कोरोनाभाइरस (COVID-19) को बारेमा बालबालिकासँग कसरी कुरा गर्ने?


कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) का बारेमा सुनिएका धेरै थरिका कुराका कारण आत्तिनु वा चिन्ता लाग्नु स्वाभाविक हो । तपाईंका छोराछोरी पनि अत्तालिएका हुन सक्छन्  । इन्टरनेट वा टेलिभिजनका साथै अन्य मानिसहरूबाट सुनिएका/देखिएका विभिन्न जानकारीहरू बालबालिकाका लागि बुझ्न कठिन हुने भएका कारण उनीहरू हतासपन, तनाव वा उदासीको जोखिममा पर्न सक्छन् । तर उनीहरूसँग खुला र सकारात्मक छलफल गर्न सकेमा उनीहरूलाई यसबारे जान्न सहयोग पुग्ने मात्र नभई उनीहरूले अरुका लागि पनि सकारात्मक योगदान दिन सक्छन् ।

खुला प्रश्नहरू सोध्नुहोस्  र ध्यान दिएर सुन्नुहोस्

बालबालिकालाई कोभिड-१९ का बारेमा कुराकानी गर्न भन्नुहोस्। उनीहरूलाई पहिल्यै कति कुरा थाहा छ त्यसको निर्क्योल गर्नुहोस् र त्यहाँबाट नै अगाडि बढ्नुहोस् । यदि उनीहरू एकदमै साना उमेरका छन् र यस प्रकोपका बारेमा थाहा पाएका छैनन् भने कोभिड-१९ का बारेमा कुरा नगर्नुहोस् किनभने यसले नयाँ डरको शुरूवात गर्न सक्छ । बरू सरसफाइ सम्बन्धी असल आनीबानी सिकाउनुहोस् ।

तपाईं सुरक्षित स्थानमा भएको सुनिश्चित गर्नुहोस् र आफ्ना बालबालिकालाई स्वतन्त्रतापूर्वक कुरा गर्न दिनुहोस् । चित्र बनाएर, कथा भनेर वा अन्य गतिविधिका मार्फत पनि छलफललाई सहज बनाउन सकिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा – उनीहरूको उत्सुकता वा चासोलाई बेवास्ता नगर्नुहोस् वा सामान्य रूपमा नलिनुहोस् । उनीहरूको भावनालाई स्विकार्नुहोस् । यस्तो अवस्थामा डर लाग्नु स्वाभाविक हो भनेर आश्वस्त पार्नुहोस् । उनीहरूको कुरा पुरा ध्यान दिएर आफुले कुरा छु भन्ने देखाउनुहोस्। उनीहरूले तपाईं  वा आफ्ना शिक्षकहरूसँग मन लागेको समयमा खुलेर कुरा गर्न सक्छन् भनेर ढुक्क बनाउनुहोस् ।

इमान्दारीपूर्वक तथा बालबालिकाले बुझ्ने भाषामा साँचो कुरा बताउनुहोस्  

बालबालिकालाई संसारमा के भइरहेको छ भन्ने बारे सत्य तथ्य जान्ने अधिकार हुन्छ । तर वयस्क व्यक्तिहरूले उक्त जानकारी दिँदै गर्दा उनीहरूमा आतंक र तनावको भाव आउन नपाओस् भन्ने सुनिश्चित गर्नुपर्छ । यसका लागि उमेर अनुसारको भाषा प्रयोग गर्नुहोस् । उनीहरूको प्रतिक्रियाको ख्याल गर्नुहोस् । उनीहरूको तनावको अवस्था बारे संवेदनशील हुनुहोस् ।

यदि तपाईंसँग उनीहरूको प्रश्नको सहि जवाफ छैन भने अनुमानको भरमा जवाफ नदिनुहोस् । यसलाई मिलेर सँगै उपयुक्त उत्तर खोज्ने अवसरका रूपमा प्रयोग गर्नुहोस् । युनिसेफ तथा विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका वेबसाइट आवश्यक सुचनाको राम्रा श्रोत हुनसक्छन् । इन्टरनेटमा उपलब्ध सबै जानकारी सत्य होईनन् र विज्ञहरूलाई भरोसा गर्नु नै उत्तम हो भनेर बताउनुहोस् ।

