिनको जीवनम आर्थिक कष्टले रन्थन्याउनु रन्थन्याएको थियो । अनेक कसरत गरेर यिनले आफ्नो जीवनवृत्ति चलाएका थिए । त्यसैवीच यी दम्पतिले उत्तम, उषा र उमा जन्माए । यी दम्पतीले तीनै जना सन्तानलाई उच्च शिक्षा पनि दिए र क्रमशः उनीहरूले पनि आमा बुबाको सेवा गर्न थालेका थिए ।

कर्माले नेपाली भाषा साहित्यमा १२ वटा ग्रन्थहरूको प्रकाशन गरे । उनी रचित गीतसङ्ग्रह चारवटा प्रकाशनमा आए । युवावस्थासम्म उनी गायक पनि थिए । उनका केही गीत रेडयो नेपालमा रेकर्डिङ पनि भए । साथै उनले लोक साहित्यमा पनि नाउँ कमाएका थिए । त्यसबारे उनका तीन वटा कृति प्रकाशनमा आए । उनले निबन्ध विधाका ५ वटा कृति लेखेका थिए ।

कर्मा अति सादा भएर हिँड्थे । उनको पहिरन पनि सादा नै हुन्थ्यो । उनी बोल्दा पनि सादा बोल्थे । उनी अहङ्कार र घमण्डलाई मन पराउँदैन थिए । उनी आफ्नो काम लुरुलुरु गर्थे । उनको जीवनको सबैभन्दा ठूलो गुण उनी फलको आशा गर्दैन थिए ।

कर्माले आफ्नो अति नाजुक आर्थिक अवस्था सुधार्न सकेनन् । तर त्यस्तो विकट परिस्थितिसँग जुधेर पनि उनले आफ्नो लेखकीय व्यक्तित्वको नेपाली समाजमा टड्कारो परिचय दिएका थिए । वास्तवमा उनी हिँड्दैजाँदा जेजस्तो चमत्कार देख्थे त्यस्तैत्यस्तै बिम्ब समाएर निबन्ध, गीत र प्रबन्ध लेख्थे । कसैले माया गरेको छ भने उसका बारे पनि कनिकुथी केही न केही लेखिदिन्थे । वास्तवमा उनी कसैको कुनै प्रकारको ऋण थाप्लोमा बोक्न नै चाहँदैन थिए ।

कर्माले युनेस्को पुरस्कार, साझा लोकसाहित्य पुरस्कार, रासस स्वर्ण्र्ााक, सुनकोशी साधना सम्मान पनि पाएका थिए । साथै २०५५ सालमा यिनलाई देवकोटा प्रतिष्ठान (हाल त्रिमूर्ति निकेतनमा समाहित) ले आफ्नो आर्थिक गच्छे अर्पण गरेर विद्वतवृत्ति प्रदान गरेको थियो ।

उत्तरार्धमा कर्मा आफ्नो घर जनकपुरको बरमपुरीमा बस्तै आएका थिए । त्यसै बेला उनलाई हृदयघात भयो । उनी २०५८ साल फागुन २५ गते आफ्नै जन्मगृहमा स्वर्गीय भए ।

—-
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाईभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच