‘औजार’ – अर्ग्यानिक कथा


पाठकवृन्दसँग एउटा कमलो अनुरोध !
यो कथा केहो मलाई थाहा छैन ! मैले यो कथा आफैँले लेखेको पनि होइन, देखेको पनि होइन, तर यस कथालाई भेटेको भने हुँ । यसलाई मैले जस्तो भेटेँ तपाईँहरू समक्ष जस्ताको तस्तै, केही नमिसाई प्रस्तुत गरेकी छु, अर्थात् अर्ग्यानिक रूपमा प्रस्तुत गरेकी छु ।

कथा यस्तो छ—
…अनि परमात्मा फेरि चिन्तित भएका थिए । ‘अब के गर्ने ? एउटा एउटा प्राणी बनाउने झ्याउलो सधैँ आफैँले बोकिरहने ?
कि अधिकार प्रत्यायोजन गर्ने ? केन्द्रिकृत व्यवस्था समग्र विकासको वाधक हो ।

चौरासी लाख प्राणी पुगिसके । भो अब म थप सृष्टि गर्दिन् ।’

हावा निकै जोरजोरले चलिरहेको थियो । तबै पनि प्रकृति मनोरम थियो । मन्त्रोच्चारणको आवाज टाढा टाढासम्म गुञ्जायमान थियो । प्रकृति सुगन्धमय थियो । चारैतिर फलफूलले ढाकिएर वातावरण रहर लाग्दो देखिन्थ्यो । स्वच्छ र सफा खोलानालाहरू कलकल ध्वनिका साथ बगिरहेका थिए ।

दुक्खकष्टको कतै कुनै सुक्ष्म चिन्ह पनि थिएन ।
सोही वातावरणमा परमात्माका अपरम्पार सृष्टि चौरासी लाखै स्त्रीलिङ्गी प्राणी निमघ्न विचरण गरिरहेका थिए । कुनै पीडाको कतै छायासम्म नपरेका उनीहरू कल्पकल्पसम्म यसरी नै नाचिरहे, बाँचिरहे ।

कोटियौँ वर्ष पश्चात परमात्माले ध्यानबाट केहीबेरका लागि विश्राम लिएका थिए ।

लेखकः इन्दिरा प्रसाई

किनभने त्यसपछि आफू नजिक पूर्ववत मादक गन्ध छर्दै मुस्कुराइरहेकी स्त्री देही मानवीका आँखामा परमात्माले हेर्दै हेरेनन् । आफूसँग आतङ्कित परमात्माको भाव बुझेर स्त्रीदेही मानवी भने परमात्मालाई हेर्दै थप मुस्कुराएकी थिई । परमात्माले स्त्रीको प्रिय मुस्कान पनि अप्रिय मानेझैँ गर्दै, देखेर पनि नदेखेझैँ गरे । प्रतिक्रियामा एकपटक सम्मोहनले भरिएकी स्त्रीका मादक आँखासम्म परमात्माका आँखा पुगेका पनि थिए ।

आफैँले सृष्टि गरेका समग्र सृष्टि उनैद्वारा सृजना गरिएको स्त्रीमय वातावरणमा परमानन्द हुँदै विचरण गरिरहेको देखेर परमात्मालाई पनि अपार तृप्ति भएको थियो । आफ्ना सृष्टिलाई भेट्ने, छुने र उनीहरूबारे उनीहरूसँगै जानकारी लिने ईच्छाले परमात्माले आफ्ना कनिष्ठतम सृष्टिलाई आफू छेउ बोलाए । अहँ, उसले त कुनै चालै गरिन । क्रमशः अर्की, अर्की र अर्की…तर कुनैले पनि परमात्माको बोलावटको वास्तै गरेनन् ।

