हजुरआमालाई अलबिदा !!!


आज केहि कुरा धेरै पछि कोर्न मन लाग्यो
पिडा संगसंगै हास्न मन लाग्यो
आमासंगका रमाइला पलहरु सम्झिन मन लाग्यो
सीतापुरमा बिताएका दिनहरु गन्न मन लाग्यो
आमालाई सम्झिएर फेरी पनि हास्न मन लाग्यो, रुन मन लाग्यो

औला भाच्दै स्कूलमा बिदा कुर्न मन लाग्यो
आमा सम्झिदै मिनपचास को बिदा कुर्न मन लाग्यो
मामा संग नाइटबसमा गुड्न मन लाग्यो
बाईरोडको बाटोमा आमा भेट्ने सोचमा गुड्न मन लाग्यो
आमालाई सम्झिएर फेरी पनि हास्न मन लाग्यो, रुन मन लाग्यो

अस्ति जस्तै महेन्द्रनगरमा ओर्लिएर हिड्न मन लाग्यो
मामाघरमा पुग्नासाथ आमाको काखमा सुत्न मन लग्यो
मामाघरको आगनीमा संसारको राजा जस्तो कुद्न मन लाग्यो
आमा को पच्छ्यौरी समाई करेसाबारीमा जान मन लाग्यो
आमालाई सम्झिएर फेरी पनि हास्न मन लाग्यो, रुन मन लाग्यो

मह काढछु आमा भनि घारमा जान मन लाग्यो
माहुरीले कानमा टोक्दा रुदै आमा को काखमा लुक्न मन लाग्यो
माघे सक्रान्तिको तिल, चिउरा, मुराइको लड्डु खान मन लाग्यो
आमा संगै परेवालाई चारा हाल्न मन लाग्यो
आमालाई सम्झिएर फेरी पनि हास्न मन लाग्यो, रुन मन लाग्यो

आमा संगै हाटबजारको रमाइलोमा रम्न मन लाग्यो
बिजलपुरा स्टेशनबाट जनकपुर रेलमा गुड्न मन लाग्यो
आमा संगै जनकपुर को रिक्सा फेरी चढ्न मन लाग्यो
माकलमा आगो ताप्दै आमा र काका संग तास खेल्न मन लाग्यो
आमालाई सम्झिएर फेरी पनि हास्न मन लाग्यो, रुन मन लाग्यो

काठमाडौँ जाने दिन गहभरि आशुलिइ फेरी भेट्छु भन्न मन लाग्यो
भाग्यमानी भएस, चाडै आएस भनि दिएको आशिस फेरी लिन मन लाग्यो
आमा मिठै-मिठा यादहरु साचेकोछु भन्न मन लाग्यो
अब त भेट नै हुन्न भन्ने सम्झिएर भक्कानिएर रुन मन लाग्यो
अर्को जुनी फेरी भेट हुन्छ भन्ने आसमा, अलबिदा आमा भन्न मन लाग्यो
आमालाई सम्झिएर फेरी पनि हास्न मन लाग्यो, रुन मन लाग्यो

                                          अरविन्द गौतम

यो एउटा कबिता हैन, सरिता हो, सरिता अर्थात खोला जहाँ सलल पानीका वेगहरु बग्दछन् । अरबिन्द दादा मेरा दाजु हुन्, जो बिदेशमा बस्दछन् । भर्खरै गाँउमा हजुरआमाको मृत्यु भएको छ, अरबिन्द दाईका यि कबितामा मैले सरिता भेटाँए, दाजुका भावनाहरु सतत पानी झैं बगेका छन्, सम्वेदनामा एउटा पीडा छ अनि बिदेशमा रहँदाको एउटा तितो सिमा । चाहेर पनि दाजु आउन सक्दैन, तर कबितामा उस्ले सबै कुरा छताछुल्ल पारिदिएको छ ।
एउटा नातीको हजुरआमाका लागि यो स्नेह आजका पुस्ताका लागि एउटा दृष्टान्त पनि त हो ।

सुयोग ढकाल


Loading comments...