कोरोनाको भयभित्र इटलीको जीवन !


सभ्यताको शहर रोम विश्वमैं अनुपम प्राचिन शहरको पंक्तिमा पर्दछ । तर रोम लगायत सम्पूर्ण इटलीका नागरिक अहिले चिन पछि नोभल कोरोनाभाइरस (COVID-19) को संक्रमणबाट सबैभन्दा बढी पीडित भएका छन् भने इरान तेश्रो ब्यापक असर परेको देशको सूचीमा छ ।

रोम त्यही शहर हो जसका शासक नीरोले रोम खरानी भएर डढीरहेको बखत बाँसुरी बजाएर जनता ढाँटी बस्यो र आफू पनि सक्किएर गयो । नीरोबारे यो उक्ती “यता रोम जलि नै रह्यो, उता नीरोले बाँसुरी बजाइ नै रहे” केवल कुनै कालखण्डको एउटा कथा मात्रै नभएर नीरो वास्तवमा इतिहासको एउटा क्रुर शासक पनि हुन् । उती बेला आफ्नै शासकको बेवास्ताबाट खरानी बनेको रोम आज विश्व स्वास्थ्यको चुनौती बनेको नोभल कोरोनाभाइरसको रापले डढीरहेको छ ।

विश्वभर नोभल कोरोनाको असरको ताजा अपडेट 

(मार्च ११, २०२० | नेपाली समय अनुसार राती ९ बजेसम्म)

जम्मा संक्रमित संख्याः १ लाख अठार हजार १ सय ६२
जम्मा ज्यान गुमाउनेहरुको संख्याः ४ हजार २ सय ९०
प्रभावित देश तथा क्षेत्रः १ सय १३

थप ५२९ नयाँ संक्रमितहरु सहित १० हजार ४४९ संक्रमित देखिएको इटलीमा अहिलेसम्म ६३१ जनाले ज्यान गुमाईसकेका छन् जसमध्ये पछिल्लो चौबिस घण्टाभित्र १६८ ले ज्यान गुमाउनुपरेको छ । कोरोनाभाइरस र यसको संक्रमणको संकट हरेक नयाँ बिहानीले झन जटिल झन भयावह बनाउँदै गइरहेको छ । पछिल्लो ३ दिनमा हरेक दिन कम्तीमा पनि दैनिक एकहजारको संख्यामा नयाँ संक्रमित थपिदैगइरहेका छन् ।

इटली सरकारले भाइरसलाई नियन्त्रण गर्न र संक्रमण फैलिन नदिनका लागि कडा प्रतिबन्धहरु लगाएको छ । इटलीभरी यात्रा प्रतिबन्धको अवस्था छ भने मानिसहरुको सम्भावित सामूहिक भेला, कार्यक्रमहरुमा पूर्णतः बन्देज लगाइएको छ ।

अत्यावश्यक काम बाहेक कुनै पनि बहानाका अन्य यात्राहरुलाई नियन्त्रण गरीएको छ, सम्पूर्ण स्कूल तथा यूनिभर्सिटी पहिले नै बन्द गरिसकिएका छन्, “इटलीबाट प्रभात रेग्मीले लाइभमाण्डूसँगको कुराकानीमा जानकारी दिनुभयो ।”

इटलीबाट भित्रिनेहरुलाई अष्ट्रियाले लगायो रोक
युरोपको सर्वाधिक सर्वाधिक सुन्दर र समृद्ध राष्ट अष्ट्रियाले इटलीबाट आफ्नो देश प्रवेश गर्ने मानिसहरुलाई बन्देज लगाएको खबर छ । तर स्वास्थ्य स्थिति दुरुस्त रहेको प्रमाण दिनसक्ने मानिसहरुको हकमा भने यात्रा त्यती जटिल छैन । स्वास्थ्य सर्टिफिकेटको आधारमा मानिसहरुले अष्ट्रियाको यात्रा गर्न पाएका छन्, अष्ट्रियाबाट दीपक मल्लले लाइभमाण्डूसँगको कुराकानीको क्रममा बताउनुभयो ।

रोममा राज्यले घोषणा गरेको विभिन्नखाले बन्देजहरुका कारण पूर्वघोषित वैवाहिक कार्यक्रमहरु रद्द गरिंदै छ भने धार्मिक तथा सामाजिक भेला तथा आयोजनाहरु समेत अनिर्णित भएका छन् ।

घोषित प्रतिबन्धको असर अर्थव्यवस्थामा पनि ब्यापक परेको छ जसको कारण मानिसहरुलाई राहत स्वरुप लिइएका कर्जाका किस्ताहरु तिर्नका लागि समेत विभिन्न खाले छुटको घोषणा गरिएको छ ।

रोममा बार तथा रेष्टुरेन्टहरु खुल्ला त छन् तर रोमको स्वाद र पुरातत्विक महत्वका पर्यटनमा रमाउनेहरु देखिन्नन । इटलीको चर्चित अर्को शहर बोलोनियामा बार तथा रेष्टुरेन्टका संचालकहरु आफ्नो तथा आफ्ना कर्मचारीहरुको आजीविकाको चिन्ता छ । आफ्ना केट्केटीको खर्च तथा कर्मचारीलाई दिनुपर्ने मासिक तलब कसरी जोहो गर्ने भन्ने अहिले मुख्य समस्या देखिन थालेको छ । यो अहिलेसम्मकै अत्यन्त अप्ठेरो समस्या हो ।

एक शब्दमा अहिले इटलीको जीवन निशब्द छ, निरश र शान्त छ पुरै शान्त ।

नोभल कोरोना COVID-19 को संक्रमण तथा स्वास्थ संकटबाट विश्वका कुन देशमा संक्रमितको संख्या कति र मृत्यु कति? ताजा अपडेट (११ मार्च २०२०) हेर्नुहोस्ः 


लाइभमाण्डू


Loading comments...