त्यसपछि परमात्माकी सर्वश्रेष्ठ सृष्टि अर्थात् स्त्री देहधारी मानवीको पालो आएको थियो । उसलाई परमात्माले आदेश दिँदा नदिँदै ऊ मृगचालले लचक्लचक् गर्दै, उसका सुनौला र बाक्ला केशराशीभित्र आफ्ना सुन्दर अङ्गप्रत्यङ्ग लुकाएझैँ परमात्माका सामू उभिएकी थिई । पोटिला सुन्तलाका केस्राजस्ता ओठबाट मोहक मुस्कान पस्किरहेकी त्यस नौनीजस्ती रङ भएकी नारीलाई देखेर परमात्मा स्वयम् मुग्ध भएका थिए । परमात्माले त्यस स्त्री देहधारी मोहक मानवीलाई आफैँले सृष्टि गरेको हो भन्ने कुराले पनि उनी त्यसबेला अति आनन्दित भएका थिए ।

कोटियौँ वर्ष बितेका थिए । परमात्मा उक्त नारीकै मादक देहमा अल्मलिएका थिए । आफ्नै सृष्टिको मोहमा अनन्त समय बितेको हेक्का हुनासाथ परमात्मा झल्याँस्स भए । त्यसपछि उक्त मानवीलाई आफूबाट अलग्याएर परमात्मा पुनः ध्यानमग्न भए ।

कल्पकल्प बिते ।

ध्यानस्थ परमात्माले वेलाबखत आफ्ना सुन्दर सृष्टिमाथि ध्यानपूर्वक विचरण गर्ने गरेकै थिए । कहिल्यै नलगाइएका र पट्याएर दराजमा थन्क्याइएका आफ्नै सुन्दर लत्ताकपडाजस्तो, युगौँयुग पुराना र अविचलित प्रस्तर मूर्ति नै मूर्तिको सहर जस्तो, खोई कस्तो कस्तो ! सुन्दर भएर पनि एक रस जस्तो ! कतै केही परिवर्तन थिएन । आफ्नै सृष्टि पनि परमात्मालाई निरसिलो लाग्यो । तर चौरासीलाख प्राणी भने लग्गुझैँ उही निमघ्नतामा रहेका थिए ।

प्रत्येक प्राणीलाई पूर्ववत् परमात्माले आफू छेऊ डाकेका थिए । अहँ कोही आएनन् । त्यसपछि परमात्मालाई कोटियौँ वर्षअघि कोटियौँ वर्षसम्म आफू मोहित भएको स्त्रीदेही मानवीको स्मृति भयो । विगतको स्मृति मात्रले पनि रोमाञ्चित परमात्माले सोही मानवीलाई पुनः आफू नजिक डाके ।

‘अहो ! यसलाई सामू देख्नासाथ मलाई चुम्बकसँग फलाम टाँसिन खोजे झैँ भइरहेछ । विगतमा पनि सृष्टिको कल्पकल्पसम्म म यसैमा मोहित भएर बितेँ । अब भने मैले यससँग सावधान हुनै पर्छ ।’ साँच्चै परमात्मा सावधान भएका थिए ।

किनभने त्यसपछि आफू नजिक पूर्ववत मादक गन्ध छर्दै मुस्कुराइरहेकी स्त्री देही मानवीका आँखामा परमात्माले हेर्दै हेरेनन् । आफूसँग आतङ्कित परमात्माको भाव बुझेर स्त्रीदेही मानवी भने परमात्मालाई हेर्दै थप मुस्कुराएकी थिई । परमात्माले स्त्रीको प्रिय मुस्कान पनि अप्रिय मानेझैँ गर्दै, देखेर पनि नदेखेझैँ गरे । प्रतिक्रियामा एकपटक सम्मोहनले भरिएकी स्त्रीका मादक आँखासम्म परमात्माका आँखा पुगेका पनि थिए । त्यहाँ स्त्रीको अदम्य साहस थियो र चुम्बकीय आकर्षण पनि थियो । फेरि परमात्मामा स्त्री मोहमा परिने त्रास देखिएको थियो । मानवीले भने पुनः परमात्मामाथि व्यङ्ग्यात्मक दृष्टि कै प्रक्षेपण गरेकी थिई ।

‘भन् मैले यस सृष्टिलाई कसरी एक रस हुनबाट जोगाउन सक्छु ?’ आफैँले सृष्टि गरेकी मानवीको—
• विवेक
• चेतना
• बुद्धि
• साहस र शक्ति
• शान्ति र कान्ति
• प्रेम र विनय
• ज्ञान र गुण
• वात्सल्य तथा
• करूणा जस्ता विशेषतासँग प्रभावित भएका परमात्माले स्त्रीलाई आफ्नो सल्लाहकार बनाएका थिए ।

