रुन्चे चोक अनि नेपालका ज्वाँई


कथाहरु पुराना हुन्छन् र त्योसँगै पात्रहरुपनि पुराना हुन्छन्, कथा भन्ने वाचकको वाणी पुरानो हुन्छ र सुन्ने श्रोताको कान पुरानो हुन्छ तर भोग्नेका भोगाई र पिडाहरु कहिल्यै पुरानो हुँदैनन् । आज एउटा पुरानो कथा छ, पुरानै पात्र छन्, उनको भोगाई छ र ती भोगाईहरु उनका लागि सधैँ ताजा हुनेछन् ।

पुर्वी नेपाल, झापाको दमकमाथी बेलडाँगी शिविर नम्बर २ को रुन्चे चोक यो कथाको एउटा अध्याय छिटै समापन भएर दोश्रो अध्यायमा प्रवेश गर्नेछ, हुन त हरेक भुटानी शिविरमा रुन्चे चौक छ तर आज बेलडाँगी २ कै रुन्चे चोकको कुरा गर्छु किनकि यी मेरा अनन्यपात्र २५ बर्षअघि भुटानको सबग जिल्लाको सुरे भन्ने ठाँउबाट भारतहुँदै भोकै प्यासै हन्डर खेप्दै आफ्नो माटो छोडेर आमा, भाई र बहिनीसहित आएर बसेका हुन् । भुटानी शरणार्थीहरुलाई तेश्रो मूलुकको आवास ब्यस्थाभएपछि केहि चोकहरु रुन्चे चोक भए जहाँ बिहानै बिदेशिने पालो आएका भुटानीहरु सपरिवार कागजपत्रसहित मलिन अनुहार बनाँएर उभिन्छन, आँखाभरि आशुँ हुन्छन, आफन्तहरु छोड्न आउँछन र लिन आएको मिनीबसमा बसेर आफ्नो निर्धारित गन्तब्यतर्फ लाग्छन् । उपस्थित सबैजना रुनेभएकाले यस्ता चोकको नामनै रुन्चे चोक रहन गयो ।

मैले जिवनमा देखेको प्रथम बिदेशी यिनै भुटानी सर हुन जस्को आज म कथा उक्काउँदैछु, मलाई अचम्म लाग्थ्यो कि हामी नेपाली जस्तै देखिने, नेपाली बोल्न सक्ने, हातले भात खान आउने आउने र खैरोकपाल नभएको मान्छे कसरी बिदेशी भयो भनेँर ?

उतिबेला म सानैथिँए तर आजपनि मलाई भुटानीहरुलाई कसैले शरणर्थी भन्यो भनेँ रिस उठ्छ शायद उनिहरुसँग हिमचिम बढी भएर होला, मेरो गाँउमा करिब २० बर्ष अगाडी आएका यी भुटानी मेरालागी शरणार्थी हैनन, मेरा परिवार हुन जस्तो लाग्छ ।

तुलनात्मक रुपमा राम्रो अँग्रेजी भएका हुनाले भुटानीहरुले शिविरवरपरका जिल्लाका अँग्रेजी बिधालयहरुमा शिक्षकको काम पाए, फेरि यिनीहरु सस्तोमा काम पनि गरिदिन्थे, परिवारका मान्छे गनेँर दिएको राशनले मात्र पनि त यिनीहरुको गुजारा चल्न पनि त कठिन थियो ?

नेपालका अँग्रेजी बिधालयहरुको संस्थागत बिकासमा भुटानीहरुको पनि योगदान छ, हाम्रो गाँउमा पनि यी भुटानी आफै आईपुगे या बोलाईयो त्यसबिषयमा मलाई जानकारी भएन तर गएको २० बर्षमा उन्ले हजारौलाई ए, बि, सि, डी सिकाए, क ख ग पढाए र टु वान जा टु नि याद गराए । उनि आँउदा यूवा थिए, एउटा झोला, गितार र केही किताबरु बोकेर आएका उनि आज जाने बेलामा हामीसबैको माया, सम्झना र २० बर्षको तितामिठा अनुभव लिएर जाँदैछन् । यो बिस बर्षमा उनि हाम्रो समाजको अभिन्न अगं भईसके, नेपाली महिलासँगै प्रेमबिवाह गरे, छोराछोरी पनि भए, समय बित्दै गयो उन्ले ए, बि,सि,डी, क ख रा र टु वान जा टु देखी ट्वान्टी वान जा सम्म हरेक बर्ष नयाँ पुस्तालाई घोकाँउदै गए । गाँउका ठूला साना सबैले उन्लाई सर भन्थेँ, सर एउटा गज्जबको संबोधन बनाएका रहेछन अंग्रेजहरुले, मेरा हजुरबुवा, बुवा र म तिनपुस्ताका तिनजनाले उनिलाई एउटै सम्बोधनले काम चलाउथ्यौँ ।

