घलेका पाउमा प्रसाईको हात


नेपाली साहित्यका साधक नरेन्द्रराज प्रसाईले हरेक वर्ष पूर्वराज्यमन्त्री भद्रकुमारी घलेको मोजा आफ्नै हातले फेरिदिन्छन् ।

“नेपाल राष्ट्रकी गौरवी नारी पूर्वराज्यमन्त्री सुश्री भद्रकुमारी घलेको ८९ औं जन्मदिनको शुभकामना चढाउछौँ” सर्वप्रिय सम्मानित स्रष्टा जोडी नइ (नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई)ले आज नेपाली साहित्यिक संस्कारको गरिमा र उचाईको प्रतिनिधित्व गर्ने गौरवी तस्वीर सहितको शुभेक्षा सार्वजनिक गर्नुभएको छ ।

जसमा नइका ‘न’ अर्थात् नरेन्द्रराज प्रसाईकी आमाको नाउँमा लेखिएको जीवनी पुस्तक “मेरी आमा भागीरथा प्रसाई” को पृष्ठ १३४ मा सम्मिलित एउटा प्रसङ्गलाई साहित्यकार गोपीकृष्ण प्रसाईले खिच्नुभएको तस्विर सहित बडो हर्षका साथ नरेन्द्रराज प्रसाईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो ।

नरेन्द्रराज प्रसाई लेख्नुहुन्छ-
हाम्रो घरमा पाहुनापासा आइरहेको मेरी आमालाई धेरै मन पर्थ्यो । घरमा कोही आए भने उनी श्लोक गाएर पाहुनाको स्वागत गर्थिन् ।

हाम्रा घरमा आउनेमध्ये भद्रकुमारी घलेको मेरी आमाले नाउँ लिइरहने गर्थिन् । उनी प्राय: हरमहिना मेरी आमालाई भेट्न आउने गर्थिन् । आमाका लागि कहिले खास्टो, कहिले गम्छा र कहिले मोजा उपहार लिएर आउने गर्थिन् ।

आमाले लगाइरहेको मोजा फुकाएर उनले मेरी आमाका गोडामा आफ्नै हातले मोजा लगाइदिने गर्थिन् । मन्त्री भइसकेकी नारीले त्यति सारो आदर गरेको बेहोरा मेरी आमाका लागि झनै खुसीको घटना हुन्थ्यो । अनि मेरी आमाको शेषपछि मैले पनि हरसाल भद्र दिदीको जन्मदिन भनौँ फागुन १९ गते उनैका घर गएर उनले लगाएको मोजा मेरै हातले फुकाएर म उनका खुट्टामा मोजा लगाइदिने गर्न थालेँ ।

••
प्रथम विश्वयुद्धमा सामेल भएका योद्धा नैनसिंह हजूरियाकी नातिनी सुश्री भद्रकुमारी घलेको जन्म वि.सं. १९८८ सालको फाल्गुण १९ मा काठमाण्डौको डिल्लीबजारमा भएको थियो । पञ्चायतकालीन समयमा श्रम तथा समाज कल्याण राज्य मन्त्री बन्नुभएकी घले बहुदल तथा गणतन्त्रकालीन मन्त्री र नेताहरुभन्दा माथिको सामाजिक सोचले ओतप्रोत व्यक्तित्व हुनुहुन्छ । उहाँ तत्कालीन राष्ट्रिय पञ्चायतको माननीय सदस्यमा सिन्धुली जिल्लाबाट लगातार ५ पटकसम्म्म निर्वाचित हुनुभएको थियो ।

भद्रकुमारी घले शुभजन्मोत्सव समारोहमा नइले आज विशिष्ठ समाजसेवी, सुप्रसिद्ध राजनीतिज्ञ, वरिष्ठ साहित्यकार तथा चित्रकार भद्रकुमारी घलेलाई अबदेखि “नेपाल राष्ट्रकी गौरवी नारी” भनेर सम्बोधन गर्न सबैमाझ आह्वान गर्नुभयो ।

‘लाईभमाण्डू’ परिवारका तर्फबाट समेत सुश्री भद्रकुमारी घलेको सुस्वास्थ्य तथा दीर्घायुका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।


© सन्दर्भ सामाग्री साभार: मेरी आमा भागीरथा प्रसाई (२०७६); पृष्ठ १३४, लेखक : नरेन्द्रराज प्रसाई, प्रकाशक: नइ प्रकाशन ।


Loading comments...