‘तपाईँले सृष्टि गर्नु भएका प्राणीहरूको नियन्त्रण तपाईँले नै आफ्नो हातमा राख्नु पर्दछ । विकेन्द्रिकृत व्यवस्थालाई केन्दिकृत सुपरिवेक्षण र नियन्त्रणमा नराख्दा स्वेच्छचारिता बढ्न सक्छ ।’

मानवीले गमेर परमात्मालाई सल्लाह दिएकी थिई । परमात्माले मानवीका आँखामा हेरेका थिएनन् । तर उसका कोमल नग्न अङ्गहरू सुम्सुम्याउने लोभ भने उनले त्याग्न सकेका थिएनन् ।

‘तपाईँको सृष्टिमा एक जात मात्र भयो अब तपाईँले अर्को जात पनि सृष्टि गर्नु पर्ने देख्छु ।’
केही गमिरहेकी मानवीले फेरि पनि परमात्माप्रति लक्षित हुँदै भनेकी थिई ।
यस कुराले परमात्मा कोटियौँ वर्षपछि फेरि मुस्कुराएका थिए ।

त्यसैक्षण स्त्रीले आफूमा रिक्तताको अनुभव गरी । स्त्रीले आफ्नो सोही रिक्त स्थलमा परमात्माको नवीनतम सृष्टि अर्थात् तथाकथित पुरूषसँग भएको उक्त तुर्लुङ्ङ झुण्डिएको अङ्गको तीव्र आवश्यकता महसुस गरी । ‘हो मसँग यसको मात्र अभाव रहेछ ।’ स्त्रीले परमात्मातिर फर्केर भनेकी थिई ।

परमात्माले नवसृष्टिको सुत्र फेला पारिसकेका थिए । त्यसैले लगत्तै उनी आफ्नो निर्माणमा जुटेका थिए ।

मैले प्रकृतिमात्र सृष्टि गरेँछु । अब पुरूष निर्माण गर्नुपर्यो । ध्यानस्थ परमात्माले ध्यानभित्रै विचरण गरेका थिए ।
त्यसपछि उनी पुरूष निर्माणमा लागिपरेका थिए ।

• ‘अँह, मलाई मन परेन ! परमात्माले सृष्टि गरेपछि स्त्रीका अघिल्तिर प्रस्तुत पुरूष एक हेरेर मानवीले परमात्मालाई भनेकी थिई ।

• ‘हुन्न, यो पनि हुन्न ! यसमा के छ र ?’
दोस्रो पुरूषप्रति स्त्रीको प्रतिक्रिया थियो ।
• ‘यो त झन सुकेको काठजस्तो निरस छ !’
तेस्रो पुरूषप्रति स्त्रीको उपेक्षाभाव थियो ।
• ‘छि… यस्तो अर्थहीन प्राणी पनि परमात्माकै सृष्टि हो र ?’
चौथो पुरूषप्रति स्त्रीको अहंकारमिस्रित घृणाभाव प्रस्तुत भएको थियो ।
• ‘यसलाई त तुरुन्त फिर्ता लगिहाल्नुस् परमात्मा ! म त यसलाई हेर्न पनि मन पराउन्न ।’

पाँचौँ पुरूषका लागि स्त्रीबाट चरम अनास्था प्रकट भएको थियो ।
• ‘उफ, यस्तो घिनलाग्दो प्राणी कसरी सृष्टि गर्नु भयो परमात्मा ?’
छैठौँ पुरूषप्रति स्त्रीको तिरस्कार भाव थियो ।

•‘भो अब थप सृष्टि नगर्नुस् परमात्मा !’
सातौँ पुरूषप्रति मानवीले चरम उपेक्षाभाव प्रकट गरेकी थिई ।

• ‘भो परमात्मा भो ! तपाईँ किन आफ्नो र मेरो समय पनि बरवाद गरिरहनु भएको छ ? बरु आउनुस न मसँग रमाउनुस् ! अब त म तपाईँको नवसृष्टि हेर्दा पनि हेर्दिन ।’