आफु र आफ्ना साथीहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर उनीहरूलाई सिकाउनुहोस् / देखाउनुहोस् 

कोरोनाभाइरसका साथै अन्य रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय नै नियमित साबुन पानीले हात धुनु हो । त्यसैले कुराकानीलाई डरलाग्दो नबनाउनुहोस् । कुनै गीत गुनगुनाउनुहोस् वा नाचको लयसँगै सिकाईलाई रमाईलो बनाउनुहोस् ।

मुख छोपेर कसरी खोक्ने र आफ्नो कुहिनोमा हाच्छ्युँ कसरी गर्ने भनेर तपाईंले आफ्ना छोराछोरीलाई देखाउन सक्नुहुन्छ । रोगका लक्षण देखिएका व्यक्तिहरूको नजिक जान सुरक्षित हुँदैन भनेर बताउन सक्नुहुन्छ । ज्वरो आएमा, खोकि लागेमा वा सास फेर्न गारो भएमा भन्न सिकाउनुहोस् ।

A little girl smiles at the camera
Source: UNICEF Nepal/2012/SNoorani

आश्वासन दिनुहोस्

जब हामीले टेलिभिजन वा इन्टरनेटमा समस्याग्रस्त तस्वीरहरू देख्छौं तब हामीलाई सबैतिर संकटले घेरेको जस्तो महसुस हुनसक्छ । स्क्रिनमा देखिएको तस्वीर र आफ्नो वास्तविकताको बीचको भिन्नता बालबालिकाले थाहा नपाउन सक्छन् । जसको कारण आफु कुनै खतरामा रहेको ठान्न सक्छन् । सम्भव भएसम्म उनीहरूलाई खेल्ने तथा आराम गर्ने अवसर दिई तपाईंले उनीहरूलाई तनाव व्यवस्थापन गर्न सिकाउन सक्नुहुन्छ ।

नियमित समयतालिका अनुसारको क्रियाकलापलाई, विशेषगरि सुत्नु भन्दा अगाडिका गतिविधिहरूलाई  निरन्तरता दिनुहोस् ।  नयाँ वातावरणमा नयाँ क्रियाकलापहरू शुरु पनि गर्न सक्नुहुन्छ।

तपाईं  बसोबास गर्ने क्षेत्रमा कोरोनाभाइरसको प्रकोप देखिएको छ भने – बालबालिकालाई उनीहरूलाई यसको संक्रमणको सम्भावना एकदमै कम रहेको, कसैलाई यस भाइरसको संक्रमण हुँदैमा एकदमै बिरामी नहुने, धेरै वयस्कहरूले उनका परिवारलाई सुरक्षित राख्न कठिन प्रयास गरिरहेको बताउनुहोस् ।

यदि तपाईंका छोराछोरी बिरामी परे भने, आफु तथा आफ्ना साथीहरूलाई पनि सुरक्षित राख्नका लागि उनीहरू घर वा अस्पतालमै बस्नु उचित हुने बताउनुहोस् । यसो गर्न एकदम कठिन हुने (कतिपय अवस्थामा एकदमै अत्यासलाग्दो वा अल्छिलाग्दो) भएतापनि सबैलाई सुरक्षित राख्नका लागि नियमको पालना गर्नु नै उत्तम हुने बताउनुहोस् ।

बालबालिकाले भेदभाव भोगेको वा फैलाएको छ/छैन जाँच गर्नुहोस्

कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएसँगै संसारका धेरै स्थानमा मानिसहरूले जातिय भेदभावको सामना गर्नुपरेको छ । यसकारण तपाईंका बालबालिकाले भेदभाव भोगेको वा उनीहरूले भेदभाव तथा हेपाहा व्यवहारमा योगदान दिएको छ/छैन जाँच गर्नुहोस् ।

