नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाण्डौमा


काठमाडौं । शालिन कुटनीतिज्ञको छवि बनाएका मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले नेपालमा नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रालाई काठमाडौ पठाएको छ । क्वात्रालाई भारतीय विदेश मन्त्रालयले जनवरी ३० मा नेपालका लागि राजदूत नियुक्तिको निर्णय सुनाएको थियो । उनै क्वात्रा फ्रान्सबाट कतार हुँदै आज (आईतवार) बिहान ११ बजे कतार एयरवेजकोको फ्लाइट Qr-652 बाट काठमाण्डौ आइपुग्नुभएको हो।

वहाँलाई त्रिभूवन विमानस्थलमा भारतीय दूतावासका डिसिएम अजय कुमारले स्वागत गर्नुभयो ।

तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् । क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ ।

क्वात्राको संक्षिप्त जीवनी

क्वात्रा सन् १९८८ समूह (ब्याुच) बाट लागि भारतीय विदेश सेवामा प्रवेश गरेका अधिकृत हुन् । काठमाडौं आउनुअघि उनी फ्रान्समा राजदूत थिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्ता संयुक्त राष्ट्र संघका विभिन्न अंगमा पनि काम गरेका छन् । चीन र अमेरिकामा भारतीय कूटनीतिक नियोगलाई सफल रुपमा उभ्याउन उनको उल्लेख्य योगदान छ । भारत र क्यानडा सम्बन्धलाई पनि उचाईंमा पुर्याउन भूमिका खेलेका थिए । जेनेभामा मानव अधिकार आयोगमा कार्यरत रहँदा उनले ग्रेजुएट स्कूल अफ इन्टरनेशनल स्टडीजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरे। दक्षिण अफ्रिका र उज्बेकिस्तानमा कूटनीतिक मिसनहरूमा पनि उनले काम गरेका छन्।

उनसँग भारतमा आतंकवाद विरोधी विभागका इन्चार्ज र प्रधानमन्त्री कार्यालयमा सह सचिवको पद सम्हालेको पनि अनुभव छ ।

क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् ।

क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व पनि गरे । विदेश मन्त्रालयमा अमेरिका डिभिजन प्रमुखका रूपमा काम गरे, जहाँ उनले संयुक्त राज्य अमेरिका र क्यानडासँग भारतको सम्बन्धहरू सम्हाले ।

क्वात्राले व्यवसाय प्रशासनमा स्नातकोत्तर र अर्थशास्त्रमा एमफिल डिग्री गरेका छन्। पूजासँग विहे गरेका क्वात्राका दुई छोरा छन् ।


Loading comments...