आठौँ पुरूषका सन्दर्भमा परमात्माप्रति नै स्त्रीको आवेशात्मक आदेश थियो ।

क्रमशः एक, दुई, तीन, चारगर्दै परमात्माले आफूले निर्माण गरेका आठ थरिका पुरूष देहधारी मानव स्त्री देहधारी मानवीका अघिल्तिर पठाउँदाको नकारात्मक स्त्री प्रतिक्रियाले अब परमात्मा स्वयम् आजित भइसकेका थिए ।

‘तपाईँले नयाँ प्राणी नै सृष्टि गर्ने नै हो भने मसँग नभएको कुनै विशिष्ट र जुन मेरा लागि पनि उपयोगी र तपाईँका लागि पनि कारक हुन सक्ने विशिष्टताधारी प्राणी आविष्कार गर्नुस् न परमात्मा ! तपाईँले सृष्टि गरेका यी आठै थरीका प्रत्येक पुरूषमा मसँग भएका एकएक गुणमात्र छन् । फेरि मैजस्तो अर्को थप अस्तित्वको पनि तपाईँको सृष्टिका लागि के उपयोगिता हुन्छ र ?“ स्त्रीले अलि झोक्किँदै परमात्मालाई सल्लाहा दिएकी थिई ।

आफूले परिश्रमसाथ गरेको नवआविष्कारप्रति मानवीबाट प्राप्त एकोहोरो नकारात्मक प्रतिक्रियाका कारण यस पटक परमात्मा हार्नै लागेका थिए ।

‘एकपटक यसलाई हेर् ! तँलाई यो पनि मन परेन भने म पनि अब नवसृष्टि गर्दिन ।’

निरास हुनलागेका परमात्माले उनको आविष्कारको नवौँ पुरूष स्त्रीका अघि प्रस्तुत गरेका थिए ।

परमात्माको नवीनतम सृष्टिरूपी ’पुरूष’ परमात्माले प्रस्तुत गर्ना साथ स्त्री दौडेर त्यस पुरूषका छेउमा पुगेकी थिई । त्यस पुरुषलाई स्त्रीले निकै महत्वका साथ हेरेकी थिई । किनभने यही नै परमात्माको अन्तिम सृष्टि थियो । यसपछि परमात्माका अरु सृष्टि उसले हेर्नु पनि पर्ने थिएन ।

स्त्री परमात्माको नवआविष्कारलाई गहिरिएर हेरिरहेकी थिई ।

अरू सबै कुरा त पूर्व आविष्कृत पुरूष र यस नवीनतम पुरुषमा केही फरक थिएन । तर परमात्माले भरखरै उसका अघि पेस गरेको यस पुरूषका दुई तिघ्राका वीचमा एउटा सानो अन्दाजी तीनचार ईञ्चको कुनै मांशपिण्ड तुर्लुङ्ङ झुण्डिरहेको थियो । साथै एउटा मांशथैली पनि त्यसैको जरामा गाँसिएको थियो । स्त्री अचम्मित भएर पुरूषका उक्त अनौठा मांशपिण्डमै केन्द्रित थिई । उक्त पुरूषले पनि स्त्रीका छातीमा पहाड झैँ उचालिएका आफूसँग नभएको अङ्गतिर कौतुहल राखेर हेर्न थालेको थियो । स्त्रीले उक्त पुरूषको लुत्रेको अङ्ग छोएर हेरी र आफ्नो पनि उक्त स्थलमा छामी । आश्चर्य मानेर नै पुरूषले पनि आफूसँग अभाव भएको स्त्रीका छातीमा स्थापित शिखर सुम्सुम्याएको थियो । पुरूषले आँखा चिम्लेको थियो । शायद उ पनि आनन्द बटुल्ने तयारीमा थियो । अर्कातिर स्त्री स्पर्श पर्ना साथ पुरूषको उक्त तुर्लुङ्ग झुण्डेको अङ्गमा पनि प्राण सञ्चार भएझैँ त्यो अङ्ग उभिन खोज्यो । उता स्त्रीलाई पनि पुरूष स्पर्शले अनौठो मादक तरङ्गले छोप्न थालेको थियो । स्त्रीले आफ्नो देहमा पुरूषमा रहेको त्यस्तो अङ्गकै खाँचो रहेको अनुभूत गरिसकेकी थिई । किनभने तत्क्षण उसले आफ्नो उक्त स्थल छामिसकेकी थिई र त्यहाँ त केवल प्वालमात्रै भएको सत्य पनि उसँग साक्षात्कारै थियो । त्यसैक्षण स्त्रीले आफूमा रिक्तताको अनुभव गरी । स्त्रीले आफ्नो सोही रिक्त स्थलमा परमात्माको नवीनतम सृष्टि अर्थात् तथाकथित पुरूषसँग भएको उक्त तुर्लुङ्ङ झुण्डिएको अङ्गको तीव्र आवश्यकता महसुस गरी ।

