पूर्व प्रहरी नायब महानिरीक्षक शाहसमेत चार जना उपर आर्थिक अनियमितताको मुद्दा


तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२।०१।२७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति २०७२।०९।२२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनादेखिको तलव/भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा उक्त तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्र.ह. केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनाको तलव/भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१,८८,४६८/- र मिति २०७२।१०।१८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलव/ भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको बढी रु. १,४९,६१६/८८ (एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा) गरी जम्मा रु. ३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाई नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित हुन आएकोले निज आरोपितहरु महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरु तथा केशव सिंह ऐरीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको प्रमाणित भएकोले निजहरुले हिनामिना हानिनोक्सानी गरेको बिगो रु.३३,३८,०८४/८८ (तेत्तीस लाख अठतीस हजार चौरासी रुपैयाँ अठासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९को दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको बिगो रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।

साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाईमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेको तथा सरुवा तथा नयाँ नियुक्ति भएका प्रहरी कर्मचारीको पत्रहरु नहेरी खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज सन्जिब बिशंखेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको हुँदा निज सन्जिब विशंखेलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।


Loading comments...