सर स्कूलका केटाकेटीहरु हरेक बिहान राष्ट्रगान गाँउदा ति सरले अरु शिक्षकहरुजस्तो छाती तन्कार स्वर मिलाएको कहिल्यै देखिन तर नहल्लीकन उभिन्थे शायद आफ्नो देश संझन्थे होला जस्तो लाग्छ ।

क्रिकेटका शौखिन उनि अस्ती टी २० फाईनलमा वेस्ट ईन्डिज र ईंगल्यान्डको म्याचहेर्दै थिए, उनि वेस्ट ईन्डिजका फ्यान त्यो टीमले जितेपछि मख्ख पर्दै थिए, क्रिकेट खासै नबुझ्नेभएपनि मैले उन्को समर्थनमा समर्थन जनाउँदै वेस्ट ईन्डिजकैलागी ताली बजाँए । मेरो मनमा एउटा बिचार आयो कि कुनैदिन भुटान र नेपालबिच म्याच भयोभनेँ चाँही म नेपाललाई ताली बजाउँछु र उनि भुटानलाई, त्यतिबेला हामी फरक ढंगले प्रस्तुत हुन्छौँ होला भनेँर ।

मनमनै सोँचे कि नेपाल र भुटान बिच यसरी कुनै खेलको प्रतिस्पर्धा नहोस र दोश्रो यदि भईनैहालेपनि क्रिकेटमै चाँही नहोस र तेश्रो क्रिकेटमै भएपनि कम्तीमा नेपाल र भुटान बिचको म्याच यी भुटानी सरसँग हेर्न नपरोस, यिनी पक्कै भुटानको समर्थन गर्नेछन्, त्यो गेम अगाडीको राष्ट्रगानमा उभिनेछन र म नेपाली सधैँ नेपालकै समर्थन गर्नेछु, उन्को जित मेरो हार वा मेरो हार उनको जीत नहोस, हाम्रो पहिचानले हामीबिच खाल्डो नल्याओस भनेर ।
भुटानमा जन्मेर नेपालमा कर्मथलो भएका उनिसँग अन्य थुप्रै कुराहरु थिए जस्तै भुटानका सम्झनाहरु, देश छोडेर भाग्नुपर्दाको पीडाहरु, भविष्यप्रतिको अन्यौल र एउटा थोत्रे गितार अनि केहि गितहरु ।

उनका भाइ कहिलेकाँही भित्तामा झुन्ड्याईएको गितार निकालेर ट्यून मिलाउँथे र गाउँथे अाफ्ना गीतहरु अनि शुरु हुन्थ्यो त्यो कथा अनि त्यो ब्यथा जुन उनका लागी कहिल्यै पुरानो हुनेछैन ।

ब्याकग्राउन्डमा लाईभ गीत बजिरहँदा हाम्रो आधा मुड सङ्गीतले बनाईसकेको हुन्थ्यो र बाँकी आधा मुडमा रंग थप्थ्यो होम मेड राईस बियर यानेकी छ्याङगले ।

तपाईँले नेपाली चेली बिहेगरेकाले परिभाषगत हिसाबमा तपाईँ हामी नेपाली यूवाहरुको भिनाजु अनि म्याडम हाम्रो दिदी, म जोक गर्थेँ । हामी हाँस्थ्यौँ, गीत बज्थ्यो, मैले ति सरका भाईले बिहान या दिँउसो गितार बजाको र भुटानका यादहरुमा रुमल्लिएको कहिले देखिन शायद देशको मायाले साँझमा धेरै सताँउछ होला ? एकफेर बिदेशिएका हाम्रा नेपाली दानुभाई दिदी बहिनीलाई नि यो कुरा सोध्न छ, के साँझ परेपछि मादलुको ताल र नेपालको याद अझ धेरै आउछ ?