‘हो मसँग यसको मात्र अभाव रहेछ ।’ स्त्रीले परमात्मातिर फर्केर भनेकी थिई ।

त्यसपछि बल्ल परमात्मा पनि आफ्नो नवीनतम आविष्कार सफलिभूत भएको देखेर सन्तुष्टिका साथ मुस्कुराएका थिए ।

‘स्त्री ! तैँले बल्ल मेरो सृष्टि रूचाइस्, म खुसी भएँ । अब तँ यसैसँग रमाउने गर । म अरू प्राणीका लागि पनि यसै खाले पुरूषको सृष्टिमा लाग्ने छु । सुन् स्त्री ! एउटा कुरा चाहीँ तैँले बुझ्न जरूरी छ ….!’

परमात्मा बोलिरहेका थिए, तर स्त्री भने परमात्माका छेउबाटै पुरूषलाई समातेर बगैँचा विहारमा निस्किसकेकी थिई । स्त्रीलाई सावधान पार्न चाहँदा चाहँदै पनि परमात्मा असमर्थ भएका थिए । किनभने पुरूष नसामा परिसकेकी स्त्री परमात्माबाट टाढा पुगिसकेकी थिई ।

मोहमानवीलाई अल्मल्याउन आफू सफल भएकोमा परमात्मा फेरि पनि मुस्कुराएका थिए ।

‘स्त्री तैँले मन पराएको हुनाले सोही तेरो विपरित अङ्गधारी पुरूष अब सदा सर्वदा तेरो हुनेछ । तर अबदेखि तेरो भागमा चाहीँ पुरूषको उक्त अङ्गरूपी औजारले दिन सक्ने सुक्ख र दुक्खमात्रै पर्ने छ । किनभने तैँले रूचाएको पुरूषसँग तँसँग नभएको सो तुर्लुङ्ग झुण्डिने औजार बाहेक अरू तैँले पाउने केही पनि हुने छैन । आफ्नो आवश्यकता पूरा नहुञ्जेल यो पुरुष पनि बत्तिको उज्यालोमा पुतलीझैँ तेरै ओरिपरि झुम्मिरहने छ । आफ्नो औजार तेरा प्वालमा प्रवेश गराइसकेपछि यस पुरुषलाई पनि पृथ्वीमा तेरो प्वाल बाहेक अरु केही पनि छैन को भान भने हुनेछ । तर यस पुरुषले तेरो प्वालबाहेक तँमा भएका सम्पूर्ण सुन्दरतम् विशेषताहरू भने हत्तपत्त देख्ने छैन, बुझ्ने पनि छैन ।’

‘अर्को कुरा तैँले यस औजारको एक पटक प्रयोग गरेपछि नै तँ लगायत मेरो यस समग्र सृष्टिमाथि मेरो नियन्त्रण हुनेछ र तिमी प्राणीहरू जरामरणको शिकार हुनेछौ । अर्थात् पृथ्वी चलायमान हुनेछ । हे स्त्री ! त्यसैले अब स्त्री जातिमा नै मेरो सम्पूर्ण सृष्टिको भविष्य गाँसिएको छ ।’
स्त्रीका लागि परमात्माले आकाशवाणी गरेका थिए ।