को कस्तो देखिन्छ, वा कुन स्थानबाट आएको हो वा कुन भाषा बोल्छ आदि कुराले कोरोनाभाइरससँग कुनै सम्बन्ध नरहेको बुझाउनुहोस् । यदि उनीहरूलाई विद्यालयमा कसैले गाली गरेको छ वा दुर्व्यवहार गरेको छ भने आफुले विश्वास गर्ने कोही वयस्कसँग आफ्नो कुरा भन्नुपर्छ भनेर सम्झाउनुहोस् ।

विद्यालयमा सबै विद्यार्थी सुरक्षित हुन पाउँछन् भनेर सम्झाउनुहोस् । दुर्व्यवहार सधैं गलत रहेको र उनीहरूले दया र सद्भाव फैलाउन हरसम्भव प्रयास गर्नुपर्छ भनेर पनि सिकाउनुहोस् ।

सहयोग र सकारात्मक पक्ष देखाउनुहोस्

मानिसहरूले दया र उदारताको भाव राखी एक अर्कालाई सहयोग गरिरहेका छन् भनेर बालबालिकाले त्यसका बारेमा जान्नु जरुरी छ ।

स्वास्थ्यकर्मीहरू, वैज्ञानिकहरू, युवा लगायत धेरैले यस महामारी नियन्त्रण गर्न तथा सबैलाई सुरक्षित राख्न निरन्तर काम गरिरहेको अनुभव सुनाउनुहोस् । सेवाको भावना भएका मानिसहरूले सबैको हितका लागि निस्वार्थ सेवा गरिरहेको थाहा पाउँदा उनीहरू ढुक्क हुन पाउँछन् ।

आफ्नो ख्याल राख्नुहोस्

तपाईं आफु स्वस्थ रहनुभयो भने मात्र तपाईंले आफ्ना बालबालिकालाई हेरचाह गर्न सक्नुहुन्छ । उनीहरूले तपाईंको व्यवहार देखेर सिक्ने हुनाले तपाईं शान्त र संयमित रहँदा उनीहरूलाई पनि त्यसै गर्न प्रोत्साहन मिल्छ।

यदि तपाईं आफु हतास वा चिन्तित महशुस गरिरहनुभएको छ भने आफ्नो परिवार, साथीभाइ वा अन्य विश्वासिला व्यक्तिहरूसंग सम्पर्कमा रहनुहोस् । आराम दिने तथा स्वास्थ्यलाभ गर्न सघाउने आफुलाई मनपर्ने गतिविधिहरूमा समय दिनुहोस् ।

मायाका साथ कुराकानी टुंग्याउनुहोस्

बालबालिकालाई हामीले तनावको अवस्थामा छोडेका छैनौं भनेर बुझ्न जरूरी छ । कुराकानी अन्त्यतिर उनीहरूको बोलीको प्रकृति तथा श्वासप्रश्वासको गति आदि शारिरीक हाउभाउ हेरेर उनीहरूको तनावको स्थिति मापन गर्नुहोस् ।

उनीहरूलाई आवश्यक परेको खण्डमा कुनैपनि बेला आफुसँग यस प्रकारका अप्ठ्यारो विषयमा कुराकानी गर्न सक्ने बुझाउनुहोस् । तपाईंले उनीहरूको ख्याल गर्नुहुन्छ, उनीहरूको कुरा ध्यानपुर्वक सुन्नुहुन्छ र चिन्तित हुँदा कुनैपनि बेला आफु उपलब्ध भएको जानकारी दिनुहोस् ।


स्रोतः
युनिसेफका संचार विशेषज्ञ याकब हन्टद्वारा संकलित सूचना युनिसेफको आधिकारीक वेबसाइटमा प्रकाशित सामाग्री यहाँ राखिएको हो ।


Loading comments...