नेपाल प्रहरीको सन्देश


सामाजिक संजालहरुमा विशेषत: फेसबुकको मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको , त्यसका साथै अन्य केही पेज र फेसबुक ग्रुपहरुमा समेत त्यसै किसिमका व्यहोरा सहितको स्क्रिनसट र भिडियोहरु सम्प्रेषण भईरहेको भन्दै धेरै व्यक्तिहरूले हामीलाई जानकारी गराउनु भएकोमा त्यसका लागि यहाँहरु प्रति धन्यवाद व्यक्त गर्दछौं ।

यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कार्य प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ र यसमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रकृया अगाडी बढाईसकिएको समेत जानकारी गराउन चाहन्छौं ।

पुनश्च: सम्बन्धित अस्पतालसँग जानकारी माग गर्दा र बुझ्दा समेत यो खबरमा कुनै सत्यता नरहेको बुझिन आएको हुँदा यहाँहरु सबैलाई सोही व्यहोरा जानकारी गराउन चाहन्छौं ।

साथै, यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छ:-

७०. झुट्ठा अफबाह फैलाउन नहुनेः

(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
“विपदको समयमा एक सचेत नागरिकले आफ्नो सामाजिक दायित्व नबिर्सौं”


Loading comments...