जुनबेला परमात्माले स्त्रीलाई आकाशवाणी गरेर सतर्क पनि गराउन खोजेका थिए । त्यतिबेलासम्म स्त्रीले आफ्नो रिक्तस्थानमा पुरूषको उक्त अङ्ग प्रवेश गराइसकेकी थिई । परमात्माद्वारा नवीनतम आविष्कृत पुरूषमा समाविष्ट उक्त तुर्लुङ्ग झुण्डिने अङ्ग नै परमात्माको सृष्टि विचलनको आवश्यकीय औजार थियो ।

परमात्माको नवसृष्टि पुरूष स्त्रीको रिक्त स्थलमा आफ्नो औजारको प्रयोगपछि सन्तुष्ट भएर निदाइसकेको थियो । स्त्री भने सृष्टिपछि प्रथमपटक तृप्त त भएकी थिई, तर ऊ असन्तुष्टिको डडेलोमा पनि सल्किरहेकी थिई । उभित्र पुरूषको औजारका माध्यमबाट परमात्माले सृष्टिको विजारोपण पनि गराइसकेका थिए ।

त्यसपछि परमात्मा हाँस्तै सृष्टिको चलायमान स्वरूप हेर्नका लागि केही कल्प विश्राममा बसे ।

‘हे स्त्री ! मैले बुझ्नै नसकेको एउटा कुरा तँलाई सोध्नु पर्ने छ । मैले गरेको अन्तिम सृष्टि अर्थात् उक्त पुरुषलाई तैँले आफैँले रोजेर आफूसँगै लिएर गएकी थिइस् । अनि किन फेरि सँधै रोइरहन्छेस् ?’

सृष्टिको कुनै कल्पमा रोइरहेकी कुनै स्त्रीसँग द्रवित हुँदै परमात्माले संवाद गरेका थिए ।

‘तपाईँमा विश्वास गर्नाले म यस भूमरीमा फसेकी हुँ । तपाईँले मलाई किन एउटा विवेकहीन पुरूषको निर्माण गरेर त्यसैसँग हिँडाउनु भयो ? तपाईँले मलाई आफैँसँग किन राख्नु भएन ? अथवा तपाईँले मेरा लागि कुनै अर्की मजस्तै स्त्री देहधारी मानवी नै सृष्टि गरिदिँदा पनि मेरो यस्तो विचलित अवस्था त हुने थिएन ।’

स्त्रीले बढो चित्त दुखाएर परमात्मासँग गुनासो गरेकी थिई ।

‘मद्वारा नै आविष्कार गरिएकी भए पनि तँमा भएको मादकता र सम्पूर्णतामा म आफैँ हराउन थालेको थिएँ । तँलाई मसँग राख्नाले मेरो सृष्टिले पूर्णता पनि पाउने थिएन । किनभने तँ रमाउन सक्ने औजार पनि त मसँग थिएन । अर्की तँजस्तै स्त्री देहधारी मानवीसँग पनि तँ रमाउने थिइनस्, किनकी ऊसँग पनि त्यो औजार हुने कुरै भएन । तँ जसरी उक्त पुरूष भेटिनासाथ मसँग विदा पनि नमागी हिँडेकी थिइस् । त्यसबाट मैले तँ कल्पकल्पसम्म त्यही औजारधारी पुरूषसँग नै रमाउने बुझेको थिएँ ।’
परमात्माले स्त्रीको विरक्त लाग्दो अनुहार हेरेर जवाफ दिएका थिए ।

‘के अब यो व्यवस्था हटाएर पुरानै अवस्थामा फर्काउन सकिँदैन, परमात्मा ?’

स्त्रीले करूणरसमा डुबेर परमात्मासँग अनुनय गरेकी थिई ।
‘असंभव ।’

वातावरणमा दृढ आवाज गर्जाउँदै परमात्मा अलप भएका थिए ।

© इन्दिरा प्रसाई
~
• साभार : ‘मधुपर्क’ २०७६ चैतमा सार्वजनिक यस लेखलाई लेखकको सर्वाधिकार रहने गरी ‘लाइभमाण्डू’मार्फत् सार्वजनिक गरिएको हो । अनुमतिबिना कुनैपनि मेडियाका माध्यमहरुमा सार्वजनिक गरिन पाइनेछैन ।


Loading comments...