first meet

याद पहिलो भेटको


अर्जुन भण्डारी
अर्जुन भण्डारी

‘एउटा कुरा भनम?’ मैले म्यासेजन्जरमा टाइप गरेँ अनि सेन्ड बटन थिचेँ । उता बाट जवाफ आयो ‘के कुरा’ ? मैले पुन जवाफ फर्काएँ ‘माकुरा’ । उतावाट रिसायको इमोजी आयो । सायद उ मेरो प्रश्न सुन्नको लागि उत्साहित थिइ । मैले जवाफ लेखेँ ‘तिमीलाइ देख्न मन ला छ’ । दुवै हात कामेका थिए । यो मेरा लागि ठुलै कुरा थियो, घण्टौँ कुरा गर्ने भएता पनि आजसम्म यसरी आँट भने कहिल्यै निस्केको थिएन । उस्लाइ हर वखत हेरिरहन खोज्ने मेरा आँखाहरु उस्को सामु परेपछि जहिल्यै भुइमा पुग्थे । यसपाली भने निकै दिन भइसकेको थियो नभेटिएको । हामी यसभन्दा अघि कहिल्यै पनि योजना बद्ध तरिकाले भेटेका थिएनौँ ।

उताबाट रिप्लाइ आयो ‘हुन्छ तर कता’ ? म अलमलमा परेँ यस भन्दा अघि केटी संग कहिल्यै यसरी भेट गरेको थिइन । अनि यस्सै भने ‘सी.डि.एम.’ । उस्को रिप्लाइ ‘ओके १ घण्टा पछि ल’ । मैले जवाफ फर्काएँ ‘२ घण्टा पछि’ । उस्ले सहमतिको भाषामा ‘हुन्छ’ भनि । खै मैले किन एक घण्टा बढाएँ आँफैले पत्तो पाइन ।

उस्ले सुरुमै भनेको एक घण्टा मै सीडिएमको चौतारीमा पुगेँ । निकै उत्साहित, खुसी अनि हल्का डर अझ परिचित कसैले देखेर हल्ला फैलाइदिने हुन की भन्ने डर । मैले यो प्रस्ताव नराखेको भए हुने भन्ने जस्तो भान भइरहेको थियो, म अताल्लीरहेको थिएँ । केहि समय पछि उ आइ, सायद मैले दिएको समय भन्दा करिव १५ मिनेट अघि नै थियो । उस्ले मलाइ टाढै देखि देखेकी थिइ उस्ले देख्नासाथ मैले पनि उस्लाइ देखेँ । धडकनको गति केही बढेको महसुस भइरहेको थियो । उ केहि नजिक हुनासाथ मेरो आँखा झुकेर उस्को आँखावाट उस्को कुर्थाको पल्लुमा पुगेको थियो । उस्को टाढै देखिवाट मुस्कुराउने बानीले मन भित्र निकै लामो जरा गाडीसकेको थियो । उ हरियो कुर्थामा आएकी थिइ । त्यो उसलाइ निकै सुहाएको थियो । उस्ले सँधै मलाइ मन पर्ने लगाउँथी वा उस्ले लगाएको सवै कुरा मलाइ मन पर्थ्यो म पहिल्याउन सक्दैन थेँ ।

उसले साउतीको स्वरमा ‘हाइ’ भन्दै हात हल्लाइ म पनि उस्को रिप्लाइ दिँदै थिएँ, उसले मेरो शिर देखि पाउ सम्म पुरै नियाल्दै थिइ उस्को आँखा मेरो ग्रन्च भएको पाइन्टमा टक्क रोकियो । सायद त्यो अलि बेसी नै ग्रन्च देखिएको थियो । मैले केवल अडकल मात्र लगाएको थिएँ । उ केहि बोलीन । मैले सोचे जति कुरा सवै सकिइसकेको थियो यसपछि के भन्ने के गर्ने भन्ने कुरा मलाइ पत्तो थिएन । मलाइ के भनम के भनम लाग्दै थियो एक्कासी हडबडाउँदै चिया भन्न पुगेँ । उस्लाइ चिया पिउनका लागी निवेदन गरेँ । उस्ले कपि किन्ने बहानामा आएकी भन्दै निकै हतारमा भएको कुरा जनाइ । उ कलेजको भित्तामा अडेस लगाइ म भने उस्को अगाडी केहि पर उभिएँ ।
भन्नका लागि धेरै कुरा भएता पनि सुरु गर्न हिचकीचाइ रहेको थिएँ । उस्ले पढाइको कुरावाट सुरुवात गरी ‘नोट कहाँ सम्म पुग्यो त’ । मैले उस्लाइ जवाफ दिएँ ‘तिमीले गरिसकेपछि त्यै सार्ने हो म त’ । उस्ले ‘नदिने’ भन्दै ठट्टा गरी । मैले घुर्की लगाउँदै भनेँ ‘उसो भए गर्दिन नोट सोट’ ….। करिव १० मिनेट जति यस्तै पढाइ सम्बन्धी केहि कुरा भएपछि उस्लाइ फोन आयो । उ हतार हतार ‘जानु छ’ भन्दै विदा मागी ।

उस्लाइ विदा गरेपछि म उसलाइ देखिने सम्म चिहाइ रहेँ उ घरी घरी पछाडी फर्कँदै अगाडी बढि रहेकी थिइ । जिन्दगीमा ठुलै कुरा जिते जस्तो अनुभुति भइरहेको थियो । मन मनै निकै हर्सित भएँ ।

उ त्यहाँबाट विलिन हुनासाथ म पनि आफ्नो बाटो लागेँ । कोठामा आएपछि म्यासेन्जरमा उस्लाइ धन्यवाद दिएँ । उस्को रिप्लाइ बेलुका मात्र आयो । उसको म्यासेजमा लेखिएको थियो ‘म भोलि घर जाँदै छु बुवाको सरुवा भयो रे । अव उतै बस्ने भन्नु भा छ’ । यति म्यासेज देख्नासाथ हावाले भरिएको बेलुन जस्तो फुलेको मेरो खुसी एक्कासी काँडामा घोचिए घोचिएर साँघुरीए जस्तो भयो । आँफुलाइ निकै साँघुरीएको अनुभुति गरेँ । भोलिपल्ट उ आफ्नो गाउँ गइ त्यसपछि कहिल्यै भेट हुन सकेन ।

कुनै समय घटेका सामान्य घटनाहरुको सम्झना लामो समयसम्म गुञ्जायमान हुने रहेछन । आजभोली उसको जस्तै नाम, ठेगाना, बाल्ने तरिका, आकृती भएका मान्छे देखा पर्दा एक पटक झसंग हुन्छु अनि उस्लाइ स्मरण गर्छु । तिनै सम्झनाको सहाराले जिन्दगी अगाडी बढाउनुको मज्जा बेग्दै छ ।


Loading comments...