उनिहरु सुरे गाँउमा हुनेखाने परिवार थिए, मज्जाको ठुलो तल्लेघर थियो, उन्लाई प्रष्टै याद छ । तर शारचोप्सहरुले हामी नेपालीभाषी लोथसाम्पासहरुलाई रातारात भगाए, हतार हतारमा बाँधेको पोकामा अलिकति चिउरा, अचार र केहि कपडाहरुमात्र हाल्न पाईयो, जंगलको बाटो हुँदै आर्मीका गाडीहरुसँग छल्दै उनिहरु पश्चिम बंगाल छिरे र सन १९९१ मा नेपाल आएर बेलडाँगी शिविरमा बसेका हुन् । यहाँ आएर शिविरमा दिएको थोरै राशनले पेटभरि खान नि पुग्दैनथियो, बाँसको सानो घर, कुचुक्क ठाँउ, अहिलेको भुटानी शिविर भएको ठाँउमा सारै हात्ति लाग्थ्यो, राती राती केटाहरु राँको बालेर तयार बस्थ्यौँ, उनि सुनाँउछन। उता भुटानमा पनि जगंलछेउ घर थियो, धनुषबाँडले जनावरहरुको शिकार गरेका कथाहरु पनि छन उनिसँग । बुवा उतै भुटानमा हुँदै बित्नुभएको रहेछ उन्को आमा पनि बुढी भईसक्नुभयो करिब ६७ बर्ष ।

भुटानी शरणर्थीहरुलाई तेश्रोमुलुकमा पुर्नवास प्रक्रिया शुरु हुँदा उनिहरुे भुटान जान्छौ नत्र अरु देश जाँदैनौ भनेर बसेका थिए तर बिस्तारै भुटान फर्किने आशा हरायो । उन्ले थपे उनिहरुको आफन्त एकजना भुटानमै बसोवास गरिरहेको र उनि मार्फत् भुटानका कुराहरु सुटुक्क थाहाभए पनि अबभनेँ भुटाननै फर्किने आशा धेरैनैे कम भएको उन्ले बताए ।

एकफेर वहाँहरुको निम्तोमान्न म बेलडाँगी पुगेको थिँए, वहाँको आमा र बहिनी सँग नि भेट भयो, अमालाई कन्भिन्स गरेर अमेरिका लिएरजानपाए भन्ने छोराहरुको चाहना थियो, आमा मान्नुहुन्न बरु तपाँईले कन्भिन्स गरिदिएहुने भन्ने मसँगको अपेक्षा थियो । सानो सानो एकैखाल्का टहराहरु झुरुप्प एकैठाँउमा तरपनि असाध्यै सफा र चिटीक्क गरि राखेको । अनि आमा अमेरिका नजाने त ? मैले प्रश्न गरेँ जवाफमा आमाले लैजान्छन भनेँ भुटान जान्छु नत्र अमेरिका नजाने कुरा गर्नुभयो । चाउरी परेको अनुहार, बेदनायूक्त स्वर तर भुटानफर्कने त्यो उत्कट चाहना मैले सराहना गरेँ, मैले कन्भिन्स गर्न सकिन बरु आमाको स्वदेश फर्कने ईच्छाशक्तिदेखेर म आफूनै आमाको तर्कप्रति कन्भिन्स भएँ ।

मेरा एकजना विदेशी हेलिकप्टर पाईलट साथी नेपालमा कार्यरत हुँदा चिनजान भएका थिए र भर्खरै उनि भुटानमा कार्यरत छन, उनको दिनहुँजसो भुटानको आकाशमा उडेको दृश्यहरु फेसबुकमा पोस्ट हुन्छन र म हतार हतार ती फोटाहरु डाउनलोड गर्छु र ती सरलाई पठाँउछु, त्यहि हो तिनको देश, तिनको भुमी र आमालाई पनि देखाउनु है भन्न भुल्दिन ।

ती बुढीआमा जस्लाई जीवनसँग कुनै मोह छैन तर मृत्युसंगको लालसा छ, मृत्यू एउटा सत्य हो तर मृत्युसँग जोडिएको अभिलासा सुनेर म छक्क परेँ, भुटानी आमालाई जिन्दगीको अन्तिम् ईच्छा भुटानमै गएर मर्नु हो । किनकि वहाँको श्रीमानलाई त्यहिँ माटोमा पुरेर आएको, वहाँका बाल्यकालका सखि, सङ्गीनी, छिमेकि सकल याद उतै छ । हामी नेपाली बोल्नेहरुले त्यतिबेलापनि भुटानमा केहि नराम्रो काम गरेका थिएनौँ तर पनि ट्रकमा हालेर, कुटेर, पिटेर, मार्दै हाम्रा दाजुभाईलाई भगाईदिए अब यहाँबाट धेरै जसो विदेश जाने गईहाले बाँकी हामी जस्ता बुढाबुढीलाई मर्नको लागि भएपनि भुटान छिर्न दिए हुने वहाँले भन्नुभयो ।

