
को-को पुग्लान त द भ्वाइस अफ नेपालको सेमिफाइनलमा
“द भ्वाइस अफ नेपाल” आवाजहरु मध्येबाट एउटा उत्कृष्ट साङ्गीतिक आवाजको खोजिमा छ, जुन आवाज नै उसको पहिचान बन्नेछ । नेपालको पहिलो आवाज को बन्ला सबैमा कौतुहताको विषय बन्नु स्वभाविक नै मान्नु पर्छ किनकि विश्व साङ्गीतक जगतमा द भ्वाइसको बिजेताको निकै महत्वपुर्ण अर्थ रहन्छ ।
लुकेका साङ्गीतिक प्रतिभाहरुको खोजी तथा बिकासको लागि “द भ्वाइस अफ नेपाल” एउटा उत्कृष्ट मञ्च साबित भएको छ । गतसाताबाटै ट्यालेन्टहरु सेमिफाइनलको यात्राका लागि निकै मेहेनत गरिरहेका छन् । सेमिफाइनलमा क कसलाई पुर्याउने जिम्मेवारी दर्शकहरुको हातमा छाडिएको छ । अघिल्ला श्रृंखलामा कोचहमा ट्यालेन्टलाई सुरक्षित गर्न अधिकार थियो तर अव सेमिफाइनल देखि सम्पुर्ण अधिकार दर्शकहरुको भोटिङमा रहेको छ । सम्पुर्ण ट्यालेन्टहरु सेमिफाइनलमा पुग्नको लागि निकै मेहनत गरिरहेका छन् साथै कोचहरुले आफ्ना ट्यालेन्टलाई हौसला दिइरहेका छन् ।
देश विदेशमा एउटा अभियान नै सुरु भएको छ आफ्ना मनपर्ने ट्यालेन्टहरुलाई जिताउने । विभिन्न चोक, गल्ली अनि टोलटोलमा भोटिङका लागि अभियानहरु चलिरहेका छन् । घरदैलो गरेर होस या विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर आफनो मनपर्ने ट्यालेन्टलाई जिताउने अभियानमा सर्मथकको भुमिका निकै बढिरहेको छ । भोटिङ कोड सहितको ट्यालेन्टका तस्बीर चोक चोक मा सजिएका छन् ।
सेमिफाइनलका लागि १६ जना मध्येबाट ८ जना छनोट गरिन्छ, जसमा अघिल्लो साता टिम प्रमोदबाट शुशिल गड्तौला र टिम सनुपबाट सप्तक दुतराज सुरक्षित भए । अब बाँकी १२ जना मध्येबाट ६ जना सेमिफाइनलको लागि छनोट हुनेछन् भोटिङ्को आधारमा । अनि शुरु हुनेछ फाइनलको यात्रा ।
भोलि शनिबारको श्रृंखला विशेष हुँदैछ । नेपालको साङ्गीतिक जगतका रत्न दिप श्रेष्ठका गीतहरुले द भ्वाइस अफ नेपालको मञ्च गुञ्जिने छ । साथै प्रमोद खरेलको आवाजमा नेपाली मनहरु झुम्ने पक्का छ । हरेक श्रृंखलामा अतिथिको रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य योग्दान गर्ने व्यक्तिहरुलाई देख्दै आएका छौं । शनिबारको श्रृंखलामा नेपाली साङ्गीतिक क्षेत्रमा धेरै सुनिने नाम अञ्जु पन्तलाई अतिथिको रुपमा देख्न पाउने छौं । साथै टिम दिप र टिम प्रमोदबाट दुई ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् जसमध्ये दुई जना पुग्नेछन सेमिफाइनलमा । सम्पूर्ण अधिकार दर्शकमा छ, कसलाई बनाउनु हुन्छ त नेपालको पहिलो आवाज, जुन आवाज नै उसको पहिचान बन्ने छ ?