आमासँग कान्छो छोरा र छोरी नेपालमै बस्ने भए, जेठा छोरा हाम्र्रा सर सपरिवार अमेरिकाको पेन्सिलभिनिया जाने भए, केटाकेटीहरु मख्ख छन बिदेश जानलाई, नेपालकी चेलीका गह त्यति ओभाना छैनन । सर त लोग्नेमान्छे भएकाले पनि गह ओभानै राख्न कर लाग्यो तर उन्कोपनि मनभित्रको हुन्डरि बुझेको छु मैले ।

अस्ती पारि गाँउमा बिदेश गएको एउटा भाई, सरको बिधार्थी बिदेशमै बितेछन । काठको बाकस खोल्दा हामीपनी पुगेका थियौँ, सान्तवना दियौँ । आफूले पढाएका बिधार्थी भएकाले त्यो दृश्य उन्लाई त्यति सहज भएन, यस्पाला बिदेश जानअघि शुक्रबारको हाटमा सरलाई दिँउसै गुड मर्निगंसर भनेर लाजले जिब्रो टोक्दै फेरि सरि गुडआफटरनुन सर भनेँको किस्सा सुनाँए सरले, पढ्नका त भुस्कोलनै हो तर भनेँको असाध्यै टेर्ने थियो रे ।
सरका अनुसार यहि गाँउमै पनि उन्ले सपरिवार ट्युशन र स्कूल पढाएर राम्रै आय गरेका छन्, अर्कैको नाममा भएपनि मोटरसाईकल किनेका छन, खान लाउन पुगेकै छ, यसरी बाकसमा बिदेशबाट फर्किनु भन्दा त गाँउमै केहि गरे यहाँ नि राम्रै छ । सरको कुरा जायज लाग्यो ।

हाईस्कूल सकाएर आएका प्रवासी सरको कलेज पढ्ने ईच्छा नेपालले पुरा गर्न सकेछ तर अमेरिका गएपछि छोराछोरीलाई सक्दो पढाउने ईच्छा छ तिन्को । अमेरिका गएर बरुहामी दुई पा्रणी काम गछौँ तर छोराछोरीहरुलाई चाँही बढाउनेमात्र भन्ने उन्को ईच्छा छ, रामजाने अमेरिका कस्तो छ ? अमेरिकामापनि मेरा यी सरले यहाँजस्तो छिमेकि, गाँउले र समाज पाँउछन कि पाँउदैनन ? तर उनिले चिताको कुरा पुगोस, जिवन सहज होस र एउटा नागरीकको अधिकार र हैसियत पा्रप्त होस, मेरो शुभकामना । यतिका बर्ष गाँउले, दौँतरी, शिक्षक, सहयोगी, आफन्तजस्ता बिभिन्न रोल निभाएर भुटानीहरु नेपालबाट तेश्रोमुलुकका लागी गईरहेछन् । नरमाईलो लागेको छ उनिहरु जाने भनेँर, एउटा आफन्त पर हुनेभएपछि अर्को आफन्तलाई पिर पर्नेनै भयो आखिर आफन्त हुनलाई रगतकै नाता पनि त नचाहिने रहेछ । उनि बिदाहुने दिन गाँउका सबैजना उनि बस्ने घरको आँगनमा भेला भयौ, एकछिनलाई त्यो आँगनपनि रुन्चे चोक जस्तै भयो, टीका लगाईयो र बिदाई गरियो । आँशुरोक्न मलाई नि हम्मे हम्मे थियो, उनिले त्यो थोत्रे गितार आँफैसँग बोके, उनि शुरुमा आएको दिन याद आयो । अन्तिममा अनि हिन्न आँटेको बेला मलाई अगांलो मारे, एउटा भुटानीले नेपालीलाई र नेपालीले भुटानीलाई भातृत्व आदान प्रदान गरे । सर तपाँई त हाम्रा भिनाजु, घरि घरि नेपाल आाउदै गर्नु है, हता हल्लाउँदै मैले अवरुद्व पारेर भनेँ ।

-सुयोग ढकाल